चतराधाम, पर्यटन र कुम्भ मेला

के.बि. मसाल

नेपालमा धेरै पर्यटनकास्थल तीर्थाटनसंग जोडिएका छन । तीर्थाटनका लागि नेपाली मात्र होइन भारतबाट पनि नेपालमा प्रत्येक वर्ष लाखौंको संख्यामा पर्यटकहरु आउँछन् । भारतबाट आउने तीर्थाटनका पर्यटकहरु विशेष गरी काठमाडौं उपत्यकामा पशुपतिनाथ र उपत्यका बाहिर जनकपुर, पूर्वको पाथीभरा, चतराधाम, हलेसी पश्चिमको मुक्तिनाथ, स्वर्गद्वारी, खप्तड र बडिमालिकासम्म पुग्ने गर्दछन । यो बाहेक मनकामना, गढीमाई, पलाञ्चोक र कालिञ्चोकलगायत धार्मीक क्षेत्रमा पनि भारतीय तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन ।

सुनसरी जिल्लाको चतराधाममा कुम्भमेला आयोजना गरियो । चतराधाम प्राचीन र कोशी नदीको किनारामा पर्दछ । चतराधाम धरानदेखि पश्चिम सप्तकोशी नदीको किनारामा पर्दछ । चतराधाममा मुख्य औलीया बाबा मठ र जगदगुरु पीठ रहेका छन् । चतराको पुरानो मठ भने औलीया बाबाको मठ हो । औलिया बाबा मठको इतिहास मध्यकालको मानिन्छ । चतराधामको औलिया बाबा मठ क्षेत्रमा भैरव, काली, शिव, शिवगणेश र हनुमानका मन्दिरहरु छन् । औलिया बाबाको गुदरी घर अर्थात बाबा मनमुकुन्द सेनले ओडने कपडा राखिएको घर पनि पर्दछ । मनमुकुन्देश्र शिवालय, मनमुकुन्द सेनले स्थापना गरेका हुन । चतराधाममा रहेको जगदगुरु पीठलाई राधाकृष्ण आध्यात्मिक भक्ति साधना प्रतिष्ठान भनिन्छ । चतराधाममा कार्तिक पूर्णिमा मेला लाग्दछ । मेलाको अवसरमा विशेष उत्सवका साथ औलिबाबाको निसान वराहक्षेत्र पुर्‍याउने गरिन्छ । त्यसपछि बाबाको निसानलाई तीन दिनसम्म वराहक्षेत्र मन्दिर भित्र राखी कार्तिक पूर्णिमाको भोलिपल्ट चतराधाम ल्याएपछि कार्तिक मेलाको समापन हुन्छ ।

कुम्भमेलालाई हिन्दु धर्मावलम्बीहरुले महान स्नान पर्वको रुपमा लिने गर्दछन । शास्त्रिय आधारमा जम्मा १२ वटा कुम्भस्थल भएपनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरु मध्ये ४ कुम्भस्थलहरु भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्ज्यैनमा पर्दछन । जहाँ प्रत्येक १२/१२ वर्षमा कुम्भमेला लाग्ने गर्दछ भने अर्को कुम्भमेला नेपालको प्राचिन हरिद्वार चतारधाम कोशी नदीको किनारमा लाग्ने गर्दछ । जगदगुरु महाराजश्रीद्वारा २०५४ सालदेखि २०५८ साल सम्म भएको अथक खोज र अनुसन्धानबाट प्राप्त शास्त्रीय प्रमाणको आधारमा २०५९ साल वैशाखदेखि प्रथम कुम्भमेला चतारधाममा सुरु भएको थियो । त्यसपछि चतराधाममा प्रत्येक १२ वर्षमा पूर्ण कुम्भ मेला र ६/६ वर्षमा अर्धकुम्भ मेला लाग्ने गरेको छ । कुम्भमेलामा तीर्थाटनका पर्यटकहरु बराहक्षेत्रमा स्नान गर्न पुग्दछन । कुम्भमेलामा स्नान, दान, यज्ञ, अनुष्ठान, यजन र पूजन गर्दा कहिल्यै पनि ननासिने अर्थात अक्षय नहुने र पुण्य प्राप्त हुने विश्वास तीर्थाटन पर्यटकहरुको छ । अर्को तर्फ कुम्भका समयमा ब्रहृमा, विष्णु, महेश्वर तथा देवताहरुका राजा इन्द्र र अन्य देवगण कुम्भको तिथि पारेर बराहक्षेत्रमा स्नान गर्न आउने भएकाले कुम्भ मेलाको समयमा स्नान गर्नाले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । बराहक्षेत्रमा वृद्धाश्रम, वेद विद्यालय, कुम्भ स्मारक अर्थात नेपालको प्रथम कुम्भ मेलाको प्रतिक र आयुर्वेदिक विश्वविद्यालय, धर्मशाला, गौशाला, यज्ञशाला र अन्य मठ मन्दिरहरु पनि रहेका छन ।

प्राचीन हरिद्वार चतराधाममा सञ्चालन भएको महाकुम्भ मेलामा प्रत्येक दिन तीर्थाटनका पर्यटकहरुको सख्या बढदै छ । बराहक्षेत्रमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमफिर गर्न तीर्थाटनका पर्यटकहरु पुग्ने गरेका छन । हिन्दू धर्मशास्त्रमा बराह क्षेत्रस्थित सप्तकोशी नदी र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएको छ । धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कुम्भमेलामा नेपाल र भारतका तीर्थाटनका पर्यटकहरुको दैनिक लाखौ जनाले तीर्थाटन गर्दै आएका छन । कुम्भमेला आध्यात्मिक हिसाबले अत्यन्त महत्वपूर्ण मानिन्छ । कुम्भमेलामा जगतगुरु, शंकराचार्यहरु, धर्माचार्यको सहभागिता र प्रवचन, भजनकीर्तन, शास्त्रार्थ सम्मेलन लगायत महास्नान हुने गरेका छन् । चतराधामको कुम्भमेलाले हराउँदै गएको धर्म, संस्कार र संस्कृतिको पुनरुत्थान गरेको छ । कुम्भमेला सुरु भएपछि धार्मिक पर्यटनको विकास हुनुका साथै प्राचिन चतराधामको प्रचार भएको छ । वि.सं. २०५० को दशकमा अहिलेको कुम्भक्षेत्र अर्थात चतराधाम मसानघाट जस्तै थियो । चतराधाममा कुनै बस्ति थिएन भने खर र बाक्लो खयरको झाडी मात्र थियो । वि.सं. २०५४ मा बालसन्त देवाचार्य चतराधाम आएपछि उनको अगुवाइमा कोशीको किनारमा अहिलेको धार्मिक संरचना निर्माण हुन थाल्यो र कुम्भ नगरीमा परिणत भएको हो। विगतमा मसानघाटका रुपमा चिनिएको चतरा अहिले तीर्थस्थलका रुपमा विकसित भएको छ । कुम्भमेलाले कोशी किनारमा रहेको चतराधाम राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा परिचित हुँदै आएको छ ।

बराहक्षेत्र ब्रहृमपुराण, वराहपुराण, स्कन्दपुराण र महाभारत महाकाव्यमा समेत उल्लेख भएको नेपालको सबैभन्दा पुरानो देवस्थल हो । बराहक्षेत्रमा वराह अवतार विष्णुको पूजाआजा हुने गर्दछ । बराहक्षेत्र सुनसरी जिल्लाको धरानदेखि करिब २५ कि.मि. उत्तर पश्चिममा पर्दछ । कोका नदी र कोशी नदीको संगमस्थल बराहक्षेत्र प्राचिन मानिन्छ । बराहक्षेत्रमा इन्द्र ब्रहृमा, कोका, सूर्य, बद्री, मुक्तेश्वर, गुरुब्रहृमा लगायत १० वटा तीर्थाटनका लागि मन्दिर रहेका छन् । कोशी नदी नेपालको सबैभन्दा ठुलो नदी हो । कुशिक ऋषिको नामबाट नामाकरण भएको कोशी नदीमा अरुण, तमोर, सुनकोशी, भोटेकोशी, लिखु, तामाकोशी र इन्द्रावती मिसिन्छ । सातवटा नदी मिलेर बनेको हुनाले कोशी नदीलाई सप्तकोशी पनि भनिन्छ । यी नदीहरुमा सबैभन्दा ठुलो अरुण र सबै भन्दा सानो लिखु नदी हो । पूर्वमा कञ्चनजंघा हिमालयदेखि पश्चिममा लाङटाङ हिमालसम्म सप्तकोशीको प्रभाव क्षेत्र रहेको छ । वराहक्षेत्रमा कोशी र कोकाह नदी मिसिन्छ । कोकाह नदीको उदगमस्थल सुनसरीको प्रख्यात धार्मिक स्थल बिष्णु पादुका मन्दिर क्षेत्रको पहाड हो । धरान बजारदेखि उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णु पादुकाको महत्व छुट्टै रहेको छ । विष्णु पादुकामा भगवान विष्णुले आफ्ना पितृलाई मोक्ष गर्न तर्पण गरी पहिलो श्राद्ध गर्नु भएको मानिन्छ । प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृहरुलाई पिण्ड तर्पणका लागि तीर्थाटनका पर्यटकहरु विष्णु पादुका पुग्ने गर्दछन । बिष्णु पादुकामा श्राद्ध गरेपछि काशी र गया गएर श्राद्ध गर्नु नपर्ने भनाइ छ । चतराधामबाट तर्राईमा प्रवेश गर्दै कोशी बाँध पार गरेर कोशी नदी भारत प्रवेश गर्दछ ।

चतराधाम कुम्भमेलामा पुग्ने तीर्थाटनका पर्यटकहरुलाई पाँचवटा स्थानमा स्नान स्थल निर्माण गरिएको छ । तीर्थयात्रीका लागि खानाको व्यवस्था धरान र विराटनगरका मारवाडी समुदायले निःशुल्क सेवा दिएका छन । कुम्भमेलाको मुख्य आकर्षण शाही स्नान रहेको छ । कुम्भ स्नान गर्नकै लागि तीर्थाटनका पर्यटकहरु चतराधाम पुग्ने गरेका छन । अमृतको सार पिण्ड अक्ष तृतीयासम्म राखिन्छ । कुम्भमेलामा नुहाए मोक्ष प्राप्ति हुने मान्यता छ । शाही स्नान सन्तमहासन्तदेखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति, लाखौं भक्तजनका साथमा बाजागाजा सहित हुने गरेको छ । कुम्भमेलाको समापन महास्नान अर्थात शाही स्नान यहि बैशाख २८ गते अक्षय तृतीयाका दिन भएको छ । वराहक्षेत्र वरपरका पर्वत, वन जंगल तथा त्यहाँबाट देखिने रमणीय दृश्यहरुले पर्यटकहरु रमाउँछन । बराहक्षेत्रमा डेढ दर्जन होटल तथा आधा दर्जन जति लज ससमेतको सुविधा भएका होटलहरु छन् । जहाँ तीर्थाटनका पर्यटकहरुले खाना र बस्ने सुविधा पाउँछन् । त्यसबाहेक चारवटा धर्मशाला पनि छन् । धर्मशालामा भाडावर्तन उपलब्ध हुन्छ । धर्मशालामा बस्न चाहने तीर्थाटनका पर्यटकहरुले आफैले पकाएर खानुपर्दछ ।

इलामको अ जस्तै वराहक्षेत्रलाई झट्टै पहिचान झल्काउने वराहक्षेत्रका पाँच म छन् । पाँच म अर्थात् मसाला, माछा, मठमन्दिर, मुर्दाघाट र मेला-महोत्सव । वराहक्षेत्रमा प्रत्येक वर्ष कार्तिक महिनाको हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म पाँच दिन मेला लाग्दछ । मेलामा नेपालका मात्र होइन भारत, भुटान लगायतका तीर्थाटनका पर्यटकहरु बराहक्षेत्रमा पुग्ने गर्दछन् । यसैगरी माघ महिनामा पर्ने माघे सक्रान्ति मेलामा चतराधामको सप्तकोशी नदी र वराहक्षेत्रस्थित कोकाह खोलाको संगमस्थलमा स्नान गर्नेहरुको भिड लाग्छ । कुम्भमेलामा जाने तीर्थाटनका पर्यटकहरुले आफ्नो समय भएमा पूर्वी नेपालमा रहेका धार्मिक मठ मन्दिरमा समेत तीर्थाटन गर्न सक्ने छन । अहिले चतराधामदेखि तमोर करिडोर सडकले पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जानको लागि छोटो मार्ग भएको छ ।

मोरङको रानीभन्सारदेखि ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीन जोडने तमोर करिडोर कूल २७० कि.मी. दुरी पर्दछ । तमोर करिडोर चतरादेखि मूलघाट हुँदै पाँचथरको माझीटार, ताप्लेजुङको सुकेटार र ओलाङचुङ्गोला हुँदै चीनको तीब्बतसँग जोडने सडक हो । चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको दुरी १५५ किलोमिटर पर्दछ । अर्को तर्फ पर्यटकहरुले आफ्नो समय र रुचि भए कोशी टप्पु, भेडेटार र धरान पनि घुम्न सक्दछन । कोशी टप्पु वन्यजन्तु आरक्ष १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ । नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रुपमा परिचित कोशी टप्पु आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरु र दुर्लभ अर्ना र डल्फीनसमेत देख्न सकिन्छ । कोशी टप्पु लोपोन्मुख अवस्थामा रहेका अर्ना अर्थात जंगली भैँसी र चराहरुको मुख्य बासस्थानका रुपमा रहेको छ । हाँसका विभिन्न जात, लालसर र धेरै किसिमका बकुल्ला, गरुड, सारस र अन्य पानी चराहरु समेत कोशी टप्पुमा देख्न सकिन्छ ।

आजभोली वराहक्षेत्र पुग्ने पर्यटकहरुको लागि कोशी नदीमा जलक्रिडा र नौकाशयर गर्न सुबिधा समेत छ । ब्यवसायिक रुपमा जेटबोट सञ्चालनमा आएपछि अरुण र दुधकोशीमा रोमाञ्चक जलयात्रा गर्ने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढेको छ । सप्तकोशी नदीमा सञ्चालन भएको जेटवोटले आजभोली चतरा र वराहक्षेत्र पुग्ने पर्यटकहरुलाई सुबिधा भएको छ । अहिले सप्तकोशी नदीमा कोशी रिभर ट्रान्सपोर्ट, वराहक्षेत्र जल यातायात, वराहक्षेत्र मरिन लगायत तीन वटा कम्पनीका बोटले पर्यटकहरुलाई पहाडी जिल्लामा घुमाउने र गन्तव्यसम्म पुर्‍याउने गरेका छन् । जेटवोटबाट वराहक्षेत्र मन्दिर लगायत भोजपुर जिल्लाको हतुवागढी भसुवासम्मको २५ किलोमीटरको एडभेन्चर र्‍याफ्टिङ गर्नेलाई प्याकेज टूरमा सुविधा समेत भएको छ । चतराघाट पोर्टबाट विशेष गरी धनकुटा, भोजपुर र खोटाङका गाउँमा जाने यात्रुलाई पनि सेवा दिइरहेको छ । चतरा तर्ीथाटन पर्यटन स्थलको रुपमा परिचित रहदै आएको थियो भने अहिले यो स्थान जेटवोट अर्थात पानी जहाजसँग जोडिएको छ ।

जेटबोट सञ्चालन भएयता पर्यटकहरुले दुधकोशी नदी किनारमा पर्ने भोजपुर हतुवागढीको चुहार र भसुवासम्म र अरुण नदीको किनारमा पर्ने भोजपुर र धनकुटाको सिमाना पर्ने सिम्लेसम्म पुग्न सकेका छन् । सप्तकोसीमा र्‍याफ्टिङ पनि सञ्चालन भइरहेको छ । र्‍याफ्टिङ सेवाले तमोर, अरुण र सुनकोसी नदीहरुमा सेवा दिँदै आएको छ । तमोरको मूलघाटबाट चतरासम्मको ३४ किलोमिटर यात्रा र अरुणको लेगुवाघाट-चतरासम्मको ४२ किलोमिटरको र्‍याफ्टिङ यात्रामा रमाउने पर्यटकहरुको संख्या पनि धेरै छ । कुम्भमेलामा मात्र होइन अन्य समयमा पनि वराहक्षेत्र घुम्न धेरै पर्यटकहरु पुग्ने गर्दछन । वराहक्षेत्रमा पर्यटकको पहिलो रोजाइ सप्तकोशीको माछा हुने गर्दछ । र्‍याफटिङ गर्दै आउने विदेशी पर्यटक हुन वा आन्तरिक पर्यटक चतरा र वराहक्षेत्रमा पुग्ना साथ माछाको स्वाद लिन खोज्दछन । अर्को तर्फ गर्मी छल्न र चिसोको मजा लिन माछा मार्ने फिसिङ रड लिएर युवाहरु कोशीमा रमाइरहेका हुन्छन् । चतराको माछा हिमालको हिउँ पग्लेर बग्ने सातवटा नदीको पानीमा खेलेका हुनाले माछाको स्वादका पारखी पर्यटकहरु माछा खान लालायित हुने गर्दछन ।

धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार मात्र नभएर पहाड र तराइको संगम स्थल पनि हो । धरानमा विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरु रहेका छन । पूर्वी नेपाल घुम्नका लागि ट्रान्जिट पनि हो धरान । धरानदेखि उत्तरतर्फमाछामारामा ब्रिटिस गोर्खा स्मृति पार्क रहेको छ । पार्कमा भिक्टोरिया क्रस विजेता १३ जना बहादुर गोर्खालीहरुको नाममा होलिडे हट निर्माण गरिएको छ । पार्कबाट पर्यटकहरुले धरान बजारको अवलोकन गर्न सक्दछन । धरान पुगेपछि ऐतिहासिक विजयपुर पुग्नै पर्दछ । विजयपुर बुद्धिकर्ण राइको समाधिस्थल र चर्चित बूढासुब्बाको मन्दिर रहेको छ । जहाँ बाँसका टुप्पा ठुट्टै देख्न सकिन्छ ।

विजयपुरका बाँसमा प्रेमीप्रेमिकाको नाम लेख्ने युवायुवतीको उत्तिकै भीड हुन्छ । शक्तिपीठ दन्तकाली र प्राचीन रुद्राक्षरणम् क्षेत्रको पिण्डेश्वर बाबाधाम पनि विजयपुरमै रहेको छ । भताभुंगे दरबारदेखि पाँचकन्या मन्दिर पनि यसै क्षेत्रमा पर्दछ । धरान पुग्दा भेडेटार पुगेन भने यात्रानै अधुरो हुन्छ । भेडेटार धरानबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा पर्दछ । बाह्रैमास चिसो हावा बहने हुनाले पर्यटकहरु तराइको गर्मी छल्न र प्राकृतिक आनन्द लिन, चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न पुग्ने गर्दछन । भेडेटारको भ्यू टावर अर्थात चार्लसप्वाइन्ट यस्तो स्थान हो जहाँबाट सप्तकोशीको मनोरम दृष्य र तर्राईका फाँटहरुका साथै मकालु, कञ्चनजघा, कुम्भकर्ण जस्ता हिम श्रृंखलाहरु पर्यटकहरुले एकै स्थानबाट अवलोकन गर्न सक्दछन ।

चतरा कसरी पुग्ने ?

चतराधाम पुग्न इटहरी आसपास पुगेपछि २-३ वटा वैकल्पिक सडक मार्ग छन । धरान-चतरा, पकली-चतरा र झुम्का-चतरा नहरको सडकबाट चतरा पुग्न सकिन्छ । पश्चिम नेपालको बिभिन्न जिल्लाबाट चतराधाम पुग्नको लागि आजभोली हेटौडादेखि मदन भण्डारी लोकमार्ग समेत प्रयोग गर्न सकिन्छ । यो मार्ग छोटो मात्र नभएर सिन्धुली र उदयपुर बजारको समेत अवलोकन गर्न सकिन्छ । बराहक्षेत्रसम्म पुग्न धरानबाट पनि चतरा हुदै जान सकिन्छ । यी सडकमा सार्वजनिक यातायातका साधन चल्ने गर्दछन।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker