व्यास नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्शा पास गर्दा राजश्वमा छुट
भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिकाले महिलाको नाममा घरनक्सा पास गर्दा राजश्व छुट गरेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको बताइएको छ । पछिल्लो समय नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्सा पास गर्नेको संख्या बढेको नगरपालिकाको भवन नियमन तथा घर नक्सा पास शाखाका प्रमुख अमृत केसीले बताए ।
नगरपालिकाको घरनक्सा शाखामा घरनक्सा पास गर्ने काममा आधाभन्दा बढी सेवाग्राही महिला हुने उनले बताए । नगरपालिकाले महिलाको स्वामित्व बढाउन उनीहरुको नाममा घरनक्सा पास गर्दा राजश्वमा ५ प्रतिशत छुट दिने गरेको छ । शाखा प्रमुख केसीले भने, ‘सम्पत्तिमा महिलाको स्वामित्व बढाउन घर नक्सा पास गर्दा नगरपालिकाबाट छुट दिईने गरिएको हो । यसले महिलाहरुलाई आर्थिक रुपमा सबल र पारिवारिक निर्णय प्रकृयामा प्रभावकारी बनाउने छ ।’
गएको तीन वर्षमा १ हजार दुइ सय घर नक्सा पास गर्दा ९ सय घरनक्सा महिलाको स्वामित्वमा पास गरेको उनले बताए। महिलाको नाममा घरनक्सा पास बढ्न थालेपछि गएको वर्षा घर नक्सा पास गर्दा १ करोड २ लाख राजश्व संकलन भएकोमा ५ लाख राजश्व छुट दिईएको छ ।
महिलाको सम्पत्तिमा स्वामित्व बढाउने, उनीहरुलाई आर्थिक रुपमा सबल र पारिवारिक निर्णय प्रकृयामा प्रभावकारी बनाउने लगायत लक्ष्य राखेर नगरपालिकाले राजश्व छुटको नीति अख्तियार गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘नगरपालिकाले महिलाको स्वामित्वमा घरनक्सा पास गर्दा राजश्वमा छुट दिएपछि सोचे अनुरुप नतिजा प्राप्त भएको छ ।’










