जीविकोपार्जनका लागि बंगुरपालन तालिम, २३ प्रभावित परिवारका सदस्यलाई पाठो वितरण

दमौली : तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावित परिवारका सदस्यहरूको आयआर्जन क्षमता अभिवृद्धि गर्दै दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बंगुरपालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरेको छ ।
आयोजनाको जीविकोपार्जन पुनस्र्थापना योजना अन्तर्गत व्यास तथा भीमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका आयोजना प्रभावित घरपरिवारका २३ जना सदस्यलाई चारदिने तालिम प्रदान गरिएको हो । भदौ ३१ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन भएको तालिममा ११ महिला र १२ पुरुष सहभागी थिए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा कार्यालयका विज्ञहरूले तीन दिन व्यावसायिक बंगुरपालन र एक दिन वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण दिएका थिए। सहभागीलाई व्यावसायिक बंगुरपालन सुरु गर्न वा सञ्चालनमा रहेको व्यवसाय विस्तार गर्न प्रोत्साहन गर्ने उद्देश्यले तालिम सफलतापूर्वक सम्पन्न गरेपछि प्रत्येक सहभागीलाई एक–एक वटा बंगुरको पाठो र तालिम सम्पन्न प्रमाणपत्र प्रदान गरिएको आयोजनाले जनाएको छ ।
आयोजना प्रभावित परिवारको जीविकोपार्जन पुनस्र्थापना तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै आयोजनाले हालसम्म जीविकोपार्जन र सामुदायिक विकासतर्फ ३५ वटा कार्यक्रम सञ्चालन गरिसकेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी गराए । उनका अनुसार ती कार्यक्रमबाट आयोजना प्रभावित घरपरिवारका ७३१ जना लाभान्वित भएका छन्। लाभान्वितमध्ये ३७५ महिला र ३५६ पुरुष रहेका छन् ।
आयोजनाको जीविकोपार्जन पुनस्र्थापना योजनाअनुरूप प्रभावित परिवारलाई सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता तथा उद्यमशीलता मार्फत आर्थिक आत्मनिर्भर बनाउन कार्यक्रमहरू सञ्चालन भइरहेको आयोजनाले जनाएको छ ।










