कास्की कारागारका कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण

कास्की कारागारका थप १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको छ । कारागारका सात सय ३३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको हो ।

कारागारमा चार जना पुरानै क्षेयरोग सङ्क्रमित रहेका छन् । हाल कास्की कारागारभित्र नयाँ र पुराना गरी १७ जना क्षयरोग सङ्क्रमित पुगेका छन् । कास्की कारागारका जेलर भीमराज कोइरालाका अनुसार क्षयरोग रोगको आशङ्कामा ३६ जनाको नमूना जाँचका लागि क्षयरोग केन्द्रमा पठाइएको छ ।

“पुराना र नयाँ क्षयरोग सङ्क्रमण १७ जनालाई कारागारभित्र छुट्टै कोठामा राखिएको छ । सोमबार र मङ्गलबारको परीक्षणबाट भेटिएका नयाँ १३ सङ्क्रमणलाई पनि बुधबारदेखि नै औषधि चलायौँ”, जेलर कोइरालाले भन्नुभयो ।

जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) ले कास्की कारागारमा सोमबारदेखि कैदीबन्दीको क्षेयरोग परीक्षण गरेको हो । उक्त संस्थाका कार्यकारी निर्देशक रामशरण गोपालीले डिजिटल चेष्ट एक्सरे मेसिनको माध्यमबाट कैदीबन्दीको क्षयरोग परीक्षण गरिएको जानकारी दिनुभयो । एक चिकित्सकसहित पाँच जना प्राविधिक टोलीले सोमबारदेखि कास्की कारागारका कैदीबन्दीको क्षयरोग सङ्क्रमणको जाँच गरेको हो ।

उक्त मेसिनबाट छातीको एक्सरे गरी सङ्क्रमण भेटिएमा उपचारका लागि समन्वय र व्यवस्थापन गरिने जानकारी उक्त संस्थाका निर्देशक गोपालीले बताउनुभयो । कास्की कारागारलगतै बुधबारदेखि बालसुधार गृह सराङकोटका ८५ बालकको क्षयरोग सङ्क्रमण जाँच गरिने उहाँले जानकारी दिनुभयो ।

उक्त संस्थाले नेपाल सरकारको राष्ट्रिय क्षयरोग कार्यक्रमसँग हातेमालो गर्दै बागमती र गण्डकी प्रदेशमा क्षयरोगको सक्रिय खोजपड्ताल गर्दै आएको छ । विशेषगरी कारागार, वृद्धाश्रम, बालसुधार गृह, उद्योग तथा कलकारखाना, सुकुम्बासी तथा मजदुर बस्ती तथा गुम्बामा क्षयरोगीको खोजपड्ताल गर्ने गरेको उहाँले बताउनुभयो ।

सङ्क्रमणलाई नियमित औषधि सेवनका लागि कास्की कारागारको स्वास्थ्य शाखाको निगरानीमा हुने जानकारी जेलर कोइरालाले बताउनुभयो । क्षयरोग लागेर औषधि सेवन गरेकामध्ये ९० प्रतिशत निको भएको जानकारी जापान–नेपाल स्वास्थ्य तथा क्षेयरोग अनुसन्धान संस्थाका म्यानेजर विजय महर्जनले दिनुभयो ।

कास्की कारागारका कैदीबन्दीमा क्षयरोग, छाला, छारेरोग, डिप्रेसन, निमोनियालगायतका बिरामी रहेको कास्की कारागारका अहेव तपरमण पोखरेलले बताउनुभयो । कास्की कारागारमा सात सय ३३ कैदीबन्दी र चार नाबालक छन् । सात सय ३३ मध्ये ३९ जना महिला कैदीबन्दी छन् ।

कारागारमा खानेपानी, बिजुली, बस्ने ठाउँ, स्वास्थ्योपचार र सुरक्षाको समस्या छ । कारागारका सबैजसो भवन जीर्ण भएको कारागार प्रशासनले जनाएको छ । आधारभूत आवश्यकता खानेपानीकै हाहाकार छ । कारागारमा कैदी,बन्दीको सुरक्षा र खाने, बस्ने व्यवस्थापन गर्नकै लागि अप्ठ्यारो भएको कारागार जेलर कोइरालाले बताउनुभयो ।

एक थुनुवाका अनुसार कारागारमा खानेपानीको सधैँ समस्या छ । कारागारमा पानी त आउँछ तर अपुग हुन्छ । खानेपानीमात्रै होइन, उनीहरु सुत्नसमेत राम्रोसँग पाउँदैनन् । प्लास्टिक म्याट बिछ्याएर भुइँमै सुत्नुपर्ने बाध्यता छ । वर्षा लागिसक्यो बर्सातमा पानी चुहिने डर छ, जस्तापात पुराना भइसके, एक थुनुवाको गुनासो छ ।

प्राथमिक उपचार कारागारभित्रै हुनुपर्ने कानुनमा व्यवस्था छ तर, स्रोत र साधनको कमीले सामान्य समस्याको उपचार गर्न पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजानुपर्ने अवस्था रहेको कर्मचारी बताउँछन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा शौचालयसमेत अव्यवस्थित हुन पुगेको छ ।

कारागारको प्रशासनिक भवन छैन । जस्ताका छानामुनि स–साना कोठामा विषयगत शाखा र तिनमा कार्यरत कर्मचारी छरिएर रहनुपर्ने स्थिति छ । कारागारजस्तो संवेदनशील क्षेत्रको सुरक्षा प्रबन्धका लागि बनाइएका सुरक्षा पोष्ट जीर्ण छन् । बाहिरी पर्खालको उचाइ कम हुँदा सुरक्षा चुनौती छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३२ जना प्रहरी कार्यरत रहेका छन् ।

कैदीबन्दीको स्वास्थ्य उपचारका लागि विभागले पनि कम बजेट छुट्याउने गरेको गुनासो जेलर कोइरालाले छ । कैदीबन्दीले मुढा, झोला, भाङ्ग्रालगायत सामग्री बुन्ने गरेका छन् । त्यस्ता सामग्रीको बिक्रीकक्ष पनि राखिएको छ । पछिल्लो समय जेललाई सुधारगृहका रुपमा विकास गर्न पहल भए पनि प्रगति हुन सकेको छैन । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker