तनहुँमा दादुरा रुबेला खोप अभियान सुरु
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँले जिल्लामा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन गरेको हो । कार्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी खोप अभियान सञ्चालन गरेको हो ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायतले स्वास्थ्यकर्मीलाई खोप सामग्री हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य श्रेष्ठले ग्रामीण स्तरसम्म अभियानको बारेमा प्रचारप्रसार गरी सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउनुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप लगाउनुपर्ने भएकाले जिल्लाका सबै वडा तहसम्म दादुरा रुबेला खोप अभियानको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालयका प्रमुख शंकरबाबु अधिकारीका अनुसार जिल्लामा दर्ुइ चरणमा खोप अभियान सञ्चालन हुँदैछ । त्यसक्रममा २० हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाइने उनले जानकारी दिए ।
पहिलो चरणमा फागुन १५ गतेदेखि १९ गतेसम्म व्यास नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ । दोस्रो चरणमा फागुन २२ गतेदेखि २७ गतेसम्म भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा खोप अभियान सञ्चालन गरिनेछ ।
खोप अभियानका लागि जिल्लाका २३८ खोपकेन्द्रमा २३८ स्वास्थ्यकर्मी, ४६६ स्वयंसेवक र प्रत्येक पालिकामा एक जना चिकित्सक परिचालित गरिएको छ । समुदायमा दादुरा रुबेला रोग विरुद्ध उच्च क्षमता शक्ति विकास गर्न र कन्जेनिटल रुबेला सिण्ड्रमको संख्यामा उल्लेख कमी ल्याई यसबाट हुने अपाङ्गता र मृत्युदरलाई शुन्य अवस्थामा पुर्याउन अभियान सञ्चालन गर्न लागिएको हो ।
खोपको पहुँचबाट बाहिर रहेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक महीना संस्थागत खोपकेन्द्र, साविकका गाविसहरुको वडामा कम्तिमा तीनदेखि पाँच वटा केन्द्रबाट प्रत्येक महिना बाहृय खोपकेन्द्र, गाउँपालिका र नगरपालिकाको स्वास्थ्य संस्थाका पकडक्षेत्रभित्र रहेका पहुँचबाट टाढा भएका बस्ती, समुदाय र भौगोलिक क्षेत्रमा कम्तिमा वर्षको चार पटक खोप केन्द्र स्थापना गरी खोप सेवा प्रदान गरिएको छ ।
दादुरा र रुबेला दुबै रोगहरु भाइरसबाट हुने र यसले महामारीको रुप लिन सक्ने भएकाले खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । खोप अभियान सञ्चालनका लागि जिल्लामा स्वास्थ्यकर्मीलाई तालिम, जिल्लास्तरमा अभिमुखीकरण, सबै पालिकाहरुमा अभिमुखीकरण सम्पन्न भइसकेको कार्यालयले जनाएको छ ।










