व्यासक्षेत्र परिक्रमा

देव बस्न्यात

विषय प्रवेश

हाम्रा आरध्यदेव भगवान शिव निरन्जन निराकार ज्योति स्वरुप हुनु हुन्छ । शिव कल्याण र सेवाका प्रतिमूर्ति पनि हुन । श्री स्वस्थानी कथा उनै शिव र पार्वतीको चरित्र कथामा आधारित छ । हामीले श्री स्वस्थानी व्रत कथामा परिक्रमाको विषयमा कथा पढ्न पाएका छौं । कार्तिकेय कुमार र गणेशले आफ्ना पिता शिव र माता पार्वतीको परिक्रमा गरेका थिए । ठूला ठूला तीर्थ विशेषको परिक्रमा गर्ने हाम्रो विशिष्ट परम्परा हो ।

गण्डकी माहात्म्यम् अनुसार दमौलीलाई शंकरतीर्थ भन्ने गरिन्छ । त्यही परम्परालाई जीवन्त राख्न वैदिक सनातन धर्मका प्रणेता तथा अट्ठाइसौं व्यासावतार महर्षि श्रीकृष्ण वेदव्यासको जन्म स्थल दमौलीलाई केन्द्रित गरी गुरु भक्तिभाव प्रदर्शनका लागि व्यास क्षेत्र परिक्रमा आरम्भ भएको हो । विशेषत नेपालको सन्दर्भमा माता सीताको जन्मस्थल जनकपुरधाममा मिथिला परिक्रमा बढी चर्चित रहेको छ ।

वैदिक सनातन धर्मका प्रणेता वेदव्यासले व्यासगुफा दमौलीमा बसेर चार वेद आठार पुराण, श्रीमद्भागवत गीता लगायतका धार्मिक ग्रन्थहरु लिपिबद्ध गरेका थिए भने यहीं बसेर महाभारत (जयग्रन्थ) जस्तो महाकाव्यको रचना पनि गरेका थिए । त्यसैले वैदिक सनातन धर्मको उदगम् स्थल दमौली विश्वका सम्पूर्ण çकार परिवारहरुको पावन तीर्थस्थल बनाउन आबस्यकता वोधभएको छ । व्यासको १०८ फिट अग्लो मूर्ति बनाउने अभियान सुरुभइ सकेको छ । वैदिक सनातन धर्मका प्रणेता तथा वैदिक ज्ञानका अपूर्व श्रोत एवं सागर पुरुष महर्षि वेदव्यासको जन्मस्थल दमौली हरेक माघ महिनाको माघ १ गतेदेखि ७ गते सम्म परिक्रमा गर्ने परम्पराको सुरुवात हुनु आफैमा सुन्दर र स्वाभाविक पनि देखिन्छ ।

बृहत व्यासक्षेत्र परिक्रमा

कुनै एक समयमा देवता र राक्षसहरुको बिचमा ठूलो युद्ध भयो । युद्धमा पराजित भएका देवताहरु हिमालयका कुना कुन्दरमा छिपेर जीवन व्यतित गरेका थिए । र्स्वर्गको सुख सयलमा बसेका देवताहरु दुःखमा रम्न सकेनन् । गुफाको बसाइ कष्टकर भयो । दुःख हरणका लागि देवताहरुले भगवान परब्रहृम भगवानको स्तुति र तपस्या गर्दा भए । परब्रहृम भगवानले देवताहरुलाई विष्णुको रुपमा दर्शन दिंदा भए । विष्णुले देवताहरुलाई दानवहरु संग मिली समुन्द्र मन्थन गरेर अमृत प्राप्त गर्न सुझाव दिंदा भए । विष्णुका सुझाव अनुसार देवताहरुले अमृत प्राप्त गर्न दानवहरुलाई ललिपप देखाए रे । दानवहरु देवताहरुको कुरामा मक्ख परे रे । देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्ने सम्झौता भयो रे । समुन्द्र मन्थनको पहिलो सौगात हलाहल विष प्राप्त भयो रे ।

समुन्द्र मन्थनको पहिलो उपहार भगवान शिवमा देवादिदेव महादेवमा अर्पण गरियो रे । समुन्द्र मन्थनको प्रथम सौगात विष पिउँ की नपिउँ भनेर सोधनी गर्न माइतीघर गएकी पार्वती भेटन भगवान शिव स्वयं निलगिरी पर्वतबाट अन्नापूर्ण हिमालमा तर्फ गएका थिए रे । विष पिउन होस भनुं पतिको देहान्त हुने र नपिउनुहोस भन्दा आफुलाई पुजागर्ने देवता किन्नर, राक्षस मानिस सबै स्वाहा हुने देखेर पार्वतीले मुख खोल्नै सकिनन् । “मौनं स्वीकृतम् लक्षणम्” भन्ने बुझेका शिवले देवासुर संग्रामको बेलामा निस्किएको हलाहल विष सेवन गरी दिए रे । हलाहल विषको प्रभावले भगवान शिवको घाँटी नै निलो हुँदै गयो । विषको पीडा खप्न नसकेका भगवान शिव गोसाइकुण्ड पुग्दा भए । गोशाई कुण्डमा पुगेर भगवान शिवले त्रिशुल रोपेर पानी निकालेका थिए रे । त्रिशुल भेदन गरेर बनाएको गोसाइ कुण्डको जलमा डुबुल्की मारेर भगवान शिवजीले विषको डाह शान्त गरेका थिए रे । उनै भगवान शिवको कैलाशपुरी निलगिरी हिमालदेखि गोसाइकुण्ड सम्मका विभिन्न पाखा-पखेरा र कन्दराहरुबाट निस्केका गण्डकीका सातधाराहरुको बेनीमा स्नान गरेर शालग्राम भगवानको दर्शन गरेर ब्राहृमणलाई गोदान गरेमा तथा प्राचीन पारकोट देश स्थित शंकरतीर्थ (व्यास प्रयाग) दमौलीको व्यासक्षेत्र परिक्रमा गर्नाले अथाह पूण्य मिल्ने कुरा शास्त्रहरुले बताएको छ् ।

गण्डकी महात्मयम्को अध्याय सातको आठौं, नवौं र दशौं श्लोकमा सातधारा भन्नाले “सप्तधारा प्रशंसन्ति गण्डकी तुल्य पूण्यदा । मोदिका शुक्लिका माद्री मेद गङ्गा च कर्मदा ।।७।।८।। तत्त्रैव धर्मदा प्रोक्ता तत्र गन्धवाहा शुभा । पातःप्रातश्चं यः स्नायत्तासु भाग्यदिन क्रमात ।।९। संप्राप्य मोदीवेण्यान्तु धेनं दद्याद् द्वीजातये । सप्तमे शनिवारे च स लभेद् वाञ्छित फलम् ।।१०।।” गन्धवाह (आंकु), धर्मदा तथा धर्मवती (दरौंदी), कर्मदा (मरस्याङ्गदी), शुक्ला (सेती), माद्री (मादी), मेदी (मिदिम) र मोदी जनाएको छ । वूढी गण्डकी र आँकुको सगम स्थल धादिङ्गको टारवेसीमा गण्डकी स्नान र भगवान दर्शन गरेर वृहत व्यासक्षेत्र परिक्रमा तथा गण्डकीका सात जलधारा स्नान कार्य सुरु गर्ने परम्परा रहेको छ ।

हरेक माघ महिनाको पहिलो आइतवार र दोश्रो शुक्रवार गण्डकी स्नान र भगवानको दर्शन पश्चात क्रमशः दरौंदी, मर्स्याङ्गदी मादी, मिदिम, सेती, मोदी लगायतका सातवटै जलधाराको संगमहरुमा स्नान र भगवान दर्शन गर्न गइन्छ । दर्शनको शिलशिलामा माघको पहिलो सोमवार र विहिवार क्रमस दरौदी र मर्स्याङ्गदी संगमस्थल रामरामेश्वर घाट आँबुखैरेनीमा स्नान गरेर रामरामेश्वर महादेव र मनकामनामाइको दर्शन गर्ने गरिन्छ । यसै गरी मर्स्याङ्गदी र लमजुङ्ग दूधपोखरीबाट निस्केको चेपे नदीको संगम स्थल चेपेघाटमा पहिलो मंगलवार र दोश्रो बुधवार स्नान गरेर च्यवन ऋषिको दर्शन गरिन्छ । सेती मादी र बुल्दी नदीको संगम स्थल व्यास प्रयागमा पहिलो बुधवार र दोश्रो मंगलवार स्नानगरेर व्यासेश्वर महादेव, जयशीला तीर्थ, पराश्रम आश्रमको दर्शन गरिन्छ ।

मादी र मिदिम नदीको संगम कर्पुटारमा माघ महिनाको पहिलो विहीवार र दोश्रो सोमवार इशानेश्वर महादेव र अन्नपूर्ण माता पार्वतीको दर्शन गरिन्छ । सेती र फुस्रे खोलाको संगम ढुङ्गेसांघुमा पहिला शुक्रवार र दोश्रो आइतवार महादेव र विन्दवासिनी माईको दर्शन गरिन्छ । माघ महिनाको पहिलो शनिवारका दिन मोदी र काली गण्डकीको संगम वेनीमा स्नान गरेर शालग्राम भगवानको दर्शन गरेर ब्राहृमणलाई गाइ दान र गरिव तथा असाहयहरुलाई दान दक्षिणा दिएर बृहत व्यास क्षेत्र परिक्रमा तथा गण्डकीका सात जलधारा स्नान कार्य सम्पन्न गरिन्छ । अझ यस तीर्थयात्रालाई बृहत बनाउन तीर्थयात्रीहरुले पहिला जहाँ जहाँ गण्डकीका सात जलधाराको संगमहरुमा स्नान गर्दै गएको थियो पुनः त्यही त्यही जलधाराहरुका तीनै संगम स्थलहरु स्नान र भगवान दर्शन दोहोर्‍याउने गर्दछन् ।

मोदी र काली गण्डकीबाट सुरु भएको फिर्ती यात्रा आंकु र बुढीगण्डकीमा आएर समापन हुने गर्दछ । यसरी तीर्थस्नान समापन भए पछि जजस्ले ब्राहृमणलाई गोदान गर्दछ त्यस्तो व्यक्तिले इच्छा अनुसारको फल प्राप्त गर्दछ भनेर गण्डकी माहत्म्यले बताएको छ । “य स्नायात पञ्चगव्याशी च यः स्नायात् गण्डकी जले। सप्त सप्तत्रङ्गेषु मुच्यते सर्वपातकै ।।२९।। अपुत्रो लभते पुत्रं निर्धनो धनमाप्नुयत्। स्त्रीयं विद्याञ्च नैरुज्य र्स्वर्ग मोक्षान्न संशय ।।११।। सप्त द्वीपाटनं कृत्वा सप्ताव्धि स्नानजं फलम्। लव्ध्वा वैकुण्ठमाप्नोति सप्तभि स्वकुलै स्वहः ।।३०।।” अर्थात जो मानिसहरु निरन्तर पञ्चगव्य खाएर क्रमशः सातवारमा सात जलधाराहरुमा स्नान गरी हरिहरको पूजा गरी दान गर्दछ त्यस्तो व्यक्तिले पनि सात द्वीप घुमेर सात समुन्द्रमा नुहाएको फलहरु पाएर आफ्ना सात कुलका साथ वैकुण्ठलोक प्राप्त गर्दछ । वृहत व्यासक्षेत्र परिक्रमा भित्रका सात जलधाराहरुको एक पटक मात्र स्नान गर्‍यो भने जान अन्जानमा गरेका सम्पूर्ण पाप कर्महरु नष्ट भएर जाने गर्दछन् । आफ्ना मनले कामना गरेका असल कार्यहरु सबै पुरा हुने गर्दछन् । यस्ता ठूला परिक्रमा ब्रहृमवादी ऋषि महर्षिहरुले मात्र पुरा गरेको पाइएका छन् । जो वृहत व्यास क्षेत्र परिक्रमा गर्न सक्दैन उनीहरुले मध्य तथा लघु परिक्रमा गरे पनि चिताएको कामना प्राप्त गर्दछन् भन्ने धर्मशास्त्रहरु बताउँदछन् ।

मध्य व्यासक्षेत्र परिक्रमा

व्यासक्षेत्र मध्य परिक्रमा व्यास नगर स्थित सात बाराही मन्दिरको परिक्रमा गर्नु हो । बृहत व्यास क्षेत्र परिक्रमा जस्तै मध्य व्यासक्षेत्र परिक्रमाको समयावधी हरेक माघ महिनाको एक गतेबाट सात गते सम्म सात दिनको हुने प्रावधान रहेको छ । व्यासक्षेत्र भित्र रहेका स्थानीय तीर्थधामहरु घुटुकदी बाराही पाटन, गुणाादी बाराही गुणादी, रानी बाराही, जलबाराही बैरेनी, छाङ्गाबाराही दुम्सी, निर्वु बाराही निर्वु, छाव्दी बाराही समेत सात बाराही मन्दिरको परिक्रमाको शिलशिलामा यस क्षेत्रमा रहेका अन्य प्रसिद्ध धार्मिक तीर्थस्थलहरुमा विश्रामको व्यवस्था गरिएको छ । मध्य व्यासक्षेत्र परिक्रमा व्यास (बुल्दी) नदी र सेतीमादी नदीको संगम स्थल हरिहर क्षेत्र व्यासप्रयागको स्नान गरेर व्यासेश्वर महादेव (शैलशम्भो)को दर्शन गरे पश्चात व्यासगुफा, जयशीला तीर्थ, सत्यवती कुण्ड, शिव पाञ्चायन मन्दिर, तनहुँका राजा हरकुमारदत्त सेनकी रानी रानीबेल चौतारा विपि वनवाटिका, जलदेवी मन्दिर सांखर, दुर्गा मन्दिर, गोरखनाथ उत्तम आश्रम, भंयेर थान हुँदै मादी नदी यमुनाझुला तरेर पराशर आश्रम मध्यगया बराहक्षेत्र पहिलोवास हुने गर्दछ् ।

यसैगरी भोलिपल्ट सेतीमादी संगमस्थल अद्रिका मत्स्य मुक्तिधाम स्नान गरेर शुक्लेश्वर महादेव र मध्यगया बाराहक्षेत्रको दर्शन गरेर घुटुक्दी बाराही मन्दिर, गुणादी बाराही मन्दिर, पांचधारा, मर्यादापुरुष पुरुषोत्तम श्रीरामका कुलगुरु धौम्यऋषिको तपोभूमि धुवान ढुंङ्गा, रानी बाराही माईस्थान हुंदै इशानेश्वर महादेव मन्दिर सांगे पत्यानीटार दोश्रोवास हुने गर्दछ । तत्प्श्चात तेश्रो दिनको सुभमुहुर्तमा साँगे मादी नदी साङ्ग प्रयाग संगम स्थलमा स्नान गरेर इशानेश्वर महादेवको र अन्नापूर्ण (पार्वतीको अर्को नाम अन्नापूर्ण भनिन्छ) हिमालय, महाभारत पर्वत श्रङ्गखलाहरुको दुरदराजबाटै दर्शन गरेर दमौली मादीनदीको पूल हुँदै, इशानेश्वर महादेव मन्दिर बैरेनी, जल बाराही मन्दिर बैरेनी, चण्डीदेवी मन्दिर बैरेनी, शिद्धिविनायक त्रिपुरेश्वर मन्दिर बैरेनी, राधाकृष्ण मन्दिर, सालथुम्की मन्दिर, दुमदुमेश्वर महादेव मन्दिर दुम्सी हुँदै छाङ्गाबाराही मन्दिर तेश्रोवास हुने गर्दछ ।

छाङ्गाबाराही मन्दिर नजिक कलेस्ती मादी संगम पराशर (पाथरघाट) प्रयाग स्नान गरेर पराशर लगायत सप्तर्षिहरुको दर्शन गरेर शीतलगुफा, लामीडाँडा कालिका मन्दिर, दुम्सीकोट कालिका मन्दिर, निर्बुबराह मन्दिर हुँदै सर्वेश्वर महादेव मन्दिर, चौथोवास हने गर्दछ । सर्वेश्वर महादेव मन्दिरबाट व्यासनदी र शिशा खोला संगमस्थल शिशा (शि भनेको शिव र शा भनेको पार्वती अर्थात महादेव पार्वती) प्रयागमा पूण्य स्नान गरेर मनकामना मन्दिरको दर्शन गरेर, कैलाश गुफा दरै पंधेरा, नन्दिकेश्वर महादेव मन्दिर रानी गाउँ हुँदै, अनन्त गुफा रामरामेश्वर महादेव मन्दिर पांचौ वास हुने गर्दछ । अनन्तगुफाबाट व्यास (बुल्दी) देवसिर (देउसिरे) खोलाको संगमस्थल तेत्तिसकोटी देवीदेवताको जमघट हुने देवप्रयागमा स्नान गरेर अम्रेनी थानी मन्दिर, अकला मन्दिर गल्बुवेसी, दवदवेश्वर महादेव मन्दिर गल्वुवेसी, शिव पाञ्चायन मन्दिर कमलडिही, रुकुमकाली मन्दिर गल्बुगाउँ, शङ्कर मन्दिर रतौली, शिव मन्दिर मोहोरियाटार, सिद्धसाधकेश्वर मन्दिर भड्खला चौतारा, हुँदै छाव्दी वाराही मन्दिर परिसर छैटौं वास हुनेछ । छाव्दी वाराही मन्दिरबाट छाव्दी खोला संगम स्थल सत्यवती प्रयागमा स्नान गरेर श्रीकृष्ण मन्दिर मोहोरियाटार, जलेश्वर महादेव मन्दिर, विश्वकर्मा मन्दिर माहिलो डाँडा, सुरमादेवी मन्दिर गल्वुबेसी चोक, शिव मन्दिर सिमलटार, वागेश्वर महादेव मन्दिर वागभञ्ज्याङ्ग, तनहुँसुर कालिका मन्दिर सांखर डाँडा, नागस्थान डाङग्रेखोल्सी, भिमसेन मन्दिर उद्योग वाणिज्य संघ चोक, व्यासेश्वर महादेव मन्दिर (शैलशम्भो) दर्शन गरेर पुन व्यास गुफा पुगेर सातौ दिनमा व्यास क्षेत्र मध्य परिक्रमा विधिवत समापन हुने गर्दछ ।

लघु व्यासक्षेत्र परिक्रमा

व्यासक्षेत्र परिक्रमा गर्न आएका तीर्थयात्रीहरुलाई बृहत र मध्य व्यास क्षेत्र परिक्रमा गर्न कष्ट हुने भएकोले परिक्रमा सहजै सम्पन्न गर्न सकियोस भन्ने हेतुले ज्येष्ठ नागरिक तथा असक्तहरुका लागि हरेक माघ महिनाको १ गते माघे सक्रान्तिका दिन लघु व्यासक्षेत्र परिक्रमाको पनि व्यवस्था गरिएको छ । शान्तिस्वरुपानन्द दामोदर बाबाले सुरुवात गर्नु भएको यस व्यासक्षेत्र लघु परिक्रमाका पनि निश्चत स्थानहरु तोकिएका छन् । मध्य व्यास क्षेत्र परिक्रमामा जती तीर्थका दर्शन कल्पना गरिएको छ त्यती सबै यस अन्तर्गृह परिक्रमा भित्र पनि समेटिएको छ । व्यास क्षेत्र मध्यम परिक्रमाको सातौं दिन व्यास जन्म स्थल सेतीमादी र बुल्दी (व्यास) नदीले बनाएको व्यास प्रयाग हरिहरक्षेत्र व्यास द्वीप नहर्की ठांटी नजिक व्यास र सेतीमादी नदी संगममा स्नान गरेर व्यासेश्वर महादेव मन्दिर, व्यास गुफा, प्रथम व्यास स्वयं ब्रहृमा देखी पराशरपुत्र महर्षि श्रीकृण वेदव्यास सहित २८ व्यासावतारहरु, जयशीला तीर्थ, सत्यवती कुण्ड, शिव पाञ्चायन मन्दिरको दर्शन गर्न पर्दछ ।

व्यासको दर्शन पश्चात सिद्धार्थ गौत्तम, डाँग्रे खोलाको नाग मन्दिर, जलदेवी मन्दिर, दुर्गा मन्दिर, गोरखानाथ आश्रम, सत्यवती झुला तरेर अद्रिका मत्स्य मुक्तिधाम तथा सेती र मादी नदी संगममामा स्नान गरेर सात बाराहीमाईको साझा स्थल मध्यबाराह क्षेत्र, राजा उपरीचरले पालेको बाज, राजा उपरीचरको औरस पत्नी मत्स्यावतार अद्रिका अप्सराको पेट चिरीएको शीला, प्रशव वेदनाले छटपटाएकी व्यासकी माता मत्स्यगन्धा शीला, योगि नरनाथ गुप्त आश्रम, पराशर गुफा र परासर आश्रम, शुक्लेश्वर महादेव र गुरुकुलमको दर्शन पश्चात सेती नदीमा रहेको मोटरेबुल तरेर झ्यापुटार पुगेर काली गण्डकीको स्मरण र संकल्प गर्दै पुजा आरधाना गर्नु पर्दछ ।

महाभारतकालमा मत्स्यगन्धाले चलाएको डुङ्गा यही कतै छ भन्दै खोजी गरी सामुन्नेमा देखिएको डुङ्गाको पुजा अर्चना गर्न पर्दछ । पुजा अर्चना पश्चात सोही डुङ्गामा चढेर सेतीमादी नदी पार गरी सेतीमादी र व्यास संगम स्थलमा व्यास प्रयागमा पुनःस्नान गरेर व्यासेश्वर महादेव (शैल शम्भो), हर्कमान श्रेष्ठको घरमा स्थापित शंख शीला तथा शंखवती देवी, सत्यवती कुण्ड, जयशीलातीर्थ र व्यासगुफा दर्शन गरेर मातामही अद्रिका अप्सरा, पिता पराशर ऋषि, माता मत्स्यगन्धा कृष्णसरा, व्यासका शिष्यहरु व्यासपुत्र शुकदेव, जैमिनी, पैल, रोमहर्षा, सुमन्तु आदि ऋषि महर्षिहरुको दर्शन गरेर गरिव तथा असक्तहरुलाई आफ्नो कमाइको केही अंश दानदातव्य गरेर व्यासक्षेत्र लघु परिक्रमा समापन गरिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker