८६ वर्षीय गुरुङको औषधिजन्य बिरुवा खेतीको विस्तार अभियान

भञ्ज्याङ न्यूज

तनहुँमा व्यावसायिक रुपमा औषधिजन्य बिरुवा खेतीको विस्तार भइरहेको छ । चार दशकअघि व्यास नगरपालिका-५ स्थित पाटन क्षेत्रबाट शुरु भएको औषधिजन्य बिरुवा खेती विगत दश वर्षयता जिल्लाको दुले र मादी नदी किनार आसपास हुँदै पर्वत जिल्लाको जलजले गाउँपालिका क्षेत्रसम्म विस्तार भएको छ ।

व्यास नगरपालिका-५ पाटनका ८६ वर्षिय केबी गुरुङले जागीर छोडेर २०३६ सालदेखि जडीबुटी बिरुवाको व्यावसायिक उत्पादन सुरु गर्नुभयो । उहाँले अहिले तनहुँ लगायत पर्वत जिल्लाको जलजले गाउँपालिका-९ मा जडीबुटीका लाखौं बिरुवाको व्यावसायिक उत्पादन गर्नुभएको छ । एक दुइ हजार जडीबुटीका बिरुवाबाट सुरु गर्नुभएको खेती अहिले उहाँले व्यावसायिक रुपमा करिब २० रोपनी क्षेत्रफलमा सो खेती गरिरहनुभएको छ ।

श्रीखण्ड, पाँच औले, निरमसी, जटामसी, कुटकी, सतुवा, कुट लगायतका लगाएको १६ प्रकारका बिरुवाबाट उत्पादन दिन थालेको उहाँको भनाइ छ । समुद्र सतहबाट करिब दुइ हजार २०० मिटर उचाइमा आयुर्वेदिक गुणयुक्त त्यस्ता बिरुवा लगाउनुभएका उहाँले बगैँचा रेखदेखका लागि एक परिवारलाई रोजगारीसमेत दिनुभएको छ । गुरुङले व्यास नगरपालिका-५ स्थित पाटन क्षेत्रका दुले र मादी नदी किनार आसपासमा गरी करिब १०० रोपनी क्षेत्रफलमा विभिन्न जातका बाँसको खेती गर्नुभएको छ ।

मोटा, नियाले, धनु, लठ्ठी, कालो, पहेँलो, झगडिया, तामा खाने लगायतका २२ प्रजातिको बाँस लगाएको किसान गुरुङको भनाइ छ । भारतको कानपुरबाट बिएससी एजी गर्नुभएका गुरुङले जागीरभन्दा कृषि पेसालाई प्राथमिकता दिएर व्यावसायिक रुपमा यस क्षेत्रमा लाग्नुभएको हो । रेष्टुराँ तथा होटलमा सुन्दरताका लागि साना किसिमका बाँस र भवन निर्माणका लागि ठूला खालको बाँस खरिद गरेर लाने गरेको उहाँको भनाइ छ । एघार किसिमका बाँस प्रतिबिरुवा रु एक हजारमा बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार वार्षिक रुपमा करिब रु ३० लाख मूल्य बराबरको बाँस र बाँसका बिरुवा बिक्री हुने गरेको छ । उहाँले भन्नुभयो, ‘जागीर भनेर बसेको भए यति राम्रो प्रगति हुने थिएन होला ।’ त्यसैगरी गुरुङले करिब १०० रोपनी क्षेत्रफलमा उगरउडका बिरुवा लगाउनुभएको छ । करिब २० वर्षघि ५०० उगरउडका बिरुवा लगाउनुभएका गुरुङको बारीमा हाल २५० ठूला बिरुवा र करिब तीन हजार साना बिरुवा छन् ।

अहिले प्रतिबिरुवा रु दुइ लाखसम्म खरिद गर्ने मानिस आउने गरेको उहाँको भनाइ छ । अगरउडबाट अगर निस्किन थालेपछि सुनभन्दा महँगो मूल्यमा बिक्री हुने बताइएको छ । साथै अगरउड अत्तरका लागि पनि प्रयोग गर्न सकिन्छ । त्यसैगरी अगरउड क्यान्सर, अल्सर, छालाजन्य रोग, आँखा, कान, नाकलगायतका उपचारमा लाभदायक हुने गरेको किसान गुरुङको भनाइ छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker