डेंगु संक्रमण बढ्दै

भञ्ज्याङ समाचारदाता/काठमाडौ

नेपालमा डेङ्गुको संक्रमण बढिरहेको छ । पानी परेसँगै डेङ्गुका बिरामी बढ्न थालेका हुन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गुका बिरामी बढ्न थालेको जानकारी दिनुभयो । उहाँले डेङ्गु बढ्ने मौसम सुरु भएकाले क्रमशः बिरामी पनि बढिरहेको बताउनुभयो ।

पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेको उहाँको भनाइ थियो । उहाँका अनुसार सन् २०२३ यता अहिलेसम्म एक हजार २४ जना मानिस डेङ्गुका कारणले बिरामी परेका छन् । यो वर्ष अहिलेसम्म सङ्क्रमणबाट सुनसरीमा एक जनाको ज्यान गएको छ ।

महाशाखाका अनुसार काठमाडौँ ४६, ललितपुरमा १२ र भक्तपुर ३५ बिरामी भेटिएका छन् । यस्तै सबभन्दा बढी देखिएको दार्चुलामा एक सय ८७, धादिङमा १३१, सुनसरीमा ७५, कास्कीमा ६६ र म्यादीमा २९ जना डेङ्गुका बिरामी भेटिएका छन् । उहाँले बर्खायाम सुरु भएसँगै डेङ्गुबाट बच्न आग्रहसमेत गर्नुभयो । “अहिले दैनिक पानी परिरहेको छ । परेको पानी फूलदानी, जारमा जम्मा हुन्छ अनि त्यही लामखुट्टेले फुल पार्दछ”, उहाँले भन्नुभयो, “सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ ।”

डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । डेङ्गुले उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेपछि लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले डेङ्गु संक्रमणबाट जोगिन आग्रह गरेको छ । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झयालढोकामा जाली हाल्न अनुरोध गरिएको छ । यस्तै मन्त्रालयले सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ ।

सन् २०२२ मा ५४ हजार छ सय ३० जनामा डेङ्गु देखिएको र डेङ्गुबाट ८८ जनाको ज्यान गइसकेको छ । पुस १५ गतेयता अहिलेसम्म सात सय एक जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker