तनहुँका १३ सामुदायिक विद्यालयको एसइइ परीक्षाको नतिजा शुन्य

दमौली । तनहुँका १३ सामुदायिक विद्यालयको एसइइ परीक्षाको नतिजा शुन्य आएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले विहीबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइइ)को नतिजामा १३ वटा सामुदायिक विद्यालयको नतिजा शुन्य आएको हो ।
शुक्लागण्डकी नगरपालिकाका सरस्वती माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालय, भानु नगरपालिकाका आदर्श सरस्वती माध्यमिक विद्यालय, ऋषिङ गाउँपालिकाको जय दुर्गा माध्यमिक विद्यालय र महेन्द्रोदय माध्यमिक विद्यालय, व्यास नगरपालिकाको अमरसिंह माध्यमिक विद्यालय, घिरिङ गाउँपालिकाको दिपक माध्यमिक विद्यालय, राष्ट्रिय माध्यमिक विद्यालय र महेन्द्रज्योती माध्यमिक विद्यालय, आँवुखैरेनी गाउँपालिकाको कन्यादेवी माध्यमिक विद्यालय र छिम्केश्वरी माध्यमिक विद्यालय, बन्दीपुर गाउँपालिकाको शिव माध्यमिक विद्यालयको नतिजा शुन्य आएको शिक्षा विकास तथा समन्वय इकाइ तनहुँले जनाएको छ ।
तनहुँका १७० वटा विद्यालयका विद्यार्थी एसइइमा सहभागीता जनाएका थिए । तीन वटा विद्यालयले मात्र सतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् भने एक जना विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन् ।
यस्तै, तनहुँको चर्चित संस्थागत तथा सामुदायिक विद्यालयले पनि यस वर्ष एसइइ परीक्षाको नतिजा सतप्रतिशत ल्याउन सकेको छैनन् ।
यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा -एसइइ २०८०)मा दुइभन्दा बढी विषयमा एनजी अर्थात नन ग्रेड ल्याएका विद्यार्थीलाई पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गरेकी छन् ।
मन्त्रालयले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउन लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्ने प्रकृया अगाडि बढाउन पाठ्यक्रम विकास केन्द्रलाई, परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयलाई परीक्षा सञ्चालन व्यवस्थापन गर्न र शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक कक्षा सञ्चालन तथा सिकाइ सहजीकरण गर्न विद्यालय तथा सरोकार निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।
सोही अनुसार सम्बन्धित निकायलाई पत्राचार पनि गरिसकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले जानकारी दिए ।










