तनहुँको भानु नगरपालिका : साहित्य, पूर्वाधार निर्माण र शिक्षालाई प्राथमिकता

तनहुँको भानु नगरपालिकाले साहित्य, पूर्वाधार निर्माण र शिक्षालाई प्राथमिकतामा राखेर योजना अगाडि बढाएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थान रहेको भानु नगरपालिकाले ‘साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौँ समृद्ध समुन्नत भानु राम्रो’ नारालाई मूर्त रुप दिन योजना अगाडि बढाएको हो ।
नगरको साधन, स्रोत र बजेटको सीमित परिधिबाट नागरिकका असीमित इच्छा, आकाङ्क्षालाई समेट्दै दिगो, प्रभावकारी र मितव्ययी योजना कार्यान्वयन गर्न लागिपरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले भौतिक पूर्वाधारतर्फ कच्ची अवस्थामा रहेका सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।”
पालिकाले चालु आवमा भौतिक पूर्वाधारतर्फ वडागत चार सय ७३, नगरस्तरीय ४९, यसअघि ठेक्का आह्वान गरिएका १४ गरी पाँच सय ३६ योजना रहेकामा हालसम्म दुई सय ३७ योजनाको लगत अनुमान तयार गर्नुका साथै ९३ योजनाको सम्झौता भएको त्रिपाठीले जानकारी दिनुभयो ।
त्रिपाठीका अनुसार चालु आवमा सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत खर तथा फुसको छाना विस्थापनका लागि एक सय ६९ लाभग्राहीको पहिलो र दोस्रो किस्ता प्राप्तिको प्रक्रियामा अघि बढेको छ ।
नगरपालिकाले भानु जन्मस्थल मार्ग, कालीमाटी कुन्छा मोटरमार्ग, रातमाटा राइपाली मोटरमार्गको निर्माण सुरु गरेको छ । सबै वडा कार्यालयसम्म वर्तमान कार्यकालभित्र पक्की सडक पु¥याउने लक्ष्य पूरा गराउन सङ्घीय र प्रदेश सरकारसँग पहल थालिएको नगरप्रमुख त्रिपाठीले बताउनुभयो ।
शिक्षा र स्वास्थ्यतर्फ शिक्षक दरबन्दी मिलान गरिएको छ भने स्थानीय पाठ्यक्रम निर्माण भई कक्षा १ देखि ५ सम्मका सबै विद्यालयमा पु¥याइएको नगरप्रमुख त्रिपाठीले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य सेवातर्फ विपन्न नागरिक सहयोगअन्तर्गतका कार्यक्रम निरन्तर सञ्चालन भई हालसम्म ५५ जनाको सिफारिस गरिएको छ ।
मिर्गौलाको डायलासिस, मिर्गौला प्रत्यारोपण, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएकाको थप उपचारका लागि रु ४० लाख बजेट विनियोजन गरिएको त्रिपाठीको भनाइ थियो ।
कालीमाटी अस्पताल निर्माणका लागि ठेक्का सम्झौता भए पनि भवनको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार यकिन गरिएको स्थानमा जग्गासम्बन्धी विवाद भएपछि काम नबढेकाले सोही जग्गा बराबरको फरक स्थानमा निर्माणस्थल यकिन गरिएको नगरप्रमुख त्रिपाठीले बताउनुभयो ।
पर्यटन तथा संस्कृति संरक्षणतर्फ ‘भानु जन्मस्थल जाउँ, भानुलाई चिनाउँ’ अभियान अगाडि बढाइएको छ । भानुको पूर्णकदको प्रतिमा निर्माण गर्नुका साथै उक्त क्षेत्रलाई भानु साहित्यिक उद्यानको रुपमा विकास गर्न देश तथा विदेशस्थित दातृ निकाय, प्रदेश र सङ्घ सरकारसँग समन्वय गरिएको त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो, “आदिकवि भानुभक्त आचार्यको पूर्णकदको एक सय आठ फिटको शालिक चुँदीरम्घामा निर्माण गर्नका लागि तयारी भइरहेको छ ।”
नगरप्रमुख त्रिपाठीले भानुलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली साहित्यका आदिकवि आचार्यको जन्मथलोलाई साहित्यक पर्यटकीयस्थल बनाउँदै देश र विदेशबाट पर्यटक आउने वातावरण सृजना गर्ने लक्ष्य छ ।”
कृषि क्षेत्रलाई प्राथमिकतामा राखी योजना बनाइएको बताउँदै त्रिपाठीले मौरी पालनको पकेट क्षेत्र स्थापना र विकासका लागि मौरीघार, आवश्यक सामग्री, चरन क्षेत्रको विस्तार तथा विकास, आधारभूत तालिम उपलब्ध गराइएको जानकारी दिनुभयो । मकै पकेट, साना सिँचाइ, तरकारी तथा आलुखेती प्रवर्द्धन गर्दै मागमा आधारित सामग्री कृषकलाई सहयोग गर्ने गरिएको उहाँको भनाइ थियो ।
नगरपालिकाले गत आर्थिक वर्षमा रु दुई करोड ५० राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक करोड ७८ लाख ८१ हजार एक सय ८० सङ्कलन गरेको नगर उपप्रमुख एवं राजस्व समितिका संयोजक उमा गोतामेले जानकारी दिनुभयो । चालु आवमा रु तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको छ । पुस १५ गतेसम्म रु ८९ लाख ९६ हजार आठ सय ३८ सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker