चन्द्रावतीमा महायज्ञ शुरु, धर्मलाई पर्यटनसंग जोडेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका-१३ चन्द्रवाती साविक सतिस्वाँरा-२ मा अवस्थित प्राचिन एवं ऐतिहासिक नैनेश्वर महादेव मन्दिरको भोतिक पूर्वाधार निर्माण तथा जिर्णोद्वारा गर्ने उद्देश्यले धार्मिक अनुष्ठान तथा पितृ मोक्ष सत्संग तथा धार्मिक महोत्सव तथा ज्ञान महायज्ञ २०७८ सञ्चालन गरिएको छ ।
असोज २६ गतेसम्म सञ्चालन हुने उक्त ज्ञान महायज्ञको विहीबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरेका छन् । महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले धर्मलाई पर्यटनसंग जोडेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘धार्मिक स्थलको प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध रहेको छ’, उनले भने, ‘धार्मिक महत्व बोकेका स्थललाई पर्यटकीय गन्तव्य बनाउने हिसाबले कार्ययोजना बनाउनुपर्ने र नैनेश्वर महादेव मन्दिरले धार्मिक आस्था बोक्नुका साथै पुरातात्विक महत्व पनि रहेको छ ।’ उनले यसलाई पर्यटनसंग जोडेर अगाडि बढाउनका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए।

मुख्यमन्त्री पोख्रेलले पछिल्लो समय गण्डकी प्रदेश बाढीपहिरोबाट प्रभावित भएको र बाढीपहिरोले अवरुद्ध भएका सडक दशै अगाडी नै खुलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताए। सरकार गठन हुँदा कोभिडकासंगै बाढीपहिराको पनि चुनौति आएको भन्दै उनले विपदबाट क्षति भएका संरचना पुनःनिर्माणका लागि प्रदेश सरकार केन्द्रित भएको बताए ।
करिब दुइ सय वर्षपुराना यस मन्दिर पछिल्लो समय भग्नावशेष बन्दै गएकाले मन्दिरको जिर्णोद्वार गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले धार्मिक अनुष्ठान तथा पितृ मोक्ष सत्संग कार्यक्रम आयोजना गरिएको मुल आयोजक समितिका आर्थिक संयोजक देशबन्धु खड्काले बताए। धार्मिक कार्यक्रमबाट करिब एक करोड रुपैयाँ बराबरको दान संकलन गरी मन्दिरको जिर्णोद्वारमा खर्च गरिने उनले बताए ।
उक्त धार्मिक अनुष्ठान तथा पितृ मोक्ष महोत्सव तथा ज्ञान महायज्ञमा पण्डित श्री कपिल देव भट्टले कथा वाचन गरेका छन् । महापुराण अवधिभर सामुहिक पितृ तर्पण, अन्नदान, भुमिदान, ब्राहृमण भोजन र पितृको फोटो राखि पुजा गर्न सकिने ज्ञान महायज्ञ मुल समारोह समितिका सचिव कुवेर खनालले बताए ।

कार्यक्रमको मुख्य आयोजक श्री नैनेश्वर महादेव मन्दिर र सहआयोजकमा चन्द्रावती युवा क्लब एवं नारी विकास आमा समुह रहेका छन् । महायज्ञ उद्घाटनका अवसरमा स्थानीय चन्द्रवाती बजारमा कलशयात्रा गरेका थिए । महायज्ञको पहिलो दिन ३९ हजार रुपैयाँ बराबरको दान संकलन भएको आर्थिक संयोजक खड्काले जानकारी गराए।










