गण्डकीका १२ अस्पताल : जिसस प्रमुखलाई जिम्मेवारी कि राजनीतिक भर्ती ?

भञ्ज्याङ समाचारदाता/पोखरा

गण्डकी प्रदेश सरकार आफैंले स्थापना गरेको संक्रामक तथा सरुवा रोग अस्पतालसहित १२ वटा जिल्ला अस्पतालका अध्यक्ष राजनीतिक नियुक्ति गर्ने कि जिल्ला समन्वय समिति प्रमुखलाई नै बनाउने भन्नेबारे मत बाँझिएको छ ।
२०७८ साल चैतमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई राजनीतिक भागबण्डाको आधारमा नयाँ नियुक्त गरेको थियो । त्यतिबेला सरकारमा सहभागी नेपाली कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीका व्यक्तिलाई जिल्ला अस्पतालमा राजनीतिक भर्ती गरिएको थियो ।
गत वैशाखमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले राजनीतिक नियुक्तिको व्यवस्था हटाउँदै जिल्ला समन्वय समितिको प्रमुख नै अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुने प्रावधान ल्याएको छ ।
अस्पताल व्यवस्थापन समिति गठन आदेश-२०८० जारी गर्दै जिसस प्रमुख नै अध्यक्ष हुने व्यवस्था संशोधन गरेर राजनीतिक रुपमै नियुक्त गर्ने व्यवस्था गर्न अध्यक्षहरुले माग गरेका छन् । गण्डकीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले मातहतका १२ वटै जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टलाई बोलाएर सेवा प्रवाहबारे गरेको छलफलमा समितिका अध्यक्षहरुले जिसस प्रमुख नै अध्यक्ष हुँदा जिल्ला अस्पतालको सेवा सुधार नहुने बताएका हुन् ।
अहिलेका अध्यक्षहरुको २ वर्षे कार्यकालको अवधि सकिनेबित्तिकै स्वतः जिसस प्रमुख अध्यक्ष हुने व्यस्था गठनादेशमा छ । पर्वत जिल्ला अस्पतालका अध्यक्ष शंकर गिरीले संविधानले दिएअनुसारको जिसस प्रमुखको अधिकार हुँदाहुँदै उनैलाई अस्पताल सुम्पिँदा सेवा गुणस्तर नहुने तर्क गरे ।
मनाङ जिल्ला अस्पताल अध्यक्ष सुनिता घलेले जसरी जनतासँग जोडिएर अस्पतालकै लागि भनेर अहिलेका अध्यक्ष खटिएका छन्, जिसस प्रमुखहरु त्यसरी खट्न नसक्ने बताए । लमजुङ जिल्ला अस्पतालका अध्यक्ष हरि तामाङले प्रदेश सरकार आवश्यक छ भन्ने जिल्ला अस्पतालले देखाएको र त्यो अहिलेका अध्यक्षहरुको मिहिनेतले झनै सेवा विस्तार भएको बताए ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिसस प्रमुख नै अध्यक्ष हुने व्यवस्था राख्ने कि हटाउने भन्नेबारे छलफल गर्ने आश्वासन दिए । जिल्ला समन्वय समितिका प्रमुखले ठिक छ भन्ने अहिलेका अध्यक्षले ठिक छैन भन्ने मतभेदका बीच सरकारले छलफल गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
आफू मुख्यमन्त्री हुनुपूर्व नै गठनादेश संशोधन गरेर जिसस प्रमुखलाई नै अध्यक्ष बनाउने जिम्मेवारी दिइएको भन्दै पाण्डेले जिल्ला अस्पतालसँग स्थानीय सरकारलाई जोड्न भने आवश्यक रहेको बताए । मुख्यमन्त्री पाण्डेले जिल्ला अस्पतालको सेवा सुधार गर्न र स्वास्थ्यलाई सर्वसुलभ बनाउन प्रदेशले प्राथमिकतामा राखेको जिकीर गरे ।
कार्यक्रममा जिल्लाका मेडिकल सुपरिटेन्डेन्टहरुले जनशक्तिको अभाव, स्रोत-साधन र बजेटको अभाव र विशेष सुविधा नहुँदा धेरै समस्या भएको बताएका छन् । कतिपय ठाउँमा भवनै नभएको, भवन भएका ठाउँमा सेवा विस्तारका लागि प्रदेश सरकारलाई आग्रह गर्दा पनि सुनुवाइ नभएको बताएका थिए ।
समयमै औषधि र उपकरण नहुँदा सेवामै अप्ठेरो परेको तथा सरकारको बेवास्थाले आवश्यक सुविधासमेत दिन नसकिएको मातृशिशु बाल अस्पताल लामाचौरका डा. धर्म ढकालले बताए । प्रदेश संक्रामक तथा सरुवा रोग अस्प्तालका प्रमुख डा. विकास गौचनले प्रदेश आवश्यक छ भन्ने देखाइसकेको बताए ।
प्रदेशकै संक्रामक अस्पतालले कोरोना कालमा झण्डै ८० करोड खर्च हुनबाट जोगाएको दाबी गरे । सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले प्रदेश अस्पतालको क्षमता अभिवृद्धि र गुणस्तरीय सेवाका निम्ति आउँदा सालबाट अझै विशेया व्यवस्था गर्ने प्रतिवद्धता जनाइन् । अनलाइनखबरबाट
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker