म्याग्देको छ महिनाको प्रगति : उत्पादन वृद्धिका कार्यक्रम प्राथमिकतामा
भञ्ज्याङ न्यूज

पाठेघरको मुखमा क्यान्सरको गम्भिर समस्या देखिएका महिलाहरुको गाउँपालिकालेनै उपचार व्यवस्था मिलाउने
तनहुँको म्याग्दे गाउँपालिकाले प्रारम्भिक छ महिनाको कार्यसम्पादन प्रगति विवरण र्सार्वजनिक गरेको छ। गाउँपालिकाले विहीकार कार्यालयमा पत्रकार सम्मेलन गरी जनप्रतिनिधि निर्वाचित भएर आएको छ महिनाका अवधिमान भए गरेका विवरण र्सार्वजनिक गरेको हो ।
युवालाई गाउँमै रोजगारीको वातावरण सृजना गर्ने, कृषि उत्पादनलाई बढवा दिई चक्रियप्रणालीबाट कृषकहरुलाई आर्थिक लाभ मिल्ने गरी उत्पादनमा आधारित अनुदानका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।
यस्तै, गाउँपालिकाबाट प्रवाह हुने सेवा सहज रुपमा घरआँगनमा प्रवाह गर्ने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर सञ्चालन गर्दा राम्रो उपलब्धी हाँसिल भएको बताउँदै अध्यक्ष श्रेष्ठले पाठेघरको मुखमा क्यान्सरको गम्भिर समस्या देखिएका महिलाहरुको उपचार व्यवस्थापन गाउँपालिकालेनै गर्ने व्यवस्था मिलाएको जानकारी गराए ।
‘गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरबाट ११ हजार ९०९ जना सेवाग्राहीले लाभ लिएको छन्’, अध्यक्ष श्रेष्ठले भने, ‘उक्त शिविरको क्रममा ९७ जना महिलामा पाठेघरको मुखमा क्यान्सर देखिएको छ । पाठेघरको मुखमा क्यान्सर देखिएका मध्ये १५ जनाको स्थिति गम्भिर भएको र उनीहरुको गाउँपालिकाले नै उपचार गर्ने व्यवस्था मिलाउने गरी कार्यक्रम अगाडि बढाएका छौं ।’
छ महिनाको अवधिमा कानुन निर्माण, गाउँसभा र कार्यपालिका बैठक, योजना कार्यन्वयन तथा ठेक्का व्यवस्थापनका योजना, करार पदपुर्ति, ल्याण्डफिल्ड साइट, राजश्व चुहावट नियन्त्रण र दण्ड जरिवाना, सुशासन, सामाजिक सुरक्षा, घरनक्शा, अनुगमन, शिक्षा, कृषि, महिला तथा बालबालिका शाखा लगायतका क्षेत्रमा भएका कामको विवरण र्सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले सिमित बजेट र र्सवसाधारणका आकांक्षा अधिक भएका कारण कार्यसम्पादनमा चुनौतीहरु आइपरेको सुनाए ।
उनका अनुसार गाउँपालिकामा २ नयाँ र १ संशोधन गरी ३ वटा ऐन र १२ वटा कार्यविधि गरी १५ वटा कानुन निर्माण भएका छन् । ‘गाउँपालिकाको १२औं गाउँसभा बैठक र कार्यपालिकाका १२ वटा बैठक सम्पन्न भएको छ’, उनले भने, ‘जसमा सभाले बजेट सहित नीति र ६२ वटा निर्णय गरेको र कार्यपालिकाले १२ वटा बैठक मार्फ १५६ वटा निर्णय गरेको छ।’
गाउँपालिकाले ३९ जना पदाधिकारी र ३१ जना शाखाप्रमुख गरी ७० जना कर्मचारीलाई क्षमता बिकासको दुइ दिने प्रशिक्षण पनि उपलब्ध गराएको छ । त्यस्तै, र्सशत बजेट सहित विभिन्न स्वीकृत कार्यक्रमतर्फ८ जना करार कर्मचारी नियुक्ति गरिएको उनले बताए ।
यस्तै, गाउँपालिकाको ७ वटै वडाका आफ्नै प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । उनले भने, ‘गाउँपालिकाको प्रशासकीय भवनको तल्लो तलाको ढलान सम्पन्न भई पहिलो तलाको ढलानको तयारी भएको छ । सभाहलको निर्माण कार्य निरन्तर चलिरहेको छ । वडा नम्बर ३ को चिस्यान केन्द्रको पनि ठेक्का सम्झौता भएको छ ।’
यसैगरी थर्पु आधारभुत अस्पतालमा १० करोड रुपैयाँको लगानीमा १० शैय्या निर्माणाधिन अवस्थामा छ । ल्याण्डफिल्ड र्साईट निर्माण कार्यको पहिलो ठेक्का अर्न्तर्गतको कार्य अन्तिम चरणमा हुनुका साथै दोस्रो ठेक्का प्रारम्भ भएको उपाध्यक्ष घिमिरेले बताए । उनले भने, ‘हामीले वेरोजगार युवाहरुलाई रोजगारीसंग जोड्नका लागि अध्यक्ष र उपाध्यक्षसंग युवा स्वोजगार कार्यक्रम संचालन गरेका छौं । पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने कार्य भएको छ । अब उनीहरुलाई कृषि अथवा कुनै न कुनै उत्पादनमा जोड्छौं ।’
यस्तै, गाउँपालिकाले ११ जना स्थानीय विद्यार्थीलाई भेटेरिनरी जे.टि.ए कार्यक्रम अध्यपन गर्नका लागि ५० प्रतिशत छात्रवृत्ति अनुदान प्रदान गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । उनले भने, ‘उक्त कार्यक्रमका लागि गाउँपालिकाले करिव २ लाख ७५ हजार रुपैयाँ विद्यालयलाई उपलब्ध गराएको छ ।’
यस्तै, आकस्मिक बाली संरक्षण सेवा कार्यक्रम अन्तर्गत ५५ जना कृषकलाई करिव १२० रोपनी क्षेत्रफलको धानमा लागेको किराको नियन्त्रणको लागि विषादी वितरण गरिएको र कृषकलाई १६ हजार ६५० किलो आलु ५० प्रतिशत अनुदानमा वितरण गरिएको उनले बताए ।
गत वर्षठेक्का लगाएका घाटबाट बढी उत्खनन् गर्ने ६ वटा ठेकोदार कम्पनीलाई जरिवना तोकी १८ लाख ८३ हजार ९२१ रुपैयाँ राजश्व असुलि गरिएको गाउँपालिकाले जनाएको छ । त्यस्तै, चेरी भएको चोक्रेटार घाटबाट १५ लाख ५७ हजार ४० रुपैयाँ जरिवाना गरिएको छ ।
ग्रामीण क्षेत्रका बासिन्दालाई खानेपानीको सहज उपभोगका लागि २३ वटा बिद्युतीय लिफ्टिङ्ग खानेपानी सञ्चालन गरिएको छ। उक्त २३ वटा खानेपानीको बिल भुक्तानी गाउँपालिकाले नै गर्दै आएको छ । यसका लागि गाउँपालिकाले एक वर्षा लागि करिव ४५ लाख रुपैयाँमा अनुमान गरेको छ ।
यस्तै गाउँपालिकाले अध्यक्षसंग सुत्केरी पोषण भत्ता, उपाध्यक्षसंग विदुर, ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता भत्ता, सुत्केरी, गरिव र विपन्न वर्गहरुलाई निःशुल्क एम्बुलेन्स सेवा, कृषकहरुलाई दुधमा अनुदान, हलगोरु पाल्ने कृषकहरुलाई प्रोत्सान स्वारुप १० हजार रुपैयाँ अनुदान लगायतका कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।
गाउँपालिकाले चालु खर्च कटौती गर्नुका साथै पुँजिगत खर्चमा वृद्धि गर्नका लागि समुह र पदाधिकारहरुको भ्रमण कार्य स्थगन, तालिम तथा गोष्ठी कटौती, अतिन्यून तालिम खर्च मात्र समावेश गर्ने गरेको छ ।
भू-उपयोग नीति कार्यान्वयनका लागि गाउँपालिकाले भूमि वर्गीकरणका लागि विभिन्न १८ वटा चरण पुरा गरी अन्तिम रुप दिएको छ । पुस १ गते भित्र भूमि वर्गीकरण प्रतिवेदनको प्राविधिक काम सम्पन्न गरी मालमोत, संघ, प्रदेश, भु-उपयोग परिषद र नापी विभागमा पर्ठाई पुस २ गतेबाट रोकिएका कामहरु फुकुवा गर्ने भएको छ ।









