तनहुँका ३८ सय बढीमा डेंगी संक्रमण : हप्तादिनमै व्यासमा ५६१, आँवुमा ११७ जना डेंगी संक्रमित थपिए

दमौली : तनहुँमा गत वर्ष जस्तै यस वर्षपनि डेंगी संक्रमण फैलिएको छ। गत असार १ गतेदेखि तनहुँमा डेंगी संक्रमित भेटिएका थिए । हालसम्म ३ हजार ८२३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने एक जना पुरुषको डेंगीका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
तनहुँमा गत वर्ष ८ हजार बढी जनामा डेंगी संक्रमण देखिएको थियो भने डेंगीकै कारण पाँच जनाको ज्यान गएको थियो। गत वर्ष महामारिकै रुपमा डेंगी संक्रमण फैलिएको व्यास नगरपालिकाको दमौली बजार क्षेत्रमा यस वर्ष पछिल्लो दुई हप्तामा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बिगत दश दिनको अबधिमा व्यास नगरपालिका क्षेत्रका ५६१ जनामा डेंग्री संक्रमण देखिएको छ । व्यास नगरपालिका क्षेत्रमा गत असरा पहिलोसाता यता डेंगी संक्रमित हुनेको संख्या १ हजार ४७१ पुगेको छ ।
यस्तै, यस वर्ष सबैभन्दा बढी आँवुखैरेनी गाउँपालिका डेंगी संक्रमणबाट प्रभावित हुन पुगेको छ । असार महिना यता आँवुखैरेनी गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्रका १ हजार ५६१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। गाउँपालिकाको आँवुखैरेनी बजार क्षेत्र यस वर्ष डेंगी संक्रमणबाट सबै भन्दा बढि प्रभावित भएको छ ।
शुक्लागण्डकी नगरपालिकामा पनि डेंगी संक्रमण पछिल्लो हप्ता बढ्दै गएको छ । नगरपालिकाको बजार क्षेत्रका मानिसहरुमा डेंगी संक्रमण बढी देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । शुक्लागण्डकीमा यस वर्ष हालसम्म ४४० जनामा संक्रमण देखिएको छ ।
असोज दोश्रो साताको अविरल झरी पश्चात तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा दैनिक डेंगी संक्रमितको ग्राफ बढ्दै गएको हो। गत असार पहिलो सातादेखि तनहुँमा डेंगी संक्रमित भेटिएका थिए । तनहुँका १० वटै पालिकामा डेंगी संक्रमण फैलिएको छ ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार बन्दीपुर गाउँपालिकामा १३९, भानु नगरपालिकामा ४४, देवघाट गाउँपालिकामा ५३, भिमाद नगरपालिकामा ३७, म्याग्दे गाउँपालिकामा ४२, ऋषिङ र घिरिङ गाउँपालिकामा ४÷४ र अन्य जिल्लाका २८ जनामा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले जानकारी गराए ।
जिल्लास्थित सरकारी अस्पताल, पालिकाका अस्पताल र निजी क्लिनिकमा डेंगी संक्रमितहरु परीक्षण र उपचारका लागि सर्वसाधारण पुग्न थालेका छन् । डेंगी संक्रमितको संख्या बढ्दै जान थालेपछि आबुँखैरेनी अस्पतालले निःशुल्क परीक्षण र उपचारको व्यवस्था गरेको छ भने अन्य पालिकाहरुले पनि डेंगी संक्रमितको उपचार तथा परीक्षणको दायारालाई फराकिलो बनाएका छन् ।
डेंगी लामखुट्टेबाट सर्ने रोग हो । डेंगी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुनेहुँदा तीव्र भाइरल संक्रमण भएको विज्ञले बताएका छन् । सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । डेंगी भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम अनुकुल रहने चिकित्सक बताउँछन् ।
कीट विज्ञहरूका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्म हुने भएपनि लामखुट्टेले पारेका अण्डा उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन्। पछि त्यही लार्भा बन्छ। लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेंगी सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।
डेंगी मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेंगी लागेमा रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। फलस्वरूप बिरामी व्यक्ति सिकिस्त हुने गर्छन्। धेरैमा डेंगी कडा हुँदैन तर, कसैकसैमा भने डेंगी संक्रणले जटिल अवस्था आउन सक्ने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारीले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार निरन्तर वान्ता हुनु, पेट धेरै दुख्नु, रक्तश्राव हुनु, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने, रगत जाँचमा प्लेटलेट्स संख्या तीव्र गतिमा घट्नुले डेंगुको जटिल अवस्थामा जान सक्ने संकेतको रूपमा लिने गरिन्छ। यस्तो अवस्थामा अनिवार्य चिकित्सकको निगरानीमा उपचार वा परामर्श लिन विज्ञले आग्रह गरेका छन् । असारदेखि कात्तिकसम्म डेङ्गी संक्रमणको बढी जोखिम हुने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको विज्ञले सुझाएका छन् ।
डेङ्गीको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ । डेङ्गी ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker