चिसो छल्न मुस्ताङका विद्यार्थी तनहुँमा
भञ्ज्याङ समाचारदाता/दमौली

मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन् । उक्त गाउँपालिका स्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन गरिरहेका हुन् ।
शुक्लागण्डकी नगरपालिका-८ स्थित तिब्बतीयन क्याम्पमा उक्त विद्यालयका विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको हो । गाउँपालिकाकै संयोजनमा विगत केही वर्षदेखि अत्यधिक चिसो हुने समयमा विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।
कक्षा-८ मा अध्ययनरत छिरिङ पाल्तेन चिसोका कारण मुस्ताङमा पठनपाठनमा समस्या हुने गरेको बताउनुभयो । मुस्ताङमा अत्यधिक चिसो हुने र चिसोका समयमा हातका औँला कठ्याङ्ग्र्रिने भएकाले लेख्न पनि समस्या हुँदै आएको बताउँदै उहाँले तिब्बतीयन क्याम्पको घुम्ती विद्यालयमा पठनपाठन गर्न सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यधिक चिसोले औँला कठ्याङ्ग्रिएर लेख्नै सकिँदैन । यहाँ सजिलो भएको छ । तनहुँ आएर योग पनि गरिरहेको छु ।”
चिसोको तीन महिना विद्यार्थीलाई तनहुँ ल्याएर अध्ययन गराउने व्यवस्था मिलाइएको शिक्षक रोशन गुरुङले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “त्यो समयमा विद्यार्थी यता नल्याउने हो भने विद्यालय नै बन्द गर्नुपर्ने अवस्था छ । विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठनमा समस्या पर्छ ।” चिसो छल्न पहाड झर्दा हिमाली जिल्लाका बालबालिकालाई यहाँको वातावरण बुझने अवसर मिलेको उहाँको भनाइ छ ।
पुसदेखि फागुनसम्म उक्त ठाउँमा अत्यधिक चिसो हुने भएकाले विद्यार्थीको भविष्य ब्रि्रन नदिने उद्देश्यले गाउँपालिकाले नै अध्ययनको व्यवस्था मिलाएको छ । उहाँले भन्नुभयो, “चिसोले यहाँको तापक्रम माइनस डिग्रीसम्म पुग्छ, त्यसबेला त्यहाँ बस्नै सकिँदैन । उक्त समयमा यहाँका विद्यार्थीलाई शुक्लागण्डकीमा ल्याएर पढ्ने व्यवस्था मिलाइएको छ ।”
विद्यार्थीलाई पढाइसँगै योगसमेत सिकाइएको छ । प्रत्येक बिहान एक घण्टा योग अभ्यास गराउन थालिएको छ । उक्त गाउँपालिकामा फागुनदेखि चैत मसान्तसम्म बिदा हुने र वैशाखदेखि पुनःविद्यार्थी आ-आफ्नो विद्यालयमा नै अध्ययन गर्छन् । विद्यार्थीलाई पढाउन शिक्षकहरु पनि मुस्ताङबाट नै आएका छन् ।










