एक वर्षमा केही उपलब्धी हाँसिल भएको छ : नगरप्रमुख न्यौपाने
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले गत एक वर्षमा सम्पादन गरिएको विवरण सार्वजनिक गरेको छ । नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको एक वर्ष पूरा भएको गत वर्ष जेठ ११ गते जनप्रतिनिधिले पदभार ग्रहण गरेसंगै सम्पादन भएका कामको नगरप्रमुख बैकुण्ठ न्यौपानेले विहीबार विज्ञप्ति सार्वजनिक गरेका छन् ।
नगरप्रमुख न्यौपानेले अधुरा योजना सम्पन्न गर्ने र विकासको प्रवाहबाट पछाडी परेका वर्गलाई मुल प्रवाहमा ल्याउने प्रतिबद्धता सहित एक वर्षको अवधिमा केही उपलब्धी हासिल गरेको बताएका छन् । नगरप्रमुख न्यौपानेले यस वर्ष आर्थिक मन्दिका कारणले संघ, प्रदेश सरकारले पनि समानिकरण वजेट अन्तर्गत अन्तिम किस्ताको ५०% अनुदान कटौति गरेको, आन्तरिक आम्दानीमा आजसम्म करिब ५०% कम भएको, क्रमागत योजनाहरुको भुक्तानीको चाप र दबाबले यस वर्षलक्षित गरिएका सबै योजनाहरुलाई सम्पन्न एवं सञ्चालन गर्न कठिन भएको अवस्था रहेको बताएका छन् ।
नगरप्रमुख न्यौपानेद्वारा जारी विज्ञप्तिमा एक वर्षमा नगर सभा दुइ पटक (असार र पौष), कार्यपालिका वैठक २५ पटक सर्वसम्मत रुपमा सम्पन्न गरिएको छ । भूमि आयोग अन्तर्गत कुल ६ हजार ८९८ दरखास्त (भूमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी) प्राप्त भएकोमा ६ हजार ७०४ लाई निस्सा वितरण गरिएको र जग्गा नापी प्रकृया प्रारम्भ हुन गएको बताइएको छ । व्यास नगरपालिका स्वास्थ्य ऐन २०७९, सामुदायीक राष्ट्रिय महिला स्वास्थ्य स्वंयसेविका कार्यविधि, २०८० पारित भई स्वास्थ्य शिविर, मुटु बचाउ अभियान शिविर अर्न्तर्गत ९ हजार ५०० नगरबासीले सेवा लिएका र गर्भवति र ज्येष्ठ नागरीकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको थियो ।
चालु आ.वमा १ हजार ८९१ जना कृषकलाई पशुपन्छिका लागि औषधि वितरण, एकीकृत घुम्ति सेवा शिविरमा १ हजार ९५५ कृषकलाई पशुपन्छि स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिएको, सहकारी मार्फत बिक्री हुने दुध र खसी बोकामा उत्पादन अनुदानलाई निरन्तरता दिइएको, पशु प्रबर्द्धन (गाई, भैसीं, भेडा, बाख्रा) कार्यक्रममा अनुदान वितरण, खोप सञ्चालन, क्रितिम गर्भधारण सेवा, किसानहरुलाई तरकारी, मकै, धानको विउ वितरण, ३ हजार २०० कृषक घरधुरी सूचिकृत, सहकारी संस्थाहरुको सशक्तिकरण लगायतका विविध क्रियाकलाप गरिएको विज्ञप्तिमा भनिएको छ ।
विगत १ वर्षमा नगरपालिका भित्र २३३ घर नक्सा पास, ३६० सम्पन्न, ४०५ डि.पि.सी सम्पन्न, घर कायम ६, नयाँ घर दर्ता २६५, नक्सा नामसारी १३०, नक्सा नविकरण ५५ भएका छन भने अनलाइन नक्सा दर्ता आ.ब २०७७/०७८ बाट प्रारम्भ भएको, यस वर्ष सम्पूर्ण फाइल अनलाइन प्रविष्टिकरण सम्पन्न गरिएको छ ।
नगरपालिकाको यस वर्षको कुल बजेट रु. १ अर्ब ७१ करोड ६५ लाख ९ हजार रहेकोमा हालसम्मको कुल आय १ अर्ब १३ करोड १३ लाख ८६ हजार ९८९ (६५.९१%) भएको छ । प्राप्त आयमा कुल खर्च प्रतिशत ५१.७०% रहेको छ । चालुतर्फ खर्च प्रतिशत ६८.२०% रहेको छ भने पुँजीगत तर्फ ३३.७९% रहेको छ । आन्तरिक आयतर्फ रु. २२ करोड ६० लाख अपेक्षा गरिएकोमा विहीबारसम्म रु. ११ करोड ९ लाख ३ हजार ७४४ रुपैयाँ प्राप्त भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
आ.ब. २०७९/८० का लागि तोकिएका १ हजार २४५ योजनाहरु मध्ये ६९५ कार्य सम्पन्न भएका, ४४४ सम्झौता भएका, १०३ सम्झौता हुन बाँकी र ४ सूचना प्रकाशनमा गएको बताइएको छ । ५६% योजना सम्पन्न, ३६% सम्झौता भएका, सम्झौता नभएका ९% देखिएको छ । नगरपालिकाले पुर्वाधार तर्फ गण्डकी प्रदेश सरकारसंगको सहकार्यमा दमौली केशवटार मार्ग कालोपत्रे रु. १ करोड ३० लाखको योजना निर्माण प्रकृयामा रहेको छ । संघ सरकारसंगको समपुरक योजना अन्तर्गत खड्गकाली मार्ग कालोपत्र थप निर्माणका लागि टेण्डर गरिएको छ ।
यस्तै, विश्व वैंकको सहयोगमा नेपाल शहरी शासकीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत पराशर मार्ग (घाँशिकुवा-फराकचौर-पोख्रेलफाँट-माझँफाट-नरङ्गा-कलेस्ती) डि.पि.आर पुनरावलोकन हुँदै, डि.पि.आर पुनरावलोकन सम्पन्न भएपछि टेण्डर प्रकृयामा जाने र वडा नं. ६,१३,१४ को सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण कार्य भइरहेको विज्ञप्तिमा भनिएको छ ।
व्यास-११ पोल्याङमा शितभण्डार निर्माण कार्य सम्पन्न भई सञ्चालनको तयारी रहेको, व्यास-१० वैरेनीमा एकीकृत जग्गा विकास आयोजनाका लागि नगर विकास कोषसंग जग्गा सम्झौता भई पूर्वाधार निर्माणका लागि जग्गा सम्याउने कार्य भइरहेको, संघ सरकारसंगको विशेष योजना अन्तर्गत व्यास-०५ मानुङकोट लिफ्टीङ खानेपानी आयोजना, व्यास-१४ केशवटार लिफि्टङ खानेपानी योजना, (गजौडे पुल) को २८२ करोडको टेण्डर प्रकृया अघि बढाइएको, व्यास-३, शिवपञ्चायन क्षेत्रमा १०८ फिट उचाइको व्यासको मुर्ती निर्माण कार्य अघि बढिरहेको छ ।
यस्तै, व्यास-३ वि.पी वनवाटिका खेल मैदान, व्यास-११ कोलढुङ्गा क्रिकेट मैदान, व्यास-०५ पराशर खेलमैदान र चिन्तुटार खेल मैदान लगायतका खेल मैदानहरु निर्माणधिन अवस्थामा रहेका छन । व्यास-१० मा नारेश्वर ताल निर्माण कार्य प्रारम्भ भएको र यस नगरपालिकाको पहलमा मादीनदी तटबन्ध कार्यमा प्रदेश सरकारको सहयोगमा तटबन्ध कार्यलाई अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको नगर सभाबाट विगत १ वर्षमा ९ वटा विधेयक, १२ कार्यविधि, २ निर्देशिका पारित गरी लागु गरिएको छ । शिक्षा तर्फ ४३ जना अभिभावक विहिन बालबालिकालाई आवासीय सुविधा समेत समता विद्यालय सञ्चालन गरिएको, नेपाल सरकार शिक्षा विभागबाट काटिएको ५३ प्रा.वि दरबन्दी मिलान गरिएकोमा यस कार्यमा सहयोग पुर्याउने २२ जना शिक्षकलाई सम्मान गरिएको, शिक्षक दरबन्दी काटिएपछि दरबन्दी अभाव भएका विद्यालयहरुमा ४० जना स्वंयसेवक शिक्षक नियुक्ती गरी खटाइएको, शैक्षिक सत्र २०७९ को सम्पुर्ण विद्यालयको तथ्याङ्क आर्इइयमआइयसमा अध्यावधिक गरिएको, बालबालिका शिक्षकहरुलाई ४ दिने क्षमता अभिवृद्धी प्रशिक्षण दिइएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ विद्यालयमा भवन निर्माण र ३ विद्यालयमा आइ.सि.टि कार्यक्रम सञ्चालन भइहेको छ । यसवर्ष कक्षा ८ को वार्षिक परिक्षा नगर स्तरीय सञ्चालन गरी सम्पन्न गरिएको विज्ञप्तिमा भनिएको छ ।
अपाङ्गता भएका र दलित व्यक्तिहरुको समाजिकीकरण प्रकृयामा सहयोग पुर्याइएको, सामाजिक सुरक्षा भत्ता सम्बन्धित वैंकसंग समन्वय गरी वडाहरुबाटै वितरण गर्ने व्यवस्था मिलाइएको र यस वर्ष ८५.२७% सामाजिक सुरक्षा भत्ता खर्च भइसकेको छ । शैक्षिक वेरोजगार महिलालाई अनुदान दिने कार्यक्रम अघि बढाइएको छ । फोहोरमैला व्यवस्थापनका लागि जग्गा खरिद प्रकृया अघि बर्ढाई सफाई केन्द्रको स्थायी प्रबन्ध नहुँदासम्म वडा नं १३ र ३ का स्थानीय बासीसंग समन्वय गरी फोहोर विसर्जन कार्य दैनिक रुपमा गरिदै आएको छ ।
नगरपालिका अन्तर्गत उद्यमशिलता विकास परियोजना (मेड्पा) र सुरक्षित वैदेशिक रोजगार -सामी परियोजना) अन्तर्गत उद्यमशिलता, रोजगार प्रबर्द्धन सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न निर्माण कार्यमा सूचिकृत व्यक्तिहरुलाई रोजगारी प्रदान गरिएको छ । साथै ओम राजश्री मल्टि एग्रो प्रा.लीको सहयोगमा वडा नं ५, ११ र १३ मा मकैको भुत्ला र थाकलको टोपि र झोला बुन्ने -महिलाहरुका लागि) तालिम सञ्चालन गरिएको छ ।
नवप्रवर्तनीय साझेदारी कार्यक्रम अन्तरगत व्यास नगरपालिकाका प्रत्येक वडा डिजिटलाइजेसन प्रकृया अघि बढिसेकको छ । पारदर्शी कार्य सम्पदानका लागि नागरीकले सम्पति कर अनलाइन प्रणालिबाट भुक्तानि गर्ने व्यवस्था मिलाइएको, हरेक वडामा डिजिटल नागरीक वडा पत्र, सि.सिटि.भि क्यामेरा र वायोमेट्रिक हाजिरिको व्यवस्थापन मिलाइएको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृती तथा पुनः श्रम स्वीकृती प्रदान गर्ने कार्य आजैबाट व्यास नगरपालिका श्रम रोजगार सेवा केन्द्रबाट प्रारम्भ गरिएको छ ।










