धार्मिक क्षेत्र छिम्केश्वरी ओझेलमाः प्रवर्द्धनका लागि पहल

  • कृष्ण न्यौपाने (दमौली)

तनहुँको सबैभन्दा अग्लो स्थानमा अवस्थित छ, छिम्केश्वरी । समुद्री सतहबाट दुइ हजार १३४ मिटर उचाइमा रहेको छिम्केश्वरीमा प्रसिद्ध छिम्केश्वरी माइको मन्दिर छ । आँबुखैरेनी गाउँपालिका-५ मा अवस्थित यस ठाउँमा नयाँ वर्ष र फागुपूर्णिमाको अवसरमा विशेष मेला लाग्ने गरेको छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको यो ठाउँ ओझेलमा परेपछि आँबुखैरेनी गाउँपालिकाले यसको प्रवर्द्धनका लागि पहल थालेको छ । गाउँपालिकाले मंसिर ५ गते कार्यपालिकाको बैठक नै यसै ठाउँमा सम्पन्न गरेको छ । उक्त बैठकले छिम्केश्वरी मन्दिरको पुनःनिर्माणका लागि थप रु १५ लाख बजेट समेत विनियोजन गरेको छ ।

गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माणका लागि गत आर्थिक वर्षमा रु ३० लाख लगानी गरेको थियो । मन्दिर पुनःनिर्माणका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको छ । छिम्केश्वरीको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले विशेष अभियान नै सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छिम्केश्वरीको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यो नभएको सबैलाई महशसुस भएको छ, कसरी यसको महत्व सबै माझ पुर्‍याउन सकिन्छ भन्ने सोचका साथ गाउँपालिका लागिपरेको छ ।” छिम्केश्वरीको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिए पनि कोभिड-१९ का कारण उक्त महोत्सव स्थगित भएको थियो । “सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फ छिम्केश्वरीको धार्मिक र पर्यटकीय महत्व प्रचारप्रसार गर्ने सोच बनाएका छौ,” प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले भन्नुभयो ।

छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्यसहित गाउँपालिका अगाडि बढेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । धार्मिक पर्यटन विकासका लागि गाउँपालिकाले यहाँको पूर्वाधार निर्माणमा वर्षेनी बजेट विनियोजन गर्दै आएको उहाँले बताउनुभयो । “यातायातको असुविधाले पनि छिम्केश्वरीको महत्व ओझेलमा परेको महशसुस भएको छ”, अध्यक्ष थापाले भन्नुभयो, “सञ्चारमाध्यममार्फत पनि यसको महत्व प्रचारप्रसार गर्न सकिए यो ठाउँ धार्मिक पर्यटनको केन्द्र बन्नेमा कुनै दुइमत छैन ।” आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोहीस्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । बीस वर्षदेखि मन्दिरमा पूजारीको रूपमा रहनुभएका धनराज गुरुङले मन्दिरमा विभिन्न जिल्लाबाट भक्तजन दर्शनका लागि आउने गरेको जानकारी दिनुभयो । “कोभिड-१९ का कारण अहिले दर्शन गर्न आउने कम भएका छन्”, उहाँले भन्नुभयो, “कोभिड अगाडि दैनिक ५० देखि एक सयसम्म भक्तजन यहाँ आउने गर्दथे ।”

आकाशे पानीका भरमा मन्दिर पुनःनिर्माण

छिम्केश्वरी मन्दिर आकाशे पानीको भरमा पुनःनिर्माण भइरहेको छ । छिम्केश्वरीको डाँडामा खानेपानीको स्रोत नभएकाले प्लाष्टिक पोखरीमा पानी सङ्कलन गरेर गत वर्षेखि मन्दिर पुनःनिर्माणको काम शुरु गरिएको छ । मन्दिर जीर्ण भएपछि गाउँपालिकाले गत वर्षबाट मन्दिर निर्माणको काम शुरु गरे पनि भौगोलिक विकटताका कारण काममा ढिलाइ भइरहेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । “पानीको स्रोत नभएपछि प्लाष्टिक पोखरी बनाएर पानी संकलन गरेका छौं, सोही पानीको प्रयोगबाट मन्दिर निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “निर्माण सामग्री पनि बोकेरै लैजानुपर्ने भएका कारण समस्या भएको हो ।” चालु आर्थिक वर्षभित्रै मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ ।

पैदलमार्ग र रेलिङ निर्माण

छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष२०७५/७६ मा रु ४१ लाख ६३ हजार ७०६ लागतमा ४८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष २०७६/७७ मा रु ३५ लाख ९९ हजार १४१ लागतमा ३०५ मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भएको छ । छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष तिलबहादुर गुरुङले सिँढी निर्माण भएसँगै छिम्केश्वरी माई मन्दिर दर्शन गर्न जाने भक्तजनलाई सहज भएको जानकारी दिनुभयो । “उकालो बाटोमा सर्वसाधारणलाई हिँड्न सजिलोका लागि ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “पैदलमार्गले बालबच्चा र वृद्धवृद्धालाईसमेत हिँड्नका लागि सजिलो भएको छ ।” पैदलमार्ग र रेलिङ निर्माणका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु ६० लाख ८५ हजार ९५६ लगानी भएको छ भने स्थानीयवासीले रु १५ लाख ७४ हजार ८९० बराबरको जनश्रमदान गरेका छन् । सवारी साधनको अन्तिम विन्दुदेखि करिब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडि बाटो विस्तार नहुँदा करिब दुइ घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।

बाटो सहज बन्दै

पृथ्वीराजमार्गसँगै जोडिएको आँबुखैरेनी गाउँपालिकादेखि छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा सडक कालोपत्रको काम शुरु भएको छ । जसअन्तर्गत हाल सडक फराकिलो बनाउने र नाला निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको रु ३० करोडको लागतमा सडक कालोपत्रका लागि काठमाडाँैस्थित शर्मा एण्ड काष्टमण्डप जेभिले ठेक्का पाएको छ। सो सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता भएको छ । ४.२५ मिटर चौडाइ कालोपत्र र एक मिटर नालासहित सात मिटर चौडाइको सडक हुनेछ । आँबुखैरेनी गाउँपालिका-५ का वडाध्यक्ष पञ्चबहादुर गुरुङले छिम्केश्वरी सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि हुने बताउनुभयो । “बाटोकै कारण छिम्केश्वरीको जति प्रवर्द्धन हुनुपर्ने थियो, हुन सकिरहेको छैन, बाटो कालोपत्र भएपछि पर्यटकको सङ्ख्या बढ्ने विश्वास छ,” उहाँले भन्नुभयो । लाब्दीदेखि माथिको खण्डको बाटो भने गाउँपालिकाले खोलेको थियो । उक्त खण्ड असहज भएकाले स्तरोन्नति गर्ने तयारी गरिएको छ ।

घरबास सञ्चालनको तयारी

छिम्केश्वरी आउने पर्यटकलाई बास बस्ने व्यवस्था मिलाउन यहाँ घरबास सञ्चालनको तयारी गरिएको छ । त्यसका लागि लाब्दी भोटेश्वारा सामुदायिक घरबास व्यवस्थापन समिति गठन गरिएको छ । १३ घरमा घरबास सञ्चालनको तयारी गरिएको समितिका अध्यक्ष देवीलाल गुरुङले जानकारी दिनुभयो । घरबास सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भए पनि कोरोना जोखिमका कारण उक्त कार्य रोकिएको उहाँले बताउनुभयो । “घरबास दर्ता गरेर तालीम पनि लिइसकेका थियौं, तर कोरोना जोखिमका कारण अहिले पर्यटक आएका पनि छैनन्”, उहाँले भन्नुभयो, “परिस्थिति सहज भएलगत्तै घरबास पनि सञ्चालनमा आउँछन् ।” १३ घरमा ५०/६० जना पर्यटक बास बस्न सक्नेछन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker