शिक्षामा सुधार गर्न नसकेकोले युवा विदेशिन बाध्य : पूर्व शिक्षा मन्त्री जोशी
भञ्ज्याङ समाचारदाता/भानु

शिक्षामा सुधार गर्न नसकेकोले युवा विदेशिन बाध्य भएको नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व शिक्षा मन्त्री गोविन्दराज जोशीले बताएका छन् । भानु नगरपालिका-११ मानेचौका स्थित त्रिभुवन क्याम्पसको रजत महोत्सवलाई बुधबार सम्बोधन गर्दै जोशीले उक्त कुरा बताएका हुन् ।
नेपालमै बस्न सक्ने, गुणात्मक परिवर्तन के हुन्छ भन्ने बारे छलफल हुन नसक्दा नेपालमा बेरोजगारी समस्या बढेको उनले बताए । ‘१२ कक्षा पास हुने बित्तिकै युवाहरु किन बिदेश जान बाध्य छन् भन्ने सम्बन्धमा छलफल हुन सकेको छैन’, नेता जोशीले भने, ‘राष्ट्रिय समस्या समाधानको लागि छलफल भएकै छैन, मन्त्री मण्डलमा कुरा उठ्दैन झारा टार्ने पद्धतिले गर्दा युवाहरु बिदेशिन बाध्य छन् ।’
शिक्षक तथा प्राध्यापकहरु भेला हुने तर पढाइ कसरी सुधार गर्ने भन्ने छलफल नभएको बताउँदै उनले भने, ‘युवाहरुलाई स्वदेशमै कसरी रोजगारी दिनु सकिन्छ भने बैकल्पिक उपाय के दिन सक्छौं भनेर कहीँ कतै छलफलमा आएको छैन ।’
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा विपी विचार समाजकी केन्द्रीय सदस्य बालकुमारी लोहनी, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, पूर्व प्रमुख उदयराज गौली, क्याम्पस प्रमुख रविन्द्रराज जोशी लगायतले शैक्षिक गुणस्तर वृद्धिका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










