परबासीको इतिहास : पर्यटन र पुर्खाको मातृभूमी
के.बि. मसाल

विदेशी पर्यटकहरुले नेपाललाई हिमालयन देशको रुपमा हेर्ने गर्दछन । तर विदेशी नेपालीहरुले नेपाललाई आत्माको ऐनामा हेर्दछन । तर,नेपालमा परवासी नेपालीको यात्रा फरक हुन्छ । पुख्यौली घरको ढोका ढक्ढक्याउने परवासी पर्यटकको चाहना हुन्छ । गाउँको कुलदेवताको थानमा घुँडामेरेर टाउको टेक्ने परवासी पर्यटकहरुको प्राथमिकता हुन्छ । गाउँघरको मेलापर्वमा पुर्खौली नातागोता र साथीभाईहरुलाई खोज्दै रमाउने परवासी पर्यटकहरुको भावनात्मक चाहना हुन्छ । त्यसैले परवासी पर्यटकको नेपाल आगमन केवल दृश्यावलोकन मात्र नभएर पुर्खाको मातृभूमीसँग जोडिएको हुन्छ ।
पर्यटनको क्षेत्रमा नेपाललाई हिमाल, पहाड र तराईले मात्र चित्रण गर्न सकिँदैन। परवासी पर्यटकका लागि पुर्खाको मातृभूमि र नेपाली आत्माको गहिरो भावनाले बुनेको भूमी हुन्छ। आज लाखौँ नेपालीहरु संसारका कुनाकाप्चामा छरिएका छन । कोही रोजगारी र व्यापारका नाममा, कोही अध्ययन अथवा अन्य कारणले स्थायी बसोवास गर्दछन । तर जुन देशमा पुगे पनि, परवासी नेपालीको मुटुको कुनामा एउटा तिर्खा कहिल्यै मेटिँदैन । त्यो हो मातृभूमी हेर्ने अर्थात पुर्खाको भूमी फर्केर आँगनको माटोमा पाइला टेक्ने । यही मोहले गर्दा आजभोली परबासी नेपालीहरु नेपाल आउँदा पर्यटकको रुपमा आउँछन । तर उनीहरुको यात्रा केवल घुम्नको मात्र हुदैन पुर्खाको पहिचान, संस्कार र ऐतिहासिक सम्बन्धलाई खोज गर्ने उद्देश्य हुन्छ ।
परदेशमा जन्मिएका नयाँ पुस्ताका नेपालीहरुलाई आफ्नै वंश थाहा हुँदैन । तर नेपाल आउँदा उनीहरुलाई आफ्नै संस्कृतिसँग प्रत्यक्ष परिचय गराउँछ । दशैंमा टीका लगाउँदा उनीहरुले पुख्र्यौली संस्कार महसुस गर्छन । तिहारमा देउसी–भैलो खेलेर रमाउँदा नेपालीपन जाग्दछ। गाउँघरको लोकनृत्य, भाका, बाजा देख्दा उनीहरुको मुटुमा म यहीँको हुँ भन्ने गर्व पलाउँछ । यसरी परदेशी पुस्ताले पुर्खाको थलोमा पाइला टेक्दा, त्यो यात्रा केवल पर्यटनको मात्र नभएर संस्कृतिको पुनर्जन्म हुन्छ । अर्को तर्फ परबासी नेपालीहरुले आफ्ना छोराछोरीलाई नेपाली सस्कृतिको चाडपर्वहरु प्रत्यक्ष देखाउन सक्दछन । पुर्खाले स्थापना गरेका मन्दिरमा पूजाआजा गराउँछन । गाउँघरको संस्कार–संस्कृति अनुभव गराउँछन । यसरी परवासी पर्यटकहरुले धेरै पुस्ताबीच हराउँदै गएको संस्कारलाई पुनर्जीवित गर्छन ।
नेपालीहरु कसरी भए परवासी ? नेपालका लाखौँ नागरिक विगत एक शताब्दीदेखि रोजगारी, व्यापार, अध्ययनका लागि बिदेसी भूमीमा पुगेका छन । सुरुमा भारत, बर्मा, दार्जिलिङ, असाम जस्ता नेपालको नजिकको भूगोल हुँदै त्यसभन्दा पर थाइल्याण्ड भएर पश्चिमी मुलुक सम्म पुगेका थिए । इतिहास खोज्ने हो भने बि.स. १९०६ मा जगबहादुर राणाले बेलायत र फ्रान्सको यात्रा गरी नेपाललाई सार्वभौम सत्ता सम्पन्न राष्ट्रको रुपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए । १९औँ शताब्दीतिर भारतका चिया बगानदेखि दार्जिलिङ, सिक्किम, आसामसम्म नेपाली युवा पुगेका थिए । पछि दोस्रो विश्वयुद्धका बेला गोर्खा सैनिकमा भर्ना भएर बर्मा, सिंगापुर, मलेसिया र बेलायतसम्म पुग्ने क्रम बढयो। दोस्रो विश्वयुद्ध बि.सं. १९९६–२००२ मा करिब २ लाखभन्दा बढी नेपाली गोर्खा सिपाही अर्थात ब्रिटिश सेनामा भर्ती भएका थिए । उनीहरुलाई युद्धमा बर्मा, मलेशिया, सिंगापुर, हङकङ, इजिप्ट, इटाली, उत्तर अफ्रिका आदि मुलुकमा लडाइँमा पठाइएको थियो । युद्धमा सहभागी भएका मध्ये धेरै नेपाली फर्किएनन । कोही शहीद भए, कोही घाइते भएर अपाङ्ग बने, अनि केही युद्ध सकिएपछि आफ्नो भूमीमा फिर्ता नआई त्यही देशमै स्थायी रुपले बस्न थालेका थिए । बर्मा अर्थात म्यानमारमा दोस्रो विश्वयुद्धअघि नै नेपालीहरुको ठूलो समुदाय थियो । युद्धपछि झनै बढदै गयो।
भारतमा नेपालीहरुको बसोबास पहिले पनि थियो । तर युद्धपछि फौजी सेवाबाट अवकाश पाएका धेरै गोर्खा सैनिकहरु दार्जिलिङ, आसाम, देहरादुन, सिक्किम आदि क्षेत्रमा स्थायी रुपमा बसोवास गर्न थालेका हुन । ब्रिटेनमा युद्धपछि अवकाश प्राप्त गोर्खा सैनिक र उनीहरुको परिवार बस्न थाले । हङकङ, सिंगापुर, मलेशियामा युद्धपछि पनि त्यहाँको सुरक्षाबल र प्रशासनिक क्षेत्रमा काम गर्न नेपालीहरु बसे । फिजी, ब्रुनाइ, इन्डोनेसियामा केही गोर्खा सैनिक र श्रमिक समुदाय युद्धपछि त्यहाँ स्थायी भए । दोस्रो विश्वयुद्धपछि नेपालीहरुको बसोबासको दायरा दक्षिण एसिया, दक्षिण–पूर्व एसिया, बेलायत हुँदै विश्वभर विस्तार हुँदै गयो ।
दोस्रो विश्वयुद्ध पछि पचास र साठीको दशकमा रोजगारी र उच्च शिक्षा अध्ययनका लागि अमेरिका–युरोपको यात्रा शुरु भयो । पछिल्लो समय बिश्वमा १९५ मुलुक मध्य सय भन्दा बढी मुलुकमा नेपालीहरु पुगेका छन भने ६५ देशमा स्थायी बसोबास गर्दै आएका छन । नेपालका धेरैजसो आप्रवासी कामदार खाडी मुलुक मलेसिया, कोरिया जस्ता देशमा पुगेका छन । तर ति मुलुकमा स्थायी बसोबास गर्न भने पाइदैन। स्थायी बसोबास गर्न सकिने मुलुकहरु मुख्यतया पश्चिमी मुलुकहरु हुन । तर पनि सबैभन्दा धेरै नेपालीहरुले स्थायी बसोबास बनाएका देशमा भारत पर्दछ ।
नेपाल–भारत खुला सीमाका कारण धेरै नेपाली स्थायी रुपमा बसोबास गर्दै आएका छन । तर पश्चिमी मुलुकहरु अमेरिका, अष्ट्रेलिया, क्यानडा, युरोप, जापान, न्युजिल्यान्ड लगायतमा भने आप्रवासन नीति खुला भएकाले दीर्घकालीन बसाइ वा स्थायी बसोबास गर्ने नेपालीहरु धेरै छन । नेपालीहरु बिश्वमा जहा पुगेपनि पुर्खाको भूमिसँगको भावनात्मक भैरहन्छ । जुन कारणले अहिले पर्यटनको माध्यमबाट आफ्नो पुर्खाको मातृभूमी हेर्न आउन थालेका छन । पर्यटनको बिकासको लागि यो राम्रो पक्ष हो । विदेशमा जन्मिएका वा हुर्केका नयाँ पुस्ताका नेपाली सन्तानले नेपाललाई आफ्नो पुर्खाको मातृभूमि भनेर लिन्छन । उनीहरुका लागि नेपाल केवल एउटा राज्य मात्र नभएर आफ्नो बशंको थलो हुन्छ ।
नेपाल आउने परबासी नेपालीहरु धेरै जसो पुख्र्यौली सम्पदा हेर्ने यात्राको भावना बोकेर आउँछन । अरु पर्यटकले हिमाल, पहाड, प्राकृतिक सौन्दर्य हेरेर सन्तुष्टि लिन्छन भने परवासी पर्यटकहरुले पुर्खाले छोडेको घर, गाउँ, मठ–मन्दिर, चिहान, पुख्र्यौली सम्पत्ति र संस्कृतिलाई देखेर आत्मसन्तुष्टि लिन्छन । परवासीहरुको नेपाल केवल पर्यटन मात्र हुँदैन, आफ्नो पुर्खाको नाता पुनःस्थापना गर्ने यात्रा पनि हुन्छ। विदेशमा जन्मेका नेपालीका सन्तानले नेपाललाई हाम्रो पुर्खाको थलो रहेछ भन्ने कुरा बुझछन । विदेशमा जन्मेका र हुर्केकाहरुले नेपाली भाषा नबुझन सक्दछन । आफ्नो संस्कृतिबारे धेरै जानकारी नहुन सक्दछ । तर पनि पुर्खाको थलो अर्थात नेपाल प्रतिको आगाहत प्रेम र आकर्षण हुन्छ । कतिपय युवाले आफ्ना आमा–बुबाको मातृभूमी खोज्न नेपाल आउने गर्छन। कतिपयले चिहान बनेको पुख्र्यौली बारीमा फूल चढाएर आफ्नो पुर्खालाई सझिन्छन । मातृभूमीमा आउँदा आफ्ना तिन पुस्ताअघिका आफन्त भेटदा आँसु झार्छन ।
परवासीहरुका लागि गाउँको ढुंगामाटो घर, धुलोमय बाटो, गाउँको मन्दिर, मेलापर्व नै विशेष आकर्षण हुन्छ । साधारण पर्यटकले नदेख्ने भावनात्मक मूल्य परबासी पर्यटकहरुले प्रत्येक कुनामा भेटछन। परबासी नेपालीले देखेका चौडा सडक, चम्किला भवन, सफा पार्क भने गाउँघरमा देख्न सक्दैनन्। बिदेशि भूमीमा घर नजिक खेतवारी, कुलदेउताको मन्दिर देख्न नपाएका परवासी पर्यटकहरुले पुर्खाको पसिनाले भिजेको खेत देख्न सक्दछन । जब उमेर बढदै जान्छ पुर्खाको मातृभूमीमा पुग्ने र पुख्र्यौली नातेदारसँग अँगालो मार्ने चाहना परवासी पर्यटकहरुको हुन्छ ।
परबासी नेपालीहरुको आगमनले नेपालमा पर्यटन क्षेत्रलाई थप हौसला भएको छ । परवासी पर्यटकहरु मातृभूमीमा खर्च गर्न हिच्किचाउँदैनन । उनीहरुको आफ्नै मातृभूमि अर्थात नेपाल आगमनले हवाई टिकट, होटल, यातायात, धार्मिकस्थल, स्थानीय उत्पादन आदिमा प्रत्यक्ष आय आर्जन बढछ। परबासी नेपालीहरुले आप्ना छोराछोरीहरुलाई नेपाल घुमाएर पुर्खाको संस्कार–संस्कृति बुझाउने अवसर दिन्छ। अर्को तर्फ परवासीले आफू बसेको देश र नेपालबीच सांस्कृतिक पुलको भूमिका समेत हुन्छ । परवासी नेपालीले मातृभूमीमा आउदा पुर्खाको थलोमा आर्थिक योगदान पनि दिएका हुन्छन । उनीहरुले गाउँमा घर बनाउन, विद्यालय मर्मत गर्न, बाटोघाटो सुधार गर्न सहयोग गर्ने गर्दछन । पुर्खाको गाउँघरमा उत्पादन भएका कपडा, हस्तकला, परम्परागत खानेकुरा खरिद गर्छन। गाउँमा होमस्टे, होटल, रेष्टुराँमा परवासी पर्यटकहरुको खर्चले स्थानीय अर्थतन्त्र चलायमान हुन्छ। त्यसैले परवासी नेपालीहरुको यात्रामा सामाजिक विकासको लगानी पनि हुन्छ । नेपालले यस किसिमको पर्यटनलाई अवसरका रुपमा लिन सक्यो भने पर्यटनको नयाँ आयाम जन्मिन्छ ।
परबासी नेपाली पर्यटकहरु केवल व्यक्तिगत भावनामा सीमित हुदैनन्। उनीहरुको भूमिकाले राष्ट्रिय महत्व बोकेको हुन्छ । परवासीरुले नेपाललाई आफ्नो सन्तानलाई चिनाउने हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृति फैलिन्छ । नेपालबाट फर्किदा उनीहरुले यहाको सीप र अनुभव पनि लैजान्छन। नेपालको गाउँ घरमा उत्पादन भएका बस्तुलाई विश्वसामु चिनाउन सक्दछन। त्यसैले परबासी नेपालीहरु नेपाल आउँदा साधारण विदेशी पर्यटक जस्ता देखिए पनि उनीहरुको यात्रा असाधारण हुन्छ। उनीहरुको नजरमा नेपाल केवल घुम्ने देश मात्र हुदैन बरु आफ्नो पुर्खाको इतिहास र पहिचानसँग भेट गर्ने पवित्र भूमिको रुपमा लिने गर्दछन। नेपालले परबासी नेपालीलाई पर्यटक मात्रै होइन, अतिथि र परिवारको हैसियतमा स्वागत गर्न सके, यसले राष्ट्रिय एकता, आर्थिक प्रगति र सांस्कृतिक निरन्तरतामा ठूलो योगदान पु¥याउन सक्दछ । मातृभूमिमा परवासी नेपालीको पूर्वज, संस्कृति, भाषा, धर्म, परम्परा र पहिचानसँग गाँसिएको हुन्छ । मातृभूमिमा परवासीहरुको आत्मा, इतिहास र संस्कृतिको मूल आधार पाइन्छ । नेपालीको जन्म भारतमा भए पनि उसको पुख्र्यौली देश नेपाल मातृभूमि हुन्छ । मातृभूमि भन्नु आत्मा, पहिचान र संस्कृतिसँग जोडिएको देश हो ।
विश्व पर्यटन बजारमा अहिले नयाँ अवधारणा तीव्र गतिमा बढिरहेको छ । विशेष गरी अमेरिकामा आप्रवासीको सन्तानहरु आफ्ना पुर्खा कहिले र कसरी आप्रवासनमा आए भन्ने खोजीमा युरोप पुग्दछन । भारतले पनि पुख्र्यौली गाउँ, मन्दिर र सांस्कृतिक थलोमा लैजाने कार्यक्रम अघि सारेको छ। नेपालमा यस्तै अवसर अझै विकसित हुन सकेको छैन । तर बिदेशि भूमीमा जन्मिएका वा हुर्किएका नेपाली मूलका युवापुस्ताले आफ्ना बुबा–हजुरबुबाको गाउँ, कुल–देउताको मन्दिर, बाल्यकालमा सुनेको घर–आँगन हेर्न आउँदा स्वाभाविक रुपमा नयाँ पर्यटनको ढोका खुलेको छ । पछिल्ला वर्षहरुमा प्रायः पर्यटन भिसामा नेपाल आउने नेपाली मूलका विदेशीहरु आफ्ना पुख्र्यौली थलोको खोजीमा गाउँ फर्कने गरेका छन । उनिहरुको यो यात्रा आफ्नो पहिचान पुनः खोज्ने भावनात्मक प्रयत्न हो । यसरी नेपाल फर्किनेहलाई परम्परागत अर्थमा पर्यटक मात्र भन्न सकिँदैन। उनीहरुलाई भावनात्मक पर्यटक वा पुख्यौली पर्यटक भन्दा राम्रो हुन्छ । तर नेपालको पर्यटन नीतिले परवासी पर्यटनमा सम्बोधन गरेको देखिँदैन। नेपालमा पर्यटनको प्राथमिकता प्रायः हिमाल आरोहण, साहसिक खेल, प्रकृति र धार्मिक गन्तव्यमा सीमित छ । तर पुख्र्यौली पर्यटनलाई व्यवस्थित गर्न सकियो भने यसले नेपाललाई परवासी नेपालीसँग नेपालबीचको सम्बन्ध बलियो हुन्छ ।
नेपालमा आउने पुख्र्यौली पर्यटकको प्रमुख आवश्यकता हो–पहिचान र अभिलेख । उनीहरुलाई कहाँ पुग्दा आफ्नो वंशावली भेटिन्छ, कुन गाउँमा आफ्नो कुल–देउताको मन्दिर छ, कुन थलोमा पुर्खाले छाडेको चिहान वा धरोहर छ भन्ने थाहा हुदैन । त्यसैले राज्यले अब वंशावली अभिलेख केन्द्र खोल्ने र गाउँमा पुराना कागजात, जमिन अभिलेख, वंशावली, मठ–मन्दिरका विवरण डिजिटलाइज गर्नु पर्दछ । त्यसले परवासी नेपालीहरुलाई अनलाइन मार्फत सहज पहुँच दिलाउन सकिन्छ । पुख्र्यौली पर्यटनको सबैभन्दा ठूलो लाभ गाउँघरमा हुन्छ । परवासीहरुको गाउँघरको यात्रामा अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुग्दछ । पुख्र्यौली गाउँका होटेल–लज भरिन्छन । स्थानीय गाइड, सवारी साधन, हस्तकला, खानपानको माग बढछ । गाउँमा हराउन लागेको संस्कृति–परम्परा पुनः जागृत हुन्छ । अर्को महत्वपूर्ण पक्ष के हो भने, परवासी नेपालीले आफ्ना पुख्र्यौली नातागोता भेटदा मात्र होइन, पुर्खाले स्थापना गरेको विद्यालय, मठ मन्दिरमा पनि सहयोग गर्दछन। यसले पर्यटन र सामाजिक उत्तरदायित्वबीच घनिष्ठ सम्बन्ध निर्माण गर्दछ । अब राज्यले पुख्र्यौली पर्यटनलाई प्रोत्साहित गर्न विशेष भिसा नीति बनाउन पर्दछ । परवासी नेपाली वा नेपाली मूलका विदेशीलाई सजिलो, सस्तो र छिटो प्रक्रियाबाट भिसा दिन पर्दछ । उनिहरुलाई छोटो अवधिको भिसा होइन, पटक–पटक गाउँ फर्किन सक्ने सुविधा हुने भिसा दिनु पर्दछ ।
परबासी नेपाली पर्यटकहरुको अनुभव विमानस्थलमा सहज छैन विमानस्थलमा लामो लाइन, सेवा ढिलाइ, अनावश्यक कागजी प्रक्रियाले मातृभूमीमा आउन लागेका परवासी पर्यटकहरु खिन्न हुन्छन। अर्को तर्फ सडक र यातायातको अवस्थाले धेरैलाई असुविधा हुन्छ । यहाको सरसफाइ, पानी, विजुली जस्ता आधारभूत सेवामा कमजोरी देख्दा परवासी पर्यटकहरु निराश हुन्छन। तर यिनै कमजोरी सुधार्न सके नेपालका परबासी नेपालीहरु नेपाल पर्यटनको स्थायी दूत बन्न सक्छन ।










