मौलाकाली जाँदा केवुलकारमा सरर ……
के.बि मसाल

पर्यटनको विकासको लागि पूर्वाधार आवस्यक पर्दछ । पूर्वी नवलपरासीको मौलाकाली जान गैँडाकोटको धारापानीबाट मन्दिर नजिकैको हेलिप्याडसम्म केबलकार सञ्चालन भएपछि तीर्थाटन पर्यटकहरुको सख्या बढेको छ । केबलकार सञ्चालनपछि हिँडन नसक्ने तीर्थाटनका पर्यटकहरुलाई मन्दिर पुग्न सजिलो भएको छ ।
पछिल्लो समय नेपालमा छोटो दुरीमा केवुलकार पर्यटन बिकासको लागि पुर्वाधार बनेको छ । मौलाकालीमा समेत नेपालमा अहिले सम्म ६ स्थानमा केवुलकार सञ्चालन भएका छन । मनकामना केबलकार २०५५ देखि सञ्चालनमा आएको हो । अहिले मनकामना, चन्द्रागिरी, कालिञ्चोक, पोखराको सराङकोट र हालै लुम्बिनी प्रदेशको बुटवलदेखि पाल्पाको वसन्तपुर जोडने केबुलकार पनि सञ्चालनमा आएको छ । बन्दिपुरमा सञ्चालनको तयारीमा रहेको छ । पर्यटनको बिकासको लागि केबुलकारको पुर्वाधार थपिदै जानु राम्रो पक्ष हो ।
मौलाकाली गण्डकी प्रदेशको गैंडाकोट नगरपालिका वाड नं १ मा पर्दछ । मानिस प्रकृतिको पुजारी हो । प्रकृतिसंग जो कोही पनि रमाउछ । मौलाकाली केवल तीर्थाटनका लागि मात्र नभएर प्रकृति प्रेमी पर्यटकहरुका लागि पनि पुग्नै पर्ने स्थल हो । महाभारत पर्वत श्रृखलामा रहेको मौलाकाली परिशरबाट सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकहरुले एकै स्थानबाट नारायणघाट बजार, गैडाकोट, नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पाउदा रमाउने गर्दछन् । मौलाकालिका मन्दिर, धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण मानिन्छ ।
समुद्र सतह देखि ५६१ मिटरको उचाइमा रहेको मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र निकै रमणीय हरियाली वातावरण प्राकृतिक सौन्दर्यले श्रृंगारिएको छ । गैडाकोटको समतल वस्ती किनारको महाभारत श्रृखलाको फेदीबाट सुरु हुन्छ मौलाकालीको यात्रा । मौलाकाली जान प्रवेशद्वारदेखि पैदल यात्राको लागि ढुङ्गा बिछाइएको सिढी मार्ग पनि छ । मौलाकाली परिशरको क्षेत्रलाई जवडाडा भनिन्छ । पदयात्रा गर्न रुचाउने पर्यटकहरुले मन्दिरसम्म पुग्न १ हजार ८८२ वटा सिंढीको पदयात्रा गर्नु पर्द छ । सिँढीमार्गको दायाँबायाँ मूर्तिकारहरुले बिभिन्न देवी देवताहरुका मूर्ति बनाइ दिएका छन् । मौलाकाली जाने तीर्थाटनका पर्यटकहरुलाई उकालो चढदा पनि कठिनताको महसुस हुदैन । ठाउँठाउँमा निर्माण भएको चौतारीमा विश्रामगरी चिसो पानी पिउँदै, सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै करिब एक घण्टाको पैदल यात्रामा पनि मौलाकाली मन्दिरमा पुग्न सकिन्छ ।
मौलाकालिकाको मन्दिरमा पुग्ने बित्तीकै पर्यटकहरुलाई रमणीय छटाले मोहनी लगाउँछ । मौलाकालिकाबाट देखिने पवित्र देवघाट धाम, नारायणी नदी, नारायणगढ बजार र अर्कोतर्फ गैंडाकोटको बाह्रैमहिना मकैफल्ने उर्वर भूमिले पर्यटकहरुको मन लोभ्याउने गर्दछ । दक्षिणतर्फ नजिकै देखिने नारायणगढ बजारका साथै त्रिशूली र कालीको संगम देवघाटधामपछि नारायणी नामबाट बग्ने नदीले त्यहाँ पुग्ने हरेक पर्यटकहरुको मन लोभ्याउ छ । मौलाकाली परिशरबाट नवलपरासी, चितवन, तनहुँ एवं गोरखा जिल्लामा पर्ने अग्ला अग्ला पहाड, डाँडा, भञ्ज्याङ, भीरपाखा र हिम श्रृंखलाहरुको साथै देवघाटधाम, चितवनको समथर भूमि र राष्ट्रिय निकुञ्जको जंगल अवलोकन गर्न सकिन्छ । मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका सुन्दर मूर्तिका साथै तुलसीमठ, शिवलिङगहरु बनाइएका छन ।
मौलाकाली मन्दिर करिब ५०० वर्ष पहिला पन्ध्रै शताब्दीतिर पाल्पाका राजा मणिमुकुन्द सेनले बनाएका हुन् । यो मन्दिर बि.स. १९९० सालको भुकम्पले पुरानो मन्दिर ध्वस्त भएपछि प्यागोडा शैलीमा फेरि बनाइएको हो । पाल्पा राजा मणिमुकुन्द सेनको सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गरेको हुनाले मन्दिरको नाम मौलाकाली राखिएको हो । मौलाकालीको पूजा गरे मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ । पछिल्लो समय मन्दिरमा भौतिक संरचना र पर्यटन विकासको लागि पुर्वाधार थपिदै गएपछि तीर्थाटनका पर्यटकहरु बढन थालेका छन् । विशेषतः शनिबार, मगंलवार र बिदाका दिन मौलाकालीमा तीर्थाटनका पर्यटकको घुइँचो लाग्ने गर्दछ । मौलाकालीको मन्दिर परिसरमा महाकाली, महालक्ष्मी, महासरस्वती, शिव र गणेशका मूर्ति, तुलसीमठ, शिवलिङ्ग, भजन किर्तन एवं अतिथि भवन समेत रहेको छ । वि.स. १९९० सालसम्म मौलाकालीमा पुजागर्ने ठूलो सालको रुख थियो । त्यो रुख अहिले नभए पनि ऐतिहासिक ढुंगाको पर्खाल, पुराना खुडा, तरवार जस्ता पुराना हतियारलाई समेत संरक्षण गरिएको छ ।
मौलाकालीको घुमफिरपछि घुमफिरको समय लम्बाउन सके देवघाट जान पनि सकिन्छ । कालीगण्डकी किनारमा रहेको देवघाटधाम र काली पश्चिम महाभारत पर्वत श्रृखलामा रहेको मौलाकालीदेखि १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । यी दुबै सम्पदाको इतिहास मुकुन्द सेनसंग जोडिएको छ । देवघाटधामको परिसरमा गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास-आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धि गणेश, गोपिधाम, सुर्यकूण्ड जस्ता पवित्र तीर्थाटनस्थल रहेका छन । देवघाटधाममा मध्यकालिन भग्नावशेषका रुपमा मुकुन्द सेनले बनाएको पन्चदेवल अहिले पनि छ । साथै मणि मुकुन्द सेनको श्री व्रि्रह शिला पनि रहेको छ । जसलाई चक्रशीलाको नामले चिनिन्छ । मुकुन्द सेनले देवघाटधाममा बाह्र वर्ष तपस्या गरेका थिए । देवघाट तीर्थाटनको लागि नेपालको अत्रि्राचीन महत्वको धार्मिकस्थल मानिन्छ । गलेश्वर बाबाले देवघाटमा आई तपस्या गरेपछि यसको प्राचीन एवं लौकिक महत्व बढन गएको हो । देवघाटमा माघे सक्रान्ती, साउने सोमबार, बाला चतुर्दशीलगायत विभिन्न पर्वमा मेला लाग्ने गर्दछ । देवघाटमा स्नान गरी शिवजीको उपासना गरेमा मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ ।
विशेष गरेर हिन्दु धर्ममा आस्था राख्ने मानिसहरुले देवघाटको नाम उच्चारण गर्दा समेत पुन्य पाएको अनुभव गर्ने गर्छन् । देवघाटधाम कालीगण्डकी र त्रिशूली नदीको सगम स्थलमा पर्दछ । चितवन र तनहुँ, जिल्ला जोडने झोलुङेपुल तरेर पारी तनहुँ पुगेपछि पुलको मुखैबाट विभिन्न मठ तथा मन्दिरहरु भेटिन सुरु हुन्छ । फराकिलो क्षेत्रमा फैलीएको देवघाट क्षेत्रमा वशिष्ठ गुफा र सीता गुफा पनि छ । जहाँ प्राचीन समयमा अयोध्याका राजा रामचन्द्रका गुरु वशिष्ठले यहाँ तपस्या गरेको भनाई छ । देवघाटमा महेश सन्यास आश्रम छ । यहाँ संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० सम्म र स्नातकोत्तर तह आचार्यसम्म पढाइ हुने गर्छ । हरिहर सन्यास आश्रम पनि देवघाटमा छ । तनहुँ, चितवन र नवलपरासी जिल्लाको संगम स्थल देवघाटमा अहिले तपस्वी, साधु, सन्यासी, सन्त महात्मा र कल्पवासीहरुको वासस्थान बनेको छ । देवघाटमा तीर्थाटनका पर्यटक भित्राउने उद्देश्यका साथ तीन जिल्ला जोडने गरी त्रिशूली र कालीको संगमस्थलमा त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ । निर्माण हुन लागेको आर्च ब्रिज पुललाई एउटा मात्रै पिलरले धान्ने छ । आर्च ब्रिज पुल तीन जिल्ला गरी ६०० मिटर लामो बन्नेछ । यस्तै खालको पुल रिडीमा निर्माण भै सकेको छ । आर्च ब्रिजबाट पैदल र मोटरसाइकल मात्रै यात्रा गर्न सकिन्छ । पुलबाट वरिपरिका धार्मीक क्षेत्रमा अवलोकन गर्न सकिने भएकाले तीर्थाटनका पर्यटकहरु रमाउन सक्ने अनुमान गरिएको छ ।
देवघाट क्षेत्रबाट नै नवलपरासीतर्फ मौलाकाली जानका लागि मौलाकालिका-वेणी धार्मिक पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको छ । वेणीबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३ दशमलव ५ किलोमिटर उकालो पैदल यात्रा गर्नु पर्दछ । नेपालको हिमनदी मध्ये कालीगण्डकी प्रसिद्ध धार्मीक नदी मानीन्छ । मुस्ताङ जिल्लाको हिम श्रृखलामा रहेको दामोदरकुण्डबाट उदगम भएको कालीगण्डकी हिन्दुहरुको आस्थाको केन्द्र विन्दु मुक्तिनाथको कागवेनी, रुद्रवेणी, रुरुक्षेत्र, राम्दी, केलादी हुदै देवघाटमा पुगेपछि त्रिशुली नदीमा विलय भै नारायणी नदी बन्दछ । संसार कै गहिरो गल्छी वनायर वग्ने कालीगण्डकीको शालीकग्रामको ठूलो महत्व मानीन्छ । कालीगण्डकीको किनारमा ऋषिहरुको आश्रम र तीर्थस्थलको बारेमा पुराणमा उल्लेख छ । देवघाट धार्मीक दृष्टिकोणले मात्र होइन, ऐतिहासिक खोजको लागि पनि महत्वपूर्ण मानीन्छ । देवघाटदेखि त्रिवेणीधाम भारतीय सिमानामा पर्ने भैसालोटन सम्मको नारायणी नदी को करिडोरका विभिन्न नामले प्रख्यात धार्मीक, ऐतिहासिक घाटहरु अध्यात्मीक चिन्तन गर्ने पर्यटकहरुका लागि अध्यन अनुसंधानका स्थल बन्न सक्दछ ।
तीर्थाटन पर्यटन अर्थात तीर्थयात्रा संसारकै पुरानो पर्यटन मानिएको छ । युनेस्कोका अनुसार संसारका ६० प्रतिशत मानिस कुनै न कुनै धर्मको अभ्यास गर्छन् र तिनै मानिस तीर्थाटन पर्यटनका मुख्य आधार मानिन्छन् । नेपालमा धेरै पर्यटन क्षेत्र तीर्थाटनसंग जोडिएको छ । प्राचीन महत्वको देवघाट र मौलाकालीलाई तीर्थाटन पर्यटनको लागि विकास गर्न पर्दछ भन्ने मान्यता अनुसार गैडाकोट, नारायणघाट र आसपासका सामाजीक, धार्मीक, राजनैतिकदल सवै एकजुट भएका छन । प्रत्येक वर्ष सडक, आवास र मठ मन्दिर निर्माण गरी तीर्थाटन पर्यटनको पूर्वाधार थपिएका छन । मौलाकाली क्षेत्रलाई वातावरण अनुकुलको प्रभावबाट वचाउन पर्दछ भन्ने मान्यता अनुसार वातावरणविद पनि मौलाकालीको वारेमा चासो देखाउन थालेका छन । वनको हयिाली भएन भने धार्मीक र पर्यटकिय स्थलको महत्व घटन सक्दछ भन्ने मान्यता राख्दै मौलाकाली र देवघाटलाई वातावरणिय स्वरुपमा राख्न पर्दछ भनेर सामुदायिक वनले भएका बोट, विरुवालाई संरक्षण गर्दै आएका छन ।
गैडाकोटमा राजा महेन्द्रबाट बि.स. २०१९ बैशाख १ गते पूर्व पश्चिम राजमार्गको शिलन्यास गरिएको थियो । त्यो भन्दा पहिले पूर्व पश्चिममा सडक मार्ग थिएन । राणाहरुको पालादेखि राजा महाराजाहरुले शिकार खेल्ने चितवनको जंगल मानव बस्तीको लागि वि.स. २०१४ सालमा राजा महेन्द्रले जंगल फडानी गरी बस्ती बसालेका हुन । ०१८ साल भन्दा पहिले नेपाल ३५ जिल्लामा विभाजन थियो । त्यस समयमा चितवन र मकवानपुर एउटै जिल्ला थियो । जसको प्रशासनिक केन्द्र चिसापानीगढीमा राखिएको थियो । चिसापानीगढी अहिले मकवानपुर जिल्लामा पर्दछ । गैंडाकोट पनि पहिला तनहुँ जिल्लामा पर्दथियो । चितवनको जंगल फडानी सगै तराइमा बसोवास गराउने राज्यको अभियानमा गैडाकोटको जंगल पनि फडानी भयो । गैडाले सहेल गर्ने जंगल खेत वारीमा आवादी भयो । जनसंख्या क्रमिक रुपले वृद्धिहुँदै गयो । त्यसपछि ऐतिहासिक मौलाकालीको खोजी हुन थालेको हो । अहिले मौलाकालीलाई धार्मीक पर्यटकीय विकास गर्नको लागि धार्मीक सेवा समिति गठन भएको छ । समितिबाट नै मौलाकालीको विकास गर्ने योजना बनेको छ ।
मौलाकाली जाँदा होस अथवा नारायणघाट र देवघाट जाँदा सडक किनारमा रहेको देशको गौरव भृकुटी कागज कारखाना सबैले देख्दछन् । भृकुटी कागज कारखाना अहिले झाडीले भरिएर जंगल जस्तो भएको छ । कारखानाका सबै संरचना जीर्ण भएका छन् । टीनका छाना भत्कीएर झरेका छन् । बाहिरबाट हेर्दा अस्थिपञ्चर जस्तो देखिन्छ । लाखौं मूल्य पर्ने मेशिनहरु खिया लागेर बिग्रिएका छन्। यो अवस्थामा रहेको भृकुटी कागज कारखाना देख्दा सबै पर्यटकहरुको मन खिन्न हुन्छ । चीन सरकारले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन २०३९ सालमा भृकुटी कागज कारखाना निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति अनुरुप भृकुटी कागज कारखानालाई २०४९ सालमा गोल्छा अर्गनाइजेसन, काभ्रा समूह र कन्क्राफ्टलाई ६० विगाहा जमिनसहित तत्कालिन अवस्थामा दैनिक ८ टन कागज उत्पादन गर्ने कारखाना १७ करोडमा सबै जमिन र संरचनासहित बेचेको थियो ।
अहिले सबै क्षेत्रमा पर्यटन बिकासको लागि पहाडको चुचुरोमा भ्युटावर बनाउने होड चलेको छ । प्राकृतिक रुपमा आफै भ्युटावर बनेका डाँडाकाँडामा भ्युटावर बनाउन भन्दा केवुलकारको बिकास गर्न सके राम्रो हुन्छ । ऐतिहासिक कोट गढी पहिचान गरी पहाडको चुचुरोमा केबुलकार पुर्याउन सके पर्यटनको बिकास हुन्छ । पहाडी भू-भागमा सडक मार्ग भन्दा केबुलकार निर्माण गर्ने हो भने ठूलो पुल पुलेसा निर्माण खर्च वचत हुने गर्दछ । मोटर मार्ग निर्माण गर्दा हुने वातावरणको विनाश समेत केबुलकारले गर्दैन । प्राकृतिक सम्पदालाई केबुलकारले केही हानी नोक्सानी पुर्याउँदैन । मोटर मार्ग निर्माण गर्दा प्राकृति पहाड डोजर र स्काईभेटर दोहनले गर्दा पहाडमा बाढी पहिरो गएर नोक्सान गर्दछ । बिजुली उत्पादन गर्न सके केबलकारको यातायात सस्तो र भरपर्दो हुन्छ ।
गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा पर्दछ । नवलपरासी जिल्लाबाट टुक्रिएर बनेको गैडाकोट पूर्वी तर्फको खण्ड हो । गैडाकोट काठमाडौंबाट १५० कि.मी.दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि.मी. र बुटवलदेखि ११४ किलो मिटर पर्दछ । फुर्सदको समयमा मौलाकाली र देवघाटधाम घुमफिर गर्न सके तीर्थाटन मात्र होइन धार्मीक सम्पदाको इतिहास समेत जान्न सकिन्छ ।










