कर्पुटार : धार्मिक पर्यटन र साँस्कृतिक मेला
के.बि. मसाल

नेपालमा पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक सौन्दर्यता र साँस्कृतिक विविधताले सिगारेको धेरै ठाउँहरु छन । प्राकृतिक सौन्दर्यता र साँस्कृतिक विविधता मात्र होइन पर्यटकहरुका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, तीर्थाटनका लागि धार्मीक मठ मन्दिर र ऐतिहासिक सम्पदा पर्यटनका गन्तब्य बनेका छन् । अहिले पर्यटकको रुपमा ज्ञान, अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि नेपालीहरु आन्तरिक पर्यटकको रुपमा विभिन्न ठाउँमा घुमफिर गर्दछन् । सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएकोले आजभोली ज्ञानको दायरा पनि फराकिलो हुँदै गएको छ । फुर्सदको समयमा आफ्नो देशमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक लगायतका स्थलहरु घुमफिर गर्ने नेपालीहरुमा बानी भएको छ ।
पर्यटकहरुले घुमफिर गर्नको लागि नयाँ ठाउँ खोज्दछन् । नयाँ ठाउ घुमफिर गर्न कस्लाई रहर हुदैन र ? मानिसका विभिन्न सौख हुन्छन। सौख मध्य घुमफिर गर्ने पनि सौख हो । आजभोली घुमफिरमा रमाउने पर्यटकहरु पारिवारिक घुमफिरमा निस्कने सस्कार बसेको छ । तर धेरै पर्यटकहरु घुमफिर गर्न कहा जाने ? कसरी जाने ? घुमफिरबाट के उपलब्धि हुने ? जस्ता कुराहरुमा धेरै पर्यटकहरु अलमलमा पर्दछन् । नेपालमा मध्यपहाडी लोकमार्गले धेरै जिल्ला यातायातको सञ्जालमा जोडिएको छ । सडक यातायातको सुबिधाले पर्यटकहरुलाई लोकमार्गमा यात्रा गर्दा नयाँ अनुभूती भएको छ ।
पूर्वमा नेपाल-भारत सीमाना पाँचथरको चियाभन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला भएर सुदूरपश्चिमको नेपाल-भारत सीमाना बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । पुर्वको पाँचथर देखि पश्चिम बैतडीसम्म लोकमार्ग एकहजार ७८७ किलोमिटर पर्दछ । लोकमार्ग लमजुङमा पूर्वमा चेपे नदीदेखि राइनासटार, पाउँदी, सुन्दरबजार, खत्रीठाँटी भएर किरिञ्चेखोला हुँदै मध्यनेपाल नगरपालिकाको रामबजार अर्थात मादी नदीसम्म ४५ किलोमिटर पर्दछ । लमजुङमा लोकमार्गले बिचौरको ग्रामीण सडक, राइनासकोटको ग्रामीण सडक, मनाङ जोडिने डुम्रे-बेसिशहर राजमार्ग मात्र होइन भोर्लेटारसम्मको भूगोलमा अन्य ग्रामीण क्षेत्रका सडक समेत जोडिन्छ ।
गण्डकी प्रदेशमा पर्ने लमजुङको मध्यनेपाल नगरपालिका ७ मा कर्पुटार पर्दछ । कर्पुटारको इशानेश्वर महादेव तीर्थाटनका पर्यटकका लागि पुग्नै पर्ने ठाउ हो । कर्पुटार नेपालको मध्यभाग र लमजुङको पश्चिम सिमामा पर्दछ । कर्पुटारको इशानेश्वर महादेवको मन्दिर कास्की जिल्लाको सिक्लेस गाउँ भन्दा माथी हिमालको काखमा रहेको कपुचे तालबाट उदगम भएको मादी नदी र लमजुङको भुजुङ गाउँको भूगोलदेखि उदगम हुने मिदीम खोला बिच कर्पुटारको राम बजार पर्दछ । गुरुङ भाषामा कपुचेको अर्थ हिउँबाट बनेको सादा सतह भन्ने हुन्छ । इशानेश्वर महादेवको उत्पत्ति सन्दर्भमा हिन्दू धर्मग्रन्थका विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
स्वस्थानी व्रतकथामा महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने क्रममा महेन्द्रगिरिमा पुग्दा दाहिने तीघ्रा पतन भएको उल्लेख छ । संस्कृतिविदले महेन्द्रगिरि हालको इशानेश्वरस्थित चिसंकुलाई मानेका छन । अर्को तर्फ इशानेश्वरमा इन्द्राक्षीदेवी, अर्द्धगामिनी, योगिनी र तारकेश्वर महादेव उत्पन्न भएर शिवशक्तिका स्वरुपमा रहेको धार्मिक विश्वास पनि छ । स्वस्थानीको कथानुसार त्यहीँ आएर लक्ष्मी आई नाना द्रव्य चढाएर सेवा गरेको र कार्तिक कृष्ण अमावस्याको दिन सम्पूर्ण लोकले आफूलाई पूजा गरी सम्मान गरुन भनी वरदान मागेकामा इश्वरी प्रसन्न भई तथास्तु भनेर वरदान दिएको धार्मिक बिस्वास छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक पृष्ठभूमि रहेको इशानेश्वर महादेवको मन्दिरमा शिवरात्रीको दिन सास्कृतिक मेला लाग्ने गर्दछ ।
आजभन्दा ६ सय बर्ष अघि किसानले धानको बीउ राख्न जोत्न जाँदा फालीको टुप्पाले शिवलिङ्ग स्वरुपको शिलामा जोतिएर रगत बगेको र गोरुसहित किसान मरेको प्रशंग पनि इशानेश्वर महादेवको उत्पत्ती बारेका भनाइ छन । तत्कालीन गोरखाका निःसन्तान राजा कृष्ण शाहले शक संवत १४१४ मा आफ्ना पल्टन प्रयोग गरी त्यो समयमा मन्दिर निर्माण गरेका थिए । पछि उनलाई पुत्रलाभ भएको र छोराको नाम शिवरुप सम्झेर रुद्र शाह राखिएको थियो । लमजुङका राजा वीरनारायण शाहद्वारा शिवरात्रिमा तीर्थाटन गर्न जाने साधु, सन्त फकिर, फुकुरा एवं जोगीहरुलाई खानपान तथा आवासको व्यवस्था गर्न सातबीस मुरी खेतको सनद र सदावर्त गुठीको व्यवस्था गरिदिएका थिए । शिवरात्री पर्व फागुन कृष्ण चतुर्दशीमा पर्दछ । शिवरात्रीको दिन आफुलाई अनुकुल हुने शिव मन्दिरमा तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । कर्पुटारको इशानेश्वरमा पनि शिवरात्रीको दिन निर्जल व्रत, राती जागराम, चार प्रहरको पूजा, दुधले शिवलिंग, अभिषेक र शिव महिमा किर्तन र पूजा अर्चना गर्ने तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन ।
कर्पुटारमा इशानेश्वर अर्थात सन्तानेश्वर महादेवको मन्दिरमा शिवरात्रिका दिन पूजा आजा गरेमा सन्तान प्राप्त हुने विश्वास तीर्थाटनका पर्यटकहरुले गर्दछन । बिषेश गरी विवाह भएको लामो समयसम्म पनि सन्तान नभएका जोडीहरु आफ्नो इच्छा पूरा हुने विश्वासले शिवरात्रिमा ठाडो बत्ती बाल्न इशानेश्वर महादेवको मन्दिरमा पुग्ने गर्दछन । शिवरात्रिमा कर्पुटार पुग्ने पर्यटकहरुले मादी नदीमा स्नान गरी मन्दिरमा गाईको दूध एवं बेलपत्र चढाउँछन । शिवरात्रीको दिन मेला हेर्न र तीर्थाटन गर्न जाने पर्यटकहरुले दिनभर निराहार व्रत बस्ने र रातभर उभिएर ठाडो बत्ती बाल्दा सन्तान प्राप्ति हुन्छ भन्ने जन विश्वास रहेको छ ।
सन्तान जन्मेपछि सन्तान लिएर पुनः तीर्थाटनका लागि मन्दिरमा पुग्ने गर्दछन । पर्यटनको पुर्वाधार बिकास गर्ने क्रममा अहिले २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको इशानेश्वर महादेव मन्दिरको पुनःनिर्माण भएको छ । पुनःनिर्माण गरिएको मन्दिरमा भक्तपुरे इँटाको प्रयोग र कलात्मक झ्याल ढोका, टुँडालमा कुँदिएका मूर्तिले मन्दिरको प्राचीनतालाई झल्काएको छ । मन्दिरको मध्यभागमा इशानेश्वरको प्राकृतिक शिवलिङ्ग तथा वरिपरि शिवपञ्चायनका मूर्ति छन । इशानेश्वर महादेव मन्दिरमा पर्यटकहरुले १ सय ८ धारा र १०८ शिवलिङ्गको समेतको तीर्थाटन गर्न सक्दछन ।
कर्पुटारको फराकिलो फाँटमा रातभर ठाउँठाउँमा भजन कीर्तनसहित बत्ती बालिएको दृश्यले रातभर रमाइलो हुन्छ । धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको इशानेश्वर महादेवको मन्दिरमा ठाडो बत्ती बाल्ने तीर्थाटनका पर्यटकहरुको भिडनै हुने गर्दछ। शिवरात्रीमा व्रत बसे भोग र मोक्ष दुबै प्राप्त हुन्छ, भन्ने धार्मिक विश्वास रहेको छ । शिवरात्रि हिन्दुहरुको प्रमुख चाड हो । शिवरात्रि भगवान शिवको प्रमुख पर्व पनि हो । शिवजी उत्पत्ति हुनु भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री, सुखरात्री र शिवरात्री नामका चार प्रमुख रात्री मध्ये शिवरात्रीलाई पवित्र पर्वका रुपमा लिने गरिन्छ । शिवरात्रि पर्वको अवसरमा कर्पुटारको इशानेश्वरमा हरेक वर्ष मेलाको आयोजना हुन्छ ।
कर्पुटारको मेलामा पर्यटकहरुलाई आकर्षण गर्ने भनेको लोकप्रिय साँस्कृतिक ठाडो भाकाको गीत पनि हो । ठाडो भाकाको गीत लमजुङमा निकै लोकप्रिय छ । लोकसाहित्य अन्तर्गतको महत्वपूर्ण विधाका रुपमा रहेको ठाडो भाकाको गीत लमजुङको कर्पुटारको पहिचान पनि हो । ठाडो भाकाको गीतको सुरुवातनै कर्पुटारको मेलाबाट भएको हो । लमजुङ नेटाका देउबहादुर दुराले वि.सं. १९५० का दशकमा पहिलो पटक कर्पुटारमा ठाडो भाकाको गीत गाएको इतिहास छ । इशानेश्वर महादेव मन्दिरमा शिवरात्रि मेलाका दिन रातभर बसेर देउबहादुर दुराले ठाडो भाकामा पहिलो पटक गीत गाउनु भएकोले अहिले पनि ठाडो भाकाका गायकहरु गीतको बोलमा कता गयो देउबहादुर दुरा, शून्य भयो कर्पुटार बजार भन्ने गर्दछन ।
ठाडो भाका गीत अहिले लमजुङ, गोरखा, तनहुँ, कास्की तथा स्याङजा जिल्लामा प्रचलित छ । ठाडो भाकाको यस्तो गीत अन्त्यानुप्रास मिलाएर गाउनुपर्छ । ठाडो भाका गीतका टुक्का प्रायः प्रकृतिसँग जोडिएर माया र पीरतिमा टुङ्गनिे गर्दछ । ठाडो भाकामा गाउँका, दुःख, विरह, वेदना, कुण्ठा, प्रेम, समाज, वातावरण, समसामयिक घटना, इतिहास, सामाजिक परिवेशलगायत विषय समेटेर गाउने गरिन्छ । अन्य दोहरी गीत भन्दा उर्वर मानिने ठाडो भाकालाई स्थानीयवासीले दिनभर काम गरेर थाकेका बेलामा चौतारीमा बसेर मनलाई हलुङ्गो बनाउने माध्यमका रुपमा पनि लिने गरिएको छ ।
लोक गीतको जन्म धौलागिरी, हुर्कने अर्थात परिमार्जीत हुने गण्डकी र फैलिने अन्य जिल्लामा गर्दछ भन्ने भनाइ छ । तर लोकप्रिय ठाडो भाकाको उदगमस्थल लमजुङ हो । करिव एकसय बर्ष भन्दा अगाडीदेखि लमजुङको खजेगाउँ, तुर्लुङकोट, भाँगु, मकैस्वाँरा, ठूलोस्वाँरा, कानेश्वाँरा, बासपानी, नेटा, कुन्छा, तान्द्राङ र वरपरका गाउँघरमा ठाडो भाकाको गीत गायक देउबहादुर दुराले सुरुवात गरायका थिए । लमजुङ जिल्लाको दुराडाँडामा आदिकालदेखि नै दुराजाती बसोबास गर्दै आएको थलो हो । ठाडो भाकाको गीत ठाउँ अनुसारमा गीतमा केही स्थानीय भेदहरु भेटिन्छन् ।
पर्यटनको पूर्वाधार थपिदै गएपछि कर्पुटार वरपर आजभोली पर्यटकहरुलाई घुमफिर गर्नका लागि धेरै ठाउँहरु भएको छ । दमौलीदेखि कर्पुटार जाँदा तनहुँ, लमजुङ र कास्कीको भूगोलका धेरै गाउँठाउँ अवलोकन गर्न सकिन्छ । गाउँघरको वातावरणमा रमाउन चाहने पर्यटकहरुका लागि कर्पुटार जाँदा जिता, तान्द्रङ टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यङ र नेटा गाउँमा समेत पुग्न सक्दछन । प्रत्येक गाउँका आ-आफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक विशेषताहरु छन । पर्यटकहरुले आफ्नो घुमफिरको समय बढाउन सके कर्पुटार जादा लमजुङको भुजुङ, पसगाउँ, गिलुङ, नाल्मा र मालिङ समेत पुग्न सकिन्छ ।
यी गाउँमा बिशेष गरी गुरुङजातीको जीवनशैली, कला, संस्कृति र गाउँबाटनै देखिने हिमश्रृंखलाले पर्यटकहरु लोभिन्छन् । गाउँको शान्त वातावरण र दर्जनौं मनोरम हिमश्रृंखलालाई घुमफिरकै क्रममा एकै ठाउँबाट अवलोकन गर्न पाउँदा पर्यटकहरु रमाउछन् । अहिले प्राय सबै गाउँमा पर्यटकहरुलाई खाना बस्नको लागि गाउँमा होमस्टे सन्चालनमा आएका छन । कर्पुटार जादा प्रकृति र सस्कृतिसंग रमाउन सिक्यो भने पर्यटकहरुले खोज अनुसन्धान समेत गर्न सक्दछन ।
कर्पुटारमा अब पर्यटनको विकासका लागि स्थानिय सरकार र नीजि व्यवसायहरुको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई स्थानिय सरकारले स्वागत गर्न सक्ने हो भने पनि समग्र कर्पुटारको पर्यटन विकासमा सुधार आउन सक्छ । कर्पुटारको पर्यटन विकास र अर्थतन्त्रमा सुधार आउन सक्छ ? यस विषमा सबै निकाय गम्भीर हुन जरुरी छ । यतिखेर कर्पुटार क्षेत्रमा ऐतिहासीक, पुरात्वतिक, तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवस्यकता रहेको छ ।
कर्पुटारमा पर्यटन क्षेत्रमा अनगिन्ती अवसरहरु रहेका छन । तीर्थाटन पर्यटन, ग्रामीण पर्यटन, ऐतिहासिक पर्यटन र प्राकृतिक सम्पदाका कैयौँ अवलोकन गर्ने स्थलहरु छन । तर हामी नयाँ-नयाँ प्रविधिमा परिष्कृत छैनौँ । हाम्रो पर्यटन आन्तरिक चुनौतीमा नै अल्झिएको छ । पर्यटनको लागि नयाँ गन्तव्यहरुको खोजी गर्ने र तिनलाई प्रवर्द्वन गर्ने काम भएका छैन भन्दा पनि हुन्छ । प्रचार-प्रसार एवं पूर्वाधारको विकास हुने हो भने अब पोखरामा आएका पर्यटकहरुलाई कर्पुटार पुर्याउन सकिन्छ । प्रभावकारी पर्यटन प्रवर्द्धनका लागि पाँच चर अर्थात नेचर, कल्चर, एग्रीकल्चर, ‘एडभेन्चर र इन्फ्रास्ट्रक्चर सात स अर्थात सेवा सुविधा सुरक्षा सूचना र सञ्चार सरसफाइ संस्थागत व्यवस्थापन समन्वय र सख्या बढाउनेको अवधारणालाई अब मध्येनेपाल नगरपालिकाले रणनीतिक अभियानकै रुपमा लैजान पर्दछ । कर्पुटारमा धेरै प्राकृतिक रुपमा सजिएका पर्यटकका लागि गन्तब्य छन् । प्राकृतिक रुपमा रहेका पर्यटकीय गन्तब्य निर्माण गर्न मानवीय श्रम र रकम खर्च गर्न परेको छैन । ती क्षेत्रमा पर्यटक पुर्याउन पूर्वाधार निर्माण भए मात्र पुग्छ ।
कर्पुटार कसरी पुग्ने ?
पोखरा र दमौलीदेखि कर्पुटार नियमित बस सञ्चालन हुँदै आएको छ । जिप, स्कर्पियो, मोटरसाइकल, स्कुटलर लगायत नीजि सवारी साधनमार्फत समेत कर्पुटार पुग्न सकिन्छ । कर्पुटार लमजुङको सुन्दर बजारदेखि कुन्छा हुँदै सिसाघाट भएर अथवा सुन्दरबजारको खत्रीठाटी देखिनै मध्यपहाडी लोकमार्ग हुँदै पनि पुग्न सकिन्छ । काठमाडौबाट १८० कि.मि. पश्चिम र पोखराबाट ३२ कि.मि. पूर्वमा पर्ने कर्पुटार पर्यटकहरुले र्फकने बेला पोखरा निस्कने तीनवटा सडक छन ।
पर्यटकहरुको इच्छा अनुसार सडक प्रयोग गर्न सक्दछन । कर्पुटारबाट मध्यपहाडी लोकमार्ग हुँदै रुपातालको समेत अवलोकन गर्दै बेगनास ताल भएर पोखरा पुग्न सकिन्छ । अर्को मार्ग हो कर्पुटारदेखि दुइ पिप्ले न्यौपाने चोक पुगेपछि मादी नदीको पुल तर्ने र पोल्याङ, मुलपानी, देउराली, ढोरबेसी, राजाको चौतारो, सातमुहाने हुँदै सिसुवाचोक भएर पृथ्वीराजमार्गको तालचोक पुग्न सकिन्छ । यो मार्ग दुइ पिप्लेदेखि पोखरासम्म ४० किलोमिटर पर्दछ । यो सडकमार्ग पुरानो हुलाकीमार्ग अर्थात पुरानो काठमाण्डौ-पोखरा यात्रा गर्दा पैदल मार्ग पनि हो ।










