सम्पादकीय : चर्चामै सिमित बुद्धसिंह मार्ग

पूर्वाधार विकास कुनै पनि क्षेत्रको आर्थिक, सामाजिक र मानवीय विकासको आधार हो । सडकले गाउँलाई बजारसँग, किसानलाई उपभोक्तासँग, विद्यार्थीलाई शिक्षासँग र बिरामीलाई स्वास्थ्य सेवासँग जोड्छ । त्यसैले रणनीतिक सडक आयोजनाको निर्माणमा हुने ढिलाइले केवल एउटा भौतिक संरचना अधुरो राख्दैन, त्यसले समग्र विकासको गति नै सुस्त बनाइदिन्छ । तनहुँको बुद्धसिंह मार्ग त्यसको एउटा ज्वलन्त उदाहरण बनेको छ । वर्षौंदेखि संघ, प्रदेश र स्थानीय सरकारबाट करोडौँ रुपैयाँ बजेट विनियोजन हुँदै आएको यस मार्गले अझै अपेक्षित गति लिन सकेको छैन । हरेक वर्ष बजेट छुट्याइन्छ, योजना दोहोरिन्छ, म्याद थपिन्छ, तर निर्माणको गति भने उस्तै सुस्त छ । यसले स्थानीयवासीमा विकासप्रतिको विश्वास कमजोर बनाएको छ ।

 

बुद्धसिंह मार्ग सामान्य सडक मात्र होइन । यसले देवघाट, ऋषिङ, बन्दीपुर, आँबुखैरेनी र व्यास नगरपालिकाका बस्तीलाई जोड्ने आर्थिक जीवनरेखा बन्ने क्षमता राख्छ । विशेषगरी सुन्तला, तरकारी तथा अन्य कृषि उत्पादन बजारसम्म पु¥याउने मुख्य मार्गका रूपमा यसको महत्व अझ बढी छ । देवघाट क्षेत्रमा उत्पादन हुने हजारौँ मेट्रिकटन सुन्तला यही सडकमार्फत सहज रूपमा बजार पुग्न सके किसानको आम्दानी बढ्ने, ढुवानी लागत घट्ने र कृषि व्यवसाय अझ आकर्षक बन्ने निश्चित छ । तर विडम्बना के छ भने किसानले अझै पनि कच्ची, साँघुरा र जोखिमपूर्ण सडकको भर पर्नुपरेको छ । उत्पादन बजारसम्म पु¥याउँदा लागत बढिरहेको छ । कतिपय अवस्थामा उत्पादन समयमै बजार नपुग्दा मूल्य घट्ने वा खेर जाने समस्या पनि दोहोरिन्छ । यसले कृषिमा लगानी गर्ने उत्साहसमेत घटाएको छ।

सडकको महत्व कृषिमा मात्र सीमित छैन । यसले दक्षिणी तनहुँको पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउन सक्छ । देवघाटधाम, छिम्केश्वरी, ग्रामीण पर्यटन क्षेत्र तथा चितवनसँगको छोटो दूरीका कारण यस मार्गले धार्मिक, सांस्कृतिक र पर्यटकीय गतिविधिलाई नयाँ उचाइ दिन सक्छ । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत यसको सम्भावना रहेको छ । तर सम्भावना कागजमै सीमित हुँदा त्यसको लाभ जनताले पाउन सकेका छैनन् । निर्माणमा ढिलाइ हुनुका कारणमध्ये बजेटको अभाव प्रमुख रूपमा देखाइएको छ ।

 

आयोजना सम्पन्न गर्न वार्षिक रूपमा आवश्यक पर्ने रकमको तुलनामा निकै कम बजेट विनियोजन हुँदा काम टुक्राटुक्रामा भइरहेको छ । बहुवर्षीय योजनामा हरेक वर्ष थोरै रकम छुट्याउने प्रवृत्तिले आयोजना समयमै सम्पन्न हुने सम्भावना झन् कमजोर बनाएको छ । लागत वृद्धि, म्याद थप र निर्माण ढिलाइको दुष्चक्र यसैबाट सिर्जना भएको हो । यससँगै वित्तीय व्यवस्थापनमा पनि सुधारको आवश्यकता स्पष्ट देखिन्छ । एउटै सडकका विभिन्न खण्ड फरक–फरक शीर्षकमा बजेटमा समावेश हुँदा वास्तविक लगानी र प्रगति बुझ्न कठिन भएको छ । नागरिकले कति बजेट आयो, कहाँ खर्च भयो र कति काम सम्पन्न भयो भन्ने जानकारी सहज रूपमा पाउन सकिरहेका छैनन् ।

विकास आयोजनामा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व कमजोर हुँदा नागरिकको शंका बढ्नु स्वाभाविक हो । अब सरकारका तीनै तहले बुद्धसिंह मार्गलाई साँच्चिकै रणनीतिक आयोजना मान्ने हो भने त्यसअनुसार व्यवहार पनि देखाउनुपर्छ। टुक्रे बजेटको सट्टा पर्याप्त स्रोत सुनिश्चित गरेर निश्चित समयसीमाभित्र निर्माण सम्पन्न गर्ने योजना बनाउनुपर्छ । निर्माणको नियमित अनुगमन, खर्च र प्रगतिको सार्वजनिक विवरण तथा सामाजिक परीक्षणलाई अनिवार्य बनाउनुपर्छ। साथै घुमाउनेघाटमा त्रिशूली नदीमाथिको पुल निर्माणलाई पनि समान प्राथमिकतामा अघि बढाउन आवश्यक छ, किनभने पुलबिनाको सडकले पूर्ण उपयोगिता प्राप्त गर्न सक्दैन ।

 

विकासका नाममा बजेट विनियोजन गर्नु मात्र उपलब्धि होइन । जनताले अनुभूति गर्ने परिणाम नै वास्तविक विकास हो । बुद्धसिंह मार्गमा खर्च भएका करोडौँ रुपैयाँको मूल्य त्यतिबेला मात्र प्रमाणित हुनेछ, जब किसानले सहज रूपमा आफ्नो उत्पादन बजार पु¥याउन सक्नेछन्, बिरामीले समयमै अस्पताल पुग्नेछन्, पर्यटकले सुरक्षित यात्रा गर्नेछन् र ग्रामीण बस्तीको आर्थिक गतिविधिले नयाँ गति लिनेछ । अब बुद्धसिंह मार्गलाई राजनीतिक घोषणाको विषय होइन, परिणाम दिने विकास आयोजनाका रूपमा स्थापित गर्ने समय आएको छ । बजेटको निरन्तरता मात्र होइन, प्रतिबद्धता, पारदर्शिता र कार्यान्वयनको गति नै यस आयोजनाको सफलताको वास्तविक आधार बन्नुपर्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker