आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान विषय शिक्षकहरुलाई विषयगत तालिम
भञ्ज्याङन्यूज

तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा विद्यालय शिक्षकहरूका लागि दुइ दिने तालिम सञ्चालन गरिएको छ । आधारभूत तहमा विज्ञान विषय अध्यापनरत शिक्षकहरूका लागि क्याम्पसले उक्त तालिम सञ्चालन गरेको हो । १६ वटा आधारभूत तहका विद्यालयमा कक्षा आठमा विज्ञान तथा गणित विषय अध्यापन गर्ने विषय शिक्षकहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख उद्धवराज कट्टेलले संस्थागत विद्यालय र सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नका लागि आधारभूत तहमा विशेष प्राथमिकताका साथ शिक्षण कार्यमा नविन, प्रभावकारी र ज्ञान सिप हस्तान्तरण गर्न अति आवश्यक देखिएको बताए ।
कार्यक्रमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले समुदाय र क्याम्पस बीचको सम्बन्धलाई प्रगाड बनाउन र सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्नमा क्याम्पसको तर्फाट गर्न सकिने सहयोगका क्षेत्रहरू खोज्ने क्रममा ओलम्पियड कार्यक्रमको आयोजना गरिएको बताए ।
उनले आदिकवि भानुभक्त क्याम्पसले यस जिल्लाको शैक्षिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि आधारभूत र माध्यमिक तहको शिक्षण सिकाइमा समयानुकूल विधि, प्रविधि ज्ञान र सीप हस्तान्तरण गरेर विद्यालय शिक्षामा जिल्लामा आमूल परिवर्तन ल्याउन नयाँ योजनाहरू बनाउन र कार्यान्वयन गर्न जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिए ।
गणित र विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीहरूको शैक्षिक गुणस्तर र सिकाई उपलब्धि जिल्लाको आधारभूत तहमा अत्यन्त न्यून रहेको र उक्त विषयको प्रभावकारी शिक्षण एक चुनौतीपूर्ण कार्य देखिदै आएकाले ती विषयहरूमा सुधार ल्याउनका लागि विशेष शिक्षकहरूको क्षण विधिमा निखार ल्याउन अति आवश्यक भएको कारणले क्याम्पसले समुदाय प्रतिको उत्तरदायित्व निभाउन तालिम सञ्चालन गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए।
विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरेको अध्यक्षतामा कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख द्वय डा. रामकुमार अधिकारी र सागर पौडेल, क्याम्पसको आन्तरिक गुणस्तर मूल्याङ्कन समितिका प्रमुख विश्वेश्वर तिमल्सेना, क्याम्पसको पब्लिक क्याम्पस प्राध्यापक संघका इकाई उपसभापति चिरञ्जीवी बस्नेत लगायतले शुभकामना व्यक्त गरेका थिए ।
क्याम्पसले सो तालिम विज्ञान शिक्षण र अध्ययनमा विद्यार्थी र शिक्षकहरूका लागि आधारभूत तहमा नवीन प्रयोगात्मक विधि सहजीकरण गर्दै आइरहेको कारखाना नामक गैरसरकारी शैक्षिक तालिम प्रदायक संस्थाको प्राविधिक सहायतामा सञ्चालन गरेको हो । तालिमसंगै क्याम्पसले कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि ४ दिने विज्ञान ओलम्पियाड कार्यक्रम पनि प्रारम्भ गरेको छ ।
कार्यक्रमको पहिलो दिन बुधबार सहभागी विद्यार्थीहरूलाई कार्यक्रमको रुपरेखाको बारेमा अभिमुखीकरण गर्राईएको थियो । विज्ञान ओलम्पियडमा सहभागी ४० जना विद्यार्थीहरूलाई जलबायू परिवर्तन सम्बन्धमा विज्ञान शैक्षिक सामग्री निर्माण बक्तृत्वकला, चित्रकला र हस्तलेखन कला सम्बन्धी अभिमुखीकरण र प्रतियोगिताहरू सञ्चालन गरिने भएको छ ।
विज्ञान ओलम्पियाड ६ गतेसम्म क्याम्पसमा सञ्चालन हुनेछ । ओलम्पियड अन्तर्गत जलवायु परिवर्तनसंग सांदर्भिक विज्ञान विषयका शैक्षिक सामग्रीहरू निर्माणका लागि कारखानाका विज्ञहरूको सहयोगमा कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि २ दिने थिम बेस्ड डिजाइन च्यालेनज कार्यक्रम सञ्चालन गरिने क्याम्पसले जनाएको छ । विज्ञान ओलम्पियाडमा व्यास, म्याग्दे, रिसिङ र भानु गरी ४ पालिकाका १६ शिक्षक र ४० विद्यार्थीहरुको सहभागिता रहेको छ ।










