पाथीभरा देवीको दर्शन र पर्यटन

के.बि. मसाल

नेपालमा धेरै पर्यटन धार्मीक मठ मन्दिरसंग जोडिएको छ । कोशी प्रदेशको ताप्लेजुङमा पर्ने पाथीभरा पर्यटनका लागि धार्मिक, सांस्कृतिक र जैविक विविधता भएको क्षेत्र हो । पाथीभरामा तीर्थाटनका लागि मात्र होइन कञ्चनजंघा हिमाल अवलोकनका लागि पनि पर्यटकहरु पुग्ने गर्दछन । पाथीभरा देवीको लोकप्रियताकै कारण पूर्वका विभिन्न जिल्लामा शाखा पाथीभरा मन्दिरहरु पनि स्थापना गरिएका छन् । मुख्य पाथीभरा जान नसक्नेहरुले शाखा पाथीभरा देवीको मन्दिरमा दर्शन गर्दछन । इलामको कुटीडाँडा, झापाको चारआलीमा स्थापित पाउ पाथीभरा, तेह्रथुमको हरिसे, वसन्तपुर, टुटे देउराली, संखुवासभाको चौकीबजार र सिद्धेश्वरीमा पनि पाथीभरा देवीको मन्दिर स्थापना भएको छ । यी सबै ठाउँबाट ताप्लेजुङको मुख्य पाथीभरा रहेको ठाउँ देख्न सकिन्छ ।
ताप्लेजुङका रैथाने लिम्बू समुदायहरुले पाथीभरालाई मुक्तुवुङ भन्ने गर्दछन । लिम्बूभाषामा “मुक्तु“को अर्थ शक्ति वा बल, “वुङ“को अर्थ बोट भन्ने हुन्छ । अर्थात लिम्बूजातिहरु पाथीभरालाई शक्ति वा बलको स्रोतको रुपमा लिने गर्दछन । किराँती मान्यताअनुसार पाथीभराको प्रसंग मुन्धुम दर्शनमा पनि जोडिएको छ। किराँतीहरु पाथीभरालाई मुलुमलुङमा भन्छन् । महाभारतकालमा मुकुमलुङ अर्थात पाथीभराको पहाडी श्रृंखलामा रिसिङ नाम गरेका लिम्बु ऋषिले तपस्या गरेका थिए । महाभारतको युद्धपछि राजा युधिष्ठिरले आयोजना गरेको महायज्ञमा सिरिङ ऋषिलाई लिन भीमसेनलाई पठाइएका थिए। बौद्धमार्गीहरु पनि पाथीभरा प्रति आस्था राख्छन् । शेर्पाहरुले पाथीभरालाई रक्ता सेदिङमा अर्थात मजिलाम्टामा भनेर देवीको रुपमा मान्ने गर्छन् । शेर्पाहरुले सुख, शान्ति, आरोग्यको कामना गर्दै आचार्य गुरु पद्मसम्भवको मन्त्र लेखिएको पताका पाथीभरामा टाङने गर्दछन ।
पाथीभरामा धार्मिक पर्यटकहरु मात्र पुग्दैनन । मनोरम प्रकृतिमा रम्न खोज्ने अभिलाषा बोकेर पनि पर्यटकहरु पुग्दछन । पाथिभराले केवल धार्मिक आस्था र विश्वासलाई मात्र समेटेर उभिएको छैन, खुला आकाशको छहारी । उत्तर पट्टी विश्वको तेस्रो अग्लो कञ्चनजंघा, सँगै कुम खसेको जस्तो देखिने कुम्भकर्ण हिमाल। जसलाई लिम्बु भाषामा फक्ताङलुङ पनि भनिन्छ । पाथिभरा देवीको मन्दिर परिशरबाट हिमश्रृंखलाको दृश्य अत्यन्त मनमोहक देखिन्छ । यस्तो लाग्छ मानौं हातले हिमाल छुन सकिन्छ । पाथीभरा मन्दिर परिसरमा देवीका मूर्तीलगायतको संरचना रहेको छ । रातो पहिरनले ढाकिएकी देवीको अग्लो मूर्ती । खडग, त्रिशूल, वीणा र अन्य हतियार हातमा भएकी देवी । सिंहमा चढेकी देवी र बायाँ पट्टिको कुनामा २४ सै घण्टा बल्ने अखण्ड बत्ती राखिएको छ । पाथीभराको धार्मीक महत्व देवीकै कारणले बढेको छ । पाथीभरालाई देवी भनेर चिन्दछन तर पाथीभरा देवीको नाम होइन। पाथी भर्दा चुलिए झैं गरेर चुलिएको पहाड अर्थात डाँडालाई पाथीभरा भनिएको हो । पाथीभरा देवीको नाम पञ्चकन्या रक्तकाली हो ।
पाथीभरा ताप्लेजुङको फुङलिङ नगरपालिका, फक्ताङलुङ र सिरिजंघा गाउँपालिकाको संगमस्थलमा रहेको छ । तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा वार्षिक पाचँ लाख तीर्थाटनका पर्यटकहरु पुग्ने गरेको मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिको तथ्यांकमा छ । पाथीभरा दर्शनका लागि शरद र वसन्त ऋतु राम्रो मौसम भए पनि बाह्रै महिना तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । पाथीभरामा आन्तरिक तीर्थाटनका पर्यटक मात्र होइन भारतको सिक्किम, पश्चिमबंगाल, बिहार, उत्तरप्रदेश भुटान र बंगलादेशका तीर्थाटनका पर्यटकहरु पुग्ने गर्छन् । पाथीभरा मन्दिर आफूले भाकल गरेको मनोकाक्षा पूरा भएपछि पूजा गर्ने जाने पर्यटकहरुको संख्या धेरै हुन्छ । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा देवीको उत्पतिस्थल रहेकोले देवीको नाम पाथीभरा देवी राखिएको बिस्वास गरिन्छ। पाथीभरा हिन्दू धर्मावलम्बीको मात्र नभएर किराँत, बौद्ध, शैव आदि धर्मावलम्बीको पनि आस्थाको केन्द्र मानिनछ ।
पाथीभराको उत्पतिका बारे धेरै जनश्रुतिहरु रहेका छन । कुनै कालखण्डमा पाथीभरा आसपासमा गोठालाहरुले भेडीगोठ राखेका थिए । एकदिन अचानक अप्रत्यासित ढंगले देख्दा देख्दै गोठका भेडाका बथान अलप भए । त्यस्तो अकल्पनिय घटनाले स्तब्ध बनेका गोठालाहरुलाई सपनामा देवीले दर्शन दिनु भयो । सपनामा देवीले आफ्नो उत्पतिस्थल र आकृतिको जानकारी दिदै भेडा बलिसहित पूजा अर्चना गर्न भन्नु भयो। सपनाकै आधारमा गोठालाहरुले देवीको आकृति उत्पन्न स्थलमा पूजा आजा गरी भेडाको थुम्बा बलि दिए । भेडाको बलि दिना साथ हराएका भेडाहरु पहिलाकै ठाउँमा देखिए। अर्को आश्चर्यको कुरा भेडाको वलि दिएको स्थानमा रगत समेत देखिएन । पाथीभरा देवीलाई आजभोली पनि भेडा, बोका, पाठीको बलि चढाईन्छ । तर बलिस्थलमै रगत देखिदैन । पाथीभरा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन । तर पाथीभरामा गर्भवति, रजस्वला भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे जान हुन्न भन्ने मान्यता रहेको छ । पाथीभरामा पशु बलि अनिवार्य छैन । बलि नदिनेहरुले देवीलाई फलफूल र मिठाईको भोग चढाउँछन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रुपमा मानिने हुदा पुजामा सिन्दुर, टीका, गाजल, काँगियो समेत चढाउने गर्दछन ।
पाथीभरामा देवीलाई चढाउको सिक्का सिजनका बेला दैनिक १५ पाथीको हाराहारीमा जम्मा हुने गर्दछ । दसैको नवदुर्गा र रामनवमी पाथीभराको तीर्थाटन गर्ने मुख्य सिजन हो । देवीलाई चढाउन मन्दिरमानै सिक्का सटहिको सुविधा रहेको छ । सिक्कालाई पाथीले भर्दा एक पाथीमा २२ किलो सम्म हुने र एक पाथी सिक्काको आठ हजार रुपैयाँ पर्दछ । अहिले धेरैले नोट दिएर सिक्का साटेर पाथीमा भरेर चढाउने गर्दछन । पाथीभरामा पाथीले भरेर सिक्का चढाए राम्रो हुने विश्वास छ। प्राकृतिक भ्यूटावरको रुपमा रहेको पाथीभरा डाँडाबाट उत्तरतर्फ चाँदी झैं टल्कने हिमशृंखला त्यसले बनाएका सुन्दर खोंच र गल्छीहरुको दृश्य मनमोहक देखिन्छ । तीर्थाटनका पर्यटकहरुले कञ्चनजंघा र कुम्भकर्णलाई आँखैअगाडि साक्षात्कार गर्न सक्दछन । भने अर्को तर्फ सगरमाथा, ल्होत्से, चोयु, मकालुजस्ता आठ अजार मिटर उचाइमाथिका हिमालहरुको दृश्यावलोकन पनि गर्दछन । पाथीभरा देखि फुङलिङ बजार सहित पाँचथर र इलाम, तेह्रथुम, संखुवासभा र सोलुका अधिकांश साथै भारतको सिक्किम र पश्चिम बंगालको विभिन्न भूभाग देख्न सकिन्छ ।
पाथीभरा जादा बाटोमा विश्वमा नै अति दुर्लभ मानिएको नेपालमा मात्र पाइने काडे भ्याकुर, मोनाल, चिलिमे र फुत्रगसका वथानहरुले स्वागत गर्न सक्छन् । झुल्कदो घामको समयमा लेकाली मृगको हुलले तीर्थाटनका पर्यटकसँग लुकामारी खेल्न रुचाउँछन् । नेपालमा पाइने गुरासाका ४५ प्रजाति मध्ये २३÷२४ गुरासका प्रजातिहरुले चैत्र र वैशाखको मौसममा सम्पूर्ण पाथीभरा क्षेत्र गुराँसले धपक्क पारेको हुन्छ । यो मौसममा रातो सुनपाती, झुसे सुनपाती, पहेलो चिमाल, लालीगुराँस जस्ता विभिन्न प्रजातिका गुराँसहरु जंगलमै रंगी विरंगी भएर ढकमक्क फुलेको हुन्छ । पाथीभरा क्षेत्रमा रेडपाण्डा, डाँफेजस्ता दुर्लभ वन्यजन्तु, चराचुरुंगी र वनस्पति पाइन्छन् ।
पाथीभरामा सिंहवाहिनी देवीका मूर्ति छन्। जनविश्वासअनुसार पाथीभराको दर्शन गरेमा जन्मै हातगोडा नचलेका मानिस पनि हातगोडा चलेर हिँडन सक्ने बन्ने, दृष्टिविहीनका आँखामा ज्योति भरिन्छ, निःसन्तानलाई सन्तान लाभ हुन्छ गरिब धनी हुने जस्ता विभिन्न जनविश्वास छ। मन्दिर उक्लँदा माथिल्लो फेदीमा बास बस्दा त्यहाँ नजिकै कान्छीथान भन्ने स्थान छ । कतिपयले त्यहाबाट काँचो धागो बाँध्दै पाथीभराको मन्दिरसम्म पुग्ने पनि गर्दछन । यसरी धागो बाँधे आयु लामो हुन्छ भन्ने विश्वास छ। उकालोमा अनुहारभरि मकैको सातु दलेर उकालो चढे लेक लाग्दैन भन्ने गरिन्छ । उकालो बाटोमा तीर्थाटनका पर्यटकहरुले होलीमा रङ दले जस्तै अनुहारमा सातु दलेर हिडनेहरु पनि भेटिन्छ । पाथीभरा जादा मान्छेले मान्छेलाई बोकेर मन्दिर लगिरहेका र झरिरहेका पनि देखिन्छ ।
सदरमुकाम फुङलिङ देखि सुकेटार हुँदै माथिल्लो फेदीसम्म होटेल, लजको राम्रो व्यवस्था छ। सुकेटारको छेउमा रहेको गुरुङ बस्तीमा घरवासको पनि व्यवस्था छ। यहाँको घरवास गुरुङ समुदायले सञ्चालन गरेका हुन् । यहाँ ४० जनासम्म अटाउने क्षमता रहेको छ । अधिकांश नीर्थाटनका पर्यटक पाथीभरा जाँदाको रात माथिल्लो फेदीमा बस्न रुचाउँछन् । किनकि यहाँ बसेपछि बिहान मन्दिर उक्लनका लागि सहज हुन्छ । पाथीभरा मन्दिर परिसर नजिकै एउटा धर्मशाला छ । यहाँ पुजारीहरु अस्थायी रुपमा बस्छन्। स्थायी रुपमा बस्नकालागि भने करिब पाँच सय मिटर पूर्वतिर अर्को धर्मशाला छ । तीर्थाटनका पर्यटकका लागि प्रवेशद्वारको बाहिर ८ वटा धर्मशाला छन् । यहाँ बस्नका लागि सामान्य सुविधा छ । बस्नलाई कम्बल, मेट्रेस लगायतका ओढने ओछ्याउने सामग्री मन्दिरबाट पाउन सकिन्छ । यहाँ खाने सुविधा भने छैन । खानेकुरा आफैले बोकेरै लानुपर्ने हुन्छ । धेरै भिडभाड नभएको र भ्याएको अवस्थामा पुजारी र मन्दिरका कर्मचारीले तातोपानी, चिया उपलब्ध गराउँछन् । तर भिडभाडको अवस्थामा भने त्यो सम्भव हुँदैन ।
मन्दिर पुग्नुअघि बाटामा लहरै घण्टीहरु झुण्डयाइएका छन् । पाथीभरा मन्दिरको प्रवेशद्वारबाट सुरु हुन्छ दुईतिर घण्टीसँगैको मार्ग । तीर्थाटनका पर्यटक दायाँ–बायाँ दुवैतिरका घण्टी बजाउँदै मन्दिरमा प्रवेश गर्दछन । यसैको माथिल्लो पट्टि किराँत समुदायको माङहिङ बनाइएको छ। यहाँ पूजा आराधनाका लागि किराँत समुदायका धर्मावलम्बीहरु जाने गरेका छन् । मन्दिर हातामा बौद्ध मन्त्र लेखिएका झन्डाहरु फरफराइ रहन्छन् । यहाँ पुग्दा यस्तो अनुभूति हुन्छ यो सबै धर्मावलम्बीहरूको संगमस्थल हो । मन्दिरको दोस्रो प्रवेशद्वारमा पुगेपछि पूजा स्थलमा प्रवेश गरिन्छ । सबैभन्दा अग्रभागमा गणेशको मूर्ती छ। मूल पूजा विधि यहीबाट सुरु हुन्छ । यसको बायाँतिर महादेवको मूर्ती छ । उनको पहिचान गराउने नाग, नन्दी जस्ता आकृति पनि रहेका छन् । यसको अगाडि पट्टि हवन कुण्ड भवन छ। भवनभित्र बसेर हवन गर्न सक्ने व्यवस्था मिलाइएको छ । पाथीभराको उत्पत्तिदेखि नै यहाँ तीर्थाटनका पर्यटकहरले घण्ट, त्रिशूल चढाउदै आएका छन् । अहिलेसम्म पनि त्यो क्रम जारी छ । घन्टलाई मन्दिर परिसरको ठाउँ ठाउँमा झुण्ड्याइएको छ । मन्दिर परिसर पुग्ने जो कोहिका लागि यो निकै आकर्षक बन्छ । यहाँ बत्ती बाल्नेका लागि छुट्टै व्यवस्था गरिएको छ । पाथीभरामा पछिल्ला दिन लाख बत्ती बाल्नेहरुको सख्या बढदै गएको छ ।
कसरी जाने पाथीभरा ?
पाथीभरा जानको लागि केवुलकारको योजना पनि सुरु भएको छ । तर अहिले भने पाथीभारा पुग्न चार वटा बाटो छन् । मेची राजमार्गको बिर्तामोड–चार आली–इलाम–फिदिम–ताप्लेजुङ मार्ग । इटहरीबाट धरान–धनकुटा–वसन्तपुर–गुफा–साँघु–दोभान हुँदै पनि ताप्लेजुङ पुग्न सकिन्छ । तमोरको किनारै किनार भएर धनकुटाको लेगुवाघाट–तेह्थुम–पाँचथर हुँदै ताप्लेजुङ पुगिन्छ । मध्यपहाडी लोकमार्ग भएर पनि ताप्लेजुङ पुग्न सकिन्छ । काठमाडौंदेखि फुङलिङसम्म दैनिक रात्रि बस चल्छ । करीब २० घण्टाको यात्रापछि फुङलिङ पुगिन्छ। हवाई यात्राबाट जाने हो भने काठमाडौंबाट ताप्लेजुङको सुकेटार विमानस्थल प्रयोग गर्न सकिन्छ । तर उडान भने नियमित छैन भन्दा पनि हुन्छ । सुकेटारबाट जीपबाट तल्लो फेदी र त्यहाँबाट सीधै उकालो करीब पाँच घण्टा हिंडेपछि पाथीभरा मन्दिर पुगिन्छ ।
पाथीभरा पुग्न छातेढुंगाबाट उकालो लागेपछि बाटोमा बास बस्न लायक होटेल वा लज भेटिँदैन। मन्दिर परिसरमा तीर्थाटनका पर्यटकहरुलाई सुविधा जनक बासको सुविधा छैन । मन्दिरदेखि साढे एक घण्टाको दूरीमा रहेको फेदी र देउरालीमा भने खाने र बास बस्नको लागि  होटल, लजको सुविधा छ । पदयात्रीको सुविधाका लागि पदमार्ग भने स्तरिय बनाइएको छ । उकालो पदयात्रा गर्ने पर्यटक बाटो बिराएर अलमलमा पर्नुपर्दैन । तल्लो फेदीबाट झन्डै साढे दुई घण्टाको पदयात्रापछि माथिल्लो फेदी पुगिन्छ । माथिल्लो फेदीलाई पाथीभराको आधार शिविर मानिन्छ । थाकेर आएका यात्रुको सेवामा दर्जनौँ होटेल सञ्चालनमा छन् । गुरुङ, नेवार, लिम्बूजस्ता आदिवासी समुदायको बाहुल्य रहेको यस भेगमा पर्यटकले स्थानीय परिकारको भरपुर स्वाद लिन सक्छन् ।
माथिल्लो फेदीमा पुगेपछि इच्छा हुनेहरुले स्थानीय तोङबा र झ्वाइँखट्टे पिएर थकान मेटाउने गर्दछन् । यस क्षेत्रबाट मौसम अधिक चिसो हुँदै जान्छ । स्थानीय परिकार मकै तथा सातु ठाउँ ठाउँमा बिक्रीको लागि राखिएको हुन्छ । चिसोबाट बच्न होटेलका संरचना काठबाट बनाइएको छ । सामान्यतया टाढा–टाढाबाट पाथीभरा पुगेका धार्मिक पर्यटकहरु आस्थासँगै पाथीभरा मन्दिर परिसरबाट देखिने हिमश्रृंखलामा पर्ने घामको पहिलो झुल्कोलाई आफ्नै आँखाअगाडि देख्न लालायित हुन्छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker