चेपाङ समुदायको दुःख : “घर हेर्‍यो वनमा छैन, वन हेर्‍यो घरमा छैन”

नारायण खड्का/तनहुँ

सुमित्रा चेपाङ अहिले २५ वर्षकी भइन् । १३ वर्षको उमेरमै बैवाहिक जीवनमा बाँधिएकी सुमित्रा ३ सन्तानकी आमा हुन् । १४ वर्षकै कलिलो उमेरमा बच्चा जन्माएकी उनको स्वास्थ्य अवस्था अहिले नाजुक बन्दै गएको छ ।

वनका गिठ्ठा, भ्याकुर र ज्याला मजदुरी गरी भएको आमदानीबाट दैनिकी गुजारदै आएको उनको परिवारको आर्थिक अवस्था कमजोर छ । झिसमिसे उज्यालो नहुँदै बालबालिकालाई खाना पकाएर काममा जाने उनको दैनिकी छ । काँखे छोराछोरीलाई घरमै छाडेर ज्याला मजदुरी नगरी उनको चुलोमा आगो बल्दैन ।

‘बालबच्चा स-साना छन् भन्दै घरमै बसेर उनीहरुको स्यारसुसारमा लागे भने भोकै पेट बस्नुपर्छ’, उनले भनिन्, ‘घर हेर्‍यो वनमा छैन, वन हेर्‍यो घरमा छैन ।’ उनका श्रीमान् पनि ज्याला मजदुरी गर्छन् । श्रीमान् श्रीमति नै दिनरात ज्याला मजदुरी गरे पनि हातमुख जोड्न भने समस्या नै रहेको उनको दुखेसो छ । व्यास नगरपालिका-११ तनहुँसुरस्थित राम्चेपाखामा बाँस, काठ र खरले छाएको कटेरोमा उनका ५ जनाको परिवार बस्छ ।

‘हाम्रो घरको न त झ्याल छ, न ढोका, चिसो भुइमा रात कटाउछौं’, उनले भनिन्, ‘हाम्रो आर्थिक अवस्था निकै नाजुक छ, ज्याला मजदुरीबाट भएको आमदानीले गर्जो नटरेपछि वनबाट गिठ्ठा, भ्याकुर ल्याएर छाक टार्नुपर्छ, त्यो पनि सजिलै पाइदैन ।’

यो अवस्था सुमित्राको परिवारको मात्रै होइन, राम्चेपाखामा बसोबास गर्ने करिव ८/९ घरपरिवारको पनि यस्तै छ । उनीहरु ज्याला मजदुरी त गर्छन् तर जुन दिन कमायो त्यही दिन रमाउने प्रवृतिका कारण पनि चेपाङ समुदायको जीवनस्तरमा सुधार आउन सकेको छैन ।

ओढारेकी सरिना चेपाङ पनि अहिले २८ वर्षकी भईन् । उनी १४ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी थिइन् । १५ वर्षको कलिलै उमेरमा पहिलो सन्तान जन्माएकी सरिनाका अहिले ३ सन्तान् छन् । ‘विवाह भनेको के हो भन्ने पनि थाहा थिएन, आमाबुबाले मिठो खाना पाइन्छ र राम्रो लगाउन पाइन्छ भनेर विवाह गर्दिए’, उनले भनिन्, ‘विवाह भएको एक वर्षमै छोरो जन्माए । अहिले मेरा ३ छोराछोरी छन् ।’

दुइ सन्तान पाएपछि तेस्रो सन्तान जन्माउन इच्छा नहुँदापनि जन्माउन बाँध्य भएको उनले बताइन् । तेस्रो सन्तानपछि भने उनले अस्थायी साधान प्रयोग गरेकी छिन् । ‘त्यो बेला हामीलाई सम्झाउने बुझाउने कोही थिएनन् । परिवार नियोजनका स्थायी र अस्थायी साधानका बारेमा भनिदिने पनि कोही भएनन्’, उनले भनिन्, ‘पढेलेखेको नहुँदा र सम्झाउने बुझाउने मान्छे नहुँदा कलिलै उमेरमा विवाह गरी बच्चा जन्माए ।’

कलिलैमा आमा बन्दा र गर्भावस्थामा पोषणयुक्त खाना नपाउँदा, आवश्यक स्वास्थ्य परीक्षण र खोपका बारेमा जानकार नहुँदा, नियमित स्वास्थ्य जाँच नगर्दा अहिले विभिन्न स्वास्थ्य समस्यबाट गुज्रिन परेको सरिना बताउँछिन् । ‘आँधा उमेर पनि बाचेको छैन जस्तो लाग्छ तर शरिरमा जुन स्फुर्ति हुनुपर्ने हो त्यो पनि छैन’, उनले भनिन्, ‘भारी उचाल्न सक्दिन, धेरै काम गर्दा ढाँड दुख्ने शरिर लल्याङलुलुङ हुन्छ । घरमै सन्तान जन्माएकाले होला पछिल्लो समय पाठेघरमा पनि समस्य देखिएको छ ।’

यस्तै, प्रिति चेपाङ पनि कलिलै उमेरमा आमा बन्दा हुने स्वास्थ्य जोखिमबारे बेखबर छिन् । १२ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी प्रितिले १५ वर्षकै उमेरमा २ वटा सन्तान जन्माइन् । २२ वर्षको उमेरसम्म आइपुग्दा उनी ४ सन्तानकी आमा बनिन् । ३ वर्षीय छोरा काँखमा बोकेर अझैपनि भारी उचाल्न उनी हिच्किचाउदिनन् । ‘बच्चा पाएर खासै समस्य भएकोजस्तो त लाग्दैन मलाई’, उनले भनिन्, ‘कहिलेकाही भारी बोक्दा कमजोरी हुन्छ, राम्रो आहारा खाना पनि त पाएको छैन त्यसैले होला ।’

मकवानपुरबाट ४० वर्ष अघि तनहुँसुर क्षेत्रमा आएर बसोबास गरेका अधिकांश चेपाङ समुदायको जीवनस्तर माथी उठ्न सकेको छैन । आफ्नो नाममा जग्गाजमिन नहुँदा खेतीपाती गर्न पनि समस्या भएको मनमाया प्रजा बताउँछिन् । उनले भनिन्, ‘वनजंगलबाट कन्दमुल ल्याएर खानुपर्ने बाँध्यता अझै हट्न सकेको छैन, ज्याला मजदुरीबाट भएको आमदानीले मात्र गुजरा चलाउन सकिदैन ।’

उनका श्रीमान सहरी क्षेत्रमा ज्याला मजदुरी गर्छन् । ‘श्रीमानले काम नपाउँदाका दिन वनमा पाइने गिठ्ठा, भ्याकुर नै खानुपर्छ’, उनले भनिन्, ‘काम पाउँदाका दिन बालबालिकालाई चामलको भात खुवाइन्छ, हामीहरु प्रायः रुखोसुखो खाएर बस्छौं । कहिलेकाही त मेलापर्मबाट ल्याएको खाजा खाएर मात्रै पनि छाक टार्छौ ।’

यस्तै, खानेपानीको चरम अभाव झेल्दै आएका चेपाङ समुदायमा सरसफाईको अवस्था पनि निकै कमजोर छ । उनीहरुका बालबालिका मुस्किलले महिना दुइ महिनामा नुहाइधुवाइ गर्छन् । पिउने पानी समेत घण्टौं समय खर्चिएर जुटाउनुपर्ने अवस्था रहेको र यहाँ चेपाङहरुले क्यौं रात धित मर्ने गरी पानी समेत नपिइकन बिताएको बिष्णुलाल प्रजा बताउँछन् ।

‘हाम्रो दुःख कसैले देख्दैन र सुन्दैन पनि’, उनले भने, ‘कुनै सीप सिकेर केही इलाम गर्ने र सहज रुपमा घर परिवारको समस्य टार्ने इच्छा छ । तर, हामीलाई यतातिर कसैले डोर्‍याउने प्रयास नै गरेनन् । हामी पिछडिएको समुदाय, हाम्रो बाहुल्यता पनि सानो छ, त्यसैले होला हाम्रा समस्यमा कसैको चासो हुँदैन ।’

‘स्थानीय सरकार आएको ६ वर्ष बितिसक्यो, चुनावको समयमा यो वा त्यो गर्छु भन्दै भोट माग्छन् अनि चुनाव जितेर गएका नेता फर्किएर हाम्रो गाउँबस्तिमा आउँदैनन’,उनले भने, ‘हामी स्वास्थ्य, शिक्षा, सरसफाई जस्ता सामान्य कुरामा पनि सचेत हुन सकेका छैनौ । हामीले खानेपानीको चरम अभाव झेल्दै आएका छौं । हाम्रो बस्तिमा लिफ्ट प्रविधिको खानेपानीको धारा पनि ल्याइएको छ तर पानीको पैसो तिर्न सक्ने हाम्रो क्षमता छैन ।’

खानेपानीको चरम अभावका कारण सरसफाईमा ध्यान पुर्‍याउन नसकेका चेपाङ समुदायले खानेपानीको महसुल तिर्न नपर्ने गरी बस्तिमा पानीको व्यवस्थ गरिदिए हाम्रो जीवनस्तरमा पनि सुधार आउने बताएका छन् । बिष्णुलालले भने, ‘पानीको श्रोत नजिक नहुँदा महिनौ दिनसम्म नुहाइधुवाइ गर्न सकिदैन, पशुचौपाय पाले पनि पानी खुवाउन सकिदैन, हाम्रो यो समस्य कसैले देख्दैन अनि सुन्दैन ।’

यो समुदायलाई लक्षित गरी विभिन्न सामाजिक संघसंस्थाहरुले सचेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्छन् । तर, त्यसको प्रभावकारीता भने देखिएको छैन । कलिलै उमेरमा विवाह बन्धनमा बाँधिने, ३ देखि ९ वटासम्म बच्चा जन्माउने र पोषिलो खानाका अभावका कारण महिलाहरुको जीवनस्तर दयानीय अवस्थामा पुगेको छ । ज्याला मजदुरीबाट भएको अधिकांश आमदानी पनि मादकपदार्थ सेवन गर्ने लतका कारण कमाएको पैसा सहि ठाउँमा सदुपयोग हुन नसक्दा बढि मात्रमा महिला र बालबालिका प्रभावित हुने गरेको स्थानीय सुर्योदय प्राथमिक विद्यालयकी शिक्षिका अनिता थापा मास्कि बताउँछिन् ।

‘विद्यालयमा २६ जना चेपाङ समुदायका बालबालिका पढ्न आउँछन्, तर त्यो पनि नियमित आउँदैनन्, विद्यालयको पोशक त उनीहरुको शरिरमा हुँदैन, विभिन्न संघसंस्थाले उपलब्ध गराएका कपडा नच्यातिनजेलसम्म लगाउछन्’, उनले भनिन्, ‘मुख्य त अभिभावकलाई नै सरसफाई सम्बन्धी सचेतना जगाउन खाँचो छ, अभिभावकले नै सरसफाईमा लापर्वाही गर्दा बालबालिकाको अवस्था पनि दयानीय बन्दै गएको छ । विद्यालयमा उपलब्ध गराइने दिवा खाजा खानाका लागि मात्रै बालबालिकाहरु विद्यालय आउने गर्छन् ।’

चेपाङ उत्थान तथा संरक्षण समितिले गरेका केही पहलबाट गाउँमा बालबिबाह न्युनिकरण, महिलाको प्रजनन् तथा यौन स्वास्थ्य चेतनामा केही प्रभाव परेको भएपनि गाउँको आर्थिक अवस्थामा भने सुधार आउन सकेको छैन । बजेट अभावमा अहिले त्यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन नसकेको रामलाल चेपाङले बताए । उनले भने, ‘हामीले स्थानीय सरकारसंग चेतनामुलक कार्यक्रमको निरन्तरताका लागि सहयोगको माग गरेका छौ तर स्थानीय सरकारले हाम्रो मागलाई सुन्दैन ।’

टोलबिकास संस्थाहरुले हरेक बैठकमा निरन्तर जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियान थालेपछी चेपाङ समुदायमा बालविवाह, बहुविवाहका समस्या बिस्तारै घटेको व्यास-११ का वडा सदस्य गोकुल दुराले बताए । उनले भने, ‘बालविवाह र बहुविवाह अझै शुन्य त भएको छैन पटक पटकको कानुनी चेतनाले भने केही कम गराएको छ ।’

राम्चे-ओढारे टोल बिकास संस्थाका अध्यक्ष समेत रहेका दुराले गाउँमा चेतनाको बिस्तार अझै नभएको बताउँछन् । ‘पहिलाको अवस्था हेरेर अहिले त धेरै सुधार त भएको हो, तर यहाँ अपेक्षित रुपमा चेतनाको बिकास नहुँदा समस्या धेरै रहेको छ’, उनले भने, ‘अहिले हामीले बालबालिकालाई शिक्षामा बढी जोड दिएका छौ ।

अभिभावकले सिकेर बच्चालाई सिकाउने भन्दा बच्चाले अभिभावकलाई सिकाउँदा चेतनाको स्तर छिटो अघि बढने महसुस गरी बच्चाहरुको शिक्षामा बढी जोड दिन थालेका छौ । पुरुषमा मद्यपान अत्याधिक रहेकाले पनि आयलाई सदुपयोग नगर्दा चेपाङ समुदायको अवस्था सधैं एकनास जस्तो देखिएको छ ।’

तनहुँसुरको राम्चे र ओढारेमा गरी करिव ३९ वटा घरपरिवार चेपाङ समुदायको छ । जनता आवास कार्यक्रम मार्फत यस क्षेत्रमा १५ वटा घर निर्माण भएका छन् । तनहुँसुर क्षेत्रका ३९ घरपरिवार मध्ये बाँकी घरपरिवार अहिले पनि नाजुक अवस्थाको छाप्रोमा बसोबास गर्दै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker