नमूना आवास निर्माणका लागि म्याग्देका लाभग्राहीको नाम स्वीकृत

भञ्ज्याङ समाचारदाता/दमौली

विपन्न वर्गका लागि घर निर्माण गर्न तनहुँको म्याग्दे गाउँपालिकाले लाभग्राहीको नाम स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा आर्थिकरूपमा विपन्न वर्गलाई नमूना आवास निर्माणका लागि गाउँपालिकाले १६ जना लाभग्राहीको नाम स्वीकृत गरेको हो ।
नमूना आवास निर्माण कार्यक्रम कार्यान्वयन समन्वय समितिको हालै बसेको बैठकले लाभग्राही छनोट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । संघीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा विपन्नका लागि घर निर्माण गर्न लागिएको र यसका लागि समपूरक कोषबाट रु ५० लाख र गाउँपालिकाबाट रु ५० लाखगरी रु एक करोड व्यहोरिने उहाँको भनाइ थियो ।
प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत विपन्न वर्गलाई नमूना आवास घर बनाउन लागेका हौं । त्यसका लागि लाभग्राही छनोट भएका छन् ।”
गाउँपालिकाको वडा नं १ देखि ७ सम्ममा रहेका लक्षित वर्गलाई नमूना आवास कार्यक्रम कार्यविधि, २०८० को दफा(३) बमोजिम मापदण्ड तथा सूचीभित्र योग्यता पुगेका स्थानीय नागरिकलाई मङ्सिर २७ गतेभित्र निवेदन पेस गर्न सूचित गरिएको थियो । प्राप्त निवेदनका आधारमा १६ जना लाभग्राही छनोट गरिएको र पाँच जनालाई वैकल्पिकमा राखिएको छ । ती १६ लाभग्राहीले जग्गाधनी पुर्जालगायत प्राविधिक तयारी पूरा गर्न नसके वैकल्पिक सूचीलाई प्राथमिकता दिने जनाइएको छ ।
लाभग्राही छनोटका लागि पालिकाले जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिससहितका कागजात, सामान्य प्रकृतिका श्रमबाहेक परिवारका सदस्यमा कोही स्थायी रोजगार, दिगो लगानी तथा आयस्रोत नभएको र दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्न सूचित गरिएको थियो ।
कार्यविधिबमोजिम विगतदेखि गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र स्थायी बसोबास गर्दै आएको तर सरकारबाट सञ्चालित यस्तै कार्यक्रमबाट लाभ प्राप्त गरेका व्यक्ति लाभग्राही हुन नसक्ने मापदण्डमा उल्लेख छ । लाभग्राहीको सूचीमा अपाङ्गता भएका व्यक्ति, असहाय, सीमान्तकृत जाति, अल्पसंख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो ।
यस्तै, गाउँपालिकाले स्थानीयवासीलाई बायोग्यास प्लान्ट निर्माणका लागि अनुदान दिने भएको छ । बायोग्यास प्रयोगमा जोड दिने उद्देश्यले पालिकाले यस वर्ष १० जनालाई अनुदान दिन लागेको हो । गाउँपालिकामा प्राप्त निवेदनका आधारमा बायोग्यास प्ल्ाान्ट निर्माणका लागि जनही रु ३० हजारका दरले अनुदान दिन लागिएको त्यहाँका इन्जिनियर भीमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker