दसै पर्वमा घुम्ने संस्कृतिको बिकास
के.वि. मसाल

नेपालीको सास्कृतिक पर्व दसैको सुरुवात भएको छ । दसैको लागि आवस्यक सर–सामान किनमेल गर्नेहरुको भिड वजारमा देखिन थालेको छ । कमाइ गर्न देश, विदेश गएका युवा, युवतीहरु दसै पर्वको लागि भनेर घर फर्किने क्रम वढदै छ । नेपालमा दसैलाई वर्षको सबैभन्दा ठूलो पर्वको रुपमा मानिन्छ । यो पर्व केवल धार्मिक श्रद्धा–भक्तिमा सीमित छैन । दसै पर्वले सामाजिक, सांस्कृतिक, पारिवारिक र मनोवैज्ञानिक पक्षसँग पनि गहिरो सम्बन्ध राख्दछ । यही कारणले दसै पर्वमा घुम्ने संस्कृतिको पनि बिकास भएको छ । लामो बिदा, दसै पर्वको उमंग र जीवनशैलीका परिर्वतनले गर्दा घुम्ने परम्परा बलियो हुँदै गएको छ । दसैलाई आनन्द र उमंगको पर्व पनि मानिन्छ । नयाँ कपडा, विशेष खानपान, घर–आँगन सजाउने चलनले मानिसहरुको मनोबल उच्च बनाउँछ। दसै केवल टीका–जमरा थाप्ने चाड मात्र होइन । परिवार र नातागोतालाई भेटने अवसर पनि हो । यही उत्सवले बाहिर निस्केर घुम्ने, साथीभाइ वा परिवारसँग रमाइलो गर्ने चाहना धेरैको हुन्छ ।
दसैँ पर्व सामाजिक, धार्मिक र सांस्कृतिक जीवनमा विशेष महत्व छ । वर्ष भरिका पर्व–उत्सवमध्ये सबैभन्दा ठूलो यो पर्वलाई नेपालीहरुको एकता, उमंग र आशाको प्रतीक मानिन्छ । दसैँले केवल धार्मिक अनुष्ठानमा सीमित नभई पारिवारिक भेटघाट, सामुदायिक मेलमिलाप र घुमफिरसँग समेत गहिरो सम्बन्ध स्थापित गरेको छ । दसैँ मूलतः असत्यमाथि सत्यको विजय, दुष्टमाथि सदगुणको विजय र अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो। दुर्गा भवानीले महिषासुर नामक राक्षसलाई वध गरेको प्रसंग दसै पर्वको धार्मिक आधार हो। यसैले दसैँलाई शक्ति, साहस र धर्मको जयन्ती पर्वका रुपमा स्मरण गरिन्छ। दसैको अवसरमा घरघरमा देवीको पूजाआराधना, जमरा राख्ने परम्परा, टीका–जमरा थाप्ने र आशीर्वाद लिने चलन हुन्छ । यसले पुस्तान्तरणीय सम्बन्धलाई मजबुत बनाउँछ । आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा नातेदार बीचको आत्मीयता अझ प्रगाढ बनाउने अवसरका रुपमा दसैँलाई लिइन्छ ।
पहिले दसैँ गाउँघरमै मनाइन्थ्यो । तर अहिले घुम्ने र रमाउने संस्कृतिको विकाससंगै दसैँले नयाँ स्वरुप पाएको छ। कामकाज वा अध्ययनका कारण शहर वा विदेशमा रहेका नेपालीहरु दसैँमा घर फर्किन्छन । यही बहानामा पर्यटन र घुमफिरको चहलपहल बढने गरेको छ । दसैँमा शहरमा बस्ने मानिसहरु आफ्नो मूल गाउँ फर्केर पारिवारिक जमघट गर्दछन । यस क्रममा गाउँको प्रकृति, परम्परा र संस्कृतिसँग पुनः परिचित हुने अवसर पाइन्छ । दसैँको लामो विदालाई सदुपयोग गर्दै मानिसहरु परिवारसहित नयाँ ठाउमा घुम्न जान्छन । यसले सांस्कृतिक अनुभव र घुमफिरसँगै विभिन्न जातजाति र समुदायले दसैँ कसरी मनाउँछन भन्ने अनुभव गर्ने मौका पनि यस पर्वले दिन्छ । कतै रोटे पिङ, कतै सांगीतिक प्रस्तुति, कतै सामुहिक भोजजस्ता कार्यक्रमले सांस्कृतिक विविधताको स्वाद चाख्न सकिन्छ । दसैँसँग जोडिएको घुम्ने संस्कृतिले अहिले आर्थिक पक्षलाई समेत सक्रिय बनाएको छ । यातायात, होटल–रेस्टुरेन्ट, पर्यटक स्थल र स्थानीय बजारमा दसैँको बेला विशेष चहलपहल हुन्छ । यसरी दसैँ केवल धार्मिक वा पारिवारिक उत्सव नभई सामाजिक र आर्थिक गतिविधिको प्रमुख प्रेरक शक्ति पनि बन्न पुगेको छ ।
दसैँ पर्व नेपाली समाजको आस्था, संस्कार र सांस्कृतिक जीवनशैलीको उज्यालो दर्पण हो । यसले केवल देवी पूजा गर्ने परम्परा मात्र बोकेको छैन दसुैले परिवारलाई एक बनाउने, समाजलाई जोडने र घुमफिरमार्फत नयाँ अनुभव र सांस्कृतिक सम्पर्क स्थापित गर्ने अवसर पनि दिएको छ । बदलिँदो जीवनशैलीसँगै दसैँ पर्वले घुम्ने सस्कृतिको बिकास भएको छ । दसैँ नेपाली समाजमा धार्मिक मात्र नभई सांस्कृतिक पर्वका रुपमा गहिरो रुपमा स्थापित भएको छ । हिन्दु परम्पराअनुसार देवी दुर्गाको विजय र शक्ति प्रतिष्ठासँग जोडिएको यो पर्व मूलतः शक्तिपिठको पूजासम्बन्धी भए पनि आजको नेपाली समाजमा यसले धार्मिक सीमाना नाघेर सांस्कृतिक र सामाजिक उत्सवको स्वरुप ग्रहण गरिसकेको छ । दसैँमा टिकाजमरा, दशैँको फूलपाती, देवी पूजा, रक्तबीज संहार गर्ने शक्ति स्वरुप दुर्गाको आराधना, बली प्रथा जस्ता धार्मिक संस्कारहरु छन। तर यसको मूल स्वरुप अब संस्कृतिसँग बाँधिएको छ । परिवार एकत्रित हुने, टाढा भएका सदस्यहरु घर फर्किने, नयाँ कपडा लगाउने, नयाँ र मिठो परिकार खाने, आपसी मेलमिलाप गर्ने परम्परा दसैमा हुने गरेको छ ।
दसैँले नेपाली समाजलाई एउटै सूत्रमा बाँध्छ । हिन्दु, बौद्ध, किराँत, इसाई वा अन्य धर्म मान्ने व्यक्तिहरुले पनि दसै पर्वलाई सामाजिक एकता र रमाइलोको अवसरका रुपमा लिने गर्दछन । दसैँलाई धर्मभन्दा बढी संस्कृतिका रुपमा आत्मसात गरिएको छ । दसैँले नेपालीपन को साझा चिनारी बोकेको छ । यही कारणले हिन्दु मात्र नभई अन्य धर्मावलम्बीहरुले पनि दसैमा रमाउने गर्दछन् । यसरी दसैँले धार्मिक विविधतालाई सम्मान गर्दै नेपाली समाजमा सांस्कृतिक सहअस्तित्व र एकताको भाव फैलाएको छ । दसैँ हिन्दुहरुको मात्र होइन, सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक पर्व बनेको छ । यसले धर्मलाई मात्र होइन, परिवार, संस्कृति, मेलमिलाप र राष्ट्रिय एकताको भावनालाई समेत जोडने पुलको काम गरेको छ ।
दसै मातृ शक्तिका रुपमा रहेका देवीहरुको पूजा आराधना गरिने पर्व पनि हो । त्यसैले घटस्थापनादेखि नै सुरु हुने नवरात्रका नौ दिनसम्म विभिन्न शक्तिपीठमा गई श्रद्धाभक्तिपूर्वक नवदुर्गा तथा अष्टमातृकाको आराधना गर्ने गरिन्छ। नवरात्रमा पुजिने नवदुर्गाका रुपमा शैलपुत्रि, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री रहेका छन् । त्यस्तै घरघरमा दुर्गा सप्तसति चण्डि पाठ गर्ने प्रचलन समेत रहि आएको छ । दसैको अवसरमा प्रशिद्ध शक्तिपीठमा गई दर्शनार्थीले नवदुर्गा भवानी र अष्टमातृकाको पूजा–अर्चना गर्ने गर्दछन् । दसै विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु–शासनमाथि सु–शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिसामाथि अहिंसाको विजय, असुरी शक्ति माथि दैविय शक्तिको विजय नै विजया दशमी मनाउनुको मुख्य उद्देश्य हो ।
दसै मनाउने परम्पराको सुरुवातबारे नेपालका समाजशास्त्री, संस्कृतिविद र इतिहासकारहरुका भिन्न भिन्न दृष्टिकोणहरु छन् । कसैले यसको विशुद्ध धार्मिक कोणबाट व्याख्या–विश्लेषण गर्ने गरेका छन् भने कसैले शासक वर्गको वीरता, सौर्य आदिको प्रशंसा गर्ने उद्देश्यले यसको थालनी भएको हो भन्दै आएका छन् । अझै कसैले त यो मातृसत्ताको अवशेषका रुपमा रहेको पर्व हो भन्ने पनि गरेका छन् । यो मूलतः किसान जनसमुदायसित सम्बन्धित सबैभन्दा पुरानो चाड पर्व हो । असार–साउनको खेतीपाती सकिएपछि प्राकृतिक मौसमको अनुकूलतामा यो चाड मनाइन्छ । किसानले खेतीपाती गरिसकेपछि फुर्सदको समयमा आमोदप्रमोद गर्ने चलन चलेको हुनुपर्छ र त्यसले नै पछि दसैंको रुप लिएको हुनु पर्दछ भन्ने तर्क पनि छ ।
त्रेता युगमा दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले विजया दशमीका दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दसैलाई वडादसै एवम विजयदशमी भन्ने गरिन्छ । दसैलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ। विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति पूजाको पर्व हो । शस्त्र पूजनको तिथि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि सौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस भन्ने ध्येयले दसैको उत्सव अर्थात पर्व सुरु भएको हो। चाडपर्वहरुले एउटा छुट्टै आनन्दको अनुभूति दिलाउँछन। हर्ष, उल्लासका साथ आउने र मनाउँने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ। भिन्न खुसी र सुख प्रदान गर्दछ । यसले पूरै वातावरणको परिवेशलाई उल्लास र रौनक तर्फ परिवर्तन गरिदिन्छ। त्यसैले त दसै पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आवाहन गरिन्छ । यस दिन बिहानीमै आत्मशुद्धि पश्चात नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दसै घर या पूजाकोठामा राखी त्यस ठाउमा जमरा उमार्न जौ छरिन्छ । जौ को आकुरा मात्र जमरा हो । भाषा बोल्ने क्रममा यमङकुर–जवङकुर–जम्कुर–जवर हुँदै जमरा भएको हो । भाषा परिस्कृत हुँदै जमरा शब्द बनेको मानिन्छ । त्यसैले जमराको महत्व भाषीक रुपले पनि पौराणिक मानिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तुको रुपमा मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । जमरा राख्ने स्थान नजीकै माटोको विशुद्ध जलपूर्ण घडा अर्थात कलशको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि छरिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरुपकी महाकाली महालक्ष्मी र महासरस्वती को पूजाआजा गरिन्छ ।
दसैको जमरा राख्ने चलन भने ठाउँ अनुसारको फरक फरक छ । कतै सामूहिक रुपमा दसैघर स्थापना गरेर, गुठीमा या शक्तिपिठ अनि मठमन्दिरमा जमरा राखिन्छ । धेरैले आफ्नै घरको पूजाकक्षमा वा घरको अन्य कुनै सफा ठाउँमा जमरा राख्ने गर्दछन । जमरा राख्दा त्यस्तो कोठा छनौट गरिन्छ जसमा प्रकाश राम्ररी छिर्न नपाओस्, यसरी प्रकाश नपरेका जमरा पहेँला हुन्छन। मानव सभ्यताको इतिहासलाई हेदा जगंली यूगको समाप्तीसंगै ब्यवस्थितरुपमा कृषि गर्न थालेको पहिलो अन्न नै जौ हो । मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं वर्ष पुराना जौको अवशेष भेटिएका छन् । संसारभरिनै जौलाई धेरै पुरानो अन्नकारुपमा विशेष महत्वका रुपमा हेरिन्छ । जमरा जौको अकुरण भएतापनि दसैको जमरामा जौ लगायत धान, मकै र गहुँका पँहेला, हरिया अकुुंरित वालाहरु समावेश हुन्छ । माटो, पानी, हावा, फूल, आँकुरासंग जुटेको यो संस्कारले वनस्पतीसंग हामी अत्यन्तै नजिक छौं ।
घटस्थापनादेखि नै हिन्दूहरुले विभिन्न शक्ति पिठहरुमा दुर्गा सप्त शनि, चण्डि र भगवतिको स्त्रोत पाठ गरी विशेष गरी दुर्गा भवानीको आराधना गरिन्छ । घटस्थापनाको दिनबाट घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्तद्धीप आदि सबैलाई समाहित गरी दसै पूजाको थालनी गर्ने हाम्रो सस्कृति रहेको छ। घटस्थापनाको दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुका घरघरमा र देवीका मन्दिरहरुमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङख, डमरु घण्टी आदि बजाइ दुर्गा सप्तशती चण्डी, स्त्रोत्ररत्नावली, कालिकास्तोत्र, दुर्गाकवच, श्रीमददेवीभागवत आदि पाठ पनि पढिन्छ । पूजा गरि सकिए पछि प्रत्येक दिन बलि चाहि अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । वलीशब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु ! रागो रुपि–क्रोध, भेडारुपि–मोह वोकारुपि–कामवासना अर्थात काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनु पर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो । तर हामीहरुले बलि भने पछि पशुहरुलाई काटेर वली दिने गरिन्छ । धामिर्क सस्कृतिसंग जोडेर देविलाई बली दिने प्रचलन बढन थालेको छ । पासविकताको ताण्डव नृत्य मञ्चन हुने वली प्रथाको समाजलाई अन्ध विश्वासमा धकेलेको छ ।
हाम्रा हरेक सस्कृति र पर्वहरु आर्थीक पक्षमा जोडिएको हुन्छ । आर्थीक हैसियत भएका बर्ग र बिपन्न बर्ग समेत समाजमा रहेका छौ । खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने बर्गले पनि ऋण धन जुटाएर यस्ता सास्कृतिक पर्वहरु मनाउदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नु पर्ने अबस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासिखी र आडम्बरयुक्त दसैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नु पर्दछ । अव पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहने बिपन्न बर्गका मानिसहरुको अबस्था झनै दयनीय हुन जान्छ ।
असत्यमाथि सत्यको विजयका रुपमा मनाउन सुरु गरिएको दसैं केही बर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोडा चढे भनेर आफू धुरी चढने प्रवृत्तिले गर्दा उल्लास र उमंगको पर्व हुन सकेको छैन । जसले गर्दा दसैं दशा भएर आउने गरेको छ । तसर्थ यसलाई एउटा सांस्कृतिक महत्वको चाडका रुपमा स्वीकार गरी दसैंको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा घाटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियोस । अनि मात्रै दसैं साच्चिकै दसैं बन्न सक्छ ।










