व्यासमा प्लाष्टिक झोला प्रयोगमा प्रतिवन्ध

तनहुँको व्यास नगरपालिकाले प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु प्रयोग गर्न निषेध गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोग गर्ने प्रयोगकर्ता, बिक्रेता र उत्पादकलाई जरिवानाको व्यवस्था समेत गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने अभियान सञ्चालनका लागि सम्पूर्ण तयारी भइसकेको जनाउँदै प्रयोग गर्ने/गराउनेलाई जरिवाना गर्ने बताएको छ ।
नगरपालिकाले आज जेठ १ गतेदेखि नगर क्षेत्रलाई प्लाष्टिक झोलामुक्त घोषणा गर्ने भएको छ। प्लाष्टिक झोला प्रयोगकर्तादेखि उत्पादकसम्मलाई जरिवाना शुल्क निर्धारण गरिएको नगरपालिकाका वन तथा वातावरण समिति संयोजक रनसिं नेपालीले बताए।
उनका अनुसार यही वैशाख २३ गते कार्यपालिकाले ‘व्यास नगर प्लाष्टिकजन्य वस्तु प्रतिबन्धसम्बन्धी कार्यविधि-२०८१’ पारित गरिसकेको छ। प्लाष्टिकका झोला प्रयोगकर्तालाई प्रथम पटक रु १०, दोस्रो पटक रु ५० जरिवाना शुल्क तोकिएको नेपालीले बताए । प्लाष्टिक झोला बिक्रेतालाई प्रथम पटक रु पाँच सय, दोस्रो पटक रु एक हजार र तेस्रो पटकदेखि हरेक पटक रु तीन हजारका दरले जरिवाना हुने व्यवस्था गरिएको उनले बताए ।
उत्पादकलाई प्रथम पटक रु दुइ हजार, दोस्रो पटक रु चार हजार र तेस्रो पटक रु छ हजार जरिवानाको व्यवस्था गरिएको छ। तत्पश्चात् पनि प्लाष्टिकका झोला प्रयोग गरेको भेटिएमा नाम र्सार्वजनिक गरी अन्य दण्ड सजायँ हुने प्रावधान तय गरिएको छ ।
कार्यविधिको उल्लङ्घन गर्ने उत्पादक र बिक्रेतालाई नगरपालिकाले व्यवसायिक दर्ता खारेजी तथा कारोबार बन्दका साथै पालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द गर्न सकिने चेतावनी दिने भएको छ ।
नगर क्षेत्रमा निषेधित प्लाष्टिकजन्य वस्तु उत्पादन, बिक्रीवितरण, आयातनिर्यात, भण्डारण तथा प्रयोग गरेको सूचना दिने व्यक्ति, जफत गर्ने कार्यमा संलग्न अनुगमन समितिका सदस्य तथा कर्मचारीलाई जरिवाना रकमको ५० प्रतिशत दामासाहीले पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख इन्दिरा दरैले बताइन ।
प्लाष्टिकको विल्पमा प्रयोग गर्नका लागि नगरभित्रका दिदीबहिनीलाई झोला बनाउने तालिम प्रदान गरी स्वरोजगार बनाउने अभियान नगरपालिकाले लिएको उनले बताइन् । ‘महिलाहरुले उत्पादन गरेका कपडाका झोला प्रत्येक पसलपसलमा पुगिसकेका छन्’, उपप्रमुख दरैले भनिन्, ‘नगरलाई सुन्दर र स्वच्छ बनाउने अभियानमा आमनगरवासी एकजुट भएर लाग्नुपर्छ ।’
नगरपालिकाले कपडाका झोला बनाउने तालिम प्रदान गर्नुका साथै पहिलो पटक प्लाष्टिकजन्य झोला प्रयोगमा रोक अभियान सुरु गर्दैछ । गत चैत र यही वैशाखमा व्यासका १४ वटै वडामा पुगेर प्लाष्टिकका झोलाका विषयमा सचेतना गराउने कार्य सम्पन्न गरिएको नगर कार्यालयले जनाएको छ ।
स्थानीय टोल विकास संस्था, सामाजिक संघसंस्था, जनप्रतिनिधि, उद्योगी, व्यवसायी, मासु, दुग्ध, कपडा, किरानालगायत सबै व्यापारी, तनहुँ उद्योग वाणिज्य संघसँग व्यापक छलफल गरी अभियान अघि बढाइएको हो ।
नगरभित्र दैनिक एक हजार दुइ सयदेखि एक हजार पाँच सयसम्म प्लाष्टिकका झोला प्रयोग हुँदै आएको छ । प्लाष्टिकलाई न्यूनिकरण गर्न सकिए मात्रै सहरी सौर्न्दर्यमा वृद्वि भई वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न सकिने नगरपालिकाका सरसफाई विज्ञ कृष्ण भण्डारी बताउँछन् ।










