तनहुँका वडा तहबाटै राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता सुरु

भञ्ज्याङ न्यूज

राष्ट्रिय परिचयपत्रका लागि तनहुँका पालिकाबाट विवरण दर्ता सुरु गरिएको छ । यस अगाडि जिल्ला प्रशासन कार्यालयबाट मात्र विवरण दर्ता हुँदै आएकामा अब स्थानीय तहबाट पनि दर्ता सुरु गरिएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्ला प्रशासन कार्यालयको समन्वयमा व्यास नगरपालिकाबाट विवरण दर्ता सुरु गरेको छ । व्यासका सबै वडाबाट विवरण दर्ताका लागि अभियान शुभारम्भ भएको र केही दिनभित्रै विवरण दर्ताको काम थालिने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । व्यासका १४ वटै वडामा विवरण दर्ताका लागि कर्मचारी खटाइनेछ। विवरण दर्ताका लागि कम्प्युटर लगायतका सामग्री जिल्लामा ल्याइसकिएको छ ।

उनको अनुसार एउटा वडामा दुइ जना कम्प्युटर अप्रेटर, एक जना रुजु अधिकारी र एक जना विवरण लेख्ने कर्मचारी खटाइनेछ। ‘डिजिटल राहदानी’का लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सबै स्थानीय तहमा विवरण दर्ताको तयारी थालिएको छ । हालसम्म जिल्लामा २३ हजारभन्दा बढीको विवरण दर्ता भएको छ ।

जि प्र का स्थापना गरिएको स्टेशनबाट हालसम्म २३ हजार ३७ ले विवरण दर्ता गराएका हुन् । १३ हजार ५४ पुरुष र नौ हजार ९८३ महिलाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको कम्प्युटर अप्रेटर इच्छा तामाङले जानकारी दिए । उनका अनुसार दैनिक ९० भन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउने गरेका छन् । प्रशासन कार्यालयमा दुइ वटा स्टेशन स्थापना गरिएको छ। नागरिकता बनाउने बित्तिकै परिचयपत्रका लागि विवरण दर्ता गर्ने व्यवस्था मिलाइएको छ।

राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन अब अनलाइन पनि प्रयोग गर्न सकिने भएको छ । परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफै उपस्थित हुनुपर्नेछ ।

परिचयपत्रका लागि आवेदन फारामभर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँलाछाप (१० वटा), आँखाको नानी, तस्बिर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ ।

नेपाल सरकारबाट नेपाली नागरिकलाई प्रदान गर्ने सेवासुविधालाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्नाका साथै सो प्रणालीबाट प्राप्त हुने तथ्याङ्क तथा अभिलेख नीति एवं योजना निर्माणमा प्रयोग हुनेछ । यसले व्यक्तिको राष्ट्रिय पहिचानपत्र र मतदाता परिचयपत्रका रुपमा काम गर्ने सबै किसिमका सार्वजनिक सेवा प्राप्त गर्ने आधार दिनेछ । सामाजिक सुरक्षा कार्डका रुपमा यही कार्ड प्रयोग हुनेछ । यसले सुरक्षा व्यवस्थापनका लागि सहयोगी अभिलेखको काम गर्नेछ ।

अन्य सार्वजनिक सेवासँग राष्ट्रिय परिचयपत्र प्रणालीलाई आबद्ध गरेपछि सार्वजनिक सेवा प्रदायक निकायले झन्झटरहित, छोटो समय र कम लागतमा सेवा प्रदान गर्न सम्भव हुनेछ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्म, मृत्यु, बसाइँसराइ तथा अन्य कारणबाट व्यक्तिगत सूचनामा परिवर्तन भएमा सोही अनुसारको अभिलेख व्यवस्थापन गर्ने प्रणालीको स्थापना तथा विकास गरेको छ ।

राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रलाई बहुउपयोगी प्रणालीका रुपमा सरकार र सरकारबीच (जिटुजी), सरकार र व्यवसायीबीच (जिटुबी) र सरकार र नागरिकबीच -जिटुसी) सेवा प्रदान गर्न उपयोग हुने जनाइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker