भिमाद बजारमा निःशुल्क शुद्ध पिउने पानी सेवा सुरु

भिमाद : तनहुँको भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सर्वसाधारण तथा पैदल यात्रुलाई निःशुल्क शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले भिमाद बजारका तीन स्थानमा जडान गरिएका अत्याधुनिक ‘कमर्सियल आरओ वाटर प्युरिफिकेसन (वाटर एटीएम)’ मेसिन सञ्चालनमा ल्याएको छ ।
भिमाद बजारको कुमार चोक, बसपार्क चोक र क्याम्पस रोडमा जडान गरिएका वाटर एटीएम मेसिनको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बुधबार एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् ।
सो अवसरमा नगर प्रमुख सुवेदीले समयसँगै सार्वजनिक सेवाको स्वरूप पनि आधुनिक बन्दै गएको उल्लेख गरे। विगतमा चौतारा, पाटी–पौवा तथा सार्वजनिक स्थलमा घैलामा पानी राखेर यात्रुलाई सेवा दिने परम्परा रहेको स्मरण गर्दै उनले अहिले त्यसैको आधुनिक रूपका रूपमा वाटर एटीएम सञ्चालनमा आएको बताए। सर्वसाधारणलाई सहज र सुरक्षित पिउने पानी उपलब्ध गराउने कार्यको थालनी गरेको भन्दै उनले भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको प्रशंसा गरे ।
नगर उपप्रमुख शारदा खनालले स्वच्छ र सुरक्षित पिउने पानी नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै यस्तो सेवाबाट स्थानीयवासी, यात्रु तथा बजारमा आउने सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिन् । उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै यसको सही सदुपयोग गर्न सबैमा आग्रह समेत गरिन् ।
वडा नं. ६ का अध्यक्ष श्यामसुन्दर जोशीले विशेषगरी पैदल यात्रु, बजारमा आवतजावत गर्ने सर्वसाधारण तथा टाढाबाट आउने नागरिकलाई लक्षित गरी सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । नागरिकले पानी किनेर पिउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले निःशुल्क सेवा सुरु गरिएको उल्लेख गर्दै उनले मेसिनबाट उपलब्ध हुने पानी घरायसी प्रयोजनका लागि ठूलो परिमाणमा प्रयोग नगरी आवश्यकता अनुसार मात्र उपयोग गर्न अनुरोध गरे ।
भिमाद खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष ऋषिराम रानाले मेसिनको नियमित मर्मत, फिल्टर परिवर्तन तथा पानीको गुणस्तर परीक्षणलाई निरन्तरता दिँदै सुरक्षित र गुणस्तरीय पिउने पानी उपलब्ध गराइने प्रतिबद्धता जनाए। सार्वजनिक हितका लागि सञ्चालनमा ल्याइएको सेवाको संरक्षण र दिगोपनाका लागि सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।
समितिका अनुसार करिब रु. ८ लाख ५० हजार लागतमा जडान गरिएका तीनवटै वाटर एटीएममार्फत अब भिमाद बजारका विभिन्न स्थानमा सर्वसाधारण, पैदल यात्रु तथा सेवाग्राहीले सहज रूपमा निःशुल्क शुद्ध पिउने पानी प्राप्त गर्न सक्नेछन् । समितिले सेवाको दीर्घकालीन सञ्चालनका लागि मेसिनको सही सदुपयोग गर्न सबैसँग अनुरोध गरेको छ ।










