मिर्लुङकोट पर्यटन र थानीमाईको दर्शन

के.बि मसाल

नेपालमा अहिले हरेक स्थान पर्यटनको लागि गन्तब्य भएका छन । धेरै नेपालीहरु मा पनि घुमफिर गर्ने संस्कारको पनि विकास भएको छ । ग्रामीण भेगमा अहिले आन्तरिक पर्यटकहरु घुमफिरमा जाने क्रम बढदो छ । यसरी हुने ग्रामीण स्थलहरुको घुमफिरले संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन मात्र होइन जैविक विविधताको समेत अध्ययन गराएको छ ।
यो बाहेक घुमफिरबाट पर्यटकको रुचि अनुसार ऐतिहासिक, पुरातात्विक एवं धार्मिक स्थलहरुको पनि अध्ययन एवं अनुसन्धान हुने गरेको छ । मानिस स्वभावले नै विविधता मन पराँउछ चाहे जेसुकै कुरामा होस् । यो मानवको स्वभाव हो, विविधतामा रमाउने । त्यसैले त हरेक मानिस घुमफिर गर्न रमाउछ ।
नेपालको मध्य भागमा पर्ने गण्डकी प्रदेशको मर्स्याङदी उपत्यका प्रकृतिले अनुपम उपहार दिएको छ । मर्स्याङ्दी उपत्यकाको तनहुँमा ऐतिहासिक कोट, धार्मिक स्थल र ग्रामीण जनजीवनको बारेमा अध्ययन गर्न सकिने पर्यटनको लागि धेरै गन्तब्य छन । तनहुँको मिर्लुङकोट ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं प्राकृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो । तनहुँको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट आजभोली आन्तरिक पर्यटकहरु घुमफिरका लागि पुग्ने गर्दछन । समुद्रिक सतहबाट १ हजार ६५४ मिटर उचाईमा रहेको मिर्लुङकोटबाट तनहुँको बिभिन्न स्थान तरेली परेका डाँडाकाँडा र गाउँहरु लमजुङ, गोरखा, मनाङ एवं कास्की जिल्लाका विभिन्न सुन्दर प्राकृतिक भू बनोट र हिमाल देख्न सकिन्छ । तनहुँको डुम्रे बजारबाट भन्सार, सेपावगैचा, चन्द्रवती हुदै मिर्लुङकोट जान सकिन्छ । डुम्रेबाट मिर्लुङसम्मको दुरी १८ किलोमिटर पर्दछ ।
प्राकृतिक सुन्दर भित्र सजिएको छ मिर्लुङकोट । मिर्लुङको उत्तरी भेग राइपाली भञ्ज्याङ, चोकडाँडा, चिहानडाँडा, बयापानी भञ्ज्याङ, पोखरीछाप आन्तरिक पर्यटकका लागि घुमफिरको रोजाइमा पर्ने गरेको छ । डाँडाकाँडामा फागुन चैत्र महिनामा लालीगुराँस छपक्कै फूल्ने गर्दछ । वनमा कापलको बोट, चाप, धयरा, ऐसेलु, सतिसाल, सल्ला, चुत्रो, कटुस जस्ता वोटविरुवा र पाँच औले, कुरीलो जस्ता जडिवुटिहरु समेत जंगलमा पाइन्छ । मिर्लुङकोटबाट धौलागिरी हिमाल, गणेश हिमाल र तिब्बत र मनाङ वीचको वोर्डर हिमाल जसलाई ग्रेड हिमाल भनिन्छ त्यो पनि देख्न सकिन्छ । मिर्लुङकोटबाट देखिने लमजुङका सुन्दर बजार, भोटेओढार, बाहुनडाँडा नाउदी र पाउदी खोला किनारका समथर फाटहरु पनि देख्न सकिन्छ । ऐतिहासीक स्थल सप्तधारा, पञ्चमन्दिर, छानापाखा, इजार गाउँ, जिताकोट, भयरथान, तान्द्राङ्ग टक्सारमा रहेको जल्पादेवि मन्दिर, तामाखानी गाउँ, तान्द्राङ्गकोट नागभैरव मन्दिर, समेत मिर्लुङको डाँडाबाट देखिन्छ ।
मिर्लुङमा बिभिन्न जातजातिहरु गुरुङ, मगर, बाहुन क्षेत्रि, दमाई, कामी, सार्की, मुसलमान, नेवारहरु वसोबास गर्दछन् । बिभिन्न जातजाति, धर्म समुदाय र सम्प्रदायको भेषभूषा, रहन सहन, चाल चलन, धर्म र सस्कृतिको पर्यटकहरुलाई अध्ययनको विषय बन्दछ । जातीय भेषभुषा, चाडपर्व, रितिरिवाज, जस्ता साँस्कृतिक पक्ष र लोक नाच, सोरठी, घाँटु, कौरा, दोहोरी, वालुन, चुडका, भजन, लाखे, ठाडोभाका जस्ता गीत पनि गाउँमा सुन्न पाइन्छ । गुरुङ र मगर बस्ती बाक्लो रहेका कारणले रोदी बस्ने चलन यदाकदा अझै पनि पाइन्छ । बिषेश गरी मिर्लुङमा जाने पर्यटकहरु गुरुङ समुदायको सोरठी र घाँटु नृत्य देख्न पाउँदा रमाइलो मान्दछन । तर यी सबै जानजातीका साँस्कृतिक नाच हेर्न भने बिशेष पर्व अथवा कुनै उत्सव हुनु पर्दछ ।
मिर्लुङकोट सुन्दर प्राकृतिक भूबनोट भित्र दक्षिण फर्किएर रहेको छ । मिर्लुङको उत्तरी भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणबाट अनुपम छ । मिर्लुङमा पर्यटन विकास समितिले ग्रामीण पर्यटकहरुलाई सजिलोको लागि सूचना केन्द्र स्थापना गरेको छ । मिर्लुङकोटबाट तनहुँ-लमजुङ-कास्की पर्यटन रुट कायम गरिएको छ । तनहुँ जिल्लाको भानुको जन्मस्थल भानु, बरभञ्ज्याङ, तनहुँसुर, बसन्तपुर, पुकोर्ट, चोकचिसापानी, मिर्लुङ, रुपाकोट, रिस्ती, सतिस्वाँरा र क्यामिन, लमजुङ जिल्लाका जिता, तान्द्राङ, टक्सार, सूर्यपाल, रम्घा, समीभञ्ज्याङ, भोर्लेटार, र इशानेश्वर हुँदै कास्कीको हंसपुर, रुपाकोट, देउराली, सिद्धे, माझठाना र पोखरा महानगरपालिका क्षेत्रलाई मिर्लुङकोट पर्यटन विकासले पदमार्गले जोडेको छ ।
मिर्लुङकोटमा राजा धर्मादत्त सेनको दरबार अगाडि ऐतिहासिक रानीपोखरी रहेको छ । आकाशबाट परेको पानीबाट बनेको यो पोखरीमा लामो खडेरी बाहेक अन्य समयमा पानी रहिरहन्छ । मिर्लुङको ठूलोढुंगामा ऐतिहासिक सिद्ध गुफा रहेको छ । मिर्लुङकोटको चुचुरोमा राजा धर्मादत्त सेनले शासन गरेको दरवारको भग्नाबशेष देख्न पाइन्छ। यो पोखरी समुद्रिक सतहवाट १५३९ मिटर अग्लो स्थानमा रहेको छ । मिर्लुङको ठुलोढुंगामा ऐतिहासीक सिद्ध गुफा रहेको छ । मिर्लुङकोट नजिक नेपालको प्रजातान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका शहिदहरुको जन्मस्थल पुलिमराङमा शहिद पार्क रहेको छ । सतिस्वाँरामा पर्ने ऐतिहासीक दर्गा जामे मस्जिद पनि देख्न सकिन्छ । यो मस्जिद बिक्रम सम्वत १७१३ मा राजा मुकुन्द सेनकी श्रीमती तिलोत्तमा रानीले निर्माण गर्न लगाएकी थिइन् । यी सम्पदा पनि मिर्लुङकोट पुग्ने पर्यटकहरको लागि आकर्षणको केन्द्र बन्दछन ।
मिर्लुङकोट जाने पर्यटकहरुलाई खाना बसनको लागि कुनै असुबिधा छैन । मिर्लुङकोट नजिकै भानु नगरपालिका-१३ को टुटेपानी र बाँसपानीमा होमस्टे सञ्चालन गरिएको छ । टुटेपानी गाउँका ३० घर मध्ये १४ वटा घरमा होमस्टेले पर्यटकहरुलाई सेवा दिएका छन । गुरुङ समुदायले सञ्चालन गरेको होमस्टेमा पर्यटकहरुलाई साँझको खाना, बास तथा बिहानाको नास्ता, खाना र साँस्कृतिक कार्यक्रम सहित प्याकेजमा एक जनाको एक हजार पाचँसय रुपयाँ तिर्नु पर्दछ । बुद्ध शान्ति पदमार्ग, मिर्लुङकोट पदमार्ग र क्यासमिरी साँस्कृतिक पदमार्गसंगै जोडिएको टुटेपानी होमस्टेमा आजभोली आन्तरिक पर्यटकहरुको घुइचो लाग्ने गर्दछ । टुटेपानी गाउँमा सञ्चालनमा आएको होमस्टेमा गाउँमै उत्पादित चामलको भात, ढिँडो, निउरो, सिस्नो, साग र रोटी जस्ता परिकार बनाएर पर्यटकलाई खुवाउने गरिन्छ ।
यस्तै, मिर्लुङकोट मात्र होइन् मिर्लुङको यात्रा सकेपछि तनहुँको भानु नगरपालिका-७ मा पर्ने वसन्तपुरको चर्चित थानीमाई मन्दिर समेत पर्यटकहरु पुग्न सक्दछन । थानीमाई मन्दिर तीर्थाटन पर्यटकहरुको लागि पुग्नै पर्ने स्थान हो । वसन्तपुर थानीकोटमा रहेको थानीमाई मन्दिरमा आफ्नो मनोकांक्षा पुराहोस भनि फूलको डोली लिएर जाने तीर्थाटनका पर्यटक धेरै हुन्छन । श्रावण महिना र एकादशी र औंसीको दिन बाहेक प्रत्येक महिनाको मंगलबारका दिन थानीमाई मन्दिरमा फूलको डोली लिएर तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । पहिलो पटक थानीमाई मन्दिरमा पुग्ने पर्यटक सुरुमा त दग पर्दछ । तपाईले एकैपटकमा कतिवटा समूहले पञ्चैबाजा बजाएको देख्नु भएको वा सुन्नु भएको छ – पक्कै पनि एउटा अथवा दुइवटा होला ! कसैको विवाह, व्रतवन्ध वा अन्य कुनै कार्यक्रमहरुमा जाँदा पक्कै पनि १-२ वटा समूहले एकैपटक एकै ठाँउमा पञ्चैबाजा बजाएको देख्नु भएको होला ! तर थानीमाई मन्दिरमा फूलको डोली लैजाने समयका तपाईले छानी-छानी पञ्चैबाजा बजाएर फरक-फरक ढंग र प्रकृतिबाट नाँचेको देख्न पाउनुहुन्छ ।
सयौं तीर्थाटनमा पुगेका पर्यटकहरुले रमाइलो गर्दै बाजाको तालमा नाँचेको नाँचले मन्दिर क्षेत्रको वातावरणनै रमाइलो हुन्छ। थानीमाई मन्दिरमा पुग्ने पर्यटकहरु पञ्चैबाजाको तालमा कतिपयलाई उठेर नाच्न मन लाग्छ । नाँच्ने आँटै आएन भने पनि खुट्टाहरु यताउता चलाउन खोज्दछन । भने कतिपय पर्यटकहरु निकै उत्साहित भएर रमाइलो मान्दै पञ्चैबाजा बजाएको र नाँचेको हेर्ने गर्दछन । थानीमाई मन्दिरलाई फूलको डोली चढाउन विभिन्न क्षेत्रबाट तीर्थाटनका ग्रामीण पर्यटकहरु पञ्चैबाजा बजाउँदै नाँचगान गर्दै दर्शनका लागि पुग्ने गर्दछन । आफूले गरेको भाकल थानीमाईले पूरा गरेपछि सोमबार रातभरि सत्यनारायणको पूजा गरी मंगलबार बिहान फूलको डोली र प्रसादसहित पञ्चैबाजा बजाउँदै तीर्थाटनका पर्यटकहरु थानीमाई मन्दिर जाने गर्दछन् । सोमवार राति पनि पञ्चैबाजा बजाएर नाँचगान गर्दै सत्यनारायणको पूजा लगाउने गरिन्छ । आफुले गरेका भाकलहरु पूरा भएपछि मात्र फूलको डोली लैजाने गरिन्छ । थानीमाईसँग दुःखकष्टबाट मुक्ति पाउन र मनको इच्छा पूरा गर्नको लागि फूलको डोली लिएर दर्शन गर्न जाने प्रचलन छ ।
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङ स्थित टुटेपानी सामुदायिक होमस्टे सञ्चालकहरु होमस्टेमा आएका पाहुनालाई फूलमाला र टिका लगाएर स्वागत गर्ने तयारीमा । फाइल तस्विर : भञ्ज्याङ
थानीमाई मन्दिरमा साउन महिनाबाहेक हरेक महिनाको सोमबार पूजा गरिन्छ । सोमबार र मंगलबार औंशी अथवा एकादशीमा भने पूजा गरिँदैन । थानीमाई मन्दिरमा फूलको डोली लैजानेक्रम कार्तिक महिनादेखि सुरु हुन्छ । कार्तिक महिनाको पहिलो, दोस्रो तेस्रो हप्ता धेरै भीड हुने गर्दछ । थानीमाईको मन्दिरमा दर्शनका लागि तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन,कास्की लगायतका आजभोली धेरै जिल्लाबाट तीर्थाटनका पर्यटक पुग्ने गर्दछन । यसरी पुग्ने पर्यटकहरुले थानीमाईको मन्दिर परिसरलाई ३ पटकसम्म बाजागाजा सहित नाँचगान गर्दै परिक्रमा गर्ने गर्दछन् । परिक्रमापछि थुम्कामा रहेको थानीमाईको मन्दिर परिसरमा रहेका देवलहरुमा फूलको डोलीसँगै लगिएको तोरणलाई ३ फन्का घुमाएर बाँध्ने गर्दछन । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना पूरा भएको भन्दै पूजाअर्चना गर्दछन ।
थानीमाई मन्दिरमा ३ जना मगर जातिका पूजारी छन् । मन्दिर प्रवेशमा कुनै पनि जातजाति भएकै कारण रोक लगाइँदैन । दलित जातिलाई समेत मन्दिर प्रवेश गर्न दिइन्छ । सबै जातजाति र समुदायका मानिसहरु मन्दिरभित्र नै प्रवेश गरी पूजापाठ गरेर आफ्नो मनोकामना पूरा भएको भन्दै थानीमाईसँग आर्शीवाद लिन सक्छन् । थानीमाईको मन्दिर परिसरबाट गोरखाको लक्ष्मी बजार, लिगलिककोट तथा मनै लोभ्याउने अन्नपूर्ण हिमश्रृखला को दृश्यहरु देख्न सकिन्छ । नागबेली खोलानालाहरु फाउदी खोला, भानुभक्तको जन्म स्थानमा रहेको चुँदी खोला, गोरखाको सिमानामा पर्ने चेपे नदी र मर्स्याङदी नदी, रम्घा फाँट खातीथोकको डाँडो साथै मिर्लुङको डाँडो तनहुँसुर दरबार र लमजुङको राइनसकोट वरपरका गगनचुम्बी पहाड गाउँ र बस्तहिरु देख्न सकिन्छ ।
थानीमाई मन्दिरको ऐतिहासिक किम्वदन्ती छ । करिव ४५० वर्षअघि लेकबाट भोटे मुलकी आमा र छोरी जडिबुटी बेच्दै वसन्तपुर गाउँमा साँझपख बास माग्दै आएका थिए । साँझमा बास माग्दा ती आमा छोरीलाई कुनै पनि गाँउलेहरुले बास बस्न दिएनन् । कारण थियो केही तन्तर-मन्तर लागाउन सक्छे भन्ने डरले ! गाउँलेले कहीँ पनि बास नदिएपछि डाँडोमा रहेको एउटा कटुसको बोट मुनी ती आमा छोरी आश्रय लिन पुगे । राति असिना पानीसहित ठूलो हावाहुरी आयो । असिना र हावाहुरीको कारणले आमा छोरीको कटुसको फेदमा मृत्यु भयो । त्यस दिनदेखि गाउँमा तर्साउने, विभिन्न दैव्रि्रकोपले सताउने, रातभरि बाघले सुत्न नदिने अवस्था आयो । गाउँलेहरुले के भयो कसरी यसो हुन गयो भनेर खोजीनीति गर्दा स्थानीय मानसिं पाटा मगरलाई सपनामा म थानीमाई हुँ, मलाई मन्दिर बनाएर पुजा गर्नु तिमीहरुको भलो हुन्छ भन्ने कुरालाई गाउँलेले बिस्वास गरी मन्दिर स्थापना गरे पश्चात सबै समस्या समाधान भएको किंवदन्ती रहेको छ ।
शहरी क्षेत्रबाट मिर्लुङ र थानीमाई पुग्ने पर्यटकहरु पैदल घुमफिर गर्न पनि रुचाउछन । पैदल यात्रालाई आजभोली शहर बजारमा बस्ने युवा पुस्ताहरुले हाइकिङ पनि भन्ने गर्दछन । शहर बजारमा बस्ने युवापुस्ताहरुले आजभोली बोलिचालीमा एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । हाइकिङ शब्द पर्यटनको भाषामा बुझदा डाँडाकाँडामा पैदल घुमफिर गर्ने भन्ने अर्थ लाग्दछ । तनहुँ जिल्लाको यो क्षेत्रमा हाइकिङ गर्ने गाउँ ठाउ र प्राकृतिक सम्पदाहरु धेरै छन । तर गाउँमा पर्यटकहरु जानको लागि पर्यटनको पुर्वाधार हुनु पर्दछ । पर्यटकहरुलाई गाउँ खाना बस्न होमस्टे सन्चालनमा ल्याउनु पर्दछ । गाउँघरको सरसफाई निर्माण भएका सडकको मर्मत संभार र अन्य ग्रामीण बस्तीहरुमा सडक सञ्जालको विकास गर्न जरुरी छ ।
गाउँमा पर्यटकहरु पुग्दा खाने बस्ने सुबिधा र सुरक्षाको ग्यारेन्टी हुनु पर्दछ । आन्तरिक पर्यटनको विकास गर्न स्थानीय तहहरुले यी विषयमा चासो राख्नु पर्दछ । अनि मात्र आन्तरिक पर्यटनको विकास हुन सक्दछ । पर्यटकहरु गाउँमा पुगेपछि केही न केही त्यस क्षेत्रको चिनो स्वरुप बस्तुहरु घरमा ल्याउन चाहन्छन । आन्तरिक पर्यटनको बिकास गर्नको लागि स्थानिय बासिन्दाहरुमा कला र शिपको बिकास हुन जरुरी छ । जुन शिपले आय आर्जन गर्न सकोस, अर्थात उनिहरुले उत्पादन गरेका बस्तुहरु गाउँमा पुग्ने पर्यटकहरुले किन्न सकुन । थानीमाई मन्दिर पुग्न पृथ्वी राजमार्गको डुम्रे बजारबाट बिभिन्न सडक प्रयोग गर्न सकिन्छ । तनहुँको डुम्रे बजारबाट लमजुङको बेसिशहर मार्गको बाइसजाँघारबाट ८ किलोमिटर मोटरको यात्राबाट थानीमाई पुग्न सकिन्छ । यो बाहेक डुम्रे-भन्सार, टुहुरे पसल वा चन्द्रवाती हुँदै पनि थानीमाई मन्दिर पुग्न सकिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker