घिरिङको कालीगण्डकी सतिघाटमा १०८ पिपल, १०८ वर, १०८ स्वामीका बिरुवा रोपण
अन्जन परियार/घिरिङ

तनहुँको घिरिङ गाउँपालिकाले धार्मिक र पर्यटकीय स्थलको प्रबर्द्धनमा जोड दिँदै वर, पिपल र स्वामी रोपण अभियान संचालन गरेको छ ।
वडा नं १ अन्तर्गत दिब्यधाम पुट्टार क्षेत्रको पबित्र देवत्व स्थल कालीगण्डकी सतिघाट उत्तरबाहिनी क्षेत्रमा १ सय ८ का दरले बर, पिपल र स्वामी रोपण गरिएको छ ।
हरिशयनी एकादशिको अबसरमा १ सय ८ पिपल रोपेर सुरुवात गरिएको कार्यक्रमलाई पुर्णता दिँदै बिहिबार साउन कृष्ण एकादशिको दिन १ सय ८ वर र १ सय ८ स्वामीका बिरुवा रोपण गरिएको हो ।
धार्मिक महत्वका दृष्टिकोणले ब्रहम्मा, बिष्णु, महेश्वरको रुपमा लिईने वर, पिपल, स्वामी लगाउँदा हिन्दु संस्कार र संस्कृतिको संरक्षण एवं सम्बर्द्धन हुने परिकल्पनासंगै यस क्षेत्रको वातावरणीय एवं पर्यावरणीयमा टेवा पुग्ने उद्देश्यले सो कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले बताए ।
पर्यटकिय तथा धार्मिक दृष्टिकोणले यहाँ परिलक्षित योजनाहरुलाई निर्धारित भबिष्यको निश्चित समयमा सम्पन्न गर्न सके सभ्यता र आर्थिक समृद्धिका दृष्टिकोणले यस क्षेत्रको मात्र नभई समग्र राष्ट्रलाई सहयोग पुग्ने उनले बताए ।
कालिगण्डकी तिर्थ यात्रा नेपालको आयोजनामा संचालन गरिएको वृक्षरोपण कार्यक्रममा वर पिपल स्वामी तथा वातावरण संरक्षण समितिका अध्यक्ष होमनाथ सिग्देलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपालको महत्वपूर्ण धार्मिक क्षेत्र पशुपतिनाथ, लुम्बिनी, जनकपुर, देवघाट धाम जस्ता धार्मिक स्थलहरुमा राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय लगानी बढेको हुँदा घिरिङको पनि सतिघाट धामले निकै महत्व र ठूलो लक्ष्य राखेको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेलले वर, पिपल र स्वामी रोपेर स्वच्छ पर्यावरणीय धार्मिक स्थलको रुपमा बिकास गर्दै घिरिङकै प्रमुख तिर्थस्थल बनाउने उद्देश्य गाउँपालिकाले राखेको बताए ।
कार्यक्रममा घिरिङ गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारी, कालिगण्डकी तिर्थ यात्रा नेपालका अध्यक्ष एवं कार्यक्रमका अभियान्ता नवीन पाण्डे, वडा नं १ का अध्यक्ष रवि चन्द्र घोरासिनी, वडा नं १ का निबर्तमान अध्यक्ष गंगाराम कुमाल, कृष्ण माध्यमीक विद्यालयका प्रधानाध्यापक ध्रुवराज सिग्देल, राधा कृष्ण माध्यमिक विद्यालय निस्तिका प्रधानाध्यापक भेषराज अधिकारी लगायतले घिरिङको प्रमुख धार्मिक स्थलको रुपमा पहिचान गराई धार्मिक आस्थाको केन्द्र बनाउने लक्ष्यमा सबैको हातेमालो हुन आवस्यक रहेको बताए ।
गाउँपालिकाको समन्वय र स्थानीय नागरिकहरुको सकृयतामा झण्डै ५ सय जनाको उपस्थिति रहेको थियो । भजनकृतनका साथ रमाइलो वातावरणमा उक्त वृक्षरोपण कार्यक्रम भएको संस्थाका सचिब खिमकर्ण ढकालले बताए ।










