हरितालिका तीज : परम्पराको निरन्तरता र परिवर्तनको चेतना
लक्ष्मी श्रेष्ठ

हरितालिका तीज नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामाजिक सम्बन्धसँग गहिरो रूपमा जोडिएको महत्वपूर्ण पर्व हो । विशेषतः महिलाहरूले श्रद्धा, उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको धार्मिक पक्षसँगै सामाजिक, सांस्कृतिक, आर्थिक तथा ऐतिहासिक महत्व पनि उत्तिकै उल्लेखनीय छ । तीज केवल पूजा, व्रत, दर र नाचगानमा सीमित पर्व होइन; यो नेपाली समाजमा महिलाको अनुभूति, अभिव्यक्ति, सम्बन्ध र सामाजिक चेतनाको ऐतिहासिक दस्तावेजसमेत हो । समय परिवर्तनसँगै तीज मनाउने तौरतरिकामा परिवर्तन आएको भए पनि यसको मौलिक सांस्कृतिक महत्वलाई संरक्षण गर्दै यसलाई समसामयिक सामाजिक चेतनासँग जोड्नु आजको आवश्यकता हो ।
धार्मिक मान्यताअनुसार हरितालिका तीज भगवान् शिव र माता पार्वतीसँग सम्बन्धित पर्व हो । माता पार्वतीले भगवान् शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरेको र उनको दृढ संकल्प तथा तपस्याको स्मरणस्वरूप तीज मनाउने परम्परा विकसित भएको विश्वास गरिन्छ। भाद्र शुक्ल तृतीयाका दिन विशेष पूजा, आराधना र व्रत गर्ने परम्परा यस पर्वको धार्मिक विशेषता हो । विवाहित महिलाले पति तथा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्ने तथा अविवाहित महिलाले असल जीवनसाथीको कामना गर्ने धार्मिक विश्वास पाइन्छ । यद्यपि वर्तमान समयमा यस्ता धार्मिक अभ्यासलाई व्यक्तिगत आस्था, स्वतन्त्रता र स्वास्थ्यको दृष्टिले पनि विवेकपूर्ण रूपमा ग्रहण गर्न आवश्यक छ ।
तीजको वास्तविक शक्ति यसको सांस्कृतिक पक्षमा पनि निहित छ । नेपाली समाजमा महिलाहरूका लागि आफ्ना सुख–दुःख, अनुभव, आकाङ्क्षा र सामाजिक अवस्थाबारे खुलेर अभिव्यक्ति दिने अवसर सधैँ सहज थिएन। यस्तो अवस्थामा तीजका गीत, नृत्य तथा सामूहिक भेटघाट महिलाका भावनात्मक अभिव्यक्तिका महत्वपूर्ण माध्यम बने । परम्परागत तीज गीतमा माइतीप्रतिको माया, वैवाहिक जीवनका अनुभव, पारिवारिक सम्बन्ध तथा सामाजिक अवस्थाका विषय अभिव्यक्त हुँदै आएका छन् । पछिल्लो समय भने तीजका सिर्जनामा महिला अधिकार, शिक्षा, स्वास्थ्य, हिंसा विरुद्धको चेतना, लैङ्गिक समानता र सामाजिक न्यायका विषयसमेत समेटिन थालेका छन् । यसले तीजलाई केवल धार्मिक पर्वबाट सामाजिक संवादको प्रभावकारी माध्यमतर्फ विकसित गरिरहेको देखिन्छ ।
तीजले पारिवारिक तथा सामाजिक सम्बन्धलाई सुदृढ बनाउन पनि महत्वपूर्ण भूमिका खेल्छ । विवाहपछि टाढिएका दिदीबहिनी तथा आफन्तबीच भेटघाट गर्ने, माइतीघर जाने, सामूहिक रूपमा दर खाने, गीत गाउने र नाच्ने परम्पराले आत्मीयता र सामाजिक सद्भाव अभिवृद्धि गर्छ । विशेषगरी नेपाली समाजमा माइती र चेलीबीचको भावनात्मक सम्बन्धलाई तीजले विशेष महत््व दिएको पाइन्छ । यस अर्थमा तीज एउटा परिवार वा समुदायको मात्र पर्व नभई पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदाको निरन्तरता पनि हो ।
आर्थिक दृष्टिले पनि तीजको प्रभाव विस्तार हुँदै गएको छ। पर्वका अवसरमा खाद्यवस्तु, कपडा, गरगहना, सौन्दर्य सामग्री, उपहार तथा अन्य वस्तुको माग बढ्ने गर्दछ । होटल, रेस्टुरेन्ट, यातायात, पर्यटन, हस्तकला, पोसाक तथा आभूषण व्यवसायमा समेत आर्थिक गतिविधि बढेको देखिन्छ । विशेषतः महिलाद्वारा सञ्चालित घरेलु तथा साना उद्यमका उत्पादनलाई बजार उपलब्ध गराउने अवसर तीजले सिर्जना गर्छ । यदि तीजलाई स्थानीय उत्पादन, घरेलु उद्यम र महिला उद्यमशीलताको प्रवद्र्धनसँग जोड्न सकियो भने यसको आर्थिक महत््व अझ प्रभावकारी बन्न सक्छ तर यहाँ एउटा गम्भीर प्रश्न पनि उठ्छ । के तीज सांस्कृतिक उत्सवभन्दा बढी प्रदर्शन र प्रतिस्पर्धाको माध्यम बन्दै गएको त होइन ? पछिल्ला वर्षहरूमा तीज मनाउने क्रममा अत्यधिक खर्च, महँगा पोसाक तथा गरगहनाको प्रदर्शन, अनावश्यक भोजभतेर र सामाजिक सञ्जालमा देखासिकी गर्ने प्रवृत्ति बढेको देखिन्छ । पर्वको उद्देश्य आत्मीयता, आस्था र सामाजिक सम्बन्ध सुदृढ गर्नु हो; आर्थिक हैसियत प्रदर्शन गर्नु होइन ।
त्यसैले तीजको नाममा हुने अनावश्यक खर्च र उपभोगवादी प्रवृत्तिको आलोचनात्मक समीक्षा आवश्यक छ । यसपटक भने भोटेकोशी बाढीको प्रभावका कारण मानवीय संवेदनालाई ख्याल गरी तीजको रमझम घटेको र सोही खर्च कटौती गरी सहयोगको हात बढाएको प्रष्ट देख्न सकिन्छ ।
यसैगरी तीजका धार्मिक अभ्यासलाई पनि समसामयिक दृष्टिले बुझ्नुपर्छ । धार्मिक आस्था व्यक्तिको मौलिक अधिकार हो, तर कुनै पनि धार्मिक अभ्यास, स्वास्थ्य, इच्छा वा व्यक्तिगत स्वतन्त्रता विरुद्ध दबाबका रूपमा लागू हुनु उचित हुँदैन । विशेषगरी व्रत तथा खानपानका विषयमा आफ्नो स्वास्थ्य अवस्थालाई ध्यान दिन आवश्यक हुन्छ । परम्पराको सम्मान गर्नु भनेको त्यसका प्रत्येक अभ्यासलाई बिना प्रश्न दोहोर्याउनु मात्र होइन; समय, परिस्थिति र ज्ञानका आधारमा सकारात्मक पक्षलाई संरक्षण गर्दै आवश्यक सुधार गर्नु पनि हो ।
शैक्षिक दृष्टिले हेर्दा तीज नेपाली समाज र संस्कृतिको अध्ययनका लागि महत्वपूर्ण विषय हो । यस पर्वमार्फत विद्यार्थीले धर्म, संस्कृति, परम्परा, लैङ्गिक भूमिका, सामाजिक सम्बन्ध, आर्थिक गतिविधि र सामाजिक परिवर्तन बीचको सम्बन्ध बुझ्न सक्छन् । तीजका गीतमा अभिव्यक्त सामाजिक यथार्थको अध्ययनले लोकसाहित्य र समाजबीचको सम्बन्धसमेत स्पष्ट पार्न सक्छ । त्यसैले विद्यालय तथा उच्च शिक्षाका तहमा तीजलाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा नभई नेपाली समाज, लोकसंस्कृति, महिला सशक्तीकरण र सामाजिक परिवर्तन अध्ययन गर्ने शैक्षिक विषयका रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
आजको तीजलाई महिला सशक्तीकरणसँग जोड्नु अझ सान्दर्भिक छ। महिलाको शिक्षा, स्वास्थ्य, आर्थिक आत्मनिर्भरता, सम्पत्तिमाथिको अधिकार, निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व क्षमता तथा हिंसाविरुद्धको चेतनाजस्ता विषयलाई तीजका सांस्कृतिक गतिविधिसँग जोड्न सकिन्छ । तीजका गीत मनोरञ्जनका माध्यम मात्र नभई सामाजिक चेतना प्रवाह गर्ने प्रभावकारी माध्यम बन्न सक्छन् । ‘चेलीका पीडा’ मात्र गाउने परम्पराबाट अगाडि बढेर ‘चेलीका अधिकार, सम्भावना र उपलब्धि’का विषयलाई पनि तीजको सिर्जनामा स्थान दिनुपर्ने समय आएको छ ।
संस्कृति स्थिर वस्तु होइन भन्ने कुरा इतिहासले पनि देखाएको छ । यो समय, समाज र चेतनासँगै परिवर्तन हुँदै जान्छ। त्यसैले तीजको मौलिकता जोगाउनु भनेको पुराना सबै अभ्यासलाई जस्ताको तस्तै दोहो¥याउनु होइन । यसको सकारात्मक सांस्कृतिक पक्षलाई संरक्षण गर्दै विभेद, असमानता, अनावश्यक खर्च र देखासिकीलाई निरुत्साहित गर्नु नै संस्कृतिको स्वस्थ विकास हो । परम्परा र परिवर्तनबीच सन्तुलन कायम गर्न सके मात्र तीज भावी पुस्ताका लागि पनि अर्थपूर्ण बन्न सक्छ ।
आजको आवश्यकता तीजलाई भड्किलो प्रदर्शनको पर्व बनाउने होइन, आस्था, आत्मीयता, समानता र सामाजिक चेतनाको पर्व बनाउने हो । तीजका अवसरमा स्थानीय उत्पादनको प्रयोग, महिला उद्यमको प्रवर्द्धन, सामाजिक सेवाका कार्यक्रम, स्वास्थ्य तथा शिक्षा सम्बन्धी चेतनामूलक गतिविधि र महिला अधिकारसम्बन्धी संवाद सञ्चालन गर्न सकिन्छ । यसो गर्दा एउटा सांस्कृतिक पर्व सामाजिक रूपान्तरणको अभियानसँग पनि जोडिन सक्छ ।
अन्ततः हरितालिका तीज नेपाली समाजको धार्मिक विश्वास, सांस्कृतिक निरन्तरता, पारिवारिक आत्मीयता र महिला अभिव्यक्तिको समृद्ध परम्परा हो । यसले विगतको सामाजिक जीवनलाई प्रतिबिम्बित गर्नुका साथै वर्तमान समाजको परिवर्तनशील चेतनालाई पनि प्रतिनिधित्व गरिरहेको छ । त्यसैले तीजको संरक्षणसँगै यसको पुनव्र्याख्या पनि आवश्यक छ । परम्पराको सम्मान गरौँ, विकृतिको अन्त्य गरौँ; आस्थालाई कायम राख्दै समानता, आत्मनिर्भरता र सामाजिक चेतनालाई अघि बढाऔँ । यही दृष्टिकोणबाट मनाइएको तीज मात्र हाम्रो संस्कृति, समाज र भावी पुस्ताका लागि वास्तवमै अर्थपूर्ण र अनुकरणीय बन्न सक्छ ।










