तनहुँका मगर समुदायले ४२औं राष्ट्रिय मगर एकता दिवस मनाए (फोटोफिचरसहित)

भञ्ज्याङन्यूज

तनहुँका मगर समुदायले ४२औं राष्ट्रिय मगर एकता दिवस मंगलबार विविध कार्यक्रम गरी मनाएका छन् । मगर समुदायको बाहुल्यता रहेको तनहुँमा सांस्कृतिक झाँकी प्रदर्शन लगायत विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।

नेपाल मगर संघ जिल्ला समन्वय समिति तनहुँले सदरमुकाम दमौलीमा कार्यक्रमको आयोजना गरेको थियो । दिवसका अवसरमा आयोजित कार्यक्रममा मगर समुदायले आफ्नो जातीय पहिचान झल्कने भेषभुषामा सजिएर साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

साँस्कृतिक झाँकीले दमौली बजार परिक्रमा पश्चात आयोजित सभामा मगर अगुवाहरुले लखन थापालाई राष्ट्रिय विभूति, मगर समुदायको भाषा, संस्कृति संरक्षणमा उचित बजेट र आईएलओ १६९ लगायत अन्तर्राष्ट्रिय सन्धि-सम्झौताहरुको पूर्ण पालना गर्नुपर्ने माग गरेका छन् ।

वि.सं. २०३९ फागुन १४, १५ र १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौं मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ गतेलाई संघको स्थापना दिवसको रूपमा मनाउँदै आइएको छ ।

कार्यक्रममा लोपोन्मुखरूपमा रहेका मगर समुदायमा प्रचलित सालैजो, झयाउरे, कौडालगायतका लोकसंस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो । कार्यक्रमका वक्ताहरुले मगर समुदायको संस्कार संस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्तालाई मगर भाषा तथा सांस्कृतिक ऐतिहासिक पक्ष, रीतिरिवाज रहनसहनबारे जानकारी दिलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने चर्चा गरेका थिए ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार ४९८ रहेको छ । यो कुल जनसंख्याको छ दशमलव नौ प्रतिशत हुन आउँछ ।

यस्तै, मगर संघ स्थापना दिवसका अवसरमा तनहुँका आठ स्थानीय तहले मंगलबार सार्वजनिक बिदा दिएका छन् । वि.सं. २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउँदै आएका छन् । यही स्थापना दिवसको अवसरमा जिल्लाका आठ स्थानीय तहले सार्वजनिक बिदाको निर्णय गरेका हुन् ।

जिल्लाको शुक्लागण्डकी, भिमाद र भानु नगरपालिका तथा घिरिङ, ऋषिङ, म्याग्दे, देवघाट, बन्दीपुर गाउँपालिकाले बिदा दिएका छन् । व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकामा भने बिदा दिएका छैनन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker