विद्यालयमा बाँसको “डस्टविन”
भञ्ज्याङ समाचारदाता/तनहुँ
विद्यार्थीलाई स्थानीय स्रोतसाधनको उपयोग र वातावरणमैत्री क्रियाकलापका विषयमा पठनपाठन गराउन विद्यालयमा बाँसबाट निर्मित डस्टविन लगायतका सामाग्रीहरु प्रयोग गर्न थालिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालयले विद्यार्थीहरुलाई स्थानीय स्तरमै उपलब्ध श्रोतसाधनको अधिकतम् उपयोग गरी कसरी लाभ लिन सकिन्छ भन्ने शिक्षा दिन बाँसको डस्टविन प्रयोगमा ल्याएको हो ।
गाउँघरमै सहजै उपलब्ध हुने बाँसबाट डोको तथा शैक्षिक सामाग्रीहरु तयार गरी विद्यालय प्रयोग गर्न थालेको प्रधानध्यापक सुर्यमानसिंह गुरुङले बताए । ‘हामीले बाँसबाट डोको बुनेका छौं, सोही डोकोलाई प्रत्येक कक्षाकोठा, कार्यालय, विद्यालय प्राङ्गणका ठाउँठाउँमा राखेर डस्टविनका रुपमा प्रयोग गर्न थालेका छौ’, उनले भने, ‘गाउँमै उपलब्ध बाँसबाट अभिभावकहरु विरबहादुर गुरुङ र आश बहादुर गुरुङले विद्यालयका लागि डस्टविनका रुपमा प्रयोग गर्न डोको बनाइदिनु भएको छ ।’
प्रधानध्यापक गुरुङका अनुसार विद्यालयबाट अभिभावकलाई सामान्य खाजाखर्च मात्र उपलब्ध गराइएको छ । यसरी बाँसको डोकोलाई डस्टविनका रुपमा प्रयोग गर्दा प्लाष्टिकजन्य बस्तुको प्रयोग हटेको छ । उनले भने, ‘प्लाष्टिकजन्य बस्तुको प्रयोग नगरी वातावरणमैत्री स्थानीय स्तरमै पाइने बस्तुको प्रयोग गर्दा आर्थिक भार पनि कम भएको छ ।’
प्लाष्टिकको डस्टविन भन्दा बाँसको डस्टविन बढि टिकाउ र विद्यालयमा उपयुक्त पनि भएको गणित विषयका शिक्षक विकास गुरुङले बताए । ‘२/३ सय रुपैयाँमा प्लाष्टिकको डस्टविन खरिद गरी ल्यायो, केही समयमै फुटेर पटकपटक फेर्नुपथ्र्यो’ उनले भने, ‘डोको प्रयोग गर्दा विद्यार्थीहरुलाई गाउँघरमै पाइने यस्ता वस्तुको प्रयोग गरी कसरी लाभ लिन सकिन्छ र वातावरणमैत्री क्रियाकलापका विषयमा पनि सिकाउन सहज भएको छ ।’

यस्तै, विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई सामाजिक कार्यमा कसरी सहभागिता जनाउन सकिन्छ भनि शिक्षा दिन आफैले विद्यालय भवनका जीर्ण भर्याङ, ढोका, भवनका भित्ता, खेलमैदान सरसफाई, मर्मतसुधार तथा रङ्गरोगन पनि गर्दै आएका छन् ।
प्रधानध्यापक गुरुङले भने, ‘बिदाको समयमा हामीले विद्यालयको भौतिक संरचनाको रेखदेख गर्दै आएका छौं । गत फागुनको पहिलो हप्ता जीर्ण बन्दै गएको विद्यालयको भर्याङ सरसफाई गरी सिमेन्ट लगाएर प्लास्टर गर्यौ र विद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा कसरी सहभागिता जनाउन सकिन्छ भन्ने जानकारी पनि गरायौं ।’
आँबुखैरेनी गाउँपालिकाको विकट क्षेत्रमा रहेको यस विद्यालयमा विशेष गरी जनजाति समुदायका करिव १३२ जना विद्यार्थी अध्ययनरत छन् । यी मध्ये अधिकांश विद्यार्थीहरु डेढ/दुइ घण्टा पैदल हिडेर विद्यालय आउनेजाने गर्छन् ।
विद्यार्थीहरु घण्टौं समय खर्चा गरी विद्यालय आउजाउ गर्नुपर्ने भएपछि आँबुखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रबाट विद्यालयमा स्कुल बसको व्यवस्थापन गर्ने तयारी गरेको गाउापालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
‘ग्रामीण क्षेत्रको यो विद्यालयमा विद्यार्थीहरु घण्टौं समय खर्चिएर अध्ययन गर्न जाने गरेको हुँदा उनीहरुको शिक्षामा सहज पहुँच पुर्याउने उद्देश्यले विद्यालय बसको अवधारण अगाडि ल्याएका छौं’, उनले भने, ‘गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरेको छ ।’ यस्तै, गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाका सबै जनप्रतिनिधिहरुले आफ्ना बालबालिका सामुदायिक विद्यालयमै पढाउनुपर्ने व्यवस्था गरेको छ ।










