महर्षि ऋष्यऋङ्गी र अयोध्या नरेश दशरथको पुत्रेष्टि महायज्ञ स्थल सराङघाट

देव बस्न्यात

विषय प्रवेश

ऋषि विभाण्डक महेन्द्रगिरी पर्वतको सिहावा (सिञ्चाङगढी) पहाडमा घोर तपस्या गरेर बसेका थिए । उनको तपश्याले देवलोक थर्कियो । उनको तपश्या भङ्ग गर्न देवताहरुले उवर्शीलाई विभाण्डकको कुटीमा पठाए । ऋषि विभाण्डक र उर्वसी अप्सराका सहवासबाट सराङघाट पश्चिमभागर्व तपोवन दक्षिण कृष्णगण्डकीको पूर्व तटमा भृगुकोटको निकट मनोहर आश्रममा श्रृङ्गी ऋषिको जन्म भयो । जन्मदा ऋषिको शिरमा सिङ थियो । तपस्याको बलले शिरको सिङ लुप्त भयो । श्रृङ्गी ऋषिको जन्मस्थान आज पर्यन्त ऋषिङ्ग नामले प्रसिद्धि रहेको छ । (श्रोतः देवभूमि भारत आध्यात्मिक नेपाल-योगि नरहरिनाथ) ।

श्रृङ्गीको जन्म हुनासाथ उर्वसी अप्सराले छोरा श्रृङ्गीलाई ऋषि विभाण्डकको काखमा थमाएर स्वर्ग गइन । तिनै श्रृङ्गी ऋषि बाबाको संसर्गमा पली बढी हुर्किए । नाबालक बच्चालाई छोडेर जाने उर्वसी अप्सराको व्यवहारले विभाण्डक आफूले नारीको मुखै नहर्ने दृड अठोट गरेर घोर तपस्या गरे । छोरालाई पनि नारी संसर्गगबाट टाढै राखे । ऋष्यश्रृङ्ग पनि तनहुँ जिल्ला स्थित ऋषिङ्ग पर्वतमा गइ तपस्य गरे । उनै ऋषि ऋङ्गीले तपश्या गरेको भूमि हुनाले यस स्थानको नाम ऋषिङ्ग रहन गएको हो भन्ने गरिन्छ । तपस्याको प्रभाव र पिताले सिकाएको ज्ञानका प्रभावले ऋषि ऋङ्गी धुरन्धर विद्वान कहलिए ।

कश्यप गोत्रीय ऋषि विभाण्डकका क्रोधका प्रभावले राजा लोमपादको देशमा अनिकाल पर्‍यो । ऋषि विभाण्डक पुत्र ऋषि ऋङ्गीले अनङ्ग देशमा अनिकाल निवारण यज्ञ सम्पन्न गरेर जनतामा खुसी प्रदान गरेकाले राजा लोमपादले धर्मपुत्री शान्ताको विवाह उनै ऋषि ऋङ्गीसंग गराइ दिएका हुन् । राजा दशरथको मनोकामना पूर्तिका लागि श्रृङ्गी ऋषिले पुत्रेष्टी यज्ञ लगाइदिएर एकसाथ चारचार पुत्रहरु प्रदान गरेका थिए। पृथ्वीको भारहरण गर्न भगवान विष्णुको राम अवतार प्रदान गर्ने श्रृङ्गी श्रृषिलाई रामको भेटने मन भयो । राम नारायणी नदीको त्रिवेणीघाट, देवघाट र कालीगण्डकीको कोरीडर हुँदै पाल्पाको केलादीघाट पुगे ।

त्यही रामले लामो समय निवास गरे । रामले बसोबास गरेको स्थान हुनाले त्यसठाउँको नाम रामपुर रहृयो । एक पटक भगवान श्री राम र लक्ष्मण ऋषिङ जाने भए । रामपुरबाट काली गण्डकी पारगरी रामजाकोट गएर बास बसे । भालि बिहानै राम लक्ष्मण ऋषिङमा आएर दिदी शान्ता एवं भिनाजु ऋषि श्रृङ्गीलाई भेट गरे । भिनाजुलाई के आवश्यक छ भनी सोधनी हुँदा ऋषिङ पर्वत मालामा गण्डकी स्नान गर्न पानीको दुःख भएको बताएसंगै भगवान श्रीरामले वाणको भेदनगरी काली र सेतीनदी दुबै तर्फको गङ्गाजल एकै कुवामा आउने गरी कुवा बनाइ दिएका थिए । त्यही कुवालाई अहिले अजम्वरी कुवा भनेर चिनिन्छ । श्रृङ्गी ऋषि सङ्ग बिदा लिए पछि आदर्श पुरुष राम र माता सीता अयोध्या र्फकने बेलामा भीरकोट, वैदी, हुँदै सराङघाट (चर्नावती) धाममा आएर स्नान गरी एक दिन एक रात बिताए । यही धाम वरपर सीतामाताले चौलानी कलरको पानी बग्ने दुग्धभा नदीमा चामल पखालेको र सीताको पाइलाको छाप परेको ढुङ्गा र चारमुखे ढुङ्गाको चुल्हो अद्यापि सराङघाटमा देख्न पाइन्छ। उनै ऋष्यऋङ्गी रामको राज्यभिषेक हुँदा अयोध्यामा पुगेका थिए ।

आदर्शपुरुष रामको दिदी शान्ता र ऋषि ऋङ्गी बीचको सम्वन्ध

अयोध्या नरेश दशरथ राजा अज र रानी इन्दुमतीका छोरा हुन । राजा दशरथका कौशल्या, कैकयी र सुमित्रा समेत तीनवटा रानीहरु रहेका थिए । दशरथका जेठीरानी कौशल्याबाट शान्ता नामकी छोरी जन्मेकी थिइन । दक्षिणी भारतमा पाइने रामायण अनुसार अयोध्यामा शान्ता जन्मेपछि १२ वर्षसम्म अनिकाल पर्‍यो । अयोध्यामा ठूलै संकट आइपर्‍यो । त्यही बेला राजा दशरथका दरवारमा साडुभाइ अङ्गदेशका राजा लोमपाद र साली वर्षिणी भेट्न गए । सन्तान नभएकोमा वर्षिणीले दिदी भिनाजुसंग साह्रै चिन्ता व्यक्त गरिन । निसन्तान राजा लोमपाद (रोमपाद)ले दशरथसंग शान्तालाई धर्मपुत्रीको रुपमा माग गरे । राजा दशरथले आफ्नी छोरी शान्तालाई राजा लोमपादको विशेष आग्रहमा धर्मपुत्री प्रदान गर्ने निर्णय गर्दा रानी कौशल्यको पनि सहमती रहेको थियो । राजा दशरथ र रानी कौशल्याले मुटुमा गाँठो पारेर छोरी शान्तालाई आफ्नै साडुभाइ र सालीलाई धर्मपुत्रीको रुपमा सुम्पेर विदाइ गरे । छोरी विदाइ गरेपछि राजा दशरथले देशमा पुनः अनिकाल लाग्ला भन्ने डरले शान्तालाई अयोध्यामा कहिल्यै बोलाएनन् । राजा लोमपादका दरवारमा शान्ता तरुनी भइन । तिनै शान्ता वेद, कला र शिल्पमा पारङगत थिइन ।

पुत्रेष्टि यज्ञ कहिले गर्ने हो ?

उत्तम सन्तान प्रप्ति हेतु बसन्त ऋतुको प्रारम्भ हुने दिन श्रीपञ्चमीको उत्तम साइतमा सेतीनदीको किनारमा अवस्थित सिसवनमा सन्तान प्राप्ति हेतु धतुरको फूल अर्पण गरेर पुत्र-कामेष्टि यज्ञ गर्न सकिन्छ । पुत्रेष्टि यज्ञलाई अग्नि पूजा पनि भनिन्छ । ब्रहृमाले यज्ञ गर्नाले मनले चाहेको फल मिल्ने बताएका छन् । ऋषि ऋष्यऋङ्गीले अथर्ववेदको मंत्रबाट पुत्रेकामेष्टि यज्ञ गरेमा सन्तान प्राप्तिको कामना पुरा हुन्छ भनेका छन् । पुत्रेष्टि यज्ञ गर्दा उनले श्रोतविधिका अनुसार अग्निमा आहुती दिएका थिए । यही साराङघाटमा सन्तानेश्वर महादेवको प्रार्थना, तान्त्रिक मन्त्रद्वारा अभिमन्त्रित जल पिउन, विभिन्न रत्न धारण गर्न र सात साहित्यका वाचन गर्न सकिन्छ । विशेष गरेर साउन र माघको महिना भगवान शिवको प्रिय महिना भएकोले सोमवारका दिन भगवान शिवको उपासना गरेमा भगवान शिव सिघ्र प्रशन्न भएर पुत्र प्राप्तिको वरदान दिने विश्वास रही आएको छ ।

पुत्रेष्टि यज्ञ कहाँ गर्ने र यसबाट प्राप्त हुने फल के हो ?

राजा दशरथका तीनवटै रानीहरुबाट शान्ता बाहेक अन्य सन्तान नभएकाले राजा दशरथ ज्यादै चिन्तित बने । राजा दशरथ कुलगुरु वशिष्ठको कुटीमा पुगे । कुलगुरु वशिष्ठले राजा दशरथलाई ज्वाई ऋषि श्रृङ्गीबाट पुत्रकामेष्टि यज्ञ गर्ने सल्लाह दिए । ऋषि राजा दशरथले कुलगुरुलाई पुत्रेष्टि यज्ञ गरी दिनुहोस भन्ने अनुरोध गरे । कुलगुरु वशिष्ठले महर्षि ऋष्यऋृङबाट पुत्रेष्टि यज्ञ गराउन सल्लाह दिए । हुन पनि पूर्विय धर्मशास्त्रको वसिष्ठ उपनिषदमा “भारत वर्षे उत्तरायणे हिमालय तटे स्वर्णभूमि स्वर्गभूमि” भनेर लेखिएको छ । यही स्वर्गरुपि ऋषिऋङ्गीको तपोभूमि तनहुँ जिल्लाको नेपालको ऋषिङ गाउँपालिकामा पर्दथ्यो । उनै ऋषि ऋङ्गीको तपोभूमि ऋषिङ्ग क्षेत्र घनाजंगलले वेष्ठित थियो । त्यही पर्वतमालामा उनले वेदशास्त्र र ज्योतिषशास्त्रको गहन अध्ययन गरेर पारङ्गत भएका हुन ।

आदर्श पुरुष राम भगवान जन्मनु अघि राजा दशरथ ऋषिङ् आएका र ऋषिङ्गमा छोरी शान्ताका पति ऋषि श्रृङ्गीलाई भेट गरेको प्रसङ्ग जोडिन आउँछ । उनै नरेशले अयोध्यामा अश्वमेध यज्ञलगाउन शप्तर्षि मध्येका एक ऋषि ऋषिऋङ्गीलाई ऋषिङबाट भिरकोट, बैदी, घण्टाचुली, सिञ्चाङगढी, गाइघाट त्रिवेणीघाट हुँदै अयोध्यापुरीमा लगेका थिए । राजा दशरथले पुत्रेष्टि यज्ञ गरी दिन अनुरोध गरे तर ऋषिले आफुले तपस्या गरेर प्राप्त गरेको फल निष्फल हुने कारणले पुत्रेष्टि यज्ञ गर्न मानेन् । शान्ताको करवलमा ऋषि श्रृङ्गी सराङघाटमा पुगेर पुत्रेष्टि यज्ञ सम्पन्न गर्नमा तयार भए । उनै ऋषिको तपस्थली ऋषिङ पर्वतमालाको दक्षिणमा सेतीनदीको किनारमा सराङघाटधाम रहेको छ । नाताले ज्वाई पर्ने तिनै ऋषी ऋङ्गीले सेतीनदीको वायाँ किनारमा अवस्थित तनहुँको सराङघाट पुत्र-कामेष्टि यज्ञ सपन्न गराइ दिएका हुन् । यही पवित्रधाममा राजा दशरथले ऋषि ऋङ्गीको मुख्य ऋत्विक तथा व्यासत्वमा पुत्रेष्टि महायज्ञ लगाएका थिए ।

पुत्रेष्टि यज्ञ लगाएको ठाउँ अयोध्याबाट लगभग ३८ कि.मि उत्तरमा पर्दथ्यो भन्ने किंवदन्ती रहेको छ । (श्रोतः विकिपिडिया अयोध्याबाट नारायणघाटबाट २२ कि.मि नारायणघाटबाट घुमाउनेघाट किमि, घुमाउने घाटबाट सराङघाट १० कि.मि. सराङघाटबाट दमौली २२ कि.मि) (सातपोखर) पुत्र कामेष्टि यज्ञ सम्पन्न हुना साथ अलौकिक यज्ञपुरुष प्रजापत्य उत्पन्न भए । तिनै प्रजापत्यले राजा दशरथलाई सुनको थालीमा नैवेद्य र खिरप्रसाद टक्राए । रामनवमीका दिन भगवान श्रीरामको जन्म भएको थियो । अयोध्या नरेशका रानीहरु कौशल्या, कैकयी र सुमित्राले खिर प्रसाद ग्रहण गर्दा राजा दशरथका विष्णुरुपि राम सहित ४ पुत्रहरुको जन्म हुन गएको थियो। राजा दशरथका छोरा भएको खवर यत्रतत्र फैलिएपछि सराङघाटमा आएर पुत्रेष्टी यज्ञ गर्ने र ज्वाइहरुलाई बोलाएर कर्मकाण्ड गर्ने परम्परा बसेको हो ।

त्यही बेलादेखि ज्वाइका अनुपस्थितिमा ज्वाइको प्रतिनिधि अर्थात छोरी तर्फको नाति भाञ्जाबाट कर्मकाण्ड गर्न सुरु गरिएको हो । पुत्रेष्टि यज्ञबाट राजा दशरथको छोराहरुको जन्म भएपछि छोराछोरी नहुनेहरु तनहुँको सराङघाटमा आएर पुत्रेष्टि यज्ञहरु गर्नेहरुको आइरो लागेको थियो । सराङघाटमै आएर पाणीग्रहण गरेमा सन्तानको दुःख हुँदैन भन्ने समाचार यत्रतत्र फैलिदैं गएपछि यही स्थानमा आएर विवाह गर्नेहरुको ओइरो नै लाग्न थाल्यो । विकट एरियामा भएकोले बिस्तारै आझेलमा पर्दै गयो । अहिले कलियुगको मध्यावधी समय पनि पार भइसकेको अवस्थामा सारङघाटको महत्व घट्दै गएको मात्र हो । सन्तान नहुने वरबधुले यही सराङघाट आएर पुत्रेष्टी महायज्ञ गरेर भगवान ऋषि ऋङ्गेश्वर महादेवको आर्शिवाद प्राप्त गरेर घर फर्किएमा सन्तानसुख मिल्ने जनविश्वास रहेको छ ।

अन्त्यमा

रामायणमा विभिषण र कैकयी दुइ पात्र थिए । जस्मा रावणको राज्यमा विभिषण बस्दथे तर कहिल्यै बिग्रेनन् तर कैकयी रामको राज्यमा रहन्थिन तर कहिल्यै पनि सुध्र्रि्रन सकिनन् । रामको तागतले सीता जीवित मिलिन भने रावणको मर्यादाले सीता पवित्र मिलेकी थिइन । सुध्रनु र बिग्रनु मानिसको सोच र स्वभावमा निर्भर गर्दछ । समाज त्यो समाज हुनुपर्दछ जहाँ आफु सुध्रन र अरुलाई ब्रि्रनबाट जोगाउन सकिन्छ । यहाँ उनै ऋष्यऋङगीले आफ्नो तपस्याको पूण्य समाप्त भएता पनि पुनः पूण्य प्राप्त गर्ने दृड विश्वासका साथ लोककल्याणका खातिर एवं ससुरा दशरथको कामना पूर्तिका खातिर सराङघाटमा पुत्रेष्टि यज्ञ सम्पन्न गरेका हुन् ।

सन्दर्भ श्रोत
– तनहुँको राजनीतिक इतिहास
(श्रीराम घिमिरे)
– चौवीसी राज्यको इतिहास
(गोपिनाथ शर्मा)
– तनहुँसुर सेरोफेरो (देव बस्न्यात)
– नेपाल अधिराज्यमा तनहुँ
(डिल्लीराम मिश्र)
– अतुल्य विशाल नेपाल (बाबुराम सिंह थापा)
– देवभूमि भारत आध्यात्मिक नेपाल (योगि नरहरिनाथ)
– चन्द्रबहादुर गुरुङ, तोप बहादुर कुंवर (९८४५०४७६५०)

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker