म्याग्देमा ग्रामीण भिडियो एक्स-रे सेवा

तनहुँको म्याग्दे गाउँपालिकाले ग्रामीण भिडियो एक्स-रे मेसिनबाट गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ । गाउँपालिकाले वडा नं. ४ स्थित थर्पु स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको हो ।
गाउँपालिकाको सहयोगमा मंगलबारदेखि स्वास्थ्य चौकीमा निःशुल्क भिडियो एक्सरे सेवा सुरु भएपछि अब भिडियो एक्सरे सेवाका लागि म्याग्दे लगायत आसपासका भेगका महिला दमौली वा पोखरा जानुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।
भिडियो एक्सरे सेवा थालिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, “स्वास्थ्य सेवा विस्तार गर्ने योजनाअनुरुप भिडियो एक्सरे सेवा शुभारम्भ गरेका हौँ । गाउँपालिकाले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको छ ।”
गाउँपालिकाले मंगलबार नै स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेको हो । पहिलो दिन दश जना गर्भवतीलाई सेवा प्रदान गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।
गर्भवतीले अब भिडियो एक्सरे सेवा लिन महँगो रकम खर्चिएर अन्यत्र जानुपर्ने बाध्यता हटेको उनले बताए ।