व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न व्यासमा उत्पादनमा आधारित अनुदान वितरण

दमौली : तनहुँको व्यास नगरपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । यस कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ मा दुग्ध तथा पशुपालन क्षेत्रका किसानलाई विभिन्न शीर्षकमा लाखौ रुपैयाँ बराबरको अनुदान उपलब्ध गराएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरभित्रका सात वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत किसानलाई प्रतिलिटर दुई रुपैयाँका दरले दूधमा अनुदान वितरण गरिएको हो । गत साउनदेखि असार मसान्तसम्म संकलन भएको २३ लाख ८ हजार २७० लिटर दूधका लागि कुल रु. ४६ लाख १६ हजार ५४१ अनुदान उपलब्ध गराइएको उनले बताए ।
त्यसैगरी, सहकारीमार्फत बिक्री भएको खसीबोकाको मासुमा पनि उत्पादनमा आधारित अनुदान प्रदान गरिएको छ । नगरभित्रका दुई वटा सहकारी संस्थामार्फत बिक्री भएको ३० हजार ७९९ केजी जीवित तौलका खसीबोकामा किसानलाई कुल रु. पाँच लाख अनुदान वितरण गरिएको लम्सालले बताए ।
पशुपालन व्यवसायलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले पाँच वटा गाईभैंसी फार्मलाई मलमूत्र व्यवस्थापनका लागि प्रतिफार्म रु. ७५ हजारका दरले रु. ३ लाख ७५ हजार अनुदान प्रदान गरिएको छ । यस कार्यक्रमले स्वच्छ दूध उत्पादन, फार्मको सरसफाइ, मलमूत्रको उचित व्यवस्थापन तथा हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ ।
गाईभैंसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत सात वटा व्यावसायिक गाईभैंसी फार्मलाई गोठखोर निर्माण, मर्मत, विस्तार तथा अन्य पूर्वाधार विकासका लागि प्रतिफार्म रु. ६१ हजार का दरले रु. ४ लाख २७ हजार अनुदान उपलब्ध गराइएको छ ।
यस्तै, बाख्रा प्रवर्द्धन कार्यक्रमअन्तर्गत चार वटा बाख्रा फार्मलाई प्रतिफार्म रु. ७० हजारका दरले रु. २ लाख ८० हजार तथा मासु उत्पादनका लागि पाडा प्रवर्द्धन कार्यक्रमअन्तर्गत एक फार्मलाई रु. १ लाख ४० हजार ९६० अनुदान प्रदान गरिएको व्यास नगरपालिका पशु सेवा शाखाका प्रमुख डा. मनोज विश्वकर्माले जानकारी दिए ।
नगरपालिकाले एकीकृत घुम्ती शिविरमार्फत व्यास नगरपालिका–७ र १४ मा पशु स्वास्थ्य शिविर सञ्चालन गरी १७८ जना कृषकका दुई हजार ७३३ पशुपन्छीलाई निःशुल्क औषधि तथा उपचार सेवा प्रदान गरेको जनाएको छ ।
यस अवधिमा १७० जना कृषकलाई पशुपन्छी बीमा क्षतिपूर्ति रकम भुक्तानीका लागि सिफारिस गरिएको तथा वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति भएका सात घटनामा राहत उपलब्ध गराउन सम्बन्धित वन कार्यालयमा सिफारिस गरिएको डा. विश्वकर्माले बताए ।
नगरपालिकाले उत्पादनमा आधारित अनुदान तथा प्राविधिक सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै व्यावसायिक पशुपालन, किसानको आयवृद्धि र कृषि–आधारित अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker