तनहुँमा विविध कार्यक्रमसहित संविधान दिवस मनाइदै

दमौली : तनहुँमा विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइने भएको छ। संविधान दिवस जिल्ला समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बिहीबार बसेको बैठकले असोज २ र ३ गते संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजालका अनुसार संविधान दिवसको अवसरमा असोज २ र ३ गते जिल्लाका सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थामा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने निर्णय गरिएको छ ।
त्यसैगरी असोज २ र ३ गते सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्था र राजनीतिक दलका कार्यालयमा दीपावली गर्ने निर्णय भएको छ । असोज २ गते जिल्लाका सबै सरकारी कार्यालयमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ ।
संविधान दिवसको मुख्य दिन असोज ३ गते अनसन चौतारीमा झण्डोत्तोलन गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन प्रभातफेरी तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिनेछ ।
दिवसको अवसरमा असोज ३ गते साँझ अनसन चौतारीमा दीप प्रज्ज्वलन कार्यक्रमसमेत आयोजना गरिने जिल्ला समन्वय अधिकारी रिजालले जानकारी दिए ।
जिल्ला समारोह समितिले संविधान दिवसलाई राष्ट्रिय एकता, संविधानप्रतिको सम्मान तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवद्र्धन गर्ने अवसरका रूपमा विविध कार्यक्रमसहित मनाउने तयारी गरेको जनाएको छ ।










