कपिलधाममा साहित्यकारको प्रतिमा

के.बि मसाल

जसरी शारीरिक तन्दुरुस्तीका लागि व्यायाम चाहिन्छ, त्यसरी नै मस्तिष्कलाई तन्दुरुस्त राख्न घुमफिर र अध्ययन अवलोकन गर्न पर्दछ । घुमफिरले अध्यनशिल मानिसहरुमा विस्मृतिजन्य रोग लाग्ने सम्भावना कम हुन्छ । नयाँ ठाउँमा घुमफिर गर्दा तनावबाट मुक्ति मिल्छ । पश्चिमीमा मुलुकहरुका मानिस बर्षभरि काम गरेपछि अधिकांशको अनिवार्यझैँ महिना दिन जति छुट्टी मिलाएर घुमफिर गर्ने जीवनशैली नै हुन्छ । तर हामी कहा त्यस्तो शैली बनेको छैन । साहित्य, सगीत, खोज अनुसन्धानका लागि पनि घुमफिरले नयाँ उर्जा दिन्छ । कतिपय अवस्थामा घुमफिरबाट प्रशस्त ज्ञान लिन सकिन्छ । त्यसैले घुमफिरलाई खुल्ला विश्व बिद्यालय पनि भनिन्छ ।

पर्यटकहरु घुमफिरको लागि नयाँ ठाउको खोजीमा हुन्छन् । साहित्यकारहरुलाई नयाँ ठाउँको घुमफिरले नयाँ कुरा सृजना गराउछ । घुमफिरमा निस्कदा निश्चित उद्देश्य भयो भने उपलब्धि मुलक हुन्छ । घुमफिरमा निस्कुन पूर्व गन्तव्यको जानकारी राख्न सक्यो भने राम्रो हुन्छ । त्यसले घुमफिर अवधिको लागि जोरजाम गर्नुपर्ने स्रोत साधन र यात्राका संभावित जोखिमहरुको बारेमा सचेत हुन पनि मद्दत गर्दछ । बुटवलबाट ३८ किलोमिटर पश्चिम र दाङको भालुवाङ देखि ६२ किलो मिटरको दुरीमा रहेको कपिलवस्तुको वाणगंगा नगरपालिका-९ मा पर्ने कपिलधाम आजभोली साहित्य तीर्थ अर्थात साहित्यिक पर्यटनको गन्तब्य भएको छ । कपिलधाम साहित्यकारहरुका लागि नयाँ गन्तब्य हो । कतिपय जिल्लाका साहित्यकारहरु समूहमानै कपिलधाम पुग्ने गर्दछन् । कपिलधाममा तीर्थाटन पर्यटक र साहित्यकारहरुलाई सात्विक भोजन र बस्नको सुबिधा पनि छ ।

कपिलधाम वाणगंगा नगरपालिकाको महेन्द्र राजमार्गको बनगाई चोकदेखि करीव २ किमि पश्चिम उत्तर तर्फ बनगाई देखि डोहोटे सडकखण्डको छेउँमा रहेको छ । तीन देवता ब्रहृमा, विष्णु र महेहृवरमध्येका एक ब्रहृमाका नाती कपिलमुनि भएकाले धामको नाम कपिलधाम राखिएको छ। विभिन्न समयमा अतिक्रमणमा पर्दै आएको वाणगंगा नगरपालिका वार्ड नं. ७ र ९ को बीचमा पर्ने १ सय २० बिघा वनक्षेत्रलाई धार्मिक वन नामाकरण गरेर कपिलऋषिको तपोभूमिका रुपमा संरक्षण गरिएको छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार कपिल ऋषिको आश्रम यसै क्षेत्रमा थियो र उनले सिद्धार्थ गौतमलाई शिक्षा दिएका थिए । कपिलधाम क्षेत्रलाई आयुर्वेदिक औषधि उत्पादन, योग तथा प्राकृतिक चिकित्सा, धर्म-संस्कृतिको नमुना क्षेत्र, गुरुकुलीय शिक्षा, आश्रम, गौशाला, साहित्य र संस्कृतिको साझा थलोको रुपमा विकास गर्ने उद्देश्यका साथ काम भएको छ । साहित्यिक क्षेत्रका विविध योजना अघि बढाउनका लागि यसै परिसरमा लुम्बिनी वाङमय प्रतिष्ठानको भवन निर्माण गरिएको छ ।

कपिलधाम परिशर भित्र साहित्य चौतारीका लागि करिब पाँच बिघा जमिन लुम्बिनी वाङमय प्रतिष्ठानले कफिधामसँगको सहकार्यमा प्राप्त गरेको छ । त्यहि जमिनमा नेपाल प्रज्ञा प्रतिष्ठानले मूर्धन्य मानेका स्रष्टाको सालिक क्रमैसँग साहित्य चौतारीमा राखिएको छ । साहित्य चौतारीमा प्रतिमा राख्नका लागि लुम्बिनी वाङमय प्रतिष्ठानले ३ सदस्यीय मूल्यांकन उप समिति बनाएको छ । प्रतिमा राख्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको साहित्यकार कलाकारको रोस्टरमा नाम सूचीकृत भएको हुनुपर्ने छ । त्यसपछि मात्र प्रतिमा राख्न दिने र नदिने समितिबाट निर्णय हुन्छ । लुम्बिनी वाङमय प्रतिष्ठानले १ सय ८ दिवंगत साहित्यकारको प्रतिमा राख्ने योजना बनाइएको छ । नेपालबाहिर रहेर पनि नेपाली भाषा,साहित्य र कला श्रीवृद्धिमा योगदान गर्ने साधकका पनि प्रतिमा राखिने योजना छ ।

कपिलधाम पुगेपछि मुलुकका लागि अमूल्य योगदान गरेका दिवंगत साधकहरु एउटै थलोमा देख्न सक्नुहुन्छ । कपिलधाम अहिले सम्म विभिन्न क्षेत्र र भाषा वाङमय साधना गर्ने राष्ट्रका १८ अमूल्य निधिका अर्धकदका प्रतिमा एकै ठाउँमा राखिएको छ । सबैभन्दा पहिले आदिकवि भानुभक्त आचार्यको सालिक राखिएको थियो । आदिकवि भानुभक्तको सालिक ०७० मा अनावरण गरिएको थियो । त्यसपछि कविशिरोमणि लेखनाथ पौडेलको सालिक छ । त्यसपछि क्रमशः विभिन्न स्रष्टा, संस्कृतविद, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङमय र कला साधनाद्वारा राष्ट्रको गौरव बढाउने व्यक्तित्वका प्रतिमा राखिएका छन । प्रतिमालाई सुरक्षित राख्न टिनको छाना पनि बनाइएको छ । प्रतिमा २ देखि ४ फुट अग्ला छन । प्रतिमा ढुंगा, पित्तल र फलामद्वारा बनाइएका छन । प्रतिमा पूर्व-पश्चिम लामो लाइन बनाएर राखिएको छ । प्रतिमा ४ मिटर फराकिला दूरीमा राखिएको छ । दिवंगत साधकहरुको जन्म जयन्तीलगायतका कार्यक्रम गर्दा द्वीप प्रज्ज्वलन गर्न प्रतिमाको दक्षिणतिर फलामको द्वीपस्थल बनाइएको छ । एउटा लाइनमा २० वटा प्रतिमा राख्ने योजना छ । एउटा प्रतिमा राख्न डेढदेखि २ लाख खर्च भएको छ ।

साहित्य तीर्थ लुम्बिनी वाङमय प्रतिष्ठानले संयोजन गरेर निर्माण भएको हो । यहा सालिक राख्नको लागि दिवंगत साहित्यकारको कम्तीमा पनि पाच ओटा कृति प्रकाशन भएको हुनु पर्दछ । मुलुकभरिका अमूल्य निधिको अध्ययन अवलोकन गर्न र साहित्यानुरागीको प्यास मेटाउँन लुम्बिनी वाङमय प्रतिष्ठानले साहित्य तीर्थका रुपमा विकास गर्न लागेको छ । प्रतिष्ठानले राष्ट्रको गौरव बढाउने प्रतिभावान मर्ूधन्य साधकको योगदानको उच्च मूल्यांकन गर्न प्रतिमा निर्माण गरी साहित्य पर्यटनको गन्तव्य बनाएको छ । नेपालमा नै यो नयाँ अवधारणा भएको छ । जस्ले गर्दा कपिलधाम पुग्ने साहित्यकार पर्यटकहरुलाई एकै ठाउँमा मुलुकभरिका अमूल्य निधिको अध्ययन अवलोकन गर्न सजिलो भएको छ । नेपाली साहित्यको आद्योपान्त थाहा पाउन धेरै ठाउँ पुग्न नपर्ने भएको छ । साहित्यकार पर्यटकहरु दिवंगत साधकहरुको एकै ठाउमा सालिक देख्दा अचम्म मान्दछन् । कोहि सालिकसंग सेल्फी लिन्छन त कोही सालिकमा टाँसिएका नाम हेर्दै दिवंगत साहित्यकारहरुलाई संमान गर्दछन् ।

कपिलवस्तु ऐतिहासिक एवं पुरातात्विक स्थलहरुको खुला संग्रहालय हो । साहित्यकार पर्यटकहरुलाई घुमफिर गर्ने धेरै स्थलहरु छन् । शाँख्य दर्शनका प्रणयता, कपिलमुनिको तपोभूमी, शान्तिका प्रतीक भगवान गौतम बुद्धको गृहनगर लगायत थुप्रै ऐतिहासिक पुरातात्विक स्थल कपिलवस्तुमा रहेको छ । बुद्ध जन्मेको लुम्बिनी, हुर्केको तिलौराकोट, मावली र ससुराली देवदह वा अस्तु धातु रहेको रामग्राम साहित्यकार पर्यटकहरु पुग्नै पर्ने ठाउ हुन । तिलौराकोटमा शाक्यवंशको राज्यको राजधानी थियो । राजा शुद्धोधन र रानी मायादेवीका छोरा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको ठाउँ हो तिलौराकोट । तिलौराकोटमा पटकपटक विश्व प्रसिद्ध पुरातत्वविदहरुले उत्खनन गरेर ३ हजार वर्षअघिसम्मका संरचनाहरु भेटाएका छन । यो स्थल बुद्धजन्म स्थल लुम्बिनीदेखि २२ किलोमिटर पश्चिममा पर्दछ । बौद्ध ग्रन्थअनुसार गौतमबुद्धको महापरिनिर्वाण पछि विभिन्न आठ स्थानमा अष्टधातु राखिएको थियो । जसमध्येको एक रामग्राम हो । रामग्रामका तत्कालीन राजाले बनाएको यो स्तुप हेर्न वर्षेनी हजारौँ पर्यटक जाने गरेका छन ।

कपिलमुनि ऋषिको तपोभूमि भएकै कारण कपिलवस्तुको नाम रहेको हो । कपिलधाम पनि यसै कारण भएको हो । कपिलधाम र यसको वरिपरिको क्षेत्रको खोज अनुसन्धानले धेरै महर्षिहरुले यस क्षेत्रमा बसेर ध्यान, तप, जप र चिन्तन गरेको भेटिन्छ । ऋषि-महर्षिहरुको तपोभूमि, बुद्धको जन्मभूमि र देवस्थलहरुको रुपमा परिचित कपिलधाममा साहित्य चौतारी र दिवंगत साहित्यकारका सालिकको संयोगले साहित्यकार पर्यटकहरुलाई अध्यनको थलो भएको छ । कपिलधाम परिसरभित्र सतसंग भवन, मन्सादेवीको मन्दिर, विश्वकर्मा मन्दिर, हनुमानको मुर्ति, सप्तऋषिहरुको आधारशिला सहितको मुर्ति, चौपारी, पतंञ्जलीऋषिको आधारशिला सहितको मुर्ति, धर्मशाला, ध्यानकेन्द्र निर्माण भएको छ । त्यसै गरी शिवालय मन्दिर, राधाकृष्ण मन्दिर, महर्षिकपिलमुनीको आधारशिला सहितको मुर्ति, रामजानकी मन्दिर, होमन कुण्ड, स्थाणुतिर्थ पोखरी, गायत्री मन्दिर, देवहुतीको मन्दिर, गायत्री कुटी, गौशाला आदि मन्दिरहरुमा साहित्यकारहरुले तीर्थाटन गर्न पनि सक्दछन् ।

साहित्यमा मनका भावना, प्राकृतिक छटा, संस्कृतिका विम्ब र जीवनका रंगहरु समेटिन्छ । पर्यटनका मुख्य आकर्षक तत्व पनि प्रकृति, इतिहास, संस्कृति र जीवनशैली नै हुन । त्यसैले साहित्यमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । साहित्यले पर्यटकीय संभावना भएका गन्तव्यहरुको बिकास हुन्छ । सुनेको कुरा भन्दा देखेको कुरा सत्य हुन्छ । अझ देखेको भन्दा आँफैले भोगेको कुरा सत्य हुन्छ । भोगेको भन्दा पनि आफुले व्याबहारिक रुपमा अनुभब गरेर उतारेको कुरा सत्य हुन्छ । त्यसैले साहित्यकारहरुले आफूले देखेका, सुनेका र अनुभूत गरेका कुरा मीठो शब्दमा पस्कन्छन । धेरै साहित्यकारहरु कुनै नयाँ गन्तव्यहरुमा पुगेर रचना गर्छन । चित्रकारहरु चित्र बनाउँछन र प्रदर्शन गर्छन । काव्य यात्रीहरु र्फकेपछि निबन्ध, संस्मरण, कविता, गीत, समाचार आदि लेख्छन । घुमफिरले साहित्यकारहरुलाई नयाँ उर्जा दिन्छ ।

लेख्नका लागि परिवारभन्दा टाढा कतै एकान्तवासमा जाने परम्परा विकसित हुदै गएको छ । साहित्यकारहरुका लागि यो नयाँ होइन । जसलाई राइटिङ रेसिडेन्सी पनि भनिन्छ । एकान्तवासमा त्यहाको प्रकृति, संस्कृति, स्वच्छ र शान्त वातावरणले लेखनमा स्फूर्ति जगाउने गर्दछ । कपिलधाम पुगे पछि नलेख्नेहरु पनि लेख्न खोज्दछन् । नगाउनेहरु पनि त्यहाको वातावरणले गुनगुनाउन थाल्दछन । साहित्यकारहरुको पूरा नभएका सिर्जनालाई मूर्तरुप दिन र नयाँ सिर्जनाको अवधारणाका लागि पनि कपिलधामको घुमफिर र केहिदिनको बसाइ उपयोगी मानिन्छ । साहित्यकारले कथावस्तु घरमै बनाए पनि औपन्यासिकीकरण गर्न उपयुक्त वातावरण चाहिन्छ । त्यसैले एक पटक कपिलधाम जाने योजना साहित्यकारहरुले बनाउदा राम्रो हुन्छ ।

कपिलधामले साहित्यकारहरुलाई धेरै कुरा सृजना गराउछ । दिवंगत साहित्यकारलाई समान गर्ने सस्कारको पनि बिकास हुन्छ । साहित्यकारले समाजमा फैलिएको कुरीति, विसंगति, असमानता, अन्याय र अत्याचारहरुका विरुद्ध कलम चलाउँन पर्दछ । त्यसैले साहित्यकारले समाजका सामाजिक, धार्मिक, आर्थिक, राजनैतिक, शैक्षिक र समसामयिक बिषयको अध्यनको लागि घुमफिर गर्न पर्दछ । हामी भन्नका लागि साहित्य समाजको दर्पण हो भन्दछौ । तर दर्पण कसरी हुन्छ ?समाजलाई कसरी साहित्यले प्रभावित पारेको हुन्छ ? अवश्य पनि यसको उत्तर पनि साहित्यकारलाई घुमफिरले दिन्छ । समाजको ऐना हो, जुन ऐनामा समाजको सबैकुरा देख्न सकिन्छ । साहित्यकारका काँधमा समाजको ठूलो जिम्मेवारी रहेको हुन्छ ।

त्यस्तै समाज पनि साहित्यको प्रतिविम्ब हो । किनकि साहित्यले समाजको परिस्थितिलाई पस्किन्छ । साहित्यले समाजको इतिहासलाई पनि उभ्याउँछ । साहित्यको कार्य समाजलाई सुशिक्षा दिंदै बौद्धिक चेतनाको विकास गर्नु पनि हो । समाजकै हित चिन्तनमा सम्प्रेषित हुने हुँनाले साहित्यमा समाज नै प्रतिविम्बित हुन पुग्दछ । साहित्यले समाजको लोकजीवनलाई आत्मसात गरेको हुन्छ । समाजको रहन सहन, खान पान, संस्कार संस्कृति र भेष भूसालाई पनि साहित्यले प्रतिनिधित्व गरेको हुन्छ । साहित्य सृजना गर्नको लागि कस्तो वातावरण आवश्यक पर्दछ भन्ने कुरा सबैमा एकै किसिमको हुदैन । कोही साहित्यकारहरु राती सबै सुतिसकेपछि लेख्न रुचाउँछ भने कोही एकाबिहानैको समय रुचाउँछ । कोही हल्लामा आफ्नो सृजनालाई लेख्न सक्दछन । यसैले कस्तो वातावरणमा लेख्ने भन्ने कुरा लेख्ने व्यक्तिमा भर पर्छ । तर पनि धेरै साहित्यकारहरु एकान्त वातावरणमा लेख्न रुचाउनु हुन्छ । साहित्य भनेको, आफ्ना विचारहरुलाई शब्द मार्फत व्यक्त गर्न, र कलात्मक रुपमा प्रस्तुती दिनु हो । साहित्यमा मुख्यतय मौलिकतामा ध्यान दिनुपर्छ । मौलिकता दिनको लागि घुमफिर आवस्यकता हुन्छ । आफ्नै मौलिक शैली र परिवेश अनुसार साहित्यको रचना भयो भने साहित्यकारको आफ्नै पहिचान हुन्छ ।

साहित्यकारको घुमफिरले सम्पदा, सस्कृतिको जगेर्ना र आन्तरिक पर्यटन प्रबर्द्धनमा विशेष प्रभाव पार्दछ । साहित्यकारको कलमबाट नियात्रा, काव्य लेखनमा नयाँपन सृजना हुन्छ । घुमफिरको स्थलगत अवलोकनबाट सिर्जनामा विविधता आउने र मौलिक दर्शन, जनजीवनको बारेमा अध्ययन हुन्छ । घुमफिरबाट धेरै कुरा सिक्न पाइन्छ । घुमफिरले नयाँ कुरा सिकाउँछ, व्यवहार स्वच्छ बनाउँछ र जिज्ञासा जन्माउँछ । लेख्नको लागि नयाँ विषय र ज्ञान दिन्छ । ठाउ ठाउका नयाँ जानकारी प्राप्त गर्न सकिन्छ । साहित्यकारहरुको हेर्ने दृष्टि र बुझने विषयमा नयाँ पन श्रृजना हुन्छ । अहिले लेखेका कुरा पछि यथार्थ र वास्तविक हुन पुग्दछ ।

शालिक भनेको इतिहास हो । संसाभर हजारौँ शालिक ठडिएका छन छन् । कहीँ तानाशाह राजाका छन । कहीँ कविका छन् । कहीँ इतिहासकारका छन कहीँ रक्तरन्जित साम्राज्यको निम्ति हतियार बोकेर आफै लडन निस्कने क्रूर युद्ध पिपासहरुका पनि छन । त्यस किसिमका शालिक ठडिदैछन भने कतै ढल्दैछन । तर दिवंगत साहित्यकारहरुको शालिकहरुको सम्मान र महत्व फरक छ । दिवंगत साहित्यकारहरु कुनै पार्टी, समुदाय र व्यक्तिका हुदैनन । दिवंगत साहित्यकार राष्ट्रका धरोहर हुन्छन । साहित्यकारको कलमले समाज बिकासको लागि भूमिका खेलेको हुन्छ । त्यो योगदानको हामी सबैले साहित्यकारहरुको सम्मान गर्नु पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker