आँबुखैरेनीका संस्थागत विद्यालयमा अध्ययनरत ३७१ जनालाई छात्रवृत्ति

तनहुँको आँबुखैरेनी गाउँपालिकाका ३७१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । गाउँपालिका मातहत रहेका संस्थागत विद्यालयका २ हजार ८७२ विद्यार्थीमध्ये ३७१ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो ।
संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिमा समान अवसर प्रदान गर्नका लागि गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुले यही जेष्ठ १५, १८ र १९ गते सञ्चालन गरिएको छात्रवृत्ति वितरण परीक्षाबाट गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयमा अध्ययनरत ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
‘यस छात्रवृत्ति वितरण परीक्षाले विद्यालयद्वारा प्रदान गरिदै आएको छात्रवृत्तिलाई अझै पारदर्शी बनाउने अपेक्षा गरिएको छ । साथै आगामी वर्ष यसलाई अझै व्यवस्थित बनाइनेछ’, उनले भने, ‘नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बनधी हक अन्तर्गत ‘प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ’ भने व्यवस्था तथा स्थानीय सरकार सञ्चालन ऐनले आधारभूत तथा माध्यमिक शिक्षाको अधिकार स्थानीय तहलाई दिएको हो ।’
उनले भने, ‘यसको व्यवस्थापन गर्ने जिम्मा स्थानीय सरकारमा भएकोले यस गाउँपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्तिमा समान अवसर प्रदान गर्ने प्रयास गरिएको छ ।’
अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ तथा आँबुखैरेनी शिक्षा ऐन तथा नियमावली, २०७९ ले तोके बमोजिम ५०० सम्मको विद्यार्थी संख्या भएका विद्यालयहरुले १०%, विद्यार्थी संख्या ५०० देखि ८०० सम्म भएका विद्यालयले १२% र विद्यार्थी संख्या ८०० भन्दा माथि भएका विद्यालयले १५% छात्रवृत्ति अनिवार्य रुपमा प्रदान गर्नुपर्ने उल्लेख छ ।