गण्डकी प्रदेशमा बर्सेनि घट्दै धान बालीको क्षेत्रफल, धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित

गण्डकी : गत वर्ष गण्डकी प्रदेशमा एक लाख चार हजार एक सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माका अनुसार दुई वर्षअघि धान खेतीको क्षेत्रफल एक लाख १२ हजार दुई सय २७ हेक्टर थियो । पछिल्ला वर्ष धान बालीको क्षेत्रफल घट्दै गएको उहाँले बताउनुभयो । धान खेतीको क्षेत्रफल घटेपनि यस वर्ष उत्पादकत्व भने बढेको उहाँले बताउनुभयो । “गत वर्ष एक लाख चार हजार एक सय ८४ हेक्टरमा तीन लाख ७५ हजार तीन सय ३२ मेट्रिक टन धान उत्पादन भएको थियो”, कृषि प्रसार अधिकृत शर्माले भन्नुभयो, “यस वर्ष ९६ हजार ५३ हेक्टरमा धान खेती गरिएकामा तीन लाख ६८ हजार सात सय ८९ मेट्रिक टन उत्पादन भएको हो ।”
गत वर्ष प्रतिहेक्टर तीन दशमलव छ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको उहाँको भनाइ छ । समयमै वर्षात् र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बीउबिजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको कृषि प्रसार अधिकृत शर्माले बताउनुभयो ।
गण्डकीमा बर्सेनि धानको उत्पादकत्वमा घटबढ भइरहेको निर्देशनालयको तथ्याङ्कले देखाउँछ । आव २०७८÷७९ मा प्रतिहेक्टर तीन दशमलव ४३ मेट्रिक टन धान उत्पादन भएको थियो भने त्यसको अघिल्लो वर्ष तीन दशमलव पाँच मेट्रिक धन धान उत्पादन भएको थियो । प्रतिकुल मौसम, मल अभाव, कमसल बीउबिजनजस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो ।
प्रमुख रेग्मीले यस वर्ष धानको उत्पादकत्व वृद्धि भए पनि क्षेत्रफल घटेकाले समग्र धानको उत्पादन भने घटेको बताउनुभयो । धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको उहाँले बताउनुभयो ।
“खेतीयोग्य जग्गामा बजारीकरण तीव्र छ, हेर्दाहेर्दै ठूल्ठूला फाँट बस्तीले ढाकिए, जग्गा बाँझिने क्रम पनि उस्तै छ, उत्पादन घट्नुको मुख्य कारण यही हो”, प्रमुख रेग्मीले भन्नुभयो । सिँचाइ, खेती प्रणालीमा सुधार, रोक किरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले अझ धेरै धान फलाउन सक्ने उहाँको भनाइ छ ।
गण्डकीमा बागलुङको गलकोट, बलेवा, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यविन्दु, पर्वतको फलेवासलगायत बढी धान उत्पादन हुने क्षेत्र हुन् । हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाहेक गण्डकीका नौ वटै जिल्लामा धान खेती हुँदै आएको छ । किसानले राम, सुनौलोसुगन्धा, लोकतन्त्र, खुमल, सुधारिएको जेठोबुढोलगायत स्थानीय जातको धान खेती गर्दै आएका छन् । यहाँ बर्खे र चैते गरी दुई याममा धान खेती हुने गरेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker