तनहुँको ऋषिङ गाउँपालिका कौरा नृत्य संरक्षण गर्दै

पूर्ण विके

मगर समुदायमाझ लोकप्रिय रहेको कौरा नाच संरक्षण गर्न ऋषिङ गाउँपालिकाको कार्यालयले चासो देखाएको छ । उक्त नाच यही गाउँपालिकाबाटै सुरु भएको ठहर गदै गाउँपालिकाले बिहीबार वडास्तरीय कौरा नाच प्रतियोगिता गरेर संरक्षणमा चासो देखाएको हो ।

गाउँपालिकाको १३औँ गाउँसभाको अवसरमा गरिएको प्रतियोगितामा आठवटै वडाका मगर समुदायका युवायुवती सहभागी थिए । प्रतियोगितामा वडा नम्बर १ को समूह प्रथम र वडा नम्बर ६को समूह दोस्रो भएको थियो । प्रथम र दोस्रो हुनेले क्रमशः रु १२ हजार र आठ हजार प्राप्त गरे ।

सानैदेखि आफूहरुले विशेष कार्यक्रममा कौरा नाचेरै हुर्किएकाले पालिकाले आयोजना गरेको प्रतियोगितामा भाग लिइ प्रथम हुँदा खुसी लागेको वडानं १ झापुटारकी सिर्जना रानामगरले बताउनुभयो । गाउँपालिकाले नै कौरा नाच संरक्षणमा चासो देखाएपछि आफूहरुलाई हौसला मिलेको उहाँको भनाइ थियो ।

“कौरा नाचको महत्वबारे खासै थाहा थिएन”, उहाँले भन्नुभयो, “गाउँपालिकाले नै प्रतियोगिता गराएपछि अब झनै संरक्षणमा जुट्नुपर्ने रहेछ भन्ने ठानेका छौँ ।” गाउँघरमा कुनै पनि कार्यक्रम हुँदा आफूहरुले कौरा नाच देखाएर अतिथिलगायत सहभागीलाई मनोरञ्जन दिने गर्दै आएको थापामगरले बताउनुभयो ।

कौरा नाचको सुरुआत ऋषिङ गाउँपालिकाबाटै भएको किंवदन्ती रहेको ऋषिङ गाउँपालिकाका अगुवा निलबहादुर थापामगरले उल्लेख गर्नुभयो । विगतमा मगर समुदायमाझ मात्र लोकप्रिय रहेको यो नाच अहिले मुलुकका विभिन्न क्षेत्रको अलावा विदेशमा समेत चर्चित रहेको उहाँको भनाइ थियो बताउनुभयो ।

“कौरा नृत्यको सुरु ऋषिङबाटै भएको भनाइ छ”, थापामगरले भन्नुभयो, “यहाँबाट बसाई सर्दै काठमाडौँ, पोखरालगायतको स्थानमा जानेले समेत यो नाचलाई विस्तार गरे । स्वदेशमा मात्र नभई हङकङ, सिङ्गापुर, बेलायत, अष्ट्रेलिया, जापानलगायत स्थानमा समेत यो नाचलाई यहाँको मौलिक नाचको रुपमा चिनिदो रहेछ ।”

केही समय पहिले आफू सिङ्गापुर भ्रमणमा जाँदासमेत त्यहाँ कौरा नाच हेर्ने मानिसको बाक्लो जमघट हुने गरेको उहाँले बताउनुभयो । “सिङ्गापुरमा समेत तालमा ताल मिलाएर कौरा नाचेको देख्दा छक्कै परेँ”, थापामगरले भन्नुभयो, “आफ्नै गाउँबाट सुरु भएको नाच सात समुद्र पारी देख्न पाउँदा खुसीको सीमा नै रहेन ।”

पछिल्लो समय गाउँपालिकाले स्थानीयवासीको क्षमता विकास र विभिन्न समुदायको पहिचानलाई उजागर गर्न विभिन्न कार्यक्रम गर्दै आएको गाउँपालिकाका प्रवक्ता विजय दराईले बताउनुभयो । कौरा नाचको सुरु नै मगर समुदायको बाहुल्यता रहेको ऋषिङ गाउँबाट भएकाले संरक्षणका लागि गाउँपालिका अग्रसर रहेको पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । गाउँपालिकाको पहिचानको रुपमा कौरा नृत्य रहेकाले संरक्षणका लागि आफूहरु अग्रसर रहँदै आएको उहाँको भनाइ थियो ।

“गाउँपालिकाबाट गरिने हरेक सार्वजनिक कार्यक्रमको सुरुआत नै कौरा नाचबाटै गरिन्छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “ऋषिङको पहिचान भनिएको कौरा नाच संरक्षणमा अब हामी पालिकास्तरबाटै जुट्ने छौँ ।” ऋषिङ गाउँपालिकामा काँहुशिवपुर, भिरकोट, बैदी, कोटदरबार, राम्जाकोट र ऋषिङ रानीपोखरी गाउँ छन् । ऋषिङमा हाल करिव २५ हजार जनसङ्ख्या छ । तीमध्ये करिब ६७ प्रतिशत मगर छन् भने बाँकी ब्राह्मण, क्षेत्री, नेवार, कामी, दमाई र सार्कीलगायत छन् ।

कौरा नाचबारे किंवदन्ती

उक्त गाउँपालिकाको अधिकांश स्थानमा ठूला पहाड छन् । विगतमा पानी लिन जाँदा साना कुवामा पालो पर्खिएर घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । यसरी मगर गाउँका मानिस कुवामा पानी जम्मा हुने पालो कुरेर बस्नुभन्दा नाचगान गरौँ भन्ने सोचले ‘पानी कुरुवा नाच’ भन्दै ‘कुरुवा नाच’ र कालान्तरमा ‘कौरा नाच’ हुन पुगेको भनाइ छ ।

अर्को भनाइअनुसार पहिले चाडपर्वका बेला जिम्वाल, वा मुखियाको घरमा मगर भेला भई नाचगान गर्ने र भोज खाएर आउने चलन थियो । मगरले जिम्वाल र मुखियाकोमा पुगेपछि ‘कानराह’ अर्थात् ‘हामी आयौँ है’ भन्थे । कानराह पछि अपभ्रम्स हुँदै कौरा भएको भनाइ पनि छ ।

त्यसैगरी अर्को भनाइअनुसार कुरकुरे वंैशका मगर युवा युवती भेला भई नाच्ने र गाउने भएकाले ‘कौडे उमेरका युवायुवती नाच्ने’ भन्दै गर्दा कालान्तरमा ‘कौरा’ हुन पुगेको समेत भन्ने गरिन्छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker