सम्पादकीय : चर्चामै सिमित बुद्धसिंह मार्ग

पूर्वाधार विकास कुनै पनि क्षेत्रको आर्थिक, सामाजिक र मानवीय विकासको आधार हो । सडकले गाउँलाई बजारसँग, किसानलाई उपभोक्तासँग, विद्यार्थीलाई शिक्षासँग र बिरामीलाई स्वास्थ्य सेवासँग जोड्छ । त्यसैले रणनीतिक सडक आयोजनाको निर्माणमा हुने ढिलाइले केवल एउटा भौतिक संरचना अधुरो राख्दैन, त्यसले समग्र विकासको गति नै सुस्त बनाइदिन्छ । तनहुँको बुद्धसिंह मार्ग त्यसको एउटा ज्वलन्त उदाहरण बनेको छ । वर्षौंदेखि संघ, प्रदेश र स्थानीय सरकारबाट करोडौँ रुपैयाँ बजेट विनियोजन हुँदै आएको यस मार्गले अझै अपेक्षित गति लिन सकेको छैन । हरेक वर्ष बजेट छुट्याइन्छ, योजना दोहोरिन्छ, म्याद थपिन्छ, तर निर्माणको गति भने उस्तै सुस्त छ । यसले स्थानीयवासीमा विकासप्रतिको विश्वास कमजोर बनाएको छ ।
बुद्धसिंह मार्ग सामान्य सडक मात्र होइन । यसले देवघाट, ऋषिङ, बन्दीपुर, आँबुखैरेनी र व्यास नगरपालिकाका बस्तीलाई जोड्ने आर्थिक जीवनरेखा बन्ने क्षमता राख्छ । विशेषगरी सुन्तला, तरकारी तथा अन्य कृषि उत्पादन बजारसम्म पु¥याउने मुख्य मार्गका रूपमा यसको महत्व अझ बढी छ । देवघाट क्षेत्रमा उत्पादन हुने हजारौँ मेट्रिकटन सुन्तला यही सडकमार्फत सहज रूपमा बजार पुग्न सके किसानको आम्दानी बढ्ने, ढुवानी लागत घट्ने र कृषि व्यवसाय अझ आकर्षक बन्ने निश्चित छ । तर विडम्बना के छ भने किसानले अझै पनि कच्ची, साँघुरा र जोखिमपूर्ण सडकको भर पर्नुपरेको छ । उत्पादन बजारसम्म पु¥याउँदा लागत बढिरहेको छ । कतिपय अवस्थामा उत्पादन समयमै बजार नपुग्दा मूल्य घट्ने वा खेर जाने समस्या पनि दोहोरिन्छ । यसले कृषिमा लगानी गर्ने उत्साहसमेत घटाएको छ।
सडकको महत्व कृषिमा मात्र सीमित छैन । यसले दक्षिणी तनहुँको पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउन सक्छ । देवघाटधाम, छिम्केश्वरी, ग्रामीण पर्यटन क्षेत्र तथा चितवनसँगको छोटो दूरीका कारण यस मार्गले धार्मिक, सांस्कृतिक र पर्यटकीय गतिविधिलाई नयाँ उचाइ दिन सक्छ । पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत यसको सम्भावना रहेको छ । तर सम्भावना कागजमै सीमित हुँदा त्यसको लाभ जनताले पाउन सकेका छैनन् । निर्माणमा ढिलाइ हुनुका कारणमध्ये बजेटको अभाव प्रमुख रूपमा देखाइएको छ ।
आयोजना सम्पन्न गर्न वार्षिक रूपमा आवश्यक पर्ने रकमको तुलनामा निकै कम बजेट विनियोजन हुँदा काम टुक्राटुक्रामा भइरहेको छ । बहुवर्षीय योजनामा हरेक वर्ष थोरै रकम छुट्याउने प्रवृत्तिले आयोजना समयमै सम्पन्न हुने सम्भावना झन् कमजोर बनाएको छ । लागत वृद्धि, म्याद थप र निर्माण ढिलाइको दुष्चक्र यसैबाट सिर्जना भएको हो । यससँगै वित्तीय व्यवस्थापनमा पनि सुधारको आवश्यकता स्पष्ट देखिन्छ । एउटै सडकका विभिन्न खण्ड फरक–फरक शीर्षकमा बजेटमा समावेश हुँदा वास्तविक लगानी र प्रगति बुझ्न कठिन भएको छ । नागरिकले कति बजेट आयो, कहाँ खर्च भयो र कति काम सम्पन्न भयो भन्ने जानकारी सहज रूपमा पाउन सकिरहेका छैनन् ।
विकास आयोजनामा पारदर्शिता र सार्वजनिक उत्तरदायित्व कमजोर हुँदा नागरिकको शंका बढ्नु स्वाभाविक हो । अब सरकारका तीनै तहले बुद्धसिंह मार्गलाई साँच्चिकै रणनीतिक आयोजना मान्ने हो भने त्यसअनुसार व्यवहार पनि देखाउनुपर्छ। टुक्रे बजेटको सट्टा पर्याप्त स्रोत सुनिश्चित गरेर निश्चित समयसीमाभित्र निर्माण सम्पन्न गर्ने योजना बनाउनुपर्छ । निर्माणको नियमित अनुगमन, खर्च र प्रगतिको सार्वजनिक विवरण तथा सामाजिक परीक्षणलाई अनिवार्य बनाउनुपर्छ। साथै घुमाउनेघाटमा त्रिशूली नदीमाथिको पुल निर्माणलाई पनि समान प्राथमिकतामा अघि बढाउन आवश्यक छ, किनभने पुलबिनाको सडकले पूर्ण उपयोगिता प्राप्त गर्न सक्दैन ।
विकासका नाममा बजेट विनियोजन गर्नु मात्र उपलब्धि होइन । जनताले अनुभूति गर्ने परिणाम नै वास्तविक विकास हो । बुद्धसिंह मार्गमा खर्च भएका करोडौँ रुपैयाँको मूल्य त्यतिबेला मात्र प्रमाणित हुनेछ, जब किसानले सहज रूपमा आफ्नो उत्पादन बजार पु¥याउन सक्नेछन्, बिरामीले समयमै अस्पताल पुग्नेछन्, पर्यटकले सुरक्षित यात्रा गर्नेछन् र ग्रामीण बस्तीको आर्थिक गतिविधिले नयाँ गति लिनेछ । अब बुद्धसिंह मार्गलाई राजनीतिक घोषणाको विषय होइन, परिणाम दिने विकास आयोजनाका रूपमा स्थापित गर्ने समय आएको छ । बजेटको निरन्तरता मात्र होइन, प्रतिबद्धता, पारदर्शिता र कार्यान्वयनको गति नै यस आयोजनाको सफलताको वास्तविक आधार बन्नुपर्छ ।










