पपुलिजमले जनता र राष्ट्रको समस्या समाधान गर्न सक्दैन, त्यो जनताको फ्रस्टेशन मात्र हो : एमाले महासचिव पोख्रेल

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पपुलिमज समस्याको समाधान नभई जनताको फ्रस्टेशन मात्र भएको बताएका छन् । एमाले तनहुँको १०औं अधिवेशनलाई शुक्रबार दमौलीमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
पपुलिजमले दुनियमा कही पनि समस्याको समाधान गर्न सक्दैन, त्यो जनताको फ्रस्टेशनका कारण प्राप्त परिणममात्र भएका भन्दै उनले भने, ‘पपुलिजमले जनता र राष्ट्रका समस्या समाधानको काम गर्न सक्दैन भन्ने सच्चाईलाई बुझ्न र बुझाउन जरुरी थियो, त्यो इलामका जनताले प्रष्ट पारिसकेका छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीलाई लछित गर्दै महासचिव पोख्रेलले भने, ‘इलामका जनतालाई त्यो पार्टीले भन्दै हिडेको थियो हाम्रो संख्या २१ होइन अब २२ हो । तर, जनताले पत्याएनन् ।’
‘राजतन्त्र २०८० साल भित्रै स्थापित हुँदै छ भन्ने मान्यताका आधारमा एक प्रकारले राजनीति र धर्मलाई जोडेर हिडेकालाई पनि जनताले पाखा लगाइदिएका छन्’, महासचिव पोख्रेलले भने, ‘नेपालको राजनीतिलाई अस्थिर बनाउने कुरामा कोही जिम्मेवार छ भने त्यो नेपाली कांग्रेस भएको सच्याईलाई बुझ्न र बुझाउन सक्नुपर्छ ।’

‘नेपालको राजनीतिमा चाहे देशभक्तिको प्रश्नमा होस, चाहे लोकतन्त्रका प्रश्नमा होस, चाहे सामाजिक न्यायको प्रश्नमा होस वा जनताका जनजिविकाको प्रश्नमा होस सधै अग्रणी पार्टी कुनै छ भने त्यो नेकपा एमाले हो’, उनले भने, ‘यी कुरालाई एमालेले पुष्टि गर्दै आएको छ र हाम्रा नीतिहरु त्यही अनुसार अगाडि बढ्ने गरेका छन् ।
‘पार्टीलाई अगाडी बढाउनका लागि पार्टी सदस्यहरु जनताका बीचमा जान तयार हुनुपर्छ । जनताको बीचमा नजाने हो भने मिसन २०८४ पनि सफल हुँदैन’, महासचिव पोख्रेलले भने, ‘मुलुकलाई समृद्धिको यात्रामा लग्न हामी चाहन्छौ, त्यसका लागि नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने हाम्रो उद्देश्य रहेको छ ।’

एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ, पोलिटव्युरो सदस्य टुकराज सिग्देल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।
यस्तै, एमाले तनहुँको शुक्रबारदेखि सुरु भएको दशौ जिल्ला अधिवेशनमा ५८७ प्रतिनिधि सहभागी भएका छन् । नयाँ नेतृत्व चयनका लागि शुरु भएको अधिवेशनमा आयोजक कमिटी सहित ५८७ प्रतिनिधि सहभागी छन् ।

बिहीबार बसेको पार्टीको अन्तिम कमिटी बैठकले २८ जना प्रतिनिधि मनोनित गरेको थियो । वडा र आयोजक कमिटी समेत गरी ५६९ प्रतिनिधि छनोट भएकामा २८ जना प्रतिनिधि मनोनित गरिएको छ ।











