मुलुकको अवस्था हेर्दा चित्त बुझाउँने ठाउँ छैन !
सीता ओझा

कृषि विषयको अध्ययनसँग जोडिएर इजरायल पुगेका विद्यार्थीहरू युद्धको चपेटामा परेका छन् । उनीहरूको साथमा विश्वका धेरै देशका हजारौं विद्यार्थी, बालबालिका, महिला लगायतको ज्यान गएको छ । नौजवान विद्यार्थीहरूको विना कसुर ज्यान गएको यो दुःखद घटनाले अहिले नेपालीहरू रोइरहेका छन् ।
हिजो हामी हुर्कैदा सिकेका सिकाइ र कामलाई बिर्सेर महँगो अंग्रेजी शिक्षालाई प्राथमिकता दियौं । आफू र आफ्नो पितापुर्खाले गर्दै आएका कामलाई अपमान मात्रै गरेनौं, बिर्सन खोज्यौं । यो अपमानभित्र आमा बुवा जस्ता शब्द निल्यौं र पचायौं । विहान उठ्दाउठ्दै आफुसँगसगैं सन्तानलाई कामसँग खेतीवारी र भान्सामा जोडिएर टाँसिदै हुर्कने कुरालाई असभ्य र काम नलाग्ने जीवन जगतबाट अलग बनाएर पछौटे मान्यौं ।
पढे लेखेकाले परम्परागत काम गर्नुलाई गवार र पाखण्डी काम बनायौ । विद्यालयमा सिकाइने नैतिक र संस्कृत शिक्षाको महत्त्व नबुझेर पाखण्डी शिक्षा भनेर अपवित्र ठानेर हटायौं । सामुदायिक विद्यालयमा नानी बाबू पढाउनु अपराध मानौं । हिजो पितापुर्खाले स्थापना गरेका सार्वजनिक शिक्षा दिने संस्थाहरूलाई विस्थापित गराएर सरकारी नीति भत्काउँदै बोडिङ्गको नाममा निजी तर अंग्रेजी विद्यालय खोल्न प्रोत्साहन गर्यौ, खोल्यौं र आफु व्यवसायी बन्यौं, बन्न लगायौं । आफ्ना नानी बाबू निजी विद्यालय छिराएर निःशुल्क पढाउन पाएपछि सामुदायिक विद्यालय, विद्यालयका शिक्षक, विद्यार्थीलाई हेलाँ होचो र तिरस्कार गर्न थाल्यौं ।
सामाजिक, आर्थिक सम्बन्धबाट साँगुरो घेरामा छिर्न बाध्य बनाइएका नानीबाबुहरूलाई घरको कोठाभित्र सिमित्त गर्दै चाउचाउ, बिस्कुट, कुरकुरे जस्ता अनेकौं जंकफुडको लतमा छिराएर तरुल, गिठ्ठा, चिउरा, रोटी, ढिँडो जस्ता पौष्टिकताले भरपुर खानेकुरा बहिष्कार गरायौ । आमा, मामा, काका, फुपू जस्तो नाता, सम्बन्ध र पारिवारिक महत्त्व विर्सेर कोठाभित्र त्यो पनि मोबाइल र ल्यापटपमा सिमित बनाउँदै जाँदा घरपरिवार टुक्रियो । खेतीयोग्य जमिन बँजियायो । ऋण खोजेर विदेशीको गुलामी गर्न जाँदा सामाजिक मानप्रतिष्ठा बढ्ने र बढेको मान्यौं ।
विश्वमा लोकप्रिय व्यवस्था र सिद्धान्त खोज्नेक्रममा पञ्चायत र राजाका विरुद्ध दलहरू खोल्यौं । दलको संगठन बनाउने, सञ्जालहरू निर्माण गर्नेक्रममा चल्दै गरेका कलकारखाना, शैक्षिक संस्थाहरू दल र दलका भातृसंस्था चलाउन चाहिने रकम असुल्ने केन्द्र (दुहुनो गाई) र दलका अयोग्य कार्यकर्ता टिकाउने र पाल्ने भर्ती केन्द्र स्थल बनायौं । कलकारखाना र उद्योग सञ्चालन गर्न खोज्ने महासामन्त, दलाल र विचौलिया भन्दै आफैंले सहकारी खोलेर सर्वसाधारणको रकम कुम्ल्यौं र अर्कोलाई नङ्ग्यायौं ।
आफ्नो हितकारी दल बनाउन पार्टी भित्र शिरबाटै गुटबन्दी सुरु गरेर आफ्नै कार्यकर्तालाई भेध्यौं, छेड्यौं र किनारा लगायौं । ज्ञान, सीप भएको स्वाभिमानी समूहलाई घमण्डी र अवसरवादी भनिदियौं । परम्परा संस्कारहरूलाई वैज्ञानिकीकरण तिर होइन तथ्यहिन बनाउदै अन्धविश्वासको सत्य बनाएर दोबाटोतिर छोडिदियौं । आफ्नो विचार र दर्शन छोडेर सामाजिक, आर्थिक अन्धविश्वासको भुमरीमा छिर्दै सत्यलाई छोप्न थाल्यौं ।
आर्थिक, सामाजिक क्षेत्रको घेरा साँघुरिएर निरीह नेपालीले नेपाली स्वाभिमान बचाउन होइन, राजनीतिक सामाजिक र आर्थिक हिसाबले देशलाई दोहन गरेर कङ्गाल बनाउन भुमिका खेल्यौं । आफ्नै सन्तानलाई अंग्रेजी शिक्षाको नामले सम्पन्न विदेशी मुलुकको दास बनाउन बाध्य बनायौं । सन्तान साथमा हुँदा खुसी हुनु पर्नेमा विदेशींदा खुसी हुनुपर्ने र हाँसेर बाच्न होइन, बाध्यताले हाँस्ने बनाउन बिदेश पठाउने वातावरण बनायौं । यस्तो बाध्यताले केही इराकमा काटिए, कति खाडी मुलुक र मलेसियाबाट बाकसमा छिरेर करोडौं ऋण बोकेर र्फकनेक्रम जारी छ ।
आर्थिक, सामाजिक बाध्यता र राज्यको निरिहताले विदेशीएका परिवारको एकजनाले युवा जोस र होस भएसम्म कमाएर नेपाल पठाएको पैसामा नातासम्बन्ध रमाएर आफ्नो इच्छा पूरा गर्दै इज्जत थान्ने नेपालीले नेपाली गाउँघर भत्काए, नातासम्बन्धको महत्त्व चुडाएको थाहा पाएको अवस्था अझै देखिन्न ।
अहिले इजरायलमा पुगेर युद्धको चपेटामा परेर मृत्युवर्णन गर्न बाध्य युवाको घरपरिवार, नातासम्बन्ध र देशले व्यहोर्नुपरेको क्षतिको पुर्ती कसले गर्ने ? यो विषयमा राज्यको धारणा र कार्यक्रम के छ ? के हुनुपर्ने हो ? आम नागरिक र परिवारले यो विषयमा सोच्नु पर्छ कि पर्दैन ? नेपाली समाजमा गम्भीर प्रश्न तेर्सिएको छ ।
आर्थिक मन्दी र राजनीतिक अस्तिरताको कारण देशमा हत्या, हिंसा र बलात्कार बढेको बढैछ । घरघरमा ज्येष्ठ नागरिकहरू आफ्नै सन्तानबाट प्रताडित छन् । संविधानले व्यवस्था गरेका हकसँग जोडिएका नागरिकको अधिकारको विषयमा दलहरू र दलका नेता मौन छन् किन ? यस्ता अनेकौं दुःखद र पीडादायी घटनाहरू टुलुटुलु हेरेर र सुनेर बस्न विवस नेपाली आफ्नै कारण लाचार अवस्थामा छौं ! राजनीतिक र व्युरोक्रेटीक वृत्तको गतिविधिले राज्य नै लाचार कङ्गाल बनिरहँदा पनि देशको अर्थतन्त्र दोहोन गर्न छोडेका छैनन् !
अहिले इजरायलमा १० जना छात्रहरुको लास लडिरहेको छ ! अब कति लड्ने हुन् भन्ने चिन्ताले सारा नेपाली शोकाकुल अवस्थामा छन् । यस्तो दुःखद् घडीमा प्रतिष्टित दलको जिम्मेवार र परिपक्क भनिने नेताले सार्वजनिक सञ्चार माध्यमबाट संवेदनाहिन भएर अट्टहास मार्दै भनेछन् “इजरायलमा मर्नेहरु रहरले गएका हुन् ! द्वन्द्वग्रस्त मुलुक भन्ने थाहा हुँदाहुँदै किन गएको -” भन्दै आलो घाउमा नुनचुक दलेको सुनेर पीडादायी दुर्वाच्यका पात्रलाई धिकार्न मन लाग्यो । यस्ता राजनीतिज्ञको अभिव्यक्तिले आशा होइन निराशा छरेको छ । चित्त बुझाउने ठाउँ नभएर हरेक नेपालीको मन रोएको छ ….!
नेपाली जनता ९०% कृषिमा निर्भरता भएको बेला राजा महेन्द्रले सोभियत संघको आर्थिक, प्राविधिक सहयोग तथा नेपाल सरकारको संयुक्त लगानीमा वि.सं. २०२४ सालमा विरगञ्जमा कृषि औजार कारखाना स्थापना गर्न लगाए । यहाँबाट उत्पादित सामाग्री नेपाली किसानले मात्रै होइन सिमावर्ती भारतको बिहार उत्तर प्रदेश हुँदै दक्षिण भारतका किसानहरुले समेत खरिद गरेर लैजाने गरेको कुरा त्यसबेलाका पुस्तकहरूमा पढ्न पाइन्छ। नेपालको मध्यभागमा रहेको चितवन जिल्लामा सबैभन्दा पहिला वि.सं. २०२९ सालमा ३६२ बिघा जग्गा ओगटेर त्रिविको आङ्गकि ‘क’ श्रेणीको रामपुर कृषि क्याम्पस स्थापना गरियो । यो क्याम्पस स्थापनाको उद्देश्य नेपालमै सक्षम कृषि जनशक्ति उत्पादन गरेर देशलाई प्राविधिकरूपमा आत्मनिर्भरता बनाउन सहयोग गर्नु थियो । त्यो पनि राजनीतिक परिवर्तनले खाइदियो ।
जहानियाँ र निरंकुशता विरुद्ध भनेर नेपालमा ठुल्ठुला राजनीतिक परिवर्तन भए । राणा र राजतन्त्र मात्रै होइन बहुदलीय व्यवस्था पनि हट्यो र लोकतान्त्रिक गणतन्त्र आयो । त्यो लोकतान्त्रिक गणतन्त्र दलका लागि ? जनताका लागि ? या कसका लागि आयो ? अहिले र्सवत्र प्रश्न उठिरहेको छ । अहिले हिजो हिसाब किताब गरेर लडेर ल्याएको गणतन्त्र नै ओझेलमा पर्दै जानेक्रममा पनि दलीय व्यवस्थाका हिमायतीहरूले व्यवस्था सङ्ग्ल्याउन होइन भड्काउन लागेको देख्दा मन रोएको छ।
यसरी ल्याएको प्रजातन्त्र र गणतन्त्रले नेपालका उद्योग कलकारखाना खाएको र नेपाली युवालाई पलायन हुन बाध्य पारेको देख्दा हरेक नेपाली व्रि्रोही भएको छ । दलहरूले हेक्का राखुन, यहि व्रि्रोह विस्तारै अराजकतामा बदलिँदैछ । नेपालमा स्थापना भएका “कृषि औजार कारखाना, बाँसवारी छालाजुत्ता कारखाना, हेटौंडा कपडा उद्योग, विरगञ्ज चिनी कारखाना जस्ता सयौं संस्थाहरू प्रजातन्त्र र लोकतन्त्रले खायो । साझा सहकारी भित्रको साझा यातायात उठ्न खोज्दै छ भने साहित्यकारहरूको प्रकाशन गृह साझा प्रकाशनको शिरमा दलहरूका कार्यकर्ताले दोहन गरेको हिसाब किताबको रेकर्ड खोज्न वषौं लाग्ने अवस्था छ ।
कतिपय सरकारी स्वामित्वका घरहरू प्रयोगमा ल्याउन नसकेर भुत बंगला र खंडहर भएको अवस्था छ । राजाहरूको गुणगान गाएको होइन, राजा विरेन्द्रको पालामा स्थापना गरेको रामपुरस्थित कृषि क्याम्पस पनि प्रजातन्त्र र लोकतन्त्रक ठिटाहरुको खुँडा, लौरो र ढुंगामुढा हान्ने अखाडा जस्तो बनेको छ । सम्पूर्ण भौतिक संरचना कृषि तथा वन विश्वविद्यालयलाई दिने निर्णय गरेसँगै उक्त क्याम्पस विस्तापित भएर अहिले खैरहनी नगरपालिकाको चारवटा कोठामा खुम्चिन पुगेको जस्तो देखिन्छ । कृषि क्याम्पसको त्यत्रो जग्गा लथालिङ्ग अवस्थामा पुग्दा पनि सरकारका तीन तह हेरेका हेरैछन् ।
विदेशी भुमिमा ज्यान जोखिममा राखेर कमाएको पुँजी नेपाली भुमिमा लगानी गर्न सक्ने आधार छैन । आशैआशाभित्र खाडी मलेसियाबाट फर्केकाले ल्याएको एउटा, दुइवटा मोबाइल पनि नेपाली विमानस्थलबाट बाहिरिँदा कर्मचारीले नै लुटिदिने देशका नागरिकले मर्नु बाहेकको विकल्प अरू के हुन सक्ला र ? यस्तो अवस्थामा विदेशीएका नेपालीको स्वाभिमान र आत्मसम्मान बेचिएर नाङ्गो भएको अवस्थामा मर्नु र मारिनु, स्वदेशमा आत्महत्या र लुटपाट बढ्नु बाहेक अरू निकास के हुन सक्छ र ?










