साँस्कृतिक भवन निर्माणका लागि पर्यटन व्यवसायी श्रेष्ठद्वारा एक रोपनी जग्गा प्रदान
भञ्ज्याङन्यूज

तनहुँको बन्दीपुरमा साँस्कृतिक भवन निर्माणका लागि पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले जग्गा उपलब्ध गराएका छन् । पर्यटन व्यवसायी श्रेष्ठले बन्दीपुरको ऐतिहासिक स्थल तीनधारेमा रहेको एक रोपनी क्षेत्रफलको जग्गा बुधबार बन्दीपुर गाउँपालिकाको नाममा पास गरी उपलब्ध गराएका हुन् ।
जग्गा प्राप्त भएसंगै पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी बन्दीपुरमा साँस्कृतिक भवन निर्माण गरिने भएको छ । विभिन्न जातजाति तथा समुदायको परम्परागत रहन-सहन, कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गाउँपालिकाले साँस्कृतिक भवन निर्माण गर्ने तयारी गरेको छ ।
नेपाल सरकार पर्यटन मन्त्रालय मार्फत ससर्त कार्यक्रम अन्तर्गत गाउँपालिकालाई ५० लाख रुपैयाँ बजेट प्राप्त भएपनि जग्गाको अभावमा हालसम्म उक्त बजेट खर्च हुन नसकेको र जग्गा प्राप्त भएसंगै भवन निर्माण कार्य अगाडि बढ्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए ।
रेडियो बन्दीपुर सञ्चालक समितिका अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी श्रेष्ठले स्थानीय कला संस्कृति संरक्षणमा पालिकाले चासो देखाएकाले आफ्नो तर्फबाट जग्गा प्रदान गरेको बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले साँस्कृतिक भवनमा विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने म्युजियम र स्थानीयको कला संस्कृति प्रदर्शन गर्ने गरी हल निर्माण गरिने बताए । उनका अनुसार व्यवसायी श्रेष्ठद्वारा उपलब्ध जग्गाको मूल्य करिब एक करोड रुपैयाँ बराबरको रहेको छ ।
यस्तै, पर्यटन व्यवसायी श्रेष्ठले स्थानीय कला, परम्परागत संस्कार संस्कृतिको संरक्षण हेतु गाउँपालिकालाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराएकोमा उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै गाउँपालिकाले आभार व्यक्त गरेको छ ।
पर्यटन व्यवसायी श्रेष्ठले यसअघि चितवनमा रोटरी अस्पताल निर्माण गर्न नगद एक करोड, याम्पामा तरकारी सहकारीलाई करिब १२ आना, याम्पा डेरीलाई उनको दाजुभाई समेतको करिब आधा रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराइसकेका छन्। व्यवसायी श्रेष्ठले विभिन्न सामाजिक, धार्मिक, शैक्षिक क्षेत्रमा समेत सहयोग गर्दै आएका छन् ।










