चार महिनापछि खुल्यो ढोरबाराही मन्दिर
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर चार महिनापछि खुलेको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १५ गतेदेखि भक्तजनका लागि बन्द रहेको मन्दिर आइतबारबाट खुल्ला गरिएको हो ।
कोरोना संक्रमण घट्दै गएकाले स्वास्थ्य मापदण्ड अपनाएर भक्तजनलाई पूजाअर्चनाका लागि मन्दिर खुला गरिएको मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले जानकारी दिए । कोरोना कहर र निषेधाज्ञाका कारण मन्दिरमा नित्य पूजा मात्रै भइरहेको थियो । मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ ढोरबाराही मन्दिरको दर्शनका लागि भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
जंगलले चारैतिर घेरिएको पहाडका बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । ढोरबाराहीमा रहेको पोखरीमा बेलाबेला लहरी छुट्ने गर्दछ । रहस्यमी लहरीलाई धार्मिक आस्थाका रुपमा लिइन्छ । ढोरबाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ ।
हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चर्तुबाहु मूर्तिसमेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ देखि चढाइएका घण्टसमेत रहेका छन् । ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ । मन्दिरका पुजारी लम्सालका अनुसार पोखरीको मूलबाट पानीको ठूलो भल आउने र एकैछिटमा फेरि स्वतः घट्दै जान्छ । यस पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग तुलना गरिन्छ ।
उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदका समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ । रजबाम विशेष गरी लहरी छुट्ने बेला पोखरी बाहिर निस्कने र उक्त समयमा रजबामको दर्शन गर्दा शौभाग्य प्राप्त हुने विश्वास रहँदै आएको छ । मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टामध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत् ९६७ लेखिएको पाइएको छ । “यसैका आधारमा पनि मन्दिरले धार्मिक र ऐतिहासिक महत्व बोकेको प्रमाणित भएको छ”, लम्सालले भने । मन्दिरमा नयाँ वर्षको दिन, वैशाख महिनाभर, वडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमी र हिउँदयाममा विशेष पूजा अर्चनाका लागि दर्शनार्थीको अत्याधिक भिड लाग्ने गर्दछ । एकादशी, औँशी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुबलि दिइँदैन ।