तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माणलाई निरन्तरता

तनहुँको बन्दीपुर गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत साइकल लेन निर्माण शुरु गरेको छ । गत आर्थिक वर्षदेखि शुरु भएको साइकल लेन निर्माणलाई बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।

मुकुन्देश्वरीदेखि रामकोट जोड्ने गरी साइकल लेनको काम पुनः थालिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । गत जेठ महिनामा शुरु गरिएको उक्त काममार्फत गाउँपालिकाले २७ जनालाई रोजगारी दिएको थियो । मङ्गलबारबाट १५ अतिविपन्न श्रमिकलाई उक्त काममा परिचालन गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले अतिविपन्न श्रमिकलाई माघसम्मका लागि रोजगारी दिइएको जानकारी दिनुभयो । साइकल लेनको विभिन्न स्थानमा साइकल पार्क, पोखरी तथा विश्रामस्थलसमेत निर्माण गरिनेछ ।

गाउँपालिकामा आर्थिक वर्ष २०७७÷७८ मा वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत ३६० मध्ये प्राथमिकता क्रममा परेका अतिविपन्न श्रमिकलाई गाउँपालिकाले नियमित विकास निर्माण कार्यक्रमअन्तर्गतका आयोजनामा परिचालन गरी रोजगारी प्रदान गर्ने गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले जानकारी दिनुभयो । गाउँपालिकामा चालु आर्थिक वर्षमा दातृ निकाय र नेपाल सरकारबाट कूल रु ६८ लाख २५ हजार सःशर्त अनुदान रकम ज्यालामा खर्च गर्ने गरी विनियोजन भएको छ ।

गाउँपालिकाले चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेको ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमलाई पनि प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै अगाडि बढाउने तयारी गरेको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले चालु आवमा रु ३० लाख बजेट विनियोजन गरेको छ । बन्दीपुर गाउँपालिका–२ बाट वडा नं ३ रामकोट जोडिने उक्त साइकल लेन चार किमीको हुनेछ । साइकल लेनले गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण शुरु गरिएको हो । “साइकल लेन निर्माणपछि राष्ट्रियस्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुनेछ”, गाउँपालिकाका अध्यक्ष थापाले भन्नुभयो ।

गाउँपालिकाले विकासका लागि गुरुयोजना नै बनाएर अगाडि बढेको छ । गाउँपालिकाले बन्दीपुरको २० वर्षे गुरुयोजना तयार गरिसकेको छ । काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रको पनि केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको सोच छ । बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकाले यसलाई संरक्षण, संवद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रम अगाडि बढाउने थापाले जानकारी दिनुभयो ।

सोहीबमोजिम गाउँपालिकाले वडा नं २ स्थित थानीमाई मन्दिरबाट पदमार्ग पर्खाल निर्माण शुरु गरिसकेको छ । चीनमा रहेको विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी गत वर्षदेखि नै पदमार्ग पर्खाल निर्माणको काम भइरहेको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker