कांग्रेस तनहुँको अधिवेशन : १ हजार ७८३ मत खस्यो, केही प्रतिनिधिले मतदान गर्न पाएनन्
भञ्ज्याङ न्यूज
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत शनिबार तनहुँको जिल्ला अधिवेशन भएको छ । अधिवेशन अन्तरगत शनिबार जिल्ला नेतृत्व चयनका लागि मतदान भएको छ । जिल्ला नेतृत्व चयनका लागि भएको मतदानमा १ हजार ७८३ प्रतिनिधिहरुले मतदान गरेका छन् ।
जिल्लाको दुइ निर्वाचन क्षेत्रमा गरी कुल १ हजार ८१६ जना प्रतिनिधि रहेकोमा क्षेत्र नं. १ बाट ९२५ र क्षेत्र नं. २ मा ८५८ मत खसेको निर्वाचन अधिकृत फणिन्द्र कोइरालाले जानकारी गराएका छन् ।
जिल्ला सभापति पद दाबा गर्दै जिल्ला सभापति एवं व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जितप्रकाश आलेले आ-आफ्नो प्यानल तयार गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
सभापति पदका आकांक्षी न्यौपानेको टिमबाट उपसभापति उदयराज गौली र बालकृष्ण घिमिरे, सचिवमा किसान गुरुङ र केशबहादुर सुनार, सहसचिवमा मिलन आले र धिरेस खनाल छन् ।
यस्तै, अर्का सभापति पदका आकांक्षी आलेको टिमको उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिवमा सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल, सहसचिवमा परमेश्वर भट्टर्राई र हुतमणि अधिकारी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
त्यस्तै, शनिबार मत हाल्न नपाएको भन्दै केही प्रतिनिधिहरु विवाद गरेका थिए । मतदानको समय साँझ ५ बजेसम्म तोकिएको भएको हुँदा गेट बन्द गरिएको निर्वाचन अधिकारीको भनाई छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेसहित १५ जना प्रतिनिधिहरु लाइनमा बसेपनि मतदान गर्न नपाएको बताइएको छ ।