घरदैलोमा सेवा पाउँदा स्थानीय खुसी

दमौली : म्याग्दे गाउँपालिका-१ टाक्राङका रितीमाया आले गाउँपालिका र वडाबाट उपलब्ध हुने सेवा घरदैलोमा पाउँदा खुसी देखिनुहुन्थ्यो । एकीकृत सेवा लिन पालिका वा वडा जानुपर्ने बाध्यता रहेकामा घरदैलोमा सबै सेवा पाएपछि उहाँ हर्षित हुनुहुन्थ्यो ।
उहाँले घरदैलोबाट सेवा पाउँदा टाढा जानुपर्ने बाध्यता हटेको भन्दै आलेले यसबाट समयको बचत हुनुका साथै सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै दैलोमा सेवा पाउँदा समय पनि बचत भयो । सुगर, प्रेसर, घुँडा दुख्ने समस्याको जाँच गरेँ । निःशुल्क औषधि पायौँ, बिउबीजन पनि निःशुल्क रूपमा पायाैँ ।”
स्थानीयवासी ईश्वरी रानामगरले वडा र पालिकाबाट लिनुपर्ने सेवा घरदैलोमा पाउँदा सहज भएको भन्दै खुसी व्यक्त गर्नुभयो । स्थानीय खिमबहादुर दर्लामी मगरले घरदैलोमा सेवा नहुँदा बजारसम्म जानुपर्ने बाध्यता रहेकामा घुम्ती शिविरबाट सेवा पाएपछि सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा लिन पालिका पुग्नुपर्दाको समय बचत भयो, आर्थिक भार पनि कम भयो ।”
म्याग्दे गाउँपालिकाले जनतालाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यसहित एकीकृत घुम्ती शिविर सुरु गरेको छ । घुम्ती शिविर म्याग्दे-१ बच्र्याङबाट सुरु भएको छ । हालसम्म शिविर वडा नं १ र २ मा सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनतासँग गरिएको प्रतिबद्धता अनुरूप प्रत्येक आर्थिक वर्षमा घुम्ती शिविर आयोजना गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामी निर्वाचित भएर आएदेखि घुम्ती शिविरमार्फत जनतालाई सेवा प्रदान गर्दै आएका छौँ । प्रत्येक आर्थिक वर्षमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।”
अध्यक्ष श्रेष्ठले विगत चार वर्षदेखि एकीकृत घुम्ती शिविर आयोजना गरिएको बताउँदै कतिपयले घुम्ती शिविरलाई स्वास्थ्य शिविरमात्रै भनेर बुझ्ने गरेकाले सेवाग्राहीको उपस्थिति भने कम रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “घरदैलोमा पुगेर एकीकृत रूपमा घुम्ती शिविर आयोजना गर्ने म्याग्दे तनहुँकै पहिलो पालिका हो ।”
एकीकृत घुम्ती शिविर गरेर अनावश्यक खर्च गरेको भन्ने आरोप खण्डन गर्दै अध्यक्ष श्रेष्ठले आरोप लगाउनेहरूलाई एकपटक शिविर अवलोकन गर्न सुझाव दिनुभयो । जनताको सहजताका लागि सञ्चालित शिविर प्रभावकारी बन्दै गइरहेको जनाउँदै उहाँले भन्नुभयो, “शिविरले जनता र जनप्रतिनिधिको सम्बन्ध सुमधुर बनाउन सहयोग पुर्याएको छ ।”
पालिकाको पहुँचभन्दा टाढा बसोबास गर्ने नागरिकलाई एकीकृत रूपमा स्वास्थ्य, कृषि, पशु, सेवा, पञ्जीकरण, उद्योग तथा व्यवसाय दर्ता तथा नवीकरण, राजस्व सङ्कलनलगायत गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवाहरू सहज तरिकाले पुर्याउने उद्देश्यसहित घुम्ती शिविर गरिएको अध्यक्ष श्रेष्ठले धारणा राख्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पालिका नजिकको सिंहदरवार भएकाले जनताले सहज रूपमा सेवा पाउनुपर्छ भन्ने मान्यताबमोजिम आफूहरू अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका र वडा कार्यालयले दिने सम्पूर्ण सेवा जनताको घरदैलोमा पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो ।”
चालु आर्थिक वर्षमा स्वीकृत भएको कार्यक्रमअनुसार अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रमअन्तर्गत वडाले तय गरेको ग्रामीण स्थान वा आवश्यक स्थानमा सञ्चालन गर्नेगरी एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
एउटा वडाको चार ठाउँमा गरी सात वडाका २८ ठाउँमा घुम्ती शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घुम्ती शिविरले स्थानीयवासीले घरदैलोबाट सम्पूर्ण सेवा पाउनुहुनेछ । यसले उहाँहरूको समय र खर्च बचत हुनेछ ।” उहाँका अनुसार घुम्ती शिविर आगामी असोज १ गतेसम्म सञ्चालन हुनेछ ।
शिविर वडा नं १ मा भदौ १६ र १७ गते, वडा नं २ मा भदौ १८ र १९ गते, वडा नं ३ मा भदौ २२ र २३ गते, वडा नं ४ मा भदौ २४ र २५ गते हुनेछ । त्यस्तै वडा नं ५ मा भदौ २६ र २७ गते, वडा नं ६ मा भदौ २९ र ३० गते तथा वडा नं ७ मा भदौ ३१ र असोज १ गते सञ्चालन हुनेछ ।
शिविरमा वडा तहबाट घटना दर्ता, राजस्व सङ्कलन, विभिन्न सिफारिस, स्वास्थ्य र आयुर्वेद शाखाबाट प्रदान गरिने सबै सेवा, पशु र कृषि उपशाखाबाट सञ्चालन हुने सबै सेवा प्रदान गरिनेछ । यस्तै उद्यम विकास शाखाबाट व्यवसाय दर्ता तथा नवीकरण, महिला बालबालिका उपशाखाबाट विभिन्न परिचयपत्र वितरण र अन्य सरोकार शाखाबाट विभिन्न सेवा उपलब्ध हुने जनाइएको छ ।










