कपिलधाममा साहित्यकारको प्रतिमा
के.बि मसाल

जसरी शारीरिक तन्दुरुस्तीका लागि व्यायाम चाहिन्छ, त्यसरी नै मस्तिष्कलाई तन्दुरुस्त राख्न घुमफिर र अध्ययन अवलोकन गर्न पर्दछ । घुमफिरले अध्यनशिल मानिसहरुमा विस्मृतिजन्य रोग लाग्ने सम्भावना कम हुन्छ । नयाँ ठाउँमा घुमफिर गर्दा तनावबाट मुक्ति मिल्छ । पश्चिमीमा मुलुकहरुका मानिस बर्षभरि काम गरेपछि अधिकांशको अनिवार्यझैँ महिना दिन जति छुट्टी मिलाएर घुमफिर गर्ने जीवनशैली नै हुन्छ । तर हामी कहा त्यस्तो शैली बनेको छैन । साहित्य, सगीत, खोज अनुसन्धानका लागि पनि घुमफिरले नयाँ उर्जा दिन्छ । कतिपय अवस्थामा घुमफिरबाट प्रशस्त ज्ञान लिन सकिन्छ । त्यसैले घुमफिरलाई खुल्ला विश्व बिद्यालय पनि भनिन्छ ।
पर्यटकहरु घुमफिरको लागि नयाँ ठाउको खोजीमा हुन्छन् । साहित्यकारहरुलाई नयाँ ठाउँको घुमफिरले नयाँ कुरा सृजना गराउछ । घुमफिरमा निस्कदा निश्चित उद्देश्य भयो भने उपलब्धि मुलक हुन्छ । घुमफिरमा निस्कुन पूर्व गन्तव्यको जानकारी राख्न सक्यो भने राम्रो हुन्छ । त्यसले घुमफिर अवधिको लागि जोरजाम गर्नुपर्ने स्रोत साधन र यात्राका संभावित जोखिमहरुको बारेमा सचेत हुन पनि मद्दत गर्दछ । बुटवलबाट ३८ किलोमिटर पश्चिम र दाङको भालुवाङ देखि ६२ किलो मिटरको दुरीमा रहेको कपिलवस्तुको वाणगंगा नगरपालिका-९ मा पर्ने कपिलधाम आजभोली साहित्य तीर्थ अर्थात साहित्यिक पर्यटनको गन्तब्य भएको छ । कपिलधाम साहित्यकारहरुका लागि नयाँ गन्तब्य हो । कतिपय जिल्लाका साहित्यकारहरु समूहमानै कपिलधाम पुग्ने गर्दछन् । कपिलधाममा तीर्थाटन पर्यटक र साहित्यकारहरुलाई सात्विक भोजन र बस्नको सुबिधा पनि छ ।
कपिलधाम वाणगंगा नगरपालिकाको महेन्द्र राजमार्गको बनगाई चोकदेखि करीव २ किमि पश्चिम उत्तर तर्फ बनगाई देखि डोहोटे सडकखण्डको छेउँमा रहेको छ । तीन देवता ब्रहृमा, विष्णु र महेहृवरमध्येका एक ब्रहृमाका नाती कपिलमुनि भएकाले धामको नाम कपिलधाम राखिएको छ। विभिन्न समयमा अतिक्रमणमा पर्दै आएको वाणगंगा नगरपालिका वार्ड नं. ७ र ९ को बीचमा पर्ने १ सय २० बिघा वनक्षेत्रलाई धार्मिक वन नामाकरण गरेर कपिलऋषिको तपोभूमिका रुपमा संरक्षण गरिएको छ । धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार कपिल ऋषिको आश्रम यसै क्षेत्रमा थियो र उनले सिद्धार्थ गौतमलाई शिक्षा दिएका थिए । कपिलधाम क्षेत्रलाई आयुर्वेदिक औषधि उत्पादन, योग तथा प्राकृतिक चिकित्सा, धर्म-संस्कृतिको नमुना क्षेत्र, गुरुकुलीय शिक्षा, आश्रम, गौशाला, साहित्य र संस्कृतिको साझा थलोको रुपमा विकास गर्ने उद्देश्यका साथ काम भएको छ । साहित्यिक क्षेत्रका विविध योजना अघि बढाउनका लागि यसै परिसरमा लुम्बिनी वाङमय प्रतिष्ठानको भवन निर्माण गरिएको छ ।
कपिलधाम परिशर भित्र साहित्य चौतारीका लागि करिब पाँच बिघा जमिन लुम्बिनी वाङमय प्रतिष्ठानले कफिधामसँगको सहकार्यमा प्राप्त गरेको छ । त्यहि जमिनमा नेपाल प्रज्ञा प्रतिष्ठानले मूर्धन्य मानेका स्रष्टाको सालिक क्रमैसँग साहित्य चौतारीमा राखिएको छ । साहित्य चौतारीमा प्रतिमा राख्नका लागि लुम्बिनी वाङमय प्रतिष्ठानले ३ सदस्यीय मूल्यांकन उप समिति बनाएको छ । प्रतिमा राख्नका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको साहित्यकार कलाकारको रोस्टरमा नाम सूचीकृत भएको हुनुपर्ने छ । त्यसपछि मात्र प्रतिमा राख्न दिने र नदिने समितिबाट निर्णय हुन्छ । लुम्बिनी वाङमय प्रतिष्ठानले १ सय ८ दिवंगत साहित्यकारको प्रतिमा राख्ने योजना बनाइएको छ । नेपालबाहिर रहेर पनि नेपाली भाषा,साहित्य र कला श्रीवृद्धिमा योगदान गर्ने साधकका पनि प्रतिमा राखिने योजना छ ।
कपिलधाम पुगेपछि मुलुकका लागि अमूल्य योगदान गरेका दिवंगत साधकहरु एउटै थलोमा देख्न सक्नुहुन्छ । कपिलधाम अहिले सम्म विभिन्न क्षेत्र र भाषा वाङमय साधना गर्ने राष्ट्रका १८ अमूल्य निधिका अर्धकदका प्रतिमा एकै ठाउँमा राखिएको छ । सबैभन्दा पहिले आदिकवि भानुभक्त आचार्यको सालिक राखिएको थियो । आदिकवि भानुभक्तको सालिक ०७० मा अनावरण गरिएको थियो । त्यसपछि कविशिरोमणि लेखनाथ पौडेलको सालिक छ । त्यसपछि क्रमशः विभिन्न स्रष्टा, संस्कृतविद, शिक्षासेवी, योगी, महापण्डित, नेपाली वाङमय र कला साधनाद्वारा राष्ट्रको गौरव बढाउने व्यक्तित्वका प्रतिमा राखिएका छन । प्रतिमालाई सुरक्षित राख्न टिनको छाना पनि बनाइएको छ । प्रतिमा २ देखि ४ फुट अग्ला छन । प्रतिमा ढुंगा, पित्तल र फलामद्वारा बनाइएका छन । प्रतिमा पूर्व-पश्चिम लामो लाइन बनाएर राखिएको छ । प्रतिमा ४ मिटर फराकिला दूरीमा राखिएको छ । दिवंगत साधकहरुको जन्म जयन्तीलगायतका कार्यक्रम गर्दा द्वीप प्रज्ज्वलन गर्न प्रतिमाको दक्षिणतिर फलामको द्वीपस्थल बनाइएको छ । एउटा लाइनमा २० वटा प्रतिमा राख्ने योजना छ । एउटा प्रतिमा राख्न डेढदेखि २ लाख खर्च भएको छ ।
साहित्य तीर्थ लुम्बिनी वाङमय प्रतिष्ठानले संयोजन गरेर निर्माण भएको हो । यहा सालिक राख्नको लागि दिवंगत साहित्यकारको कम्तीमा पनि पाच ओटा कृति प्रकाशन भएको हुनु पर्दछ । मुलुकभरिका अमूल्य निधिको अध्ययन अवलोकन गर्न र साहित्यानुरागीको प्यास मेटाउँन लुम्बिनी वाङमय प्रतिष्ठानले साहित्य तीर्थका रुपमा विकास गर्न लागेको छ । प्रतिष्ठानले राष्ट्रको गौरव बढाउने प्रतिभावान मर्ूधन्य साधकको योगदानको उच्च मूल्यांकन गर्न प्रतिमा निर्माण गरी साहित्य पर्यटनको गन्तव्य बनाएको छ । नेपालमा नै यो नयाँ अवधारणा भएको छ । जस्ले गर्दा कपिलधाम पुग्ने साहित्यकार पर्यटकहरुलाई एकै ठाउँमा मुलुकभरिका अमूल्य निधिको अध्ययन अवलोकन गर्न सजिलो भएको छ । नेपाली साहित्यको आद्योपान्त थाहा पाउन धेरै ठाउँ पुग्न नपर्ने भएको छ । साहित्यकार पर्यटकहरु दिवंगत साधकहरुको एकै ठाउमा सालिक देख्दा अचम्म मान्दछन् । कोहि सालिकसंग सेल्फी लिन्छन त कोही सालिकमा टाँसिएका नाम हेर्दै दिवंगत साहित्यकारहरुलाई संमान गर्दछन् ।
कपिलवस्तु ऐतिहासिक एवं पुरातात्विक स्थलहरुको खुला संग्रहालय हो । साहित्यकार पर्यटकहरुलाई घुमफिर गर्ने धेरै स्थलहरु छन् । शाँख्य दर्शनका प्रणयता, कपिलमुनिको तपोभूमी, शान्तिका प्रतीक भगवान गौतम बुद्धको गृहनगर लगायत थुप्रै ऐतिहासिक पुरातात्विक स्थल कपिलवस्तुमा रहेको छ । बुद्ध जन्मेको लुम्बिनी, हुर्केको तिलौराकोट, मावली र ससुराली देवदह वा अस्तु धातु रहेको रामग्राम साहित्यकार पर्यटकहरु पुग्नै पर्ने ठाउ हुन । तिलौराकोटमा शाक्यवंशको राज्यको राजधानी थियो । राजा शुद्धोधन र रानी मायादेवीका छोरा सिद्धार्थ गौतमले आफ्नो जीवनकालको २९ वर्ष बिताएको ठाउँ हो तिलौराकोट । तिलौराकोटमा पटकपटक विश्व प्रसिद्ध पुरातत्वविदहरुले उत्खनन गरेर ३ हजार वर्षअघिसम्मका संरचनाहरु भेटाएका छन । यो स्थल बुद्धजन्म स्थल लुम्बिनीदेखि २२ किलोमिटर पश्चिममा पर्दछ । बौद्ध ग्रन्थअनुसार गौतमबुद्धको महापरिनिर्वाण पछि विभिन्न आठ स्थानमा अष्टधातु राखिएको थियो । जसमध्येको एक रामग्राम हो । रामग्रामका तत्कालीन राजाले बनाएको यो स्तुप हेर्न वर्षेनी हजारौँ पर्यटक जाने गरेका छन ।
कपिलमुनि ऋषिको तपोभूमि भएकै कारण कपिलवस्तुको नाम रहेको हो । कपिलधाम पनि यसै कारण भएको हो । कपिलधाम र यसको वरिपरिको क्षेत्रको खोज अनुसन्धानले धेरै महर्षिहरुले यस क्षेत्रमा बसेर ध्यान, तप, जप र चिन्तन गरेको भेटिन्छ । ऋषि-महर्षिहरुको तपोभूमि, बुद्धको जन्मभूमि र देवस्थलहरुको रुपमा परिचित कपिलधाममा साहित्य चौतारी र दिवंगत साहित्यकारका सालिकको संयोगले साहित्यकार पर्यटकहरुलाई अध्यनको थलो भएको छ । कपिलधाम परिसरभित्र सतसंग भवन, मन्सादेवीको मन्दिर, विश्वकर्मा मन्दिर, हनुमानको मुर्ति, सप्तऋषिहरुको आधारशिला सहितको मुर्ति, चौपारी, पतंञ्जलीऋषिको आधारशिला सहितको मुर्ति, धर्मशाला, ध्यानकेन्द्र निर्माण भएको छ । त्यसै गरी शिवालय मन्दिर, राधाकृष्ण मन्दिर, महर्षिकपिलमुनीको आधारशिला सहितको मुर्ति, रामजानकी मन्दिर, होमन कुण्ड, स्थाणुतिर्थ पोखरी, गायत्री मन्दिर, देवहुतीको मन्दिर, गायत्री कुटी, गौशाला आदि मन्दिरहरुमा साहित्यकारहरुले तीर्थाटन गर्न पनि सक्दछन् ।
साहित्यमा मनका भावना, प्राकृतिक छटा, संस्कृतिका विम्ब र जीवनका रंगहरु समेटिन्छ । पर्यटनका मुख्य आकर्षक तत्व पनि प्रकृति, इतिहास, संस्कृति र जीवनशैली नै हुन । त्यसैले साहित्यमार्फत पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । साहित्यले पर्यटकीय संभावना भएका गन्तव्यहरुको बिकास हुन्छ । सुनेको कुरा भन्दा देखेको कुरा सत्य हुन्छ । अझ देखेको भन्दा आँफैले भोगेको कुरा सत्य हुन्छ । भोगेको भन्दा पनि आफुले व्याबहारिक रुपमा अनुभब गरेर उतारेको कुरा सत्य हुन्छ । त्यसैले साहित्यकारहरुले आफूले देखेका, सुनेका र अनुभूत गरेका कुरा मीठो शब्दमा पस्कन्छन । धेरै साहित्यकारहरु कुनै नयाँ गन्तव्यहरुमा पुगेर रचना गर्छन । चित्रकारहरु चित्र बनाउँछन र प्रदर्शन गर्छन । काव्य यात्रीहरु र्फकेपछि निबन्ध, संस्मरण, कविता, गीत, समाचार आदि लेख्छन । घुमफिरले साहित्यकारहरुलाई नयाँ उर्जा दिन्छ ।
लेख्नका लागि परिवारभन्दा टाढा कतै एकान्तवासमा जाने परम्परा विकसित हुदै गएको छ । साहित्यकारहरुका लागि यो नयाँ होइन । जसलाई राइटिङ रेसिडेन्सी पनि भनिन्छ । एकान्तवासमा त्यहाको प्रकृति, संस्कृति, स्वच्छ र शान्त वातावरणले लेखनमा स्फूर्ति जगाउने गर्दछ । कपिलधाम पुगे पछि नलेख्नेहरु पनि लेख्न खोज्दछन् । नगाउनेहरु पनि त्यहाको वातावरणले गुनगुनाउन थाल्दछन । साहित्यकारहरुको पूरा नभएका सिर्जनालाई मूर्तरुप दिन र नयाँ सिर्जनाको अवधारणाका लागि पनि कपिलधामको घुमफिर र केहिदिनको बसाइ उपयोगी मानिन्छ । साहित्यकारले कथावस्तु घरमै बनाए पनि औपन्यासिकीकरण गर्न उपयुक्त वातावरण चाहिन्छ । त्यसैले एक पटक कपिलधाम जाने योजना साहित्यकारहरुले बनाउदा राम्रो हुन्छ ।
कपिलधामले साहित्यकारहरुलाई धेरै कुरा सृजना गराउछ । दिवंगत साहित्यकारलाई समान गर्ने सस्कारको पनि बिकास हुन्छ । साहित्यकारले समाजमा फैलिएको कुरीति, विसंगति, असमानता, अन्याय र अत्याचारहरुका विरुद्ध कलम चलाउँन पर्दछ । त्यसैले साहित्यकारले समाजका सामाजिक, धार्मिक, आर्थिक, राजनैतिक, शैक्षिक र समसामयिक बिषयको अध्यनको लागि घुमफिर गर्न पर्दछ । हामी भन्नका लागि साहित्य समाजको दर्पण हो भन्दछौ । तर दर्पण कसरी हुन्छ ?समाजलाई कसरी साहित्यले प्रभावित पारेको हुन्छ ? अवश्य पनि यसको उत्तर पनि साहित्यकारलाई घुमफिरले दिन्छ । समाजको ऐना हो, जुन ऐनामा समाजको सबैकुरा देख्न सकिन्छ । साहित्यकारका काँधमा समाजको ठूलो जिम्मेवारी रहेको हुन्छ ।
त्यस्तै समाज पनि साहित्यको प्रतिविम्ब हो । किनकि साहित्यले समाजको परिस्थितिलाई पस्किन्छ । साहित्यले समाजको इतिहासलाई पनि उभ्याउँछ । साहित्यको कार्य समाजलाई सुशिक्षा दिंदै बौद्धिक चेतनाको विकास गर्नु पनि हो । समाजकै हित चिन्तनमा सम्प्रेषित हुने हुँनाले साहित्यमा समाज नै प्रतिविम्बित हुन पुग्दछ । साहित्यले समाजको लोकजीवनलाई आत्मसात गरेको हुन्छ । समाजको रहन सहन, खान पान, संस्कार संस्कृति र भेष भूसालाई पनि साहित्यले प्रतिनिधित्व गरेको हुन्छ । साहित्य सृजना गर्नको लागि कस्तो वातावरण आवश्यक पर्दछ भन्ने कुरा सबैमा एकै किसिमको हुदैन । कोही साहित्यकारहरु राती सबै सुतिसकेपछि लेख्न रुचाउँछ भने कोही एकाबिहानैको समय रुचाउँछ । कोही हल्लामा आफ्नो सृजनालाई लेख्न सक्दछन । यसैले कस्तो वातावरणमा लेख्ने भन्ने कुरा लेख्ने व्यक्तिमा भर पर्छ । तर पनि धेरै साहित्यकारहरु एकान्त वातावरणमा लेख्न रुचाउनु हुन्छ । साहित्य भनेको, आफ्ना विचारहरुलाई शब्द मार्फत व्यक्त गर्न, र कलात्मक रुपमा प्रस्तुती दिनु हो । साहित्यमा मुख्यतय मौलिकतामा ध्यान दिनुपर्छ । मौलिकता दिनको लागि घुमफिर आवस्यकता हुन्छ । आफ्नै मौलिक शैली र परिवेश अनुसार साहित्यको रचना भयो भने साहित्यकारको आफ्नै पहिचान हुन्छ ।
साहित्यकारको घुमफिरले सम्पदा, सस्कृतिको जगेर्ना र आन्तरिक पर्यटन प्रबर्द्धनमा विशेष प्रभाव पार्दछ । साहित्यकारको कलमबाट नियात्रा, काव्य लेखनमा नयाँपन सृजना हुन्छ । घुमफिरको स्थलगत अवलोकनबाट सिर्जनामा विविधता आउने र मौलिक दर्शन, जनजीवनको बारेमा अध्ययन हुन्छ । घुमफिरबाट धेरै कुरा सिक्न पाइन्छ । घुमफिरले नयाँ कुरा सिकाउँछ, व्यवहार स्वच्छ बनाउँछ र जिज्ञासा जन्माउँछ । लेख्नको लागि नयाँ विषय र ज्ञान दिन्छ । ठाउ ठाउका नयाँ जानकारी प्राप्त गर्न सकिन्छ । साहित्यकारहरुको हेर्ने दृष्टि र बुझने विषयमा नयाँ पन श्रृजना हुन्छ । अहिले लेखेका कुरा पछि यथार्थ र वास्तविक हुन पुग्दछ ।
शालिक भनेको इतिहास हो । संसाभर हजारौँ शालिक ठडिएका छन छन् । कहीँ तानाशाह राजाका छन । कहीँ कविका छन् । कहीँ इतिहासकारका छन कहीँ रक्तरन्जित साम्राज्यको निम्ति हतियार बोकेर आफै लडन निस्कने क्रूर युद्ध पिपासहरुका पनि छन । त्यस किसिमका शालिक ठडिदैछन भने कतै ढल्दैछन । तर दिवंगत साहित्यकारहरुको शालिकहरुको सम्मान र महत्व फरक छ । दिवंगत साहित्यकारहरु कुनै पार्टी, समुदाय र व्यक्तिका हुदैनन । दिवंगत साहित्यकार राष्ट्रका धरोहर हुन्छन । साहित्यकारको कलमले समाज बिकासको लागि भूमिका खेलेको हुन्छ । त्यो योगदानको हामी सबैले साहित्यकारहरुको सम्मान गर्नु पर्दछ ।










