मौलाकाली जाँदा केवुलकारमा सरर ……

के.बि मसाल

पर्यटनको विकासको लागि पूर्वाधार आवस्यक पर्दछ । पूर्वी नवलपरासीको मौलाकाली जान गैँडाकोटको धारापानीबाट मन्दिर नजिकैको हेलिप्याडसम्म केबलकार सञ्चालन भएपछि तीर्थाटन पर्यटकहरुको सख्या बढेको छ । केबलकार सञ्चालनपछि हिँडन नसक्ने तीर्थाटनका पर्यटकहरुलाई मन्दिर पुग्न सजिलो भएको छ ।

पछिल्लो समय नेपालमा छोटो दुरीमा केवुलकार पर्यटन बिकासको लागि पुर्वाधार बनेको छ । मौलाकालीमा समेत नेपालमा अहिले सम्म ६ स्थानमा केवुलकार सञ्चालन भएका छन । मनकामना केबलकार २०५५ देखि सञ्चालनमा आएको हो । अहिले मनकामना, चन्द्रागिरी, कालिञ्चोक, पोखराको सराङकोट र हालै लुम्बिनी प्रदेशको बुटवलदेखि पाल्पाको वसन्तपुर जोडने केबुलकार पनि सञ्चालनमा आएको छ । बन्दिपुरमा सञ्चालनको तयारीमा रहेको छ । पर्यटनको बिकासको लागि केबुलकारको पुर्वाधार थपिदै जानु राम्रो पक्ष हो ।

मौलाकाली गण्डकी प्रदेशको गैंडाकोट नगरपालिका वाड नं १ मा पर्दछ । मानिस प्रकृतिको पुजारी हो । प्रकृतिसंग जो कोही पनि रमाउछ । मौलाकाली केवल तीर्थाटनका लागि मात्र नभएर प्रकृति प्रेमी पर्यटकहरुका लागि पनि पुग्नै पर्ने स्थल हो । महाभारत पर्वत श्रृखलामा रहेको मौलाकाली परिशरबाट सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकहरुले एकै स्थानबाट नारायणघाट बजार, गैडाकोट, नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पाउदा रमाउने गर्दछन् । मौलाकालिका मन्दिर, धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण मानिन्छ ।

समुद्र सतह देखि ५६१ मिटरको उचाइमा रहेको मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र निकै रमणीय हरियाली वातावरण प्राकृतिक सौन्दर्यले श्रृंगारिएको छ । गैडाकोटको समतल वस्ती किनारको महाभारत श्रृखलाको फेदीबाट सुरु हुन्छ मौलाकालीको यात्रा । मौलाकाली जान प्रवेशद्वारदेखि पैदल यात्राको लागि ढुङ्गा बिछाइएको सिढी मार्ग पनि छ । मौलाकाली परिशरको क्षेत्रलाई जवडाडा भनिन्छ । पदयात्रा गर्न रुचाउने पर्यटकहरुले मन्दिरसम्म पुग्न १ हजार ८८२ वटा सिंढीको पदयात्रा गर्नु पर्द छ । सिँढीमार्गको दायाँबायाँ मूर्तिकारहरुले बिभिन्न देवी देवताहरुका मूर्ति बनाइ दिएका छन् । मौलाकाली जाने तीर्थाटनका पर्यटकहरुलाई उकालो चढदा पनि कठिनताको महसुस हुदैन । ठाउँठाउँमा निर्माण भएको चौतारीमा विश्रामगरी चिसो पानी पिउँदै, सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै करिब एक घण्टाको पैदल यात्रामा पनि मौलाकाली मन्दिरमा पुग्न सकिन्छ ।

मौलाकालिकाको मन्दिरमा पुग्ने बित्तीकै पर्यटकहरुलाई रमणीय छटाले मोहनी लगाउँछ । मौलाकालिकाबाट देखिने पवित्र देवघाट धाम, नारायणी नदी, नारायणगढ बजार र अर्कोतर्फ गैंडाकोटको बाह्रैमहिना मकैफल्ने उर्वर भूमिले पर्यटकहरुको मन लोभ्याउने गर्दछ । दक्षिणतर्फ नजिकै देखिने नारायणगढ बजारका साथै त्रिशूली र कालीको संगम देवघाटधामपछि नारायणी नामबाट बग्ने नदीले त्यहाँ पुग्ने हरेक पर्यटकहरुको मन लोभ्याउ छ । मौलाकाली परिशरबाट नवलपरासी, चितवन, तनहुँ एवं गोरखा जिल्लामा पर्ने अग्ला अग्ला पहाड, डाँडा, भञ्ज्याङ, भीरपाखा र हिम श्रृंखलाहरुको साथै देवघाटधाम, चितवनको समथर भूमि र राष्ट्रिय निकुञ्जको जंगल अवलोकन गर्न सकिन्छ । मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका सुन्दर मूर्तिका साथै तुलसीमठ, शिवलिङगहरु बनाइएका छन ।

मौलाकाली मन्दिर करिब ५०० वर्ष पहिला पन्ध्रै शताब्दीतिर पाल्पाका राजा मणिमुकुन्द सेनले बनाएका हुन् । यो मन्दिर बि.स. १९९० सालको भुकम्पले पुरानो मन्दिर ध्वस्त भएपछि प्यागोडा शैलीमा फेरि बनाइएको हो । पाल्पा राजा मणिमुकुन्द सेनको सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गरेको हुनाले मन्दिरको नाम मौलाकाली राखिएको हो । मौलाकालीको पूजा गरे मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ । पछिल्लो समय मन्दिरमा भौतिक संरचना र पर्यटन विकासको लागि पुर्वाधार थपिदै गएपछि तीर्थाटनका पर्यटकहरु बढन थालेका छन् । विशेषतः शनिबार, मगंलवार र बिदाका दिन मौलाकालीमा तीर्थाटनका पर्यटकको घुइँचो लाग्ने गर्दछ । मौलाकालीको मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका मूर्ति, तुलसीमठ, शिवलिङ्ग, भजन किर्तन एवं अतिथि भवन समेत रहेको छ । वि.स. १९९० सालसम्म मौलाकालीमा पुजागर्ने ठूलो सालको रुख थियो । त्यो रुख अहिले नभए पनि ऐतिहासिक ढुंगाको पर्खाल, पुराना खुडा, तरवार जस्ता पुराना हतियारलाई समेत संरक्षण गरिएको छ ।

मौलाकालीको घुमफिरपछि घुमफिरको समय लम्बाउन सके देवघाट जान पनि सकिन्छ । कालीगण्डकी किनारमा रहेको देवघाटधाम र काली पश्चिम महाभारत पर्वत श्रृखलामा रहेको मौलाकालीदेखि १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । यी दुबै सम्पदाको इतिहास मुकुन्द सेनसंग जोडिएको छ । देवघाटधामको परिसरमा गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास-आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धि गणेश, गोपिधाम, सुर्यकूण्ड जस्ता पवित्र तीर्थाटनस्थल रहेका छन । देवघाटधाममा मध्यकालिन भग्नावशेषका रुपमा मुकुन्द सेनले बनाएको पन्चदेवल अहिले पनि छ । साथै मणि मुकुन्द सेनको श्री व्रि्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्द सेनले देवघाटधाममा बाह्र वर्ष तपस्या गरेका थिए । देवघाट तीर्थाटनको लागि नेपालको अत्रि्राचीन महत्वको धार्मिकस्थल मानिन्छ । गलेश्वर बाबाले देवघाटमा आई तपस्या गरेपछि यसको प्राचीन एवं लौकिक महत्व बढन गएको हो । देवघाटमा माघे सक्रान्ती, साउने सोमबार, बाला चतुर्दशीलगायत विभिन्न पर्वमा मेला लाग्ने गर्दछ । देवघाटमा स्नान गरी शिवजीको उपासना गरेमा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।

विशेष गरेर हिन्दु धर्ममा आस्था राख्ने मानिसहरुले देवघाटको नाम उच्चारण गर्दा समेत पुन्य पाएको अनुभव गर्ने गर्छन् । देवघाटधाम कालीगण्डकी र त्रिशूली नदीको सगम स्थलमा पर्दछ । चितवन र तनहुँ, जिल्ला जोडने झोलुङेपुल तरेर पारी तनहुँ पुगेपछि पुलको मुखैबाट विभिन्न मठ तथा मन्दिरहरु भेटिन सुरु हुन्छ । फराकिलो क्षेत्रमा फैलीएको देवघाट क्षेत्रमा वशिष्ठ गुफा र सीता गुफा पनि छ । जहाँ प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको भनाई छ । देवघाटमा महेश सन्यास आश्रम छ । यहाँ संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तह आचार्यसम्म पढाइ हुने गर्छ । हरिहर सन्यास आश्रम पनि देवघाटमा छ । तनहुँ, चितवन र नवलपरासी जिल्लाको संगम स्थल देवघाटमा अहिले तपस्वी, साधु, सन्यासी, सन्त महात्मा र कल्पवासीहरुको वासस्थान बनेको छ । देवघाटमा तीर्थाटनका पर्यटक भित्राउने उद्देश्यका साथ तीन जिल्ला जोडने गरी त्रिशूली र कालीको संगमस्थलमा त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । निर्माण हुन लागेको आर्च ब्रिज पुललाई एउटा मात्रै पिलरले धान्ने छ । आर्च ब्रिज पुल तीन जिल्ला गरी ६०० मिटर लामो बन्नेछ । यस्तै खालको पुल रिडीमा निर्माण भै सकेको छ । आर्च ब्रिजबाट पैदल र मोटरसाइकल मात्रै यात्रा गर्न सकिन्छ । पुलबाट वरिपरिका धार्मीक क्षेत्रमा अवलोकन गर्न सकिने भएकाले तीर्थाटनका पर्यटकहरु रमाउन सक्ने अनुमान गरिएको छ ।

देवघाट क्षेत्रबाट नै नवलपरासीतर्फ मौलाकाली जानका लागि मौलाकालिका-वेणी धार्मिक पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको छ । वेणीबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३ दशमलव ५ किलोमिटर उकालो पैदल यात्रा गर्नु पर्दछ । नेपालको हिमनदी मध्ये कालीगण्डकी प्रसिद्ध धार्मीक नदी मानीन्छ । मुस्ताङ जिल्लाको हिम श्रृखलामा रहेको दामोदरकुण्डबाट उदगम भएको कालीगण्डकी हिन्दुहरुको आस्थाको केन्द्र विन्दु मुक्तिनाथको कागवेनी, रुद्रवेणी, रुरुक्षेत्र, राम्दी, केलादी हुदै देवघाटमा पुगेपछि त्रिशुली नदीमा विलय भै नारायणी नदी बन्दछ । संसार कै गहिरो गल्छी वनायर वग्ने कालीगण्डकीको शालीकग्रामको ठूलो महत्व मानीन्छ । कालीगण्डकीको किनारमा ऋषिहरुको आश्रम र तीर्थस्थलको बारेमा पुराणमा उल्लेख छ । देवघाट धार्मीक दृष्टिकोणले मात्र होइन, ऐतिहासिक खोजको लागि पनि महत्वपूर्ण मानीन्छ । देवघाटदेखि त्रिवेणीधाम भारतीय सिमानामा पर्ने भैसालोटन सम्मको नारायणी नदी को करिडोरका विभिन्न नामले प्रख्यात धार्मीक, ऐतिहासिक घाटहरु अध्यात्मीक चिन्तन गर्ने पर्यटकहरुका लागि अध्यन अनुसंधानका स्थल बन्न सक्दछ ।

तीर्थाटन पर्यटन अर्थात तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिएको छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन् र तिनै मानिस तीर्थाटन पर्यटनका मुख्य आधार मानिन्छन् । नेपालमा धेरै पर्यटन क्षेत्र तीर्थाटनसंग जोडिएको छ । प्राचीन महत्वको देवघाट र मौलाकालीलाई तीर्थाटन पर्यटनको लागि विकास गर्न पर्दछ भन्ने मान्यता अनुसार गैडाकोट, नारायणघाट र आसपासका सामाजीक, धार्मीक, राजनैतिकदल सवै एकजुट भएका छन । प्रत्येक वर्ष सडक, आवास र मठ मन्दिर निर्माण गरी तीर्थाटन पर्यटनको पूर्वाधार थपिएका छन । मौलाकाली क्षेत्रलाई वातावरण अनुकुलको प्रभावबाट वचाउन पर्दछ भन्ने मान्यता अनुसार वातावरणविद पनि मौलाकालीको वारेमा चासो देखाउन थालेका छन । वनको हयिाली भएन भने धार्मीक र पर्यटकिय स्थलको महत्व घटन सक्दछ भन्ने मान्यता राख्दै मौलाकाली र देवघाटलाई वातावरणिय स्वरुपमा राख्न पर्दछ भनेर सामुदायिक वनले भएका बोट, विरुवालाई संरक्षण गर्दै आएका छन ।

गैडाकोटमा राजा महेन्द्रबाट बि.स. २०१९ बैशाख १ गते पूर्व पश्चिम राजमार्गको शिलन्यास गरिएको थियो । त्यो भन्दा पहिले पूर्व पश्चिममा सडक मार्ग थिएन । राणाहरुको पालादेखि राजा महाराजाहरुले शिकार खेल्ने चितवनको जंगल मानव बस्तीको लागि वि.स. २०१४ सालमा राजा महेन्द्रले जंगल फडानी गरी बस्ती बसालेका हुन । ०१८ साल भन्दा पहिले नेपाल ३५ जिल्लामा विभाजन थियो । त्यस समयमा चितवन र मकवानपुर एउटै जिल्ला थियो । जसको प्रशासनिक केन्द्र चिसापानीगढीमा राखिएको थियो । चिसापानीगढी अहिले मकवानपुर जिल्लामा पर्दछ । गैंडाकोट पनि पहिला तनहुँ जिल्लामा पर्दथियो । चितवनको जंगल फडानी सगै तराइमा बसोवास गराउने राज्यको अभियानमा गैडाकोटको जंगल पनि फडानी भयो । गैडाले सहेल गर्ने जंगल खेत वारीमा आवादी भयो । जनसंख्या क्रमिक रुपले वृद्धिहुँदै गयो । त्यसपछि ऐतिहासिक मौलाकालीको खोजी हुन थालेको हो । अहिले मौलाकालीलाई धार्मीक पर्यटकीय विकास गर्नको लागि धार्मीक सेवा समिति गठन भएको छ । समितिबाट नै मौलाकालीको विकास गर्ने योजना बनेको छ ।

मौलाकाली जाँदा होस अथवा नारायणघाट र देवघाट जाँदा सडक किनारमा रहेको देशको गौरव भृकुटी कागज कारखाना सबैले देख्दछन् । भृकुटी कागज कारखाना अहिले झाडीले भरिएर जंगल जस्तो भएको छ । कारखानाका सबै संरचना जीर्ण भएका छन् । टीनका छाना भत्कीएर झरेका छन् । बाहिरबाट हेर्दा अस्थिपञ्चर जस्तो देखिन्छ । लाखौं मूल्य पर्ने मेशिनहरु खिया लागेर बिग्रिएका छन्। यो अवस्थामा रहेको भृकुटी कागज कारखाना देख्दा सबै पर्यटकहरुको मन खिन्न हुन्छ । चीन सरकारले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन २०३९ सालमा भृकुटी कागज कारखाना निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति अनुरुप भृकुटी कागज कारखानालाई २०४९ सालमा गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्क्राफ्टलाई ६० विगाहा जमिनसहित तत्कालिन अवस्थामा दैनिक ८ टन कागज उत्पादन गर्ने कारखाना १७ करोडमा सबै जमिन र संरचनासहित बेचेको थियो ।

अहिले सबै क्षेत्रमा पर्यटन बिकासको लागि पहाडको चुचुरोमा भ्युटावर बनाउने होड चलेको छ । प्राकृतिक रुपमा आफै भ्युटावर बनेका डाँडाकाँडामा भ्युटावर बनाउन भन्दा केवुलकारको बिकास गर्न सके राम्रो हुन्छ । ऐतिहासिक कोट गढी पहिचान गरी पहाडको चुचुरोमा केबुलकार पुर्‍याउन सके पर्यटनको बिकास हुन्छ । पहाडी भू-भागमा सडक मार्ग भन्दा केबुलकार निर्माण गर्ने हो भने ठूलो पुल पुलेसा निर्माण खर्च वचत हुने गर्दछ । मोटर मार्ग निर्माण गर्दा हुने वातावरणको विनाश समेत केबुलकारले गर्दैन । प्राकृतिक सम्पदालाई केबुलकारले केही हानी नोक्सानी पुर्‍याउँदैन । मोटर मार्ग निर्माण गर्दा प्राकृति पहाड डोजर र स्काईभेटर दोहनले गर्दा पहाडमा बाढी पहिरो गएर नोक्सान गर्दछ । बिजुली उत्पादन गर्न सके केबलकारको यातायात सस्तो र भरपर्दो हुन्छ ।

गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा पर्दछ । नवलपरासी जिल्लाबाट टुक्रिएर बनेको गैडाकोट पूर्वी तर्फको खण्ड हो । गैडाकोट काठमाडौंबाट १५० कि.मी.दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. र बुटवलदेखि ११४ किलो मिटर पर्दछ । फुर्सदको समयमा मौलाकाली र देवघाटधाम घुमफिर गर्न सके तीर्थाटन मात्र होइन धार्मीक सम्पदाको इतिहास समेत जान्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker